गढतीरको ढुंगामा आमाको सम्झना

साहित्य/कविता

कुन भञ्ज्याङदेखि

कुन अनकण्टार व्याँसीमा

कुन असिनाहरुसंग

अन्भाएर लखेटिएकी म

मेरी आमै । भन कुन जुनिमा

म तिम्रो आगन टेक्न आउँला,

मेरा माइती राजै ।

कुन साइतमा अब मैले

तिम्रो मुख देख्न पाउँला ?


यति खेर म कुन्नि के नाउँ गरेको

खोलाको गढतीरमा बसेकी छु

एक्ली छु, घुम्टोभित्र छु
यतिखेर मेरो आँशुले
गढतीरको ढुंगा भिजाउंदैछ
ए नी.... लै लै
यो खोलाको पानीले काँहाँ गएर बिसाउँदो हो,
मेरो माइती भञ्ज्याङको फेदलाई
यसले छुन्छ कि छुदैन ?


ऊ त्यो कालो काले, सिकटे सिकटे
रिठ्ठे सार्की भन्थे
नाउँ नलिनू भन्थे
त्यही हो मैले लोग्ने भन्नु पर्ने
सधै सधै माया गर्नु पर्ने
सधैं सधैं उसको कुरा मान्नु पर्ने
उसको लात बात सबै सहनु पर्ने
लोग्ने भनेको के हो मेरी आमा ?
संगिनी खेल्दा त सबैले लोग्ने रिझाउनु मात्र भन्थे

घाम साक्षी छ, आकाश साक्षी छ

जीवनमा माया कसको हुँदैन
तर मेरो मायाको मोल कसैले जोखिदिएन ।


कुजात भएर क्षेत्रीको छोरो ताक्ने

धूल्यानमा बसी ठूला घरे ताक्ने
तेरा भाँड पातकी वेश्ये भन्दै

मुखियाले गाउँ थर्काएको
 म कहिले बिर्सी सकूँ मेरी आमा ।

सिनु खाने जात ।
तेरी छोरीलाई विहे गरेर पठाइ दे

होइन भने कपाल खौरेर
नांगो झार पारेर
गाउँ घुमाउँछु भनी मुखिया गर्जेको !

मेरा बुढा बाबैले कहिले बिर्सेलान् ।

मुखियाको छाती र मेरा बाबैको छाती

एउटै होइन र मेरी आमा ?

 मेरा बाबै मात्रै ढुङ्गा हो र ?


उफ। जेठको यो घाम
ओझेल लाग्ने ठाउँ छैन
असिन पसिन भएकी छु
खेताँ काम गर्दा जस्तै,
यो त विहे हो
आइमाईको जातलाई खै र सुख मेरी आमा ?

भोक लाग्यो खाऊँ खाऊँ नभन्नू रे
सहनू रे, पर्खिनु रे,
संगिनी खेल्दा यसै भन्थे दिदैहरु ।

 

कति ढीलो गरी भोज खाएका यी जन्तहरुले

फेरि यिनीहरु छिल्लिएका कति नि ?

बोल्नु हुने नहुने सवै बोल्छन्
म एउटी आइमाईको इज्जत राखी दिदैनन्

त्यसै त हेप्दा र'छन्, बिष्टहरुले
हे दैव ! परायको घराँ बस्ने कसरी ?

मेरी आमा !
मुटुमा एक जना राखेर
अर्कोसंग जुनी बिताउँ कसरी ?
सपनीमा एक जना आउँछ
विपनीमा अर्कोलाई बोलाउँ कसरी ?

मूल्याङ्कन मासिक, चैत–वैशाख (२०४९/५०) मा प्रकाशित