पृथ्वी गोलो छ भन्ने कुरा सर्वप्रथम कसले बताए ?

पृथ्वीको रुप कसरी पत्ता लाग्यो ?– ५

अहिले आएर यो प्रश्नको निश्चित उत्तर दिन पक्कै गाह्रो छ। प्राचीन समयमा प्रत्येक सभ्य देशमा आफ्ना ज्ञानीहरू थिए, र यो विचार उनीहरू मध्ये धेरैलाई आएको हुनुपर्छ। उदाहरणका लागि, प्राचीन ग्रीसका एक विचारक पाइथागोरसले गोलो आकारलाई सबै ज्यामितीय आकारहरूमध्ये सबैभन्दा परिपूर्ण ठान्थे। त्यसो भए, हाम्रो संसार ब्रह्माण्डको केन्द्र भएको हुँदा, यसलाई अर्को कुनै आकारमा कसरी कल्पना गर्न सकिन्थ्यो र? धेरै विद्वानहरूले पाइथागोरससँग सहमति जनाए। एउटै प्रश्न त्यसलाई कसरी प्रमाणित गर्ने भन्ने नै थियो? के कस्तो तर्क वा उदाहरण प्रस्तुत गर्न सकिन्थ्यो जसले सबै शंका हटाइदिन्थ्यो? ग्रीक दार्शनिक एरिस्टोटलले यसलाई प्रमाणित गरे। उनी धेरै शिक्षित व्यक्ति थिए र उनले विज्ञानका धेरै क्षेत्रमा ठूलो ज्ञान आर्जन गरेका थिए। उनी महान सम्राट अलेक्जेन्डरका शिक्षक पनि थिए, र उनले दर्शनशास्त्रमा एउटा प्रसिद्ध विद्यालय स्थापना गरेका थिए। उनको ख्यातिले उनीकहाँ धेरै विद्यार्थी र शिष्यहरू आउने गरेका थिए। अलेक्जेन्डर आफ्नो प्रसिद्धिको शिखरमा हुँदा पनि आफ्नो गुरुलाई कहिल्यै बिर्सेनन्। उनी उनलाई पत्रहरू पठाउँथे र विभिन्न देशहरूबाट भेटिएका दुर्लभ र रोचक वस्तुहरू पठाउँथे।
हरेक सच्चा विद्वानझैं, एरिस्टोटल सधैं थप बढी जान्न उत्सुक थिए। ज्ञान त्यस्तो सम्पत्ति हो जसलाई जम्मा गर्दा कुनै लाज मान्नुपर्दैन। एरिस्टोटलको समयसम्म पनि अझै समाधान हुन नसकेको रहस्यमध्ये एक चन्द्र ग्रहण थियो। यो किन हुन्छ भनेर कसैलाई थाहा थिएन। केही मानिसहरूलाई लाग्थ्यो कि दुष्ट दानवहरूले यसको चाँदीजस्तो उज्यालो चोर्न चन्द्रमालाई लिएर जान्छन्। अरूले यसलाई युद्ध, दुर्भिक्ष, र महामारी जस्ता विपत्तिको संकेत ठान्थे। केही मानिसहरूले चन्द्र ग्रहणले मानिसहरू श्वास नलीको समस्या वा घाँटी थिचिएर मर्न सक्ने गरी हावा विषाक्त बनाउँछ भन्ने कथा सुनाउँथे । त्यो कुरामा विश्वास गर्नेहरू आफ्नो तहखानामा लुक्थे, झ्यालहरू ढाक्थे, र झ्यालका चिराबाट हावा पस्ने ठाउँहरूमा माटो वा प्लाष्टरले बन्द गर्थे।

एरिस्टोटल काँतर थिएनन्। उनले धेरै पटक ग्रहणहरूको निरीक्षण गरेका थिए, र उनलाई केही भएको थिएन। उनका निरीक्षणहरूले उनलाई यस निचोडमा पुर्‍यायो कि पृथ्वी सूर्य र चन्द्रको बीचमा आइपुग्दा चन्द्रमामा देखिने अँध्यारो धब्बा पृथ्वीको छायाँ हो । तर, छायाँ सधैं गोलो किन हुन्थ्यो त?

