हाम्रो आँखामा किन झिलिमिली हुन्छ?

तपाईंहरुमध्ये कत्तिले याद गर्नुभएको छ– कहिलेकाहीँ हामी बसिरहेको बेलामा वा बसेको अवस्थाबाट अचानक उठ्दा आँखा झिलिमिली हुन्छ, आँखाअगाडि कालो–सेतो थोप्लाहरु तैरिन थाल्छ । हामीमध्ये कतिपय त आँखाअगाडि भुसुना पो उडेछ भन्ठानेर हातले धपाउने कोशिस पनि गर्न पुग्छौं, जबकि वास्तविकतामा त्यहाँ कुनै भुसुनाहरु उडेको हुँदैन ।

यस्तो किन हुन्छ ?

यसरी कहिलेकाहीँ आँखा अगाडि झिलिमिली देखिनुको धेरै कारणहरू छन् । तीमध्ये प्रायः सबै केन्द्रीय स्नायु प्रणाली (CNS) को असफलतासँग सम्बन्धित हुन्छन्। यस अवस्थामा शरीरमा खराब रक्त परिसंचरण भएको हुन्छ, जसले उच्च रक्तचापको कारण बनाउँछ र आन्तरिक अंगहरूको काममा समस्या पैदा गरिरहेको हुन सक्छ । अधिकांश अवस्थामा, आँखामा देखिने झिलिमिली खराब रक्त परिसंचरण र खोपडीभित्रको दबाब बढ्नबाट उत्पन्न हुन्छ। यस्तो अवस्थामा, बिरामीले आँखामा कालो र सेतो बिन्दुहरू देख्छ।

यसरी आँखामा झिलिमिली हुनुको मुख्य कारण प्राय: आँखासँग सम्बन्धित नभई तंत्रिका प्रणाली, रक्तसञ्चार, वा अन्य स्वास्थ्य समस्याहरूसँग सम्बन्धित रहेको हुन्छ। यो प्राय: अस्थायी हुन्छ केहीबेरमा आफैं ठिक भएर जान्छ । तर कहिलेकाहीँ यो गम्भीर स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छ।

आँखा अगाडि झिलिमिली देखिनु प्राय: रक्तसञ्चारको समस्या वा मस्तिष्कमा पर्याप्त रक्त प्रवाहको कमीका कारणले हुन्छ। यदि मस्तिष्कमा पर्याप्त अक्सिजन पुग्दैन भने, यस्तो समस्या उत्पन्न हुन सक्छ। उच्च रक्तचाप (High Blood Pressure) र कम रक्तचाप (Low Blood Pressure) दुबै यसका कारण हुन सक्छन्। यसले आँखा वा मस्तिष्कमा अक्सिजन आपूर्तिमा अवरोध गर्न सक्छ, जसले झिलिमिली उत्पन्न गर्छ।

मस्तिष्कमा दबाब बढ्दा आँखा अगाडि झिलिमिली देखिने सम्भावना हुन्छ। इंट्राक्रानियल दबाब (Intracranial Pressure) भनिने यस्तो दवाबले मस्तिष्क र आँखाको रक्त नलीहरूमा अवरोध उत्पन्न गर्छ, जसले दृष्टिमा अस्थायी समस्या ल्याउन सक्छ।यो प्राय: तनाव, माईग्रेन, वा अन्य न्यूरोलोजिकल समस्याहरूसँग सम्बन्धित हुन्छ।

आँखाको दृष्टि प्रणालीमा रहेका रक्त नलीहरूमा असामान्य रक्त प्रवाह वा अवरोधले  पनि झिलिमिलीको अनुभूति गराउँछ। यसलाई रेटिनल माइग्रेन पनि भनिन्छ, जसमा विशेष गरेर आँखाको रेटिनामा अस्थायी रक्तसञ्चारको कमी हुन्छ।

माईग्रेनको समस्याका कारण पनि आँखामा प्रकाश वा झिलिमिली देखिन सक्छ। यसलाई "आभा" (Aura) भनिन्छ। माईग्रेन आक्रमणको प्रारम्भिक लक्षणहरूमा दृष्टिमा धब्बा, झिलिमिली, वा अन्य असामान्य दृश्य प्रभावहरू देखा पर्न सक्छन्।

