संसारमा सबैभन्दा बढी मृत्यु लामखुट्टेबाट !

झट्टै पढ्दा विश्वास गर्न गाह्रो लाग्न सक्छ तर यो कुरा सत्य हो–  संसारमा सबैभन्दा बढी मृत्यु लामखुट्टेले सार्ने रोगहरूको कारण हुने गर्छ । लामखुट्टे संसारकै सबै घातक प्राणीहरू मध्ये एक मानिन्छन्, किनकि विभिन्न रोगहरूको संक्रमण गराउने सबैभन्दा प्रमुख जीव लामखुट्टे हो ।

लामखुट्टेले सार्ने सबैभन्दा प्रमुख रोग भनेको मलेरिया हो । मलेरियाका कारण प्रत्येक वर्ष लाखौं मानिसहरूको मृत्यु हुने गर्छ । त्यमा पनि सबैभन्दा बढी मृत्यु अफ्रिकी महादेशमा हुने गर्छ। विशेष गरी उप-सहारा अफ्रिका (Sub-Saharan Africa) मा यो रोगको प्रकोप निकै घातक छ। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, संसारभरि हुने मलेरियासम्बन्धी मृत्युहरूको लगभग ९५% अफ्रिकामा हुने गर्छ। त्यसमा पनि नाइजेरिया, कङ्गो, तन्जानिया, र मोझाम्बिक सबैभन्दा बढी मलेरियाको जोखिममा छन्।

अफ्रिकी महादेशमा मलेरियाले उच्च मृत्यु दरको मुख्य कारणमा लामखुट्टेको एनोफिलिस (Anopheles) प्रजाति र यो प्रजातिको उच्च घनत्व रहेको जलवायु हो। लामखुट्टेले मलेरियाको परजीवी Plasmodium falciparum सार्ने हुँदा यो रोग अत्यन्तै घातक हुन्छ।

मलेरियाका धेरैजसो पीडितहरू बालबालिका र गर्भवती महिलाहरू हुने गर्छन् । यसो हुनुको खास कारण चाहिँ  यी समूहहरूको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ। त्यसमाथि थप प्रभावकारी रोकथाम र उपचार नहुनुका कारण पनि मलेरियाका कारण हुने मृत्युको दर उच्च छ।

मलेरियाबाहेक लामखुट्टेले डेंगु, चिकनगुनिया, जिका भाइरस, फिलेरियासिस, र पश्चिम नाइल भाइरस जस्ता रोगहरू पनि सार्छन्, जसले विश्वभर जनस्वास्थ्यमा ठूलो प्रभाव पार्छ।

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, लामखुट्टेले फैलाउने रोगहरू वर्षेनी ७ लाखभन्दा बढी मृत्युको कारण बनिरहेका छन्।