खाँदा मतिभ्रमित तुल्याइदिने, डरलाग्दो सपना देखाउने माछा !

यस संसारमा यस्तो माछा पनि पाइन्छ, जसलाई खाइयो भने त्यसले मानिसलाई ३६ घण्टासम्म मतिभ्रमित तुल्याइदिन सक्छ । त्यसले पैदा गर्ने असरले मानिसहरुले भयानक र डरलाग्दो सपना पनि देख्न सक्छ ।

त्यो माछाको नाम हो– सालेमा पोरगी (Salema porgy) । यस माछाले पैदा गर्ने मतिभ्रम र डरलाग्दो सपनाको असरका कारण यसलाई  ड्रिमफिश पनि भनिन्छ । यो एक प्रकारको समुद्री माछा हो र वैज्ञानिक वर्गीकरणमा यो  Sparidae परिवारमा पर्छ। यो माछा Sarpa नामक मोनोस्पेसिफिक जीनसको एकमात्र प्रजाति हो। सालेमा पोरगी पूर्वी एटलान्टिक महासागर, भूमध्यसागर, र दक्षिणपश्चिमी हिन्द महासागरमा पाइन्छ।

सालेमा पोरगीलाई खाँदा मानिसमा भ्रम (hallucinations) उत्पन्न हुन सक्छ। प्राचीन रोमका मानिसहरूले यस माछालाई मनोरञ्जनात्मक औषधिका रूपमा सेवन गर्ने गरेको कुरा उल्लेख गरिएको छ। जब यो माछा खाइन्छ, केही मिनेटभित्र नै डरलाग्दा भ्रमहरू सुरु हुने र तिनको अवधि लगभग ३६ घण्टासम्म रहने अध्ययनले देखाएको छ । यी भ्रमहरू दृष्टिगत, श्रवण भ्रम (visual and auditory hallucinations) जस्ता लक्षणहरूका रूपमा देखिन्छ । यही कारण प्राचीन समयमा यसको सेवनलाई मनोरञ्जनको साधनका रूपमा लिइन्थ्यो।

यो माछालाई खाँदा इथियोएलिनोटोक्सिस्म (Ichthyoallyeinotoxism) नामक विषाक्तता उत्पन्न गर्न सक्छ, जसले मानिसमा भ्रम (hallucinations) र डरलाग्दो सपना (nightmares) जस्ता लक्षणहरू देखाउन सक्छ। यस माछाले उत्पन्न गर्ने इथियोएलिनोटोक्सिस्मको लक्षणहरूको अध्ययनले मानिसमा गम्भीर मनोवैज्ञानिक असर पार्न सक्ने देखाएको छ  तर अहिले यसको असरलाई विषाक्तताका रूपमा लिइन्छ।

इथियोएलिनोटोक्सिस्म एक दुर्लभ प्रकारको खाना विषाक्तता हो । यो सालेमा पोरगी माछा खाँदा देखापर्छ । यसमा हुने के विषाक्त पदार्थले मुख्यत:  यो विषाक्तता निम्त्याउँछ भन्ने अझै पत्ता लागेको छैन। तर त्यसको विषले सेवनकर्ताको केन्द्रीय स्नायु प्रणालीमा असर गर्छ । फलत: भ्रम र डरलाग्दो सपना आउने लक्षणहरू देखिन्छन्।

“dreamfish” भन्ने माछासम्बन्धी गरिएका अध्ययनमा दुई घटनाहरूको विवरण दिइएको छ। पहिलो घटनामा, ४० वर्षीय पुरुषले Sarpa salpa माछा रेस्टुरेन्टमा खाएपछि सानोतिनो पाचन समस्याहरू अनुभव गरे र त्यसपछि भयानक दृष्टिगत र श्रवण भ्रमहरू देखे। उनलाई गम्भीर व्यवहारिक समस्या आएपछि अस्पताल लगिएको थियो । त्यो माछा खाएको ३६ घण्टा पछि बल्ल उनी त्यो समस्याबाट मुक्त भएका थिए । त्यो माछाले असर पारेको समयमा के भयो भन्ने सम्झन सकेनन्। दोस्रो घटनामा, ९० वर्षीय स्वस्थ व्यक्तिले Sarpa salpa खाएको २ घण्टा पछि श्रवण भ्रमहरू अनुभव गरे र त्यसपछि दुई रातसम्म धेरै डरलाग्दा सपनाहरू देखे। उनी ३ दिनपछि आफैँ निको भए।

यसरी Sarpa salpa माछा उत्पन्न भएको विषाक्तताले तीव्र रूपमा केन्द्रीय स्नायु प्रणालीमा असर पार्ने गरेको देखियो ।

विषाक्तता उत्पन्न गर्ने अरु माछाहरु

त्यसो त विषाक्तता उत्पन्न गर्न सक्ने माछाका अन्य प्रजातिहरु पनि हुन्छन् जसलाई सिगुआतेरा माछा (Ciguatera fish) भनिन्छ । यी माछाहरु प्राय: उष्णकटिबंधीय र उपोष्णकटिबंधीय क्षेत्रमा पाइन्छन् । यी माछाहरूमा सिगुआटोक्सिन (ciguatoxin) नामक विष हुने गर्छ, जुन माछाको शरीरमा जमिनको साना एल्गी (dinoflagellates) खाँदा संचित भएको हुन्छ । मानिसले सिगुआतेरा माछा खाँदा त्यो विष उसको शरीरमा प्रवेश गर्छ र खानासम्बन्धी विषाक्तता (food poisoning) गराउँछ ।

सिगुआतेरा विषाक्तता उत्पन्न गर्ने माछाहरूमा ब्याराकुडा, ग्रुपर, स्न्यापर, र एम्बरज्याक जस्ता माछाहरू प्रख्यात छन्। सिगुआतेरा विषाक्तताले पाचनसम्बन्धी, स्नायु प्रणालीमा असर, र तापक्रमसम्बन्धी गडबडीहरू गराउँछ जुन खतरनाक हुने गर्छ । यसको विषाक्तताका केही प्रमुख लक्षणहरूमा पेट दुखाइ, वान्ती, पेट खल्बलिने, शरीरमा कमजोरी, पाखुरा र खुट्टामा दुखाइ, र तापक्रम अनुभूति परिवर्तन हुन सक्छ। केही अवस्थामा तातोलाई चिसो र चिसोलाई तातो अनुभव (cold sensation perceived as hot and vice versa) पनि हुन सक्छ।

सिगुआतेरा विषाक्ततामा कुनै विशेष उपचार हुँदैन । यसलाई रोक्ने उपाय भनेको आफूले खाइरहेको माछाको स्रोत र प्रकारलाई ध्यान दिनु जरुरी छ ।

Image: https://upload.wikimedia.org