संसारकै सबैभन्दा ठूलो होबा उल्कापिण्ड !

सन् १९२० को कुनै एक दिन । नामिबियाको ग्रूटफोण्टेन नजिक जेकोबस हर्मानस ब्रित्स (Jacobus Hermanus Brits) नाम गरेका एक किसानले जमिन जोतिरहेका थिए । अचानक उनको हलो एउटा ठोस बस्तुमा ठोक्किएर अड्कियो । शुरुमा त उनलाई लाग्यो– हलो कुनै ठूलो र ठोस ढुङ्गामा ठोक्किएको छ । उनले जोत्ने कामलाई अगाडि बढाउन त्यो ढुङ्गा हटाउने सोचे । उनले हलो अड्किएको ठाउँमा खन्न थाले । खन्दै जाँदा उनले देखे– हलो अड्किएको र ढुङ्गा ठानिएको वस्तु त निक्कै ठूलो छ । फेरि त्यसको रुपरङ पनि ढुङ्गाको जस्तो छैन ।  त्यो त ढुङ्गा नभई कुनै ठूलो धातुको टुक्रा जस्तो पो छ । उनले तत्कालै सरकारी अधिकारीहरुलाई त्यसबारे खबर गरे ।

खेत जोत्दा  विशाल धातुको टुक्रा भेट्टिएको खबर आगो जस्तै फैलियो । मानिसहरु जम्मा भए । सरकारी अधिकारीले पनि त्यो धातुलाई खनेर त्यसको टुक्रा विश्लेषणका लागि ल्याबमा पठाए । जाँच पड्तालपछि के पत्ता लाग्यो भने, शुरुमा ढुङ्गा ठानिएको त्यो धातु त कुनै चानचुने कुरा होइन रहेछ, त्यो त एउटा उल्कापिण्ड पो रहेछ ! सामान्यत: उल्कापिण्डहरु पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि घर्षणका कारण जलेर नष्ट हुने वा टुक्राटुक्रा हुने गर्छ । तर विचित्रको कुरा चाहिँ के देखियो भने त्यो उल्कापिण्ड चाहिँ साबुत नै झरेको रहेछ ! वैज्ञानिकहरूले त्यस उल्कापिण्डलाई ‘होबा उल्कापिण्ड’ नामाकरण गरे । यो नाम  त्यस क्षेत्रमा रहेको होबा फार्मको नामबाट राखिएको थियो।

वैज्ञानिकहरूले यो उल्कापिण्ड लाई परीक्षण गरेपछि यसलाई फलाम-निकेल मिश्रित उल्कापिण्ड  भएको प्रमाणित गरे। यस उल्कापिण्ड को तौल, संरचना, र आकारका कारण यसलाई संसारकै सबैभन्दा ठूलो ज्ञात उल्कापिण्ड  मानियो।

होबा उल्कापिण्ड  (Hoba Meteorite) विश्वकै सबैभन्दा ठूलो ज्ञात उल्कापिण्ड  हो । यसको विशालता मात्र होइन, यसको धात्विक संरचना र खगोलीय महत्वले पनि यसलाई अनौठो बनाएको छ।

होबा उल्कापिण्ड का प्रमुख तथ्यहरू:

होबा उल्कापिण्ड को तौल लगभग ६० टन (६०,००० किलोग्राम) रहेको छ। यो उल्कापिण्ड २.७५ मिटर लामो, २.२५ मिटर चौडाइ र १ मिटर मोटाई रहेको छ । यस आधारमा यो नै सम्भवत: संसारको सबैभन्दा ठूलो ठोस धातु टुक्रा हो भनेर मानिएको छ ।

होबा उल्कापिण्ड  मुख्यतया फलाम (Iron) र निकेल (Nickel) बाट बनेको छ । यस आधारमा यसलाई फलामे उल्कापिण्ड  (Iron Meteorite) को श्रेणीमा राखिएको छ। यसमा फलाम करिब ८४% र निकेल करिब १६% सम्म रहेका छन् । साथै यसमा केही काबोनेटाइट र ट्रोइलाइटका स-साना अंशहरू पनि पाइन्छन्।

होबा उल्कापिण्ड  लगभग ८०,००० वर्ष पहिले पृथ्वीमा खसेको अनुमान गरिएको छ। यो सौर्य प्रणालीको उत्पत्तिका समयमा बनेका धातुजन्य तत्वहरूको हिस्सा रहेका र अझ सम्भवतः यो कुनै क्षुद्रग्रह (asteroid) वा ग्रहको टुक्रा हुन सक्ने अनुमान वैज्ञानिकहरुले गरेका छन् ।

यो उल्कापिण्डको अद्भूत विशेषता भनेको  पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा यो अन्य उल्कापिण्ड हरूजस्तो ठूलो विस्फोट नहुनु पनि हो । यसो हुनुको कारणमा यसको पृथ्वीमा प्रवेश गर्ने कोण धेरै ठाडो नभई ढल्केको हुन सक्ने वैज्ञानिकहरुले अनुमान गरेका छन् ।यति ठूलो उल्कापिण्ड  भए पनि यसको प्रभाव स्थल वा क्रेटर (गहिरो खाडल) छैन। वैज्ञानिकहरूको अनुमानमा त्यसरी क्रेटर नबन्नुका कारणमा उक्त उल्कापिण्डको वायुमण्डलमा प्रवेश गर्ने गति निक्कै सुस्त रहेको हुनुपर्छ ।  

होबा उल्कापिण्ड जस्ता धातुजन्य उल्कापिण्डहरू सौर्य प्रणालीका प्राचीन अवशेषहरू हुन्। यसले सौर्य प्रणालीमा भएको भारी धातुहरूको वितरण र यसमा पाइने खगोलीय वस्तुहरूको उत्पत्तिको बारेमा महत्त्वपूर्ण जानकारी प्रदान गर्छ।

यस उल्कापिण्डले पृथ्वीमा आउने धातुजन्य उल्कापिण्डहरूको अध्ययन गर्न वैज्ञानिकहरूलाई महत्वपूर्ण आधार प्रदान गरेको छ। यसको संरचना र उत्पत्ति अध्ययन गर्दा सौर्य प्रणालीको उत्पत्ति र खगोलीय वस्तुहरूको भूगर्भीय विकासको बारेमा महत्त्वपूर्ण तथ्यहरू बुझ्न सकिन्छ।

अहिले होबा उल्कापिण्डलाई त्यो भेटिएकै स्थानमा यथावत राखिएको छ । स्थानीय सरकारले यो क्षेत्रलाई संरक्षण गर्न विभिन्न पहल गरेका छन् र उक्त क्षेत्र पर्यटकीय स्थलको रुपमा विकसित भएको छ ।

Image source: https://avatars.dzeninfra.ru