सबैभन्दा विशाल उत्पादन क्षमता भएको मुलुक चीन

चीनको उत्पादन क्षमता अमेरिका, जापान र जर्मनीको उत्पादन क्षमता जोड्दा बल्ल बराबरी हुन आउँछ !

कुनै बेलाको तन्नम मुलुक हो चीन । माओत्सेतुङको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न भई १०४९ मा चिनियाँ जनगणतन्त्र स्थापना हुँदा चीनको अवस्था तत्कालीन नेपालको आर्थिक अवस्थाभन्दा खासै फरक थिएन, बरु नेपालको तुलनामा केही कमजोर नै थियो । लामो गृहयुद्ध, जापानी आक्रमण र भीषण राजनीतिक अस्थिरता व्यहोर्नु परेको कारण त्यसबेला चीनको अर्थतन्त्र ध्वस्त थियो, उद्योगधन्दाहरू विनाश भएका थिए, कृषि उत्पादन घटेको थियो, र जनतामा अत्यधिक गरिबी थियो। लगभग सबै क्षेत्रहरूमा चीनको विकास स्तर अत्यन्तै न्यून थियो, र ठूलो जनसंख्या गरिबी र बेरोजगारीको शिकार बनेको थियो।

त्यही चीन यतिखेर संसारकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकमा रुपान्तरित भएको छ । यतिखेर चीन विश्वकै सबैभन्दा ठूलो उत्पादनकर्ता र निर्यातकर्ता बनेको छ । इलेक्ट्रोनिक्स, स्टिल, गार्मेन्ट्स लगायत विविध वस्तुहरुको उत्पादनको क्षेत्रमा चीन अग्रणी स्थानमा छ । अमेरिकाको सबैभन्दा ठूलो प्रभुत्व रहेको विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा चीनले अमिरकालाई पछ्याइरहेको छ भने कतिपय पक्षमा अमेरकालाई नै उछिनेर अघि बढेको अवस्था छ । खासगरी, फाइभजी नेटवर्क, कृत्रिम बौद्धिकता (एआइ), इलेक्ट्रिक कार, इकमर्सको क्षेत्रमा चीन नम्बर एक बनेको अवस्था छ । अमेरिकी अर्थतन्त्रको सबैभन्दा बलियो खम्बा तथा विश्वमै अग्रणी अमेरिकाको हतियार प्रविधिलाई समेत चीनले कडा टक्कर दिइसकेको छ । अमेरिकाले खासै सफलता हासिल गर्न नसकेको हाइपरसोनिक हतियार निर्माणमा चीनले अमेरिकालाई पछाडि पारिसकेको छ ।युद्धक विमानको निर्माणमा चीनले अमेरिकाको बराबरी गर्न थालिसकेको छ । आफ्नै जेट इन्जिन निर्माण गरिसकेको चीनले अन्तरिक्ष प्रविधिमा समेत वैश्विक श्रेष्ठता हासिल गरिसकेको छ । त्यही अमेरिका हो, जसले कुनै बेला आफ्नो अन्तरीक्ष स्टेशनमा चिनियाँ वैज्ञानिकहरुलाई काम गर्न दिएको थिएन । तर अहिले अमेरिकीहरुको अन्तरीक्ष स्टेशन आयु सकेर सन् २०३० तिर ध्वंश हुने दिशातिर अघि बढ्दा चीनले आफ्नै अलग्गै अन्तरिक्ष स्टेशन स्थापना गरिसकेको छ । अब अमेरिकाले त्यसका लागि चीनको भर पर्नुपर्ने अवस्था आउन लागेको छ ।  चीनको निरन्तर बढ्दो कूल ग्राहस्थ उत्पादन (जीडीपी) र अमेरिकाको भन्दा बढी रहेको  क्रयशक्ति समतुल्यता ((Purchasing Power Parity, PPP)) अहिलेको गतिमा  जारी रहने हो भने २०२८–३० मै यसले अमेरिकीलाई पछाडि पारेर आर्थिक रुपमा पहिलो स्थान प्राप्त गर्न सक्ने देखिएको छ ।

सबैभन्दा बढी उत्पादन क्षमता भएको मुलुक

यतिखेर चीन संसारकै सबैभन्दा बढी उत्पादन क्षमता भएको मुलुकको रुपमा देखापरेको छ ।  चीनको उत्पादन क्षमता अमेरिका, जर्मन, जापान, र भारतको भन्दा बढी छ ।

यसरी चीन यतिखेर संसारकै सबैभन्दा ठूलो उत्पादन क्षमता भएको मुलुक बन्नुका पछाडि केही आधारभूत कारणहरु रहेका छन् ।

