बङ्गलादेशमा सत्ता पलट, अब कसको पालो ?

गत दुई महिनादेखि चलेको विद्यार्थी आन्दोलनले उग्ररूप लिएपछि अगष्ट ५, २०२४ का दिन बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भारतमा निर्वासित जीवन बिताइरहेकी छिन् । यो घटनालाई कतिपय मानिसहरूले 'आरक्षण' सम्बन्धी शेख हसिना र उनको पार्टीको गलत नीतिको परिणामको रूपमा मात्र बुझेको पाइन्छ । 'आरक्षण'को सम्बन्धमा उनी र उनको पार्टीले अवलम्बन गर्दै आएका नीतिहरू बङ्गलादेशका सम्पूर्ण नागरिकहरूको हितमा बिल्कूल छैन । ती पार्टी कार्यकर्ताहरूको संरक्षण गर्ने रणनीतिद्वारा अभिप्रेरित छन् । त्यसैले, सत्तारुढ पार्टीको क्षुद्र स्वार्थलाई ध्यानमा राखेर लागु गरिएको 'आरक्षण' नीतिका विरुद्ध देशव्यापीरूपमा आवाज उठ्नु बिल्कूल स्वाभाविक छ, त्यसमा आश्चर्य मान्नु पर्दैन ।

तर के बङ्गलादेशमा शेख हसिना र उनको पार्टी अवामी लिगको 'आरक्षण' नीति नै यो सत्ता पलटको मुख्य कारण हो ?

यो बिल्कूल होइन । त्यसको मुख्य कारण अमेरिकाको वैश्विक रणनीति हो । यो 'आरक्षण' नीति त्यो सुकेको पात थियो जसमा अमेरिकाले आगोको एउटा झिल्को फ्यालेर पूरै बङ्गलादेश जलाईदियो ।

यो कसैबाट लुकेको कुरा होइन कि चीन र भारतको विश्व महाशक्तिको रूपमा भइरहेको उदयले अमेरिका अत्यन्त चिन्तित छ । अमेरिका ती मुलुकहरूलाई त्यस रूपमा उठ्नबाट रोक्न प्रयत्नरत छ । हिन्द-प्रशान्त रणनीति त्यस सन्दर्भमा विशेषरूपले उल्लेखनीय छ । यस रणनीतिअन्तर्गत अमेरिकाले सेन्ट मार्टिन आइल्याण्ड र बे अफ बङ्गालमा सैन्य अखडा स्थापना गर्ने योजना बनाएको छ । यसका लागि त्यसले केही पहिलेदखि शेख हसिना सरकारमाथि दबाब दिइरहेको थियो । तर पटक पटकको कोशिशका बाबजुद अमेरिकाले शेख हसिना सरकारबाट सेन्ट मार्टिन आइल्याण्ड र बे अफ बङ्गालमाथि आफ्नो स्वामित्वको अनुमति पाउन सकेन ।

यो कसैबाट लुकेको कुरा होइन कि चीन र भारतको विश्व महाशक्तिको रूपमा भइरहेको उदयले अमेरिका अत्यन्त चिन्तित छ । अमेरिका ती मुलुकहरूलाई त्यस रूपमा उठ्नबाट रोक्न प्रयत्नरत छ ।

बङ्गलादेशकी तत्कालिन प्रधानमन्त्री शेख हसिनाको अमेरिकाको प्रस्तावलाई अस्वीकार गर्ने यो कदम स्वागतयोग्य र प्रशंसनीय छ । त्यसका लागि उनलाई धन्यवाद दिनुपर्छ । यदि अमेरिका यो उद्देश्यमा सफल भएको भए पूरै हिन्द-प्रशान्त क्षेत्र, खासगरेर चीन र भारतको राष्ट्रिय सुरक्षा एवं स्वयं बङ्गलादेशको सुरक्षामाथि अत्यन्त नकारात्मक असर पर्ने थियो । हाललाई यो खतरा टरेको छ ।

