के ट्याटुले क्यान्सरको जोखिम बढाउँछ?

धेरैलाई ट्याटु खोपाउने रहर हुन्छ । संसारका कतिपय आदिवासी समुदायमा ट्याटु खोपाउने कुरा प्रचलनको रुपमा रहेको हुन्छ । उता आधुनिक भनिएका समाजका युवाहरु चाहिँ सौन्दर्य वा फेसनका रुपमा ट्याटु खोपाउने गर्छन् ।

परम्परागत रुपमा खोपाइने ट्याटुमा प्राकृतिक मसीहरुको प्रयोग हुने गर्छन् । तर आधुनिक तरिकाले खोपाइने ट्याटुमा प्राकृतिक कम विभिन्न रसयानहरुले बनेका मसीहरुको प्रयोग हुने गर्छन् जुन निक्कै झिलिमिली आकर्षक तथा हत्तपट्ट धमिलो नहुने तथा मेटिँदै नमेटिने खालका हुने गर्छन् ।

ट्याटु खोपाउने क्रममा प्रयोग हुने मसीले लिम्फ नोड्समा असर गर्ने ‘लिम्फोमा’ क्यान्सको जोखिम बढाउन सक्ने एक अध्ययनले देखाएको छ । स्वीडेनमा गरिएको सो अध्ययनको रिपोर्ट eClinical Medicine नामक जर्नलमा प्रकाशित भएको छ ।

सो अध्ययनको क्रममा अनुसन्धानकर्ताहरूले २० देखि ६० वर्ष उमेरका लिम्फोमा विकास गरेका १,३९८ वयस्क र लिम्फोमा नरहेका ४,१९३ वयस्कहरूले जीवनशैलीका विविध पक्षहरूबारे सोधिएका प्रश्नावलीको उत्तरहरूको तुलनात्मका अध्ययन गरेका थिए ।  त्यसमध्ये लिम्फोमा समूहमा २१ प्रतिशतले ट्याटु गरेका थिए, जबकि लिम्फोमा नभएका समूहमा यो प्रतिशत १८ थियो। उमेर, धूम्रपान, र अन्य सम्भाव्य कारकहरूलाई समेत विचार गरी विश्लेषण गर्दा, ट्याटु गरेका व्यक्तिहरूमा घातक लिम्फोमा विकास हुने जोखिम २१ प्रतिशतले बढी हुने गरेको पाइएको थियो । रमाइले कुरा चाहिँ के देखिएको थियो भने त्यो जोखिमलाई  ट्याटुको आकारले भने खासै फरक नपर्ने देखिएको थियो ।

खासगरी, ट्याटु खोपाउँदा शरीरमा हल्का प्रकारको सुन्निने र त्यसले क्यान्सरलाई ट्रिगर गर्न सक्छ भन्ने अनुमान अनुसन्धानकर्ताहरुले लगाएका छन् । उनीहरुका अनुसार ट्याटु खोप्दा छालाभित्र पठाइने मसीलाई शरीरले आक्रमणकारी बाह्य पदार्थको रुपमा लिने र त्यसविरुद्ध प्रतिरक्षा प्रणाली सक्रिय हुन्छ। खासगरी, ट्याटु खोप्दा छालभित्र पसेको मसीको ठूलो हिस्सा लिम्फ नोड्समा पुग्ने गर्छन् जसले लिम्फोमाको सम्भावनालाई बढाइदिने गर्छ ।

धेरै मानिसहरूले युवावस्थामा ट्याटु खोपाउने गर्छन् । उनीहरु आफ्नो जीवनको ठूलो हिस्सा  ट्याटु मसीको सम्पर्कमा रहन्छन्।

यसबारे अरु अनुसन्धानहरु केही भएका छन् ? छन् भने तिनले चाहिँ के संकेत गरेको छ ?