एरिस्टोटलले सूर्यको दिशातिर एक च्याप्टो गोल पिठोको रोटी राखेर यसको छाया अवलोकन गरे। एउटा स्थितिमा छायाँ गोलो देखियो। अर्को स्थितिमा छायाँ डण्डाजस्तो पातलो भयो। त्यसैले पृथ्वी च्याप्टो हुन सक्दैन भन्ने उनले ठहराए।

पछि उनले सूर्यतिर फर्काएर आधा सुन्तला राखे। यो सुन्तलाले पनि सूर्य यसको च्याप्टो वा घुम्रिएको भागमा परे पनि छायाँ गोलै पार्थ्यो । जसै त्यसलाई अलिक  मोडियो, छायाँ अर्धवृत्त भयो। केवल पूरै सुन्तलाले सधैं गोलो छायाँ पार्थ्यो।

"यसको मतलब हाम्रो पृथ्वी गोलो नै हुनुपर्छ," एरिस्टोटलले आफ्ना विद्यार्थीहरूलाई भने। अनि उनले यस निष्कर्षमा आफू कसरी पुगे भनेर देखाए। विद्यार्थीहरूले आँखा ठूलो पार्दै, उनको बुद्धिमत्ताबाट चकित हुँदै आफ्नो शिक्षकलाई हेरे ।

तर एउटा समस्या बाँकी नै रह्यो। संसारको तलको भागमा मानिसहरू कसरी बस्थे होलान्? उनीहरू उल्टो हुन्थे होलान्। के उनीहरू तल खस्लान् ?

त्यतिबेला कसैले पनि गुरुत्वाकर्षणको बलले वस्तुहरूलाई पृथ्वीमा समातेको हुन्छ भन्ने कुरा थाहा पाएको थिएन, जसले गर्दा एरिस्टोटलले पनि यसको कुनै विश्वसनीय उत्तर पाउन सकेनन्। केवल मानिसहरू मात्र होइन, पहाड, घर, नदी, समुद्र, यहाँसम्म कि हावा पनि गुरुत्वाकर्षणकै कारण पृथ्वीमा समातिएका छन् भन्ने कुरा त्यतिबेला थाहा थिएन।

एरिस्टोटललाई यो ज्ञान नभएकाले, उनले र उनका शिष्यहरूले दक्षिणी गोलार्द्ध जनशून्य हुनुपर्छ भनेर ठाने। केही विद्वानहरूले भने त्यहाँ 'एन्टिपोड' भनेर चिनिने मानिसहरू बस्न सक्छन् भन्ने धारणा व्यक्त गरेका थिए।

(क्रमश:)

यस श्रृङ्खलाका लेखहरु

भाग १

सजिलो थिएन आदिम मानवको जीवन !

भाग २

बसाइसराइ र सामुहिक बसोबासको थालनी

भाग ३

जब चीन नै सम्पूर्ण पृथ्वी हो भन्ने भाष्य स्थापित गर्न खोजियो !

भाग ४

प्राचीन भारतीय ऋषिहरूका पृथ्वीसम्बन्धी अद्भुत मोडलहरू

 

अनतोली तमोलिन

अनतोली निकोलाइविच तमोलिन (७ नोभेम्बर १९२७–१७ सेप्टेम्बर २०१५) सोभियत/ रूसी लेखक हुन्। वैज्ञानिकहरु तथा विज्ञानको इतिहासका बारेमा बालबालिका एवं किशोरहरुलाई लक्षित गरी थुप्रै विज्ञान पुस्तकहरु लेखेका तमोलिन विज्ञानलाई सर्वसाधारणहरु माझ लोकप्रिय बनाउने लेखकका रुपमा चर्चित छन् । यहाँ प्रस्तुत सामग्री रादुगा प्रकाशन मास्कोद्वारा प्रकाशित उनको लोकप्रिय पुस्तक ‘How People Discovered the Shape of the Earth’ बाट लिइएको हो । हामीले उनको उक्त पुस्तकलाई अनुवाद गरी धारावाहिक रुपमा प्रकाशित गरेका हौं ।