शेख हसिनाबाट आफ्नो उद्देश्य पूरा नहुने देखेपछि अमेरिकी शासकहरूले तिनीहरूको रणनीतिमा परिवर्तन गरे । तिनीहरूले शेख हसिनाको सरकारलाई उनको कमजोर कडीलाई उपयोग गरेर आन्तरिक विद्रोहबाट अपदस्थ गरेर आफ्नो एजेन्डा लागु गर्ने खालको सरकार निर्माण गर्ने रणनीति सूत्रवद्ध गरे । अहिलेको विशेष परिस्थितिमा 'आरक्षण' त्यस्तो एउटा कमजोर कडी सावित भयो जसका विरुद्ध प्रहार गरेर शेख हसिनाको सत्ता पलट सम्भव भयो । अमेरिकाले आफ्ना कतिपय बङ्गलादेशी तथा वाह्य सहयोगीहरूको सहयोगमा यो रणनीति सफल बनायो । यस क्रममा त्यसले शेख हसिनाको अपरिपक्व विदेश तथा निरंकुश घरेलु नीतिहरू र इस्लामिक समुदायको एउटा ठूलो हिस्सालाई सफलतापूर्वक परिचालित गर्‍यो, जबकि 'आरक्षण' प्रकरण एकमात्र कारकतत्त्वको रूपमा सतहमा देखियो ।

अहिलेको विशेष परिस्थितिमा 'आरक्षण' त्यस्तो एउटा कमजोर कडी सावित भयो जसका विरुद्ध प्रहार गरेर शेख हसिनाको सत्ता पलट सम्भव भयो । अमेरिकाले आफ्ना कतिपय बङ्गलादेशी तथा वाह्य सहयोगीहरूको सहयोगमा यो रणनीति सफल बनायो ।

यो सबैलाई थाहा भएकै कुरा हो कि शेख हसिनाको लामो सत्ता यात्राको मुख्य आधार भारतीय शासकहरू हुन् । यसको अर्थ उनी अमेरिका विरोधी हुन भन्ने सोच्नु गम्भीर भूल हुनेछ । उनी अमेरिका पक्षीय हुन् र त्यसकै निर्देशनमा चल्दै आएकी एक निरंकुश शासक हुन् । बङ्गलादेशसित अमेरिकाको लामो समयदेखि एक मजबुत सुरक्षासम्बन्ध स्थापित भएको छ । बङ्गलादेश सन् २००८ देखि ओरेगन राज्यसित अमेरिकाको राज्य  साझेदारी कार्यक्रम (SPP) मा सामेल भएको छ । त्यो अमेरिकी हिन्द-प्रशान्त रणनीतिमा पनि सामेल छ । बङ्गलादेशको अमेरिकासितको मजबूत सैन्य सम्बन्धमाथि प्रकाश हाल्दै जुन १, २०१९ मा अमेरिकाको सुरक्षा मन्त्रालय (DoD) द्वारा प्रकाशित ‘हिन्द-प्रशान्त रणनीति प्रतिवेदन'मा भनिएको छ :