ट्याटु मसी र क्यान्सरबीचको सम्भावित सम्बन्धबारे केही अन्य अनुसन्धानहरू पनि भएका छन्, र तिनीहरूले विभिन्न निष्कर्षहरू प्रस्तुत गरेका छन्। तीमध्ये युरोपियन केमिकल एजेन्सीले २०१७ मा प्रकाशित गरेको एक विस्तृत रिपोर्टमा ट्याटु मसीमा रहेको रसायनको बारेमा चिन्ता व्यक्त गरेको थियो। खासगरी, कतिपय मसीमा रहेको तत्वहरूले क्यान्सर, जेनेटिक म्युटेसन (मुटेशन), र अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छन् भन्ने सुझाव उक्त रिपोर्टमा दिइएको थियो । विशेष गरी, पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन (PAHs), अजोडाइ डाई, र केही धातु (जस्तै निकेल र क्रोमियम) जस्ता रसायनहरूको प्रयोग गरिएका मसी जोखिमयुक्त हुने र ती तत्वहरूले छालामा लामो समयसम्म रहेर क्यान्सरको सम्भावना बढाउन सक्छ भन्ने अनुमान गरिएको थियो ।

त्यसै गरी, सन् २०१६ मा जर्मनीमा गरिएको एक अध्ययनले पनि ट्याटु मसीमा प्रयोग गरिने रसायनहरूले लिम्फ नोड्समा जम्मा हुने सम्भावना रहेको पत्ता लगाएको थियो। उक्त अध्ययनले ट्याटु मसीका कणहरू लिम्फ नोड्समा पुग्ने र तिनीहरूको रासायनिक संरचनामा हुने परिवर्तनले गर्दा शरीरमा लामो समयसम्म असर पर्ने जोखिम हुनसक्छ। अनुसन्धानकर्ताहरूले ट्याटु मसीको कारण सिधै क्यान्सर हुन सक्छ भन्ने ठोस प्रमाण भने पाएका छैनन्, तर यो सूक्ष्म स्तरमा प्रभाव पार्न सक्छ भन्ने निष्कर्ष निकालेका छन्।

अमेरिकन क्यान्सर सोसाइटीले चाहिँ ट्याटु र क्यान्सरबीचको सम्बन्धबारे प्रत्यक्ष प्रमाण नभेटिए पनि ट्याटु मसीमा केही संभावित हानिकारक रसायनहरू समावेश हुन सक्छन् भन्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार, ट्याटुहरू र क्यान्सरबीचको सम्बन्धबारे थप अनुसन्धानको आवश्यकता छ, र मसीको गुणस्तर र सुरक्षा सुनिश्चित गर्न नियामक निकायहरूले कडा अनुगमन गर्नुपर्छ ।

अन्य केही अनुसन्धानले ट्याटु भएको छालामा UV किरणको प्रभाव बढी हुन सक्ने देखाएको छ। रंगीन ट्याटुहरू भएका छाला UV किरणसँग सम्पर्कमा आउँदा छालामा क्षति हुन सक्छ, र यो लामो समयसम्म रहनाले छालाको क्यान्सरको जोखिम बढ्न सक्ने देखाएको छ। यद्यपि, यो जोखिम सिधै ट्याटुको मसीसँग नभएर UV प्रकाशसँग सम्बन्धित छ।

सारांशमा भन्दा ट्याटुका मसीमा केही हानिकारक रसायनहरू हुनसक्ने र तिनले शरीरमा लामो समयसम्म असर पार्न सक्ने कुरा विभिन्न अनुसन्धानहरूले सुझाव दिएका छन् । यद्यपि, हालसम्म सिधै ट्याटुले क्यान्सरको जोखिम बढाउँछ भन्ने ठोस र प्रमाणित प्रमाण भेटिएको छैन। धेरैजसो अध्ययनहरूले क्यान्सरको जोखिमको मामलामा अझै पनि थप अनुसन्धानको आवश्यकता रहेको कुरा जोड दिएका छन्।