बंगलादेशको विद्रोहभित्र लुकेको आर्थिक पाटो

बङ्गलादेशमा अप्रत्याशित सत्ता परिवर्तन भएको छ । सो परिवर्तनको कारण र परिणामबारे धेरै दृष्टिकोणहरुबाट विश्लेषण भइरहेका छन् । त्यसमध्ये एउटा कोण हो– आर्थिक पाटो । पछिल्ला वर्षहरुमा दक्षिण एशियामै तीब्र आर्थिक उन्नति हासिल गरेको बङ्गलादेशमा शासनसंग जनता किन सन्तुष्ट हुन सकेनन् ? आर्थिक कारणलाई केन्द्रमा राखेर गरिने  विश्लेषणले त्यसको जवाफ दिनु जरुरी छ ।

कुनै पनि शासनसत्ताप्रति जनताको विश्वास–भरोसा टुट्नुको एउटा प्रमुख कारण मध्ये एक आर्थिक पक्ष पनि रहने गर्छ । यद्यपि त्यही नै चाहिँ एक मात्र र प्रधान कारण रहँदैन । तथापि, बङ्गलादेशको घटनाले के देखाएको छ भने आर्थिक बृद्धि जे जति भएपनि शासनसत्तामा रहेकोहरुको व्यवहार र आचरण जनचाहना अनुकूल हुन सकेन भने कुनै पनि बेला जनअसन्तोषको लहर उठ्न सक्दो रहेछ !

बङ्गलादेशको आर्थिक उन्नतिका कारणहरु

विपक्षीहरुलाई पूर्णत: निषेध र दमन गर्दै शेख हसिनाले एकल शासन चलाएको करिब १५ वर्षमा बङ्गलादेशले आर्थिक उन्नतिमा फड्को मार्यो । बङ्गलादेशले पछिल्ला चरणमा आर्थिक उन्नति हासिल गर्न सक्नुका केही कारणहरुलाई यसरी पेश गर्न सकिन्छ:

कपडा उद्योगमा बृद्धि: बङ्गलादेशको कपडा उद्योगले उसको आर्थिक उन्नतिमा धेरै ठूलो योगदान दिएको छ। यतिखरे बङ्गलादेशलाई विश्वकै दोस्रो ठूलो कपडा निर्यातकर्ता देशका रुपमा लिइन्छ ।  सस्तो श्रम र सरकारको व्यवसाय अनुकूल नीतिले बङ्गलादेशले त्यो उपलब्धी हासिल गरेको हो ।

रेमिट्यान्स: प्रवासमा गएका बङ्गलादेशीहरूले पठाएको पैसा (रेमिट्यान्स) ले पनि बङ्गलादेशको अर्थतन्त्रलाई अगाडि बढाउनमा महत्वपूर्ण भूमिका खेलेको छ। यसले विदेशी मुद्रा भण्डारलाई बढाएको छ र देशभित्र आर्थिक गतिविधिलाई चलायमान बनाएको छ।

कृषिमा सुधार: कृषि क्षेत्रको आधुनिकीकरणलाई बङ्गलादेशले प्राथमिकता दिएको थियो । विशेषगरी नयाँ प्रविधिको प्रयोगले त्यहाँ कृषिजन्य उत्पादनमा सुधार भएको छ। खासगरी चामल उत्पादनमा राम्रो सफलता प्राप्त गरेको छ ।

निर्माण र सेवा क्षेत्रको विस्तार: बङ्गलादेशले आफ्नो निर्माण र सेवा क्षेत्रमा पनि राम्रो प्रगति गरेको छ। उद्योग, बैंकिङ्ग, टेलिकम्युनिकेशन, र आईटी सेवाहरूको विकासले रोजगारी सिर्जना गरेको छ र आर्थिक वृद्धिलाई टेवा दिएको छ।