संयुक्त राज्य अमेरिका र बङ्गलादेशको बीचमा एक बलियो रक्षा सम्बन्ध छ, जसले क्षेत्रीय स्थिरता र सुरक्षाका लागि महत्त्वपूर्ण साझेदारको रूपमा काम गर्छ । सुरक्षा सहयोग, समुद्री सुरक्षा र क्षेत्रीय चेतना, आतङ्कवाद विरोधी, मानवतावादी सहायता/प्राकृतिक विपत्ति प्रतिक्रिया (HA/DR), शान्ति स्थापना, र सीमा सुरक्षा जस्ता प्रमुख क्षेत्रहरूमा केन्द्रित छ । अमेरिकी हिन्द-प्रशान्त रणनीति कमाण्ड (USINDOPACOM) र बङ्गलादेश सशस्त्र बल विभागबीचको वार्षिक द्विपक्षीय रक्षा संवादले हाम्रो रक्षा सम्बन्धको रणनीतिक दिशा निर्धारण गर्दछ । यसका साथै, हालैको विदेशी सैन्य वित्तपोषण (FMF), अन्तर्राष्ट्रिय सैन्य शिक्षा र तालिम (IMET) मा भएको वृद्धि, र बङ्गलादेशलाई समुद्री सुरक्षा पहल (MSI) मा समावेश गरिनुले संयुक्त राज्य अमेरिकाले बङ्गलादेशसँगको रक्षा साझेदारीलाई दिएको महत्त्वको सङ्केत मात्र गर्दैन, त्यसले दक्षिण एशिया र हिन्द महासागर क्षेत्रमा नियम-आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई समर्थन गर्न क्षेत्रीय स्थिरताको लागि ढाकाको योगदानलाई पनि महत्त्व दिन्छ ।

यसको अर्थ अमेरिकाले हिन्द-प्रशान्त रणनीतिको उद्देश्य एवं लक्ष्य प्राप्त गर्न बङ्गलादेशलाई महत्त्वपूर्ण ठान्दछ । त्यसैले उसले बङ्गलादेशलाई छोड्दैन । उसले छोड्ने भनेको हिन्द-प्रशान्त रणनीतिको उद्देश्य एवं लक्ष प्राप्त गर्नमा बाधा हाल्ने शासकहरू मात्र हुन् । सेन्ट मार्टिन आइल्याण्ड र बे अफ बङ्गालमा सैन्य अखडा राख्न अनुमति नदिएपछि शेख हसिना त्यही श्रेणीमा परिन् ।

अमेरिकाले हिन्द-प्रशान्त रणनीतिको उद्देश्य एवं लक्ष्य प्राप्त गर्न बङ्गलादेशलाई महत्त्वपूर्ण ठान्दछ । त्यसैले उसले बङ्गलादेशलाई छोड्दैन । उसले छोड्ने भनेको हिन्द-प्रशान्त रणनीतिको उद्देश्य एवं लक्ष प्राप्त गर्नमा बाधा हाल्ने शासकहरू मात्र हुन् ।

दक्षिण एसियाको एउटा विडम्बना के छ भने यस क्षेत्रका मुलुकहरूले पञ्चशीलका सिद्धान्तहरूप्रति इमानदार भएर तिनको अवलम्बन गरे पनि वा अरू कुनै शक्ति-राष्ट्र पक्षीय जे भएपनि जब भारतको राष्ट्रिय स्वार्थसित तिनीहरूसितको सम्बन्धले मेल खाँदैन तब ती मुलुकहरूले भारतीय शासकहरूको सामना नै गर्न नसक्ने दबाबको सामना गर्नुपर्ने हुन्छ । त्यस्तो परिस्थिति सिर्जना भएको अवस्थामा ती मुलुकहरूले भारतीय स्वार्थहरूका पक्षमा काम गर्नुपर्ने बाध्यता हुन्छ । अन्यथा तिनीहरूले सत्ता पलट, आर्थिक नाकाबन्दी वा सैन्य हस्तक्षेपको सामना गर्नुपर्ने हुन्छ । जतिबेलासम्म दक्षिण एसियाका मुलुकहरूले यो स्थितिलाई बदल्न सक्दैनन् त्यतिबेलासम्म तिनीहरूको नियती यस्तै हुनेछ, अर्थात् तिनीहरूको अन्तर्राष्ट्रिय सम्बन्ध भारत केन्द्रित रहने छ । यो हरेक सार्वभौम र स्वतन्त्र राष्ट्रको निमित्त एक चुनौती हो, जसमाथि अनिवायरूपले विजय हासिल गर्नुपर्छ । त्यसका लागि ती मुलुकहरूका राजनीतिक दलहरू र तिनका नेताहरूले यो वा त्यो शक्तिराष्ट्रको आशिर्वादबाट सरकारमा पुग्ने र त्यसमा टिकीरहने अहिलेसम्मको परम्परालाई तोड्दै मुलुकको सार्वभौम र स्वतन्त्रताको रक्षाको निमित्त राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्छ । यी मुलुकहरूको रौँ रौँमा व्यापक र गहन रूपमा शक्ति राष्ट्रहरूको घुषपैठ भएको परिप्रेक्षमा यो काम आफैँमा चुनौतीपूर्ण छ ।

