सुत्नुअघि किन मोबाइल फोनको प्रयोग गर्नु हुँदैन?

मोबाइल फोनको लतले मानिसलाई यति साह्रो गाँजेको छ कि उनीहरु बिहान उठ्नेबित्तिकै ट्वाइलेट जाँदादेखि राति सुत्नका लागि ओछ्यानमा पस्दा पनि मोबाइल नै चलाउनु पर्छ । हामीमध्ये अधिकांशलाई त मोबाइल हेरेन भने निद्रा नै नलाग्ने हदसम्मको आदत परिसकेको हुन्छ । तर विशेषज्ञहरुले सुत्नुअघि मोबाइल फोन प्रयोग गर्ने बानी राम्रो नहुने चेतावनी दिएका छन् । उनीहरुले  सुत्नुअघि फोन प्रयोग गर्ने बानीले कालान्तरमा निदाउन गाह्रो हुने समस्दा देखापर्ने कुरामा सचेत गराएका छन् ।

सुत्नुअघि मोबाइल हेर्ने बानीले निद्रालाई बाधित गर्नुको खास कारणमा त्यसले मस्तिष्कको कार्य प्रणाली, हर्मोनको उत्पादन, र निद्राको चक्रमा आसर पार्छ । खासगरी मोबाइल, ट्याब्लेट, र कम्प्युटरजस्ता उपकरणहरूबाट ब्लु लाइट निस्कन्छ । लामो समयसम्म त्यस्ता ब्लु लाइट हेर्दा हाम्रो शरीरको सर्केडियन रिदम (circadian rhythm) लाई त्यसले प्रभावित गर्छ। सर्केडियन रिदम भनेको हाम्रो शरीरको प्राकृतिक घडी हो, जसले सुत्ने र ब्युँझने समयलाई नियन्त्रण गर्छ।

ब्लु लाइटले मेलाटोनिन नामक हर्मोनको उत्पादनमा रोक लगाउँछ। मेलाटोनिन भनेको शरीरलाई निदाउन सन्देश दिने हर्मोन हो। ब्लु लाइटको प्रभावले मेलाटोनिन उत्पादन कम हुन्छ, जसले गर्दा शरीरलाई निदाउनुपर्ने संकेत मिल्दैन । फलत: हामीलाई राम्रोसँग निद्रा नलाग्ने वा निद्रा नै नलागेको महसूस हुने गर्छ ।

सुत्नुअघि मोबाइल स्क्रोल गर्दा वा भिडियो हेर्दा हाम्रो मस्तिष्कले आराम गर्न पाउँदैन । त्यसले हाम्रो मस्तिष्कलाई सक्रिय र उत्तेजित तुल्याउने गर्छ । खासगरी, सामाजिक सञ्जालमा भएका भिडियो, पोष्टहरू, समाचार वा अनलाइन गेमहरूले हाम्रो मस्तिष्कलाई झन् क्रियाशील बनाउँछ। यसले मस्तिष्कलाई आराम गर्न नदिई निद्रा लाग्ने प्राकृतिक प्रक्रियामा अवरोध पैदा गर्छ । फलत: हामीद्याई निदाउन गाह्रो हुन्छ।

सुत्नुअघि मोबाइलमा समाचार, गेम, वा अन्य उत्तेजक सामग्रीहरुको निरन्तर हेराइले हाम्रो शरीरमा कोर्टिसोल नामक हर्मोन उत्पादन गराउँछ। खासगरी तनाव हर्मोन भनेर चिनिने कोर्टिसोलले हाम्रो शरीरलाई सतर्क तुल्याइदिन्छ र निद्रा लाग्न दिँदैन । खासगरी, तनावपूर्ण वा उत्तेजक सामग्रीहरु हेर्दा हाम्रो मस्तिष्कले आफूलाई  "जोखिम" वा "अलर्ट" अवस्थामा राख्छ । त्यसले गर्दा हामी निदाउन खोज्दा नै पनि निद्रा नलाग्ने वा निद्रा लाग्न गाह्रो हुने हुन्छ  ।

शरीरमा कोर्टिसोलको मात्रा बढ्दा  शरीर जागा अवस्थामा रहन जान्छ, जसले गर्दा निदाउन ढिलाइ हुन्छ र निदाइहाले पनि त्यो छिपछिपे खालको तथा ससानो कुराले पनि हामीलाई जगाइहाल्ने खालको हुने गर्छ ।

मोबाइल प्रयोग गर्दा हाम्रो स्नायु प्रणाली क्रियाशील हुन्छ, विशेष गरी सिम्पथेटिक नर्भस सिस्टम सक्रिय हुन्छ। सिम्पथेटिक नर्भस सिस्टम (Sympathetic Nervous System) भनेको स्वायत्त नर्भस सिस्टम (Autonomic Nervous System) को एक हिस्सा हो, जसले शरीरको अनैच्छिक कार्यहरू नियन्त्रण गर्छ। यो नर्भस सिस्टम विशेष गरी शरीरलाई तनावपूर्ण अवस्थाहरूको सामना गर्नका लागि तयार पार्नका लागि जिम्मेवार हुन्छ र "फाइट-अर-फ्लाइट" (लड्न वा भाग्न) प्रतिक्रिया उत्पन्न गर्दछ।

सिम्पथेटिक नर्भस सिस्टम सक्रिय हुँदा शरीरलाई आरामको स्थितिमा प्रवेश गर्न समय लाग्छ, जसले निद्राको चक्रलाई खल्बलाउँछ र त्यसको गुणस्तरलाई पनि खस्काउँछ।

सुत्नुअघि मोबाइलको प्रयोगले निद्रा लाग्न गाह्रो हुने मात्र हैन,  निद्राको गुणस्तर पनि घटाउँछ। त्यसले हामीलाई गहिरो निद्रा (deep sleep) वा REM (Rapid Eye Movement) निद्रामा जान कठिनाइ हुने अवस्था पैदा गरिदिन सक्छ । यो भनेको राम्ररी निद्रा नपुग्ने अवस्था आउनु नै हो । स्वभाविक रुपमा राम्ररी निद्रा नपुग्दा हाम्रो  शरीरको पुनः उर्जाकरण प्रक्रिया सही ढंगले सम्पन्न हुन सक्दैन। फलत: सुतेर उठिसक्दा पनि हामीलाई थकाइ नै महसुस हुने गर्छ र दिनभरि नै आलस्यताको अनुभूति हुन्छ ।

सारमा भन्दा, सुत्नुअघि मोबाइल हेर्ने बानीले निद्रालाई प्रत्यक्ष रूपमा असर गर्छ । यसको मुख्य कारणहरूमा मोबाइलको ब्लु लाइट, मानसिक उत्तेजना, कोर्टिसोल उत्पादन, र स्नायु प्रणालीको सक्रियता समावेश छन्। यसले निदाउन गाह्रो पार्छ, पारिदिने मात्रै होइन,  निद्राको गुणस्तरलाई पनि खस्काउने काम गर्छ । यसो हुनु भनेको शारीरिक र मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्ने अवस्था आउनु हो ।