सबैभन्दा पहिलो कुरा त चीनले आफ्नो आधारभूत औद्योगिक संरचना धेरै ठूलो स्तरमा विकास गरेको छ। देशका विभिन्न क्षेत्रहरुमा ठुला औद्योगिक पार्क तथा उत्पादन स्थलहरु बनाइएको छ । चीनका ठूला र प्रमुख शहरहरु अन्तर्राष्ट्रिय औद्योगिक केन्द्रमा रुपान्तरित भएका छन् । ती शहरहरुमा लाखौं उत्पादन इकाइहरु सञ्चालित छन् । विशाल उत्पादन सुविधा र उन्नत प्रविधिहरूको समुचित प्रयोगले चीनलाई  विश्वका प्रमुख उत्पादन केन्द्रको रूपमा स्थापित गराएको छ ।

चीनको सबैभन्दा ठूलो अनुकूलता भनेको यसको विशाल जनसंख्या पनि हो । त्यसले चीनमा तुलनात्मक रुपमा श्रमको लागत सस्तो बन्ने स्थिति छ ।  सस्तो श्रमको उपलब्धताले  उत्पादन लागतलाई कम गर्न र ठूलो मात्रामा उत्पादन गर्न सक्षम बनाउनु स्वभाविक कुरा हो ।

चीनको उत्पादन क्षमता बढ्नुको अर्को मूल कारण त्यहाँको सरकारले अपनाएको  औद्योगिक विकासलाई प्राथमिकता दिने नीतिहरू पनि हो । चीनले अपनाएका लगानीमा प्रोत्साहन, प्रोत्साहन कार्यक्रमहरू, कर छुट, सरकारी अनुदान आदिले उत्पादन क्षमतामा वृद्धि भएको छ। पछिल्लो पटक चीनले मेड इन चाइना– २०२५ अभियान नै सञ्चालन गरेको छ । यस अभियानमा उच्च एवं स्वचालित प्रविधिहरुमा लगानी गर्ने कुरालाई प्राथमिकता दिइएको छ ।

चीनको सबैभन्दा ठूलो अनुकूलता आपूर्ति चेनको सहजता र कच्चा सामग्रीको पहुँचले पनि हो । त्यसैगरी, प्रविधिको निरन्तर विकासमा जोड तथा औद्योगिक उत्पादनहरुमा तिनको व्यापक प्रयोगमा चीनले विशेष जोड दिँदै आएको छ ।   स्वचालित उत्पादन र रोबोटिक्सको प्रयोगलगायत नयाँ नयाँ प्रविधिहरुको उपयोगले उत्पादन प्रक्रियामा दक्षता बढाएको छ।  

यतिखेर चीन विश्व आपूर्ति श्रृङ्खलाको एक महत्त्वपूर्ण हिस्सा बनेको छ । चीनले अपनाएको अनुकूल औद्योगिक नीति, उच्चस्तरीय दक्षता सहितका श्रमशक्तिहरुको सहज उपलब्धता, सस्तो श्रम, राजनीतिक स्थिरता, कच्चा पदार्थको सहज उपलब्धता लगायतका कारणहरुले थुप्रै अन्तर्राष्ट्रिय कम्पनीहरुले चीनमा कारखानाहरु खोलेका छन् । त्यसमाथि थप, चीनको आफ्नै ठूलो भित्री बजार रहेको छ जसले उत्पादनको ठूलो हिस्सा आन्तरिक रुपमै खपत हुने हुनाले उत्पादन बृद्धिमा सहयोग पुर्याउने गर्छ ।

विश्वबजारमा प्रमुख उत्पादन क्षमता भएका प्रथम १० मुलुकहरू:

विश्वबजारमा प्रमुख उत्पादन क्षमता भएका मुलुक  सामान्यतया तिनलाई मानिन्छ,  जसले ठूलो मात्रामा वस्तुहरू उत्पादन गर्छन् र वैश्विक आपूर्ति शृंखलामा महत्त्वपूर्ण भूमिका खेल्छन्। विशाल औद्योगिक आधार, आधुनिक प्रविधि, र उच्च दक्षतायुक्त श्रम शक्ति भएका देशहरुले मात्रै त्यस्तो उत्पादन क्षामता हासिल गर्न सक्छ । सामान्यतया औद्योगिक उत्पादनको कुल मूल्य र वैश्विक उत्पादनमा त्यसको योगदानको आधारमा । उत्पादन क्षमताको मापन गरिन्छ।

यस हिसाबले मूल्याङ्न गर्दा विश्वबजारमा प्रमुख उत्पादन क्षमता भएका प्रथम १० मुलुकहरु निम्नानुसार छन्–