बैदेशिक लगानी: बङ्गलादेश सरकारले अपनाएको उदारवादी आर्थिक नीतिहरूले विदेशी लगानीलाई आकर्षित गरेको छ । त्यस्तो नीतिले औद्योगिक विकासका आधारहरु जस्तै: विशेष आर्थिक क्षेत्रहरूको स्थापना, सहज मुनाफा लैजान मिल्ने व्यवस्था, शतप्रतिशत बिदेशी लगानीमा व्यवसाय संचालन लगायतका सुविधाहरु उपलब्ध गराउँदा बिदेशी लगानीकर्ता हौसिएको देखिन्छ ।

जनसांख्यिक लाभ: बङ्गलादेशको जनसंख्यामा अपेक्षाकृत युवाको हिस्सा राम्रो छ । उसले सस्तो श्रमशक्ति उपलब्ध गराएको छ। यसले विभिन्न उद्योगहरूमा श्रमको माग पूरा गर्न मद्दत गरेको छ।

सिक्काको अर्को पाटो !

त्यसो त बङ्गलादेशको आर्थिक उन्नतिको देखिने कारण माथि उल्लेखित तथ्यहरु रहे । तर सिक्काको अर्को पाटो पनि छ । यो आर्थिक उन्नतिको अर्को अँध्यारो पाटो पनि छ– त्यो हो, अत्याधिक वैदेशिक ऋण । बङ्गलादेशले अन्धधुन्ध वैदिशक ऋण लिएको छ । तथ्याङ्कहरुले देखाएअनुसार बङ्गलादेशको वैदेशिक ऋण सन् २०२४ को शुरुवातमा १०० अर्ब अमेरिकी डलर भन्दा बढी भएको छ। यो रकम २०२३ को अन्त्यमा १००.६ अर्ब अमेरिकी डलर पुगेको थियो। यो ऋण बङ्गलादेशको कुल गार्हस्थ्य उत्पादनको करिब २३% हो। यसको तुलनामा भारतको वैदेशिक ऋण करिब ६४८ अर्ब अमेरिकी डलर छ, जुन भारतको कुल गार्हस्थ उत्पादनको करिब १८% हो। त्यसै गरी नेपालको कूल वैदेशिक ऋण नेपालको कुल गार्हस्थ उत्पादनको २१.५% बराबरको रहेको छ । यसरी हेर्दा यो जीडीपीको प्रतिशतको आधारमा बङ्गलादेशको ऋण भारत र नेपालको भन्दा बढी हो।

पछिल्ला दिनहरुङ्गा बङ्गलादेशको आर्थिक विकासको गति सुस्त हुँदै गइरहेकाले यसले बङ्गलादेशको अर्थतन्त्रको लागि चुनौतीपूर्ण परिस्थिति सिर्जना गर्न सक्छ भन्ने विश्लेषण पनि मननयोग्य छ । खासगरी अहिले खाडी क्षेत्रमा युद्धको कालो बादल मडारिरहेको पृष्ठभूमिमा केही गरी विदेशी मुद्रा आर्जन (रेमिट्यान्स)मा समस्या आयो भने नेपाल, बङ्गलादेश जस्ता मुलुकहरुमा बैदेशिक मुद्रा भण्डारणको अभाव पैदा हुन सक्छ ।

ध्यान योग्य कुरा के छ भने बङ्गलादेशको कुल वैदेशिक ऋणमा चीनको हिस्सा लगभग ६.१ अर्ब डलर छ, जसले देशको कुल वैदेशिक ऋणमा लगभग ६.१% योगदान गर्छ। यो हिस्सा अन्य ऋणदाता मुलुकहरूको तुलनामा ठूलो मानिन्छ । तर, चीनको ऋण बङ्गलादेशको कुल बाह्य ऋणको एक महत्वपूर्ण भाग मात्र हो। बङ्गलादेशले विभिन्न स्रोतबाट ऋण लिएको छ, जसमध्ये विश्व बैंक, एशियाई विकास बैंक, र अन्य द्विपक्षीय तथा बहुपक्षीय संस्थाहरू पनि समावेश छन् ।

