नेपाली समाजको धर्म के हो, धर्मात्मी को हुन् ?

बौद्ध ग्रन्थहरु त्रीपिटिका र वेदान्त ग्रन्थ उपनिषदहरुको अध्ययन गर्दा, भारतमा मुगलहरु आएर नाम जुराएको "हिन्दु" शब्द र म्याक्स मुलरले प्रचलित गराइदिएको हिन्दु धर्म र वैदिक सनातन धर्म त फरक छन्।

१. आफूलाई हिन्दु भन्नेहरु जात र छुवाछुतको कुरा गर्छन्, उपनिषदहरु जात मान्नेको झाँको झार्छन् र मानवको मर्यादा र सम्मानको कुरा गर्छन्। नेपाली समाजको धर्म ॠषिहरुले प्रतिपादन गरेका ज्ञानको खोजी र जीवचेतमा अधारित सत्यको खोजी गर्ने शास्त्रहरु हुन् कि "महिलाले वेद पढ्न हुन्न भन्ने र सिल्पिहरुलाई अक्षुत बनाउने धर्म हो? प्रभुहरुले छुटयाइदिनुहोस्।

२. धर्म मन्दिरमा हिन्दी गीतका लयमा भजन बजाएर, गाउँ टोल दुषित गर्नु हो ? कोटीहोमका नाममा नौटङ्की गर्नु हो? पहेला बस्त्र लागाएर अपराध गर्नु हो? धर्मलाई ठगीको धन्दा बनाउने दिने हो।

३. महिलाको अपमान गर्ने ठेक्केदारहरुले भनेको धर्म हो वा गार्गीका प्रश्न र याज्ञवलक्यको उत्तरको चर्चा अंकित बृहदारण्यक उपनिषद धर्म हो। धर्मको ठेक्का लिनेहरु तिजका नाममा पोइलका कुरा गर्ने र अभद्र नृत्य अनि रक्सीको चाड बनाइ देशको संस्कृति पुँजीवादको क्रूर उपभोक्तावादमा बदल्नु धर्म हो? 

४. स्कुल होइन जताततै मन्दिर! कति मन्दिर धाउँदा धर्म पूरा हुन्छ। धर्म चेतना हो कि अन्धविश्वास हो? हामी देशमा योग्य निर्माता चाहन्छौं वा पुजारी? हामी धर्म र बिज्ञानको सम्बन्ध खोज्ने खप्तड बाबाको बारेमा चर्चा गर्छौंं वा नाटकमञ्चन गर्ने रामदेवको? कोभिडको दवाइको नाममा नक्कलि औषधि बेच्ने मान्छे धर्मात्मी हो वा त्यसलाई कारवाही गर्ने न्यायाधीश धर्मात्मी हो?

गाउँ गाउँमा आज चर्च बनेका छन्। मानिस कृश्चियन बनिरहेका छन्।सयौं एनजीओ मानिसलाई फकाएर पैसा दिएर क्रिश्चियन बनाइरहेका छन्, ती पनि झारफुक गरेर बिराम निको पार्ने अन्धविश्वास  बेचिरहेका छन्। देशको पुनरसंरचना गर्ने वैज्ञानिक र बौद्धिकहरु पलायन भइरहेका छन्।के देश चाहिँ मार्ने नै हो?

जति गाली गर्नुपर्छ मण्डलले हो गाली गर। सत्य बोलेरै सभ्यताहरु जोगाउन सकिन्छ। आफ्नो मौलिकता मासिएको देश मर्छ। भीडले देश बाँच्दैन, विचारले मात्र बाँच्छ।