कहिलेकाहीँ अत्यधिक शारीरिक र मानसिक तनाव तथा निद्राको कमीले पनि यस्तो समस्या देखापर्न सक्छ । थकानको संकेत दिने यस्तो  आँखामा झिलिमिली प्राय: तनावपूर्ण समयमा देखिन्छ र विश्रामपछि सामान्य अवस्थामा फर्किन्छ।

त्यसबाहेक भिटामिन बी१२, भिटामिन ए, वा अन्य आवश्यक पोषक तत्त्वहरूको कमीले पनि दृष्टिमा समस्याहरू ल्याउन सक्छ । यस्तो अवस्थामा पनि आँखा सामुन्ने झिलिमिली देखिन्छ ।

तर यस्तो समस्या लगातार देखापरिरह्यो वा बढी नै देखिन थाल्यो भने चाहिँ त्यो गम्भीर न्यूरोलोजिकल समस्याको संकेत पनि हुन सक्छ । खासगरी स्ट्रोक, ट्यूमर, वा तंत्रिका प्रणालीको क्षति पनि त्यस्तो झिलिमिली देखिनुको कारण हुन सक्छ। यस्ता समस्याहरूमा अन्य सम्बन्धित गम्भीर लक्षणहरू पनि देखा पर्न सक्छन्।

गर्न सक्ने सम्भावित क्षतिहरू

यदि झिलिमिली लगातार देखिन थाल्यो भने, यसले दृष्टि प्रणालीमा गम्भीर समस्या उत्पन्न गर्न सक्छ। रक्तसञ्चारमा लगातार पैदा हुने समस्याले आँखाको रेटिनामा स्थायी क्षति पुर्‍याउन सक्छ, जसले दृष्टि गुमाउने सम्भावना पनि निम्त्याउन सक्छ।

यदि झिलिमिली देखिनुको कारण स्नायु प्रणालीमा रहेको कुनै समस्या हो भने बेलैमा त्यसको उपचार गरिएन भने त्यसले स्नायुतन्त्रमा गम्भीर  क्षति पुर्‍याउन सक्छ । त्यसको परिणाम स्वरूप मस्तिष्कसम्बन्धी अन्य गम्भीर समस्या देखा पर्न सक्छ।

के हुन सक्छ बच्ने उपायहरू ?

अन्य स्वास्थ्य समस्याहरुमा जस्तै यो समस्याबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको स्वस्थ जीवनशैली हो । त्यसका लागि नियमित व्यायाम गर्नु उचित हुन्छ  जसले शरीरको रक्तसञ्चारलाई सुधार गर्छ, अनि आँखा र मस्तिष्कमा पर्याप्त अक्सिजन पुग्न मद्दत गर्छ।तनाव व्यवस्थापनका लागि ध्यान, योग, वा ब्रीदिङ व्यायामको अभ्यास गर्नु लाभदायक हुन्छ।

त्यसैगरी, भिटामिन बी१२, भिटामिन ए, र अन्य आवश्यक पोषक तत्त्वहरू पर्याप्त मात्रामा खानपानमा समावेश गर्नु जरूरी हुन्छ। यसका लागि फलफूल, सागसब्जी, प्रोटीनयुक्त खानाहरू सेवन गर्नु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ।

शरीरमा पानीको कमी हुन नदिनु यस समस्याको सबैभन्दा उत्तम समाधान हो । खासगरीऽ पानीको कमीले रक्तसञ्चारमा समस्या ल्याउन सक्छ, जसले झिलिमिलीलाई उत्प्रेरित गर्न सक्छ।

त्यसबाहेक, पर्याप्त निद्रा र शरीरलाई आराम दिने बानी बसाल्नु जरुरी हुन्छ । त्यसले आँखा र तंत्रिका प्रणालीलाई पुन: उर्जाशील बनाउँछ।

विशेष ख्याल गर्नुपर्ने कुरा के हो भने,  आँखामा झिलिमिली हुने समस्या लगातार भइरहन्छ र त्यसका साथसाथै  अन्य लक्षणहरू पनि देखापर्छन् भने, तुरुन्तै चिकित्सकको परामर्श लिनु पर्छ। यसक्रममा रक्तचापको अवस्था ठीक रहेनरहेका तथा स्नायप्रणालीसँग सम्बन्धित कुनै समस्या रहेनरहेकोबारे थाहा पाउन ततसम्बन्धी जाँच गराउनु पर्छ । ताकि कुनै समस्या नै छ भने पनि तिनले कुनै गम्भीर क्षति गर्नुपूर्व नै उपचार गरेर त्यसलाई रोकथाम गर्न सकियोस् ।