किन घुम्छ पृथ्वी, घुम्न रोकिए के होला ?

हामी सबैले पढ्दै र सुन्दै आएको कुरा हो– पृथ्वी आफ्नो अक्षमा घुम्ने गर्छ । पृथ्वी मात्रै किन, सौर्यमण्डलका सबै ग्रह, उपग्रहहरु आ–आफ्नो अक्षमा घुम्ने गर्छ र त्यसरी घुम्दै आफ्नो कक्षमा रहेर सूर्यको पनि परिक्रमा गर्छन् । पृथ्वीको आफ्नो अक्षमा घुम्ने प्रक्रियाको  कारण नै दिन र रात पनि हुने गर्छ ।

तर वास्तवमा पृथ्वी घुम्छ चाहिँ किन र कसरी ?

यो कुरा बुझ्न हामी करिब साँढे चार अरव वर्ष पहिले नियाल्नुपर्ने हुन्छ । त्यसबेला भरखरै सौर्यमण्डलको निर्माण भइरहेको थियो । त्यसबेला ग्याँस र धुलोका विशाल बादलबाट सौर्यमण्डल बन्दैथियो । त्यो बादल घुम्न थालेको थियो र त्यो क्रममा क्रमश: केन्द्रमा घनत्व बढ्दै गएपछि सूर्य बनेको थियो । त्यस ग्याँस र धूलोको बादलको ठूलो हिस्साबाट सूर्य बनेको थियो भने बाँकी रहेका पदार्थहरु पनि घुमिरहेका र एकापसमा एकापसमा ठोक्किइरहेका थिए । त्यो क्रममा सौर्यमण्डलका अन्य ग्रह, उपग्रह, बामन ग्रह र छुद्रग्रह, धूमकेतू, उल्कापिण्ड लगायतका खगोलीय पिण्डहरु निर्माण भइरहेका थिए । त्यसरी निर्माण भएका खगोलीय पिण्डहरु घुम्ने क्रम शुरु भएपछि रोकिएन, निरन्तर जारी रह्यो ।

कुनै पनि वस्तु घुम्न थालेपछि उर्जाको कोणीय संवेग  कायम रहन्छ । पृथ्वीको घुमाइ पनि त्यही कोणीय संवेग कायम रह्यो । त्यहीकारण, पृथ्वी घुम्न थालेपछि यो गति रोकिँदैन । यसलाई कोणीय गति संरक्षणको सिद्धान्त भनिन्छ । यस सिद्धान्तअनुसार, कुनै पनि बन्द प्रणालीमा कोणीय गति स्थिर रहन्छ जबसम्म बाह्य बलले यसलाई परिवर्तन गर्दैन । त्यही कारण पृथ्वीले आफ्नो निर्माणको समयमा प्राप्त गरेको घुम्ने गति आजसम्म पनि कायमै छ ।

पृथ्वीको यो घुमाइमा न्यूटनको गतिको नियम लागू हुन्छ । खासगरी उनको जडत्वको नियम (Law of Inertia) यहाँ लागू हुन्छ । यो