किन खाने फर्सी ? यस्ता छन् फर्सी खानुका फाइदाहरु !

सर्वसुलभ तरकारीहरुमध्येका एक हुन्– फर्सी । फल्ने सिजनमा गट्टा भनेर चिनिने कलिलो फर्सीको तरकारी खान सकिन्छ भने नफल्ने सिजनका लागि पाकेको फर्सी भण्डारण गरी राखेर पनि खान सकिन्छ । यस अर्थमा यो बाह्रै महिना खान सकिने तरकारीमा पर्दछ ।

तर धेरैजनालाई फर्सीको तरकारी मन नपर्न पनि सक्छ । कतिपय मानिसहरु त फर्सीको नाम सुन्नेबित्तिकै तर्सिने पनि गर्छन् । तर वास्तवमा भन्ने हो भने फर्सी तर्सिनुपर्ने तरकारी कदापि होइन, यो त सकेसम्म सबैले खोजीखोजी खानुपर्ने तरकारीहरुमध्येका एक हुन् । आउनुहोस्, हामी पनि फर्सी खानुको स्वास्थ्य–फाइदाहरुबारे जानीराखौं ।

बिटा क्यारोटिनको खानी

आफ्ना सुन्तला रंगका साथीहरू गाजर र सकरखण्ड जस्तै, फर्सी पनि बिटा क्यारोटिनको खानी हो । बिटा क्यारोटिन भनेको हाम्रो शरीरको लागि अति उपयोगी एन्टिअक्सिडेन्ट हो । हामीले खाएको फर्सीबाट प्राप्त हुने यस एन्टिअक्सिडेन्टलाई हाम्रो शरीरले भिटामिन ए मा परिवर्तन गर्छ। सबैलाई थाहा भएकै कुरा हो– भिटामिन ए हाम्रो लागि अत्यावश्यक भिटामीनहरुमध्येको एक हो । यो भिटामीन आँखालाई र हाम्रो दृष्टि क्षमतालाई स्वस्थ राख्न, शरीरमा किटाणुहरुको आक्रमणलाई रोक्न र प्रजनन प्रणालीलाई सही ढङ्गले काम गर्न अति उपयोगी हुने गर्छ । यसले हाम्रो मुटु, फोक्सो, मिर्गौला र अन्य आन्तरिक अंगहरूलाई स्वस्थ राख्न पनि मद्दत गर्छ।

आँखाको दृष्टि राम्रो बनाउँछ

एक कप फर्सीले तपाईंलाई तपाईंको दैनिक सिफारिश गरिएका भिटामिन एको २००% मात्रा प्रदान गर्न सक्छ। भिटामिन एले तपाईंलाई स्वस्थ आँखा राख्न र विशेष गरी कम प्रकाशमा स्पष्ट देख्नमा मद्दत गर्छ। यस अर्थमा आँखा स्वस्थ राख्न तथा कमजोर दृष्टि भएकाहरुले फर्सी खानु लाभदायक हुन्छ ।

क्यान्सरको जोखिम कम गर्छ

फर्सीको माध्यमबाट प्राप्त हुने भिटामिन एले गर्ने अर्को उपयोगी काम भनेको यसले  केही प्रकारका क्यान्सर, जस्तै फोक्सो वा प्रोस्टेट क्यान्सरको जोखिम कम गर्छ । रोचक कुरा के छ भने, भिटामिन एको सप्लिमेन्टबाट भन्दा फर्सी लगायतका खानेकुराहरुमा प्राकृतिक रुपमा पाइने भिटामीन ए क्यान्सरको जोखिम कम गर्न बढी प्रभावकारी हुने गर्छ ।

प्रतिरक्षा प्रणालीलाई सुदृढ तुल्याउँछ

फर्सीमा बिटा क्यारोटिनका अलावा भिटामिन सी, भिटामिन ई, आइरन, र फोलेट जस्ता स्वस्थ शरीरका लागि अत्यावश्यक तत्त्वहरु पनि पर्याप्त मात्रामा पाइने गर्छ ।  यी सबै तत्त्वहरुले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने काम गर्छ । शरीरको रोग प्रतिरक्षा प्रणाली बलियो हुनु भनेको बाहिरी किटाणुहरुको हमलाबाट शरीर सुरक्षित रहनु तथा शरीरमा लागेका चोटपटकहरु चाँडो निको हुनु पनि हो । यस अर्थमा पनि हामीले आफ्नो खानेकुरामा फर्सीलाई समावेश गर्नु अति उत्तम कुरा हो ।

