ठालु नपल्ट, सुध्रन ढिलो नगर !

समस्या र उपचार व्यक्ति विशेषमा भन्दा विचारको स्खलनमा छ, अन्तरपार्टी संरचनामा छ, संस्कृतिमा छ । नारा होइन अन्तरवस्तु खँदिलो बनाऊ । चल्तीको पन्थ संरचना विस्थापित गर, नवराज नखोज, सामुहिक संज्ञान र सामुहिक नेतृत्वमा चल ।

जेसुकै नामका हुन् वामपन्थीहरु आजकाल झन् सारो एउटै घान र दोहोरो आक्रमणमा छन्; त्यसले आफ्नो खती त गरेकै छ ; प्रकारन्तरमा त्यसका असर परसम्म र दुरगामी हुनेछन् :

वामपन्थीहरु आफै परस्परमा यदुवंशी जस्तो आत्मघात गर्नमा तछाडमछाड गर्दै छन् ।

मुलुकमा बेथिति र बिकृति बढेको घाम जत्तिकै सत्य हो । त्यो आफैँ समेत ठालु पल्टेर उत्सर्जन भएको हो । त्यसले जनतामा स्वभाविक रुपमा  असन्तुष्टि र विकर्षण बढाएकै हो । त्यसले   सारा पुनरुत्थानवादी र नानाभाँतिका 'कम्युनिष्टविरोधी शक्ति’लाई खुँदो पल्टेको हो । ती आगोमा घिऊ थप्ने र बाढीमा माछा मार्ने नै भए । कुचाले बढार्नु पर्ने हावाले बढार्ने भएपछि तिनले थपडी मार्ने नै भए । ती बडा चंखे स्याल छन्, जब वामपन्थीहरु नजिक हुन्छन्, ऐया आत्था गर्दै कोकोहोलो मचाउँछन् र जब आपसमा काटामार गर्छन्  जश्न मनाउन थाल्छन् ।  यसभित्रका अधिनायकहरु भने  नाङ्गो बादशाह जस्तै यति मस्तना छन्  कि भित्री बाहिरी शक्तिको मिलेमतोमा आफ्नै चिहान आफैँलाई खन्न लगाइरहेको पत्तै छैन । अलिकति आँखाका कचेरा पुछ्ना साथै नदेखिने कुरा भएन, ती त्यसरी रिक्त गरेको स्थानमा सत्तासीन कांग्रेस, कम्युनिष्टका विकृति र बेथितिलाई देखाएर  स्थायित्व र तिलश्मी विकासको नामामा  पुनरुत्थानवादी र पपुलिस्टहरुलाई घालमेल गरेर एक कट्टरपन्थी शक्तिको निर्माणमा खेलोफड्को गर्दैछन् । तिनको रुचि भूरणनीतिक लाभको निम्ति  कठपुतली नृत्य हो, जसमा तिनको लामो अनुभव   छ नै । जंगबहादुर पनि खुस, बेलायत पनि खुस !

एकल वादन राम्रै हुन्छ, त्यसलाई स्थान देऊ तर समूहवादन झन राम्रो हुन्छ र त्यसको ठूलो महत्त्व छ । त्यसमा स्वर, ताल, संगीत र विविधताको संगति हुन्छ । पार्टीमा पनि त्यहीं हो । हामीले रोजेको पार्टी प्रणाली हो ।

यसबाट बच्ने हो भने :

शुद्धिकरण र सुदृढीकरण गर ।

समस्या र उपचार व्यक्ति विशेषमा भन्दा विचारको स्खलनमा छ, अन्तरपार्टी संरचनामा छ, संस्कृतिमा छ । नारा होइन अन्तरवस्तु खँदिलो बनाऊ । चल्तीको पन्थ संरचना विस्थापित गर, नवराज नखोज, सामुहिक संज्ञान र सामुहिक नेतृत्वमा चल । सुनिश्चित गर कि फेरि कोही मठाधीश  न बनोस्, जो सुध्रदैन हटाऊ, तिघ्रा नकमाइकन । व्यक्ति पुजा र आत्मस्वस्तिमा होइन, सामुहिक पसिनामा भविष्यको रेखा खिंच । एकल वर्चश्वमा होइन, विविधतामा एकता र सद्भाव बढाऊ ।

आफ्नो कुम्लोकुटुरो बलियो बाँध, साथीलाई चोर नलगाऊ । कोदो तोरी नमिसाऊ, मिसनमा निष्ठा र गुणका आधरमा संगठनमा ज्यान भर ।  कोटरी भताभुङ्ग बनाऊ र संस्थागत बन । आफू थितिमा बस र अरुलाई पनि थितिमा बसाऊ ।

एकल वादन राम्रै हुन्छ, त्यसलाई स्थान देऊ तर समूहवादन झन राम्रो हुन्छ र त्यसको ठूलो महत्त्व छ । त्यसमा स्वर, ताल, संगीत र विविधताको संगति हुन्छ । पार्टीमा पनि त्यहीं हो । हामीले रोजेको पार्टी प्रणाली हो ।

क्रान्तिकारिता ओठेभक्तिमा या शुद्धताको फलाकोमा होइन, विचार र व्यवहारको  संयोजनमा खोज । देशभित्र लोकतन्त्र, राष्ट्रियता, र सामाजिक न्यायसहित विकासमा अटुट प्रतिबद्धता राख र तिनको संरक्षण र प्रवर्धनमा निष्ठापूर्वक लाग । त्यसको निम्ति सामाजिक सामुहिक उर्जालाई तलैबाट समेट ।

समधर्मीहरुसंग मिलेर  षडयन्त्रप्रतिरोधी संयुक्त रणनीति विकास गर । विभाजनलाई फराकिलो होइन, एकतालाई साँघुरो बनाउँदै जाऊ ।

राष्ट्र असहज अवस्था र धमिलो पानीमा छ, यस्तो घडीमा वृहत्तर राष्ट्रिय मेलमिलाप बडो जरुरी छ । त्यस्तो नीति अवलम्बन गर !

 दुनियाँ बदलिदै छ । विश्व बहुध्रुवीय व्यवस्थामा द्रुत गतिमा संक्रमण गर्दैछ । यो अवसर पनि हो । विशेषगरी छिमेकीसंग  र सबैसंग शान्ति, साझा विकास र असंलग्नताको आदर्शमा मित्रता बढाऊ ।

नत्र,

हुनु  हार दैव न टार ! इतिहासले आफ्नो बाटो आफैँ तैयार गर्छ ।