शुक्र ग्रह किन पूर्वबाट पश्चिमतर्फ घुम्छ ?

हाम्रो सौर्यमण्डलको अहिलेसम्म ज्ञात र मान्यताप्राप्त ८ ग्रहहरुमध्ये ६ वटा ग्रहहरु पश्चिमबाट पूर्वतिर घुम्छ भने शुक्र ग्रह चाहिँ पूर्वबाट पश्चिमतिर घुम्छ । युरेनस चाहिँ तलबाट माथितिर घुम्छ ।

शुक्र ग्रहको घुमाव वास्तवमै अरु ६ वटा ग्रहहरूको विपरीत दिशामा हुन्छ। शुक्र ग्रहको घुम्ने दिशालाई रिट्रोग्रेड रोटेशन (Retrograde Rotation) भनिन्छ ।  त्यसको विपरीत अरु ६ वटा ग्रहहरु घुम्ने दिशालाई प्रोग्रेड रोटेशन (Prograde Rotation) भनिन्छ। अधिकांश ग्रहहरू, जस्तै पृथ्वी, मंगल, बृहस्पति, शनि आदि, प्रोग्रेड रोटेशनमा घुम्छन्।

आसपासका ग्रहरु समेत पश्चिमबाट पूर्वतिर घुम्दा शुक्र चाहिँ किन त्यसको विपरीत पूर्वबाट पश्चिमितर घुम्ने गर्छ भनेने कुराको ठोस कारण भन्न सकिन्न । तर  तर वैज्ञानिकहरूले यसबारेमा केही अनुमानहरु अघि सारेका छन् ।

त्यसअनुसार सौरमण्डलको निर्माणको शुरुवाती समयमा  शुक्र ग्रह र अरु कुनै  ठुलो खगोलीय पिण्डबीच टक्कर भएको हुन सक्छ, जसको प्रभावले गर्दा त्यसको घुम्ने दिशामै परिवर्तन ल्याइदियो । यो अनुमानलाई धेरैहदसम्म सत्यको नजिक मान्ने गरिन्छ ।

अर्को तर्कअनुसार चाहिँ शुक्रमा धेरै घना वायुमण्डल र सक्रिय ज्वालामुखीहरू छन् । तिनकै बलहरुको प्रभावले कालान्तरमा शुक्र ग्रहको  घुमाइको दिशामा मा परिवर्तन ल्याएको हुन सक्छ।

तेस्रो मतअनुसार चाहिँ त्यसरी शुक्र ग्रह उल्टो घुम्नुमा सूर्यको ज्वारीय प्रभावले काम गरेको हुन सक्छ । यो मत मान्नेहरुका अनुसार सौर्यमण्डलको गठनको समयदेखि शुक्रले सूर्यसँग शक्तिशाली ज्वारीय प्रभाव महसुस गरेको हुन सक्छ। त्यही ज्जारीय प्रभावले विस्तारै शुक्रको घुमाइलाई परिवर्तन गर्दै लगेर यसलाई रिट्रोग्रेड रोटेशनमा ल्याइदियो ।

यो पनि पढ्नुहोस्– ग्रहहरुको घुम्ने  र सूर्यलाई फन्को लगाउने गति किन फरक फरक हुने गर्छ ?

image source: https://www.chienergyheals.com