पोटासियमको खानी

फर्सीमा पाइने एउटा मुख्य तत्त्व पोटासियमले पनि हो । पोटासियमले रक्तचाप घटाउन सहयोग गर्छ । फर्सीका बीउहरूमा पनि खनिज र प्लान्ट स्टेरोल्स पर्याप्त मात्रामा पाइन्छ, जसले शरीरमा फाइदा गर्ने कोलेस्ट्रोलको स्तर वृद्धि गर्न र रक्तचापलाई पनि कम राख्न मद्दत गर्छ।

त्यसैगरी, फर्सीमा पर्याप्त मात्रामा पाइने पोटासियमले हृदयघात, मिर्गौलाका पत्थरी र टाइप २ मधुमेहको जोखिमलाई कम गर्न सक्छ। त्यसैगरी,  पोटासियमले हड्डीहरूमा खनिज घनत्व पनि बढाउन सहयोग गर्छ । यसरी फर्सीको नियमित सेवनले हाम्रो हड्डीलाई स्वस्थ र मजबूत राख्ने काममा पनि सहयोग गर्छ ।

पेटको बोसो घटाउँछ

फर्सीमा फाइबरको मात्रा धेरै हुन्छ र क्यालोरी कम हुन्छ। यसको अर्थ के हो भने यसले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । क्यालोरी कम हुने हुनाले यसले हाम्रो भोकलाई शान्त पारे पनि अनावश्यक रुपमा क्यालोरी जम्मा हुन दिँदैन । यस अर्थमा  पोषक तत्वले भरिपूर्ण फर्सी मोटोपनले चिन्तित व्यक्तिहरुका लागि खानेकुराको एउटा राम्रो विकल्प हो। हाम्रो आहारमा फर्सी समावेश गर्दा प्राप्त हुने फाइबरको वृद्धि पनि पाचन प्रक्रिया नियमित बनाउँछ र पेटको बोसो घटाउन सहयोग गर्छ ।

निद्रामा सुधार गर्छ

फर्सीका बीउमा ट्रिप्टोफन नामक एमिनो एसिड हुन्छ, जसले सेरोटोनिन नामक रासायनिक पदार्थ बनाउन मद्दत गर्छ। सेरोटोनिनले हामीलाई आनन्दित महसुस गराउने काम च गर्छ नै साथसाथै यसले राम्रो निद्रा लगाउने काम पनि गर्छ । त्यसैले राम्रो निद्रा नलाग्नेहरुका लागि पनि फर्सीको सेवन एउटा उत्तम विकल्प हुन सक्छ ।

स्वस्थ छाला

फर्सीमा रहेको बिटा क्यारोटिनको एन्टिअक्सिडेन्ट शक्तिले तपाईंको छाला स्वस्था राख्न मद्दत गर्छ । यसले विशेष गरी उमेरको बृद्धिसँगै छालाको स्वास्थ्यमा पर्ने असर र नकारात्मक प्रभावहरुलाई काम गर्न सहयोग गर्छ । त्यसैले छालाको सुन्दरता र स्वास्थ्यको लागि पनि फर्सीको नियमित सेवन फाइदाजनक नै हुने गर्छ ।

स्वस्थ मुटु

माथि हामीले उल्लेख गरिसकेका छौं कि फर्सीमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । फाइबरयुक्त खानेकुराहरुको सेवनले मुटुलाई स्वस्थ राख्छ र हृदय रोगको जोखिमलाई कम गर्छ । त्यसो त फर्सीमा पाइने फाइबरले मात्र हैन, यसमा पाइने पोटासियम र भिटामीन एले पनि मुटुलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ।

तथ्यस्रोत: वेवमेड डटकम