परिवर्तन खोज्ने युवालाई नथुन, आन्दोलन बांग्लादेशतिर मोडिएला !

सबै आन्दोलन क्रान्ति हुँदैनन्। २०४६ र २०६३ सालका आन्दोलनहरू क्रान्तिबाट भोटतन्त्रमा परिणत भए। फेरि पनि आन्दोलन हुन सक्छ; यो समाजको नियम हो। समाजले सधैं जनताको समृद्धिको आकांक्षा राख्दछ, तर जब त्यसका लागि भएको आन्दोलन जनताको होइन, सत्ताका स्वार्थका लागि प्रयोग हुन्छ, स्वाभाविक रूपमा अर्को आन्दोलनको निर्माण हुन्छ।

१. अहिले गिर्दो अर्थतन्त्र (उत्पादनको सर्बनाश), बढ्दो व्यापार घाटा, शिक्षामा बौद्धिकताको विघटन, वैदेशिक सम्बन्धको विचलन, भ्रष्टाचारको सामान्यीकरण, देख्दा लोकतन्त्र तर प्रवृत्तिमा निरंकुशता—यी सबैले अर्को आन्दोलनको माग गरिरहेका छन्।

२. तर आन्दोलनमा विदेशीहरूको खेल प्रष्ट छ। अहिले नेपाली समाजमा भ्रष्टहरू विरुद्ध घोर दक्षिणपन्थी अन्धविश्वासी, परिवर्तनविरोधीहरूले आफ्नो लागि प्रयोग गर्ने वातावरण बनाइरहेका छन्। कतिपय युवा "मारा र रोबेसपियर"को चाहना राख्दछन्। इमानदार छन्, तर आन्दोलन मानिसले होइन, समाज परिवर्तन गर्ने दर्शन, विचार र कार्यक्रमले नेतृत्व गर्दछ भन्ने उनीहरूलाई ख्याल छैन।

३. पश्चिमी शक्तिको रोज रिभोलुसनको ढाँचा छ। पहिला आफ्ना मानिसलाई प्रख्यात बनाऊ, झुटा प्रचारबाट मानिसलाई भ्रमित बनाऊ, परिवर्तनका उत्साहीबाट विद्रोह निर्माण गर अनि उनीहरूलाई बाहिर फ्याँकेर सत्ता कब्जा गर। यो मोडेलको पछिल्लो उदाहरण बांग्लादेश हो।

अबको आन्दोलनले खोजेको नेपाललाई विदेशी शासकीय हस्तक्षेपबाट मुक्त गर्नु हो। उत्पादनको वृद्धिद्वारा जनताको समृद्धिको निर्माण गर्नु हो। र, समाजमा जरा गाडेको वर्गीय, जातीय र लैंगिक वरियताको अन्त्य गर्नु हो। यो आन्दोलन सामाजिक नागरिकतन्त्रको लागि आन्दोलन हो। युवाहरूले यो बुझ्नु आवश्यक छ। परिवर्तन खोज्ने युवालाई नथुन, आन्दोलन बांग्लादेशतिर मोडिएला।