दक्षिण एसियाका तुलनात्मक रूपले आर्थिक र सैन्य दृष्टिबाट कमजोर मुलुकहरूको सामर्थ्य (strength) कुशल कुटनीति हो । एउटा कुशल कुटनीतिको माध्यमबाट नै यस क्षेत्रका मुलुकहरूले विश्व-शक्तिहरूको चेपुवामा रहेर पनि आआफ्नो मुलुकमा आर्थिक विकास, राजनीतिक स्थिरता र अन्य मुलुकहरूसित मित्रवत सम्बन्ध कायम राख्न सक्ने छन् । यस सम्बन्धमा सबैभन्दा आत्मघाती कुरा भनेको एउटा मुलुकसित मिलेर अर्को मुलुकका विरुद्ध खेल्नु हुन्छ । त्यस्तै एउटा शक्ति-राष्ट्रको आशिर्वाद पाएपछि आफ्नै देशको जनता एवं राजनीतिक दलहरूमाथि निरंकुशता लाद्ने वा अर्को शक्ति-राष्ट्रप्रति उपेक्षाभाव राख्ने सोच पनि कम हानिकारक हुँदैन । प्रत्येक मुलुकको विदेशनीति कुनै एउटा राष्ट्र केन्द्रित हुनु हुँदैन, त्यो संयुक्त राष्ट्रसंघको घोषणापत्र र पञ्चशीलका सिद्धान्तहरू अनुरूप हुनुपर्छ । त्यो लिकबाट अलिकति मात्र यताउति हुने वित्तिकै दूर्घटना हुन सक्छ । हाम्रा जस्ता मुलुकहरूको विदेश नीतिको सारतत्त्व आफ्नो मुलुकको सार्वभौम सत्ता र स्वतन्त्रताको रक्षा तथा अरू मुलुकहरूको सार्वभौम सत्ता र स्वतन्त्रताको उच्च सम्मान गर्ने हुनुपर्छ ।

सबैभन्दा आत्मघाती कुरा भनेको एउटा मुलुकसित मिलेर अर्को मुलुकका विरुद्ध खेल्नु हुन्छ । त्यस्तै एउटा शक्ति-राष्ट्रको आशिर्वाद पाएपछि आफ्नै देशको जनता एवं राजनीतिक दलहरूमाथि निरंकुशता लाद्ने वा अर्को शक्ति-राष्ट्रप्रति उपेक्षाभाव राख्ने सोच पनि कम हानिकारक हुँदैन ।

बङ्गलादेशको हालैको सत्ता पलटको घटना शेख हसिना सरकारको भारत केन्द्रित विदेशनीतिको परिणाम हो । उनले भारतको आशिर्वाद पाएपछि आफ्नै मुलुकका जनता एवं राजनीतिक दलहरूमाथि निरंकुशता लादेरै सत्तामा टिक्न सकिन्छ भन्ने सोचिन् र त्यसअनुसार व्यवहार गरिन् । त्यसैगरेर उनले भारतको आशिर्वाद पाएपछि विश्व महाशक्तिको रूपमा उदाइरहेको चीनलाई समेत उपेक्षा गरिन् । त्यसैले, अमेरिकी शासकहरूको गलत मागलाई अस्वीकार गरेर प्रशंसनीय काम गर्नुका बाबजुद व्यापक अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न सकिनन् । जिन्दगीभरि भारत केन्द्रित विदेश नीति अवलम्बन गर्नुका वावजूद भारतले 'आरक्षण' आन्दोलन कुन दिशातर्फ अघि बढ्दैछ भन्ने सूचनासम्म प्राप्त गर्न सकेन । यसलाई विडम्बना नै मान्नुपर्छ कि भारतीय गुप्तचर संस्थाहरूले शेख हसिना छिट्टै सत्ताबाट अपदस्थ हुँदैछिन् भन्ने कुराको भेउसम्म पाउन सकेनन् । तिनीहरू 'आरक्षण' प्रकरणलाई बुझ्न पूर्णतः असफल रहे । यसरी फेरि एकपटक भारतीय गुप्तचर संस्थाहरूको निकम्मापन प्रमाणित भएको छ ।