उता बङ्गलादेशले विश्व बैंकसँगको वैदेशिक ऋण कूल ऋणको लगभग ३० प्रतिशत छ। त्यसै गरी एशियाई विकास बैंकसँगको ऋण कूल वैदेशिक ऋणको लगभग १३-१५% रहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण बङ्गलादेशको कुल ऋणमा अपेक्षाकृत सानो हिस्सामा रहेको छ । तर पछिल्ला वर्षहरूमा बङ्गलादेशले आइएमएफबाट सहयोग लिएको छ ।  आइएमएफबाट लिएको ऋण कूल वैदेशिक ऋणको लगभग ५% हो।

कम ब्याज दरमा र दीर्घकालीन अवधिका लागि लिइएको यो ऋण मुख्यत: विभिन्न विकास परियोजनाहरू, विशेष गरी पूर्वाधार, स्वास्थ्य, शिक्षा, र गरिबी निवारण कार्यक्रमहरूको लागि प्रयोग गरिने बताइएको छ  ।

उच्च वैदेशिक ऋणका कारण यो आर्थिक सुधार दीगो हुने ग्यारेन्टी छैन। यदि ऋणको बढ्दो भारले देशको विदेशी मुद्रा भण्डार र आयको स्रोतहरूमा दबाब पर्न सक्छ। बङ्गलादेशको बैदेशिक ऋण अहिले नै कुल ग्राहस्थ उत्पादनको लगभग २३% छ, जसले अर्थतन्त्रलाई दीर्घकालीन रूपमा असर गर्न सक्छ। त्यसबाहेक यसको कुल ऋण जीडीपीको ४१.६ प्रतिशत पुगिसकेको छ जुन निकै नै बढी मानिन्छ ।

अत्यधिक ऋणको पासोले अर्थतन्त्रलाई विदेशी स्रोतहरूमा निर्भर बनाउँछ।  बङ्गलादेशको आर्थिक वृद्धि मुख्यत: कपडा निर्यात र रेमिट्यान्समा निर्भर छ। यी स्रोतहरूमा कुनै पनि कारणले समस्या आएमा देशको ऋण तिर्ने क्षमतामा समस्या उत्पन्न हुन सक्छ । कडा शर्तहरु सहित लिइएका त्यसता ऋणहरूलाई समयमै तिर्न नसकेर त्यो निर्भरता दीर्घकालीन रूपमा चुनौतीपूर्ण हुन सक्छ ।

के पनि विश्लेषण गरिन्छ भने अहिले  प्रभावशाली देखिएको बङ्गलादेशको आर्थिक सुधार उच्च वैदेशिक ऋणको बोझले दीर्घकालीन रूपमा अघि बढ्न सक्ने सम्भावना निक्कै न्यून छ।

जनअसन्तोषको एउटा पाटो

बङ्गलादेशमा अहिले सत्ता परिवर्तन गर्ने गरी भएको जनआन्दोलनको एउटा पाटो यो अत्याधिक वैदेशिक ऋण पनि हो । एकातिर तथ्य र तथ्याङ्कहरुमा विकासका चकाचौध, अर्कोतिर जनताको थाप्लोमा वैदेशिक ऋणको महाबोझ– यसले पनि जनताको असन्तोषको आगोमा घीउ थप्ने काम गरेको थियो । खासगरी, पूर्वाधार, स्वास्थ्य, शिक्षा, र गरिबी निवारण लगायतका कार्यक्रमहरूको लागि प्रयोग गरिने भनी लिइएका त्यस्ता ऋणहरुको प्रतिफल भुइँतहका जनतासम्म राम्ररी पुग्न सकेन । शेख हसिनाको त्यो सत्ताधारी दलको नेता कार्यकर्ताहरुको आर्थिक उन्नतिको मुख्य स्रोत बन्न पुगेको थियो । विपक्षीहरुलाई पूर्णत: निषेध गरेर ‘वंशवादी शासन’ चलाइरहेका शेख हसिनाप्रतिको जनअसन्तोषलाई थप भड्काउने एउटा कारक पक्ष यो पनि रहेको  थियो ।