वैश्विक उत्पादनमा चीनको हिस्सा लगभग ३०% प्रतिशत छ । पछिल्ला दिनहरुमा सबैभन्दा ठूलो उत्पादकको हैसियत बनाएर "विश्वको कारखाना" उपमा पाएको चीनले इलेक्ट्रोनिक्स, वस्त्र, निर्माण सामग्री, मेसिनरी, र उपभोक्ता सामानहरूमा उच्च उत्पादन क्षमता राख्छ।

वैश्विक उत्पादनमा अमेरिकाको हिस्सा लगभग १६ प्रतिशत छ । लामो समयसम्म एकल आर्थिक महाशक्तिको रुपमा विश्वबजारमा दबदबा बनाएको अमेरिकाले उन्नत प्रविधि, इलेक्ट्रोनिक्स, उर्जा, र उपभोक्ता सामानहरु ठूलो मात्रामा उत्पादन गर्न सक्दछ। यसको ठूलो औद्योगिक आधार र उत्पादन क्षमताको आधारमा अमेरिका  दोस्रो स्थानमा पर्छ ।

जापानले वैश्विक उत्पादनमा लगभग ७ प्रतिशत हिस्सा ओगट्दछ । उच्च प्रविधियुक्त उत्पादन, अटोमोबाइल, इलेक्ट्रोनिक्स, औद्योगिक मेसिन, र रोबोटिक्समा जापानले विश्वबजारमा स्थान बनाएको छ ।

वैश्विक उत्पादनमा जर्मनीको हिस्सा लगभग ६ प्रतिशत छ । "युरोपको इन्जिन" भनेर चिनिने जर्मनीले विश्वव्यापी रूपमा अटोमोबाइल, मेसिनरी, औद्योगिक उपकरण, र रसायन उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्छ।

चीनपछि विश्वमा सबैभन्दा तीब्रतर आर्थिक विकास गरिरहको मुलुक भारतले वैश्विक उत्पादनमा लगभग ३ प्रतिशत हिस्सा ओगट्दछ । भारतले विश्वबजारमा कपडा, औषधि, रसायन, इस्पात, र अटोमोबाइल उत्पादनमा विशेष स्थान राख्छ ।

दक्षिण कोरियाको वैश्विक उत्पादनमा लगभग ३ प्रतिशत हिस्सा हुन आउँछ । दक्षिण कोरियाले क्षमतामा इलेक्ट्रोनिक्स, अटोमोबाइल, रसायन, र जहाज निर्माणमा विशेष अग्रता राख्दछ । यसको  सामसुङ र हुन्डाई प्रमुख ब्रान्डहरू विश्वविख्यात छन् ।

वैश्विक उत्पादनमा लगभग २ प्रतिशत हिस्सा ओगट्ने इटालीको उत्पादन क्षमता विशेष गरी मेसिनरी, फेशन, विलासी वस्तु, अटोमोबाइल, र रसायन उद्योगमा केन्द्रित छ।

वैश्विक उत्पादनमा हिस्सा लगभग २ प्रतिशत हिस्सा ओगट्ने फ्रान्सले अटोमोबाइल, हवाई यातायातका सामग्रीहरू, विलासी सामान, औषधि, र रसायन उत्पादनमा ठूलो भूमिका खेल्छ।

वैश्विक उत्पादनमा इङ्गल्याण्डले लगभग २ प्रतिशत हिस्सा राख्छ । मूलत:

हवाई उद्योग, फार्मास्युटिकल्स, अटोमोबाइल, र इलेक्ट्रोनिक्स उत्पादन क्षमतामा इङ्गल्याण्डको महत्त्वपूर्ण योगदान छ।

वैश्विक उत्पादनमा लगभग २ प्रतिशत हिस्सा राख्ने ब्राजिल कृषि, इस्पात, रसायन, तेल र ग्यास उत्पादन, र अटोमोबाइल क्षेत्रमा ठूलो उत्पादन क्षमता राख्छ।

सारमा भन्दा अहिलेको विश्वमा चीन सबैभन्दा ठूलो उत्पादक राष्ट्र हो । यसको उत्पादन क्षमता चीनपछि विश्वका प्रमुख उत्पादक देशहरु अमेरिका, जापान र जर्मनीको उत्पादन क्षमताको कूल योगबराबर हुन आउँछ । प्रमुख उत्पादक देशको हैसियतले चीनले जसले विश्वव्यापी आपूर्ति शृंखलामा प्रमुख भूमिका खेलिरहेको छ। मूलत: माथि उल्लेख गरिएका प्रमख १० देशहरूको उत्पादन क्षमताले विश्व बजारलाई आकार दिन र वैश्विक अर्थव्यवस्थालाई चलाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।