कहिलेकाहीँ किन हाम्रो घुँडाको हड्डी पड्केको आवाज आउँछ ?

हामी उठ्दा वा बस्दा कहिलेकाहीँ घुँडामा पड्केको आवाज आउने गर्छ । त्यसरी घुँडाको हड्डीबाट कहिलेकाहीं आउने "पड्किएको" आवाजलाई सामान्यतया क्रीपिटस (crepitus) भनिन्छ। हड्डी, मांसपेशी, लिगामेन्ट्स, र जोर्नीहरू मिलेर बनेको घुँडाको संरचना एकदम जटिल हुन्छ, र यस्तै कारणहरूले गर्दा आवाज उत्पन्न हुन्छ।

त्यस्तो आवाज विभिन्न कारणहरूले उत्पन्न हुन सक्छ, र धेरै अवस्थामा यो त्यस्तो डर मान्नुपर्ने खालको पनि हुँदैन। तर यसो भन्दैमा यो समस्यालाई हामीले पूरै वेवास्ता भने गर्नु हुँदैन । खासगरी, त्यसरी घुँडाको हड्डी पड्केन समस्या धेरै नै भइरह्यो वा लामो समयसम्म रहीरह्यो भने त्यो  स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छ।

घुँडामा आवाज आउनुका कारणहरू

घुँडाका जोर्नीहरूको बीचमा हुने साइनोभियल द्रव (synovial fluid) हुने गर्छ । त्यसमा नाइट्रोजन ग्यास लगायतका ग्यासहरू घुलित हुन्छन्। जब घुँडा मोडिन्छ वा चल्छ, ती ग्यासका फोकाहरु फुटेर ‘पड्किएको’ आवाज निस्कन सक्छ। सामान्यत: त्यसरी पड्कनु हानिरहित हुन्छ । यो शारीरिक क्रियाकलापका क्रममा हुने जोर्नीको साधारण प्रतिक्रिया हो।

घुँडाको हड्डीको जोर्नीहरूमा अस्थिसन्धि (Cartilage) ले दुई हड्डीहरुलाई घोटिन नदिनका लागि कुशनको रूपमा काम गर्छ। उमेर बढ्दै जाँदा वा हाम्रो शारीरिक श्रम बढी नै हुने गर्दा त्यो अस्थिसन्धि पातलो हुन जान्छ, कतिपय अवस्थामा त त्यो क्षतिग्रस्त नै पनि हुन सक्छ । त्यो अस्थिसन्धिको अभावमा वा पातलो हुँदा घुँडाका हड्डीहरू सिधै एकअर्कामा घर्षण हुने सम्भावना हुन्छ।त्यो घर्षण हुँदा त्यसरी हड्डी पड्केको आवाज उत्पन्न हुने गर्छ । कतिपय अवस्थामा त त्यसरी हड्डी घर्षण हुँदा हामीलाई दुखाइको अनुभव पनि हुन सक्छ।

लिगामेन्ट (ligaments) र टेण्डनहरू (tendons) हड्डीहरूलाई जोड्ने संयन्त्रहरू हुन्। जब घुँडा मोडिन्छ वा विस्तार हुन्छ, यी लिगामेन्ट वा टेण्डनहरू हड्डीमा वा आसपासका संरचनाहरूमा टकराउन सक्छन्। यस्ता हुँदा पनि हड्डी पड्केको  आवाज उत्पन्न हुन सक्छ।यस्तो अवस्थाले सामान्यतया केही समयसम्मको असुविधा सिर्जना गर्न सक्छ । तर यसले नै स्वास्थ्य समस्या भने उत्पन्न गराइहाल्दैन ।

घुँडाको हड्डी पड्केको आवाज आउनुको अर्को कारण चाहिँ घुँडाको हड्डी, लिगामेन्ट्स, वा कार्टिलेजमा  लागेको चोट पनि हुन सक्छ । त्यसरी चोट लागेमा, त्यहाँ असामान्य घर्षण वा हिँड्ने ढाँचामा परिवर्तन हुन सक्छ। यसले पनि जोर्नीबाट हड्डी पड्केको आवाज निस्कन सक्छ । यस्तो अवस्थामा चाहिँ "पड्किएको" आवाजसँगै दुख्ने र त्यस स्थानमा सुन्निने पनि हुन सक्छ ।

घुँडाको जोर्नीमा अर्थ्राइटिस हुँदा पनि यस्तो आवाज निस्कन सक्छ ।  विशेष गरी ओस्टियोअर्थ्राइटिसका कारण पनि जोर्नीमा आवाज उत्पन्न हुन सक्छ। अर्थ्राइटिसको कारणले कार्टिलेजमा भएको खियाइले घुँडाको जोर्नीमा असामान्य आवाज र दुखाइको सिर्जना गर्छ।यस अवस्थाले सामान्य घर्षणको ध्वनिभन्दा गहिरो, सुक्खा आवाज उत्पन्न गर्न सक्छ।

कहिलेकाहीँ शरीरको विशेष अवस्थाको कारण पनि त्यस्तो पड्किएको आवाज निस्कन सक्छ । उदाहरणको लागि, हामी लामो समयसम्म बसेर उठ्दा, घुँडामा एक क्षणिक परिवर्तन हुन्छ। यसबाट पनि अचानक "पड्किएको" आवाज आउन सक्छ । तर यो क्षणिक समस्या हो ।  केही समयपछि सामान्य अवस्थामा फर्किन्छ।

उपचारको आवश्यकता

सामान्यत: घुँडाबाट आउने आवाज सामान्यतया हानिरहित हुन्छ । तर कतिपय अवस्थामा भने उपचार गर्नुपर्ने पनि हुन सक्छ । विशेषगरी, घुँडाको हड्डी पड्कनुका साथै  निम्न लक्षणहरू देखा परेमा उपचार गराउनुपर्छ–

० आवाजसँगै लगातार दुखाइ, सूजन, वा लचकता गुमेको छ भने।

० घुँडामा कमजोरी वा अस्थिरताको अनुभूति भएमा।

० आवाज बारम्बार र गहिरो हुँदै गएमा।

संक्षेपमा भन्दा, घुँडाको हड्डीबाट आवाज आउनुका कारणहरु धेरै हुन सक्छन् । धेरैजसो अवस्थामा यो हानिरहित हुन्छ र कुनै उपचार आवश्यक हुँदैन। तर, यदि यससँगै दुखाइ, सुन्निने समस्या देखापरेमा वा घुँडाको कार्यक्षमता कम हुँदै गएमा भने हामीले उपचार गराउनु पर्छ ।