दक्षिण एसियाका अन्य मुलुकहरूले बङ्गलादेशको हालैको सत्तापलटबाट पाठ सिकेर कुनै एउटा शक्तिराष्ट्र केन्द्रित विदेश नीति नअपनाएर सबै राष्ट्रहरूसित संयुक्त राष्ट्र सङ्घको घोषणापत्र र पञ्चशीलका सिद्धान्तहरू अनुकूल सम्बन्ध कायम गर्नुपर्छ । यही पाठ बङ्गलादेशका नागरिकहरू र राजनीतिक दलहरूले सिक्नुपर्दछ । यदि तिनीहरूले यसबाट सही पाठ नसिक्ने हो भने बङ्गलादेश र त्यहाँको जनताको नियति अहिलेको भन्दा झन् खराब हुन सक्छ । एउटा विश्वको उदाँउदो अर्थतन्त्र शक्तिराष्ट्रको युद्ध मैदानमा रूपान्तरित हुन सक्छ ।

दक्षिण एसियाका अन्य मुलुकहरूले बङ्गलादेशको हालैको सत्तापलटबाट पाठ सिकेर कुनै एउटा शक्तिराष्ट्र केन्द्रित विदेश नीति नअपनाएर सबै राष्ट्रहरूसित संयुक्त राष्ट्र सङ्घको घोषणापत्र र पञ्चशीलका सिद्धान्तहरू अनुकूल सम्बन्ध कायम गर्नुपर्छ । यही पाठ बङ्गलादेशका नागरिकहरू र राजनीतिक दलहरूले सिक्नुपर्दछ ।

लामो कालदेखि बङ्गलादेशमाथि रहँदै आएको भारतीय शासकहरूको हस्तक्षेप र शेख हसिना सरकारको भारतभक्तिले त्यहाँ शेख हसिना र उनको पार्टी अवामी लिग विरोधी मात्र होइन, भारत विरोधी शक्तिशाली सेन्टिमेन्टलाई जन्म दिएको छ । यस परिप्रेक्षमा भारत र शेख हसिनालाई तहलगाउने नाउँमा अर्को कुनै शक्ति राष्ट्रलाई भित्र्याइयो भने त्यो बङ्गलादेश र त्यहाँका जनताको निमित्त विनाशकारी हुनेछ । यस सम्बन्धमा त्यहाँका सम्पूर्ण जनता, राजनीतिक दलहरू र नयाँ सरकारको ध्यान जाओस् ।

जहाँसम्म दक्षिण एसियामा अब सत्ता पलट कुन मुलुकमा हुनसक्छ भन्ने प्रश्न छ त्यो कैयन कुराहरूमाथि भरपर्दछ । यस क्षेत्रका सबै मुलुकहरूले अफगानिस्तान, श्रीलङ्का र बङ्गलादेशका सत्तापलटहरूबाट पाठ सिकेर आआफ्नो मुलुकमा तिनका कारणहरूलाई विकसित हुनबाट रोक्नुपर्दछ । अन्यथा अबको पालो जुनै पनि मुलुकको हुन सक्छ ।

२०८१ साउन २८