कुकुर भुक्दै गर्छ, हात्ती अघि बढिरहन्छ !

एकजना ज्ञानी र नाम चलेका साधु आफ्ना शिष्यहरुसँग घुम्दै जाँदा एक गाउँमा पुगे । उनले त्यहाँ केही दिन बिताउने निधो गरे र जङ्गलको छेउमा रहेको एउटा छाप्रोमा बसे ।  ज्ञानी साधु गाउँमा आइपुगेको खबर  वरिपरिका क्षेत्रमा फैलियो। अब उनका प्रवचन सुन्न र दर्शन गर्न टाढा-टाढाबाट मानिसहरू आउन थाले। उनको प्रवचनमा लोभ, लालच र अन्धविश्वासलाई त्याग्न सल्लाह दिएको हुन्थ्यो । त्यसले गर्दा मानिसको अन्धविश्वासलाई दोहन गरेर जीविका चलाइरहेका लोभी–लालची पुरेतहरुको धन्दा चौपट्ट हुन थाल्यो ।

त्यो देखेर गाउँको पण्डितलाई ठूलो चिन्ता भयो ।  उसलाई लाग्न थाल्यो– यस साधुलाई गाउँबाट नलखेट्ने हो भने त मप्रतिको मानिसको आस्था र विश्वास टुट्नेछ । त्यसो भये भने  मेरो जीविका कसरी चल्ला ?

त्यसपछि पण्डितले साधुको विरुद्धमा अनेकथरि अफवाहहरु फैलाउन थाल्यो,बदनामी गर्न सुरु गर्‍यो। उसले मानिसहरूका अगाडि त्यो साधुको बारेमा भए नभएका कुराहरु कथेर निन्दा गर्न थाल्यो।

एक दिन गाउँमा भिक्षाटन गरिरहेका साधुका शिष्यले पनि ती पण्डितले साधुको बदनामी गरिरहेको सुने । त्यो सुनेर उसाई धेरै रीस उठ्यो। ऊ तुरुन्तै साधु भएको ठाउँमा फर्कियो र आफूले सुनेका सबै कुरा बतायो।

शिष्यले सोचेका थिए– त्यो सुनेर साधुलाई रिस उठ्नेछ र पण्डितविरुद्ध आवश्यक कदम चाल्नेछ । तर उनको कुरा सुनेर साधुलाई कुनै फरक परेन । उनले शिष्यलाई शान्तभावले सम्झाए, "यो कुरामा चिन्ता गर्न छोडिदेऊ। यदि मैले त्यो पण्डितलाई प्रतिवाद नै गरे भने पनि उनले  यी सबै अनापसनाप कुराहरु गर्न छाड्ने छैनन्। मेरा कामहरु उनले भने जस्तो भयो भने मात्रै त गाउँलेहरुले पत्याउने हुन् । त्यसैले उनका कुरामा ध्यान दिइबस्नु हुँदैन।"

तर साधुको कुराले शिष्यलाई चित्त बुझेन । उनको क्रोध शान्त भएन । त्यो देखेर साधुले उदाहरण दिँदै भने, "जब जंगलको हात्ती गाउँमा आउँछ, उसलाई देखेर सबै कुकुर भुक्न थाल्छन्, तर हात्तीलाई यसले कुनै असर गर्दैन। त्यसको वास्ता नै नगरी हात्ती आफ्नै मस्त चालमा अघि बढिरहन्छ। कुकुरहरू थाकेर आफैं चुप लाग्छ। हामीले पनि हाम्रो निन्दा गर्नेहरूप्रति यस्तै व्यवहार गर्नुपर्छ। हामीले हाम्रो काम इमानदारीपूर्वक गर्नुपर्छ र सत्यको मार्गमा अघि बढिरहनु पर्छ। हाम्रा असल कामहरूले नै यस्ता मानिसहरूको मुख बन्द गर्न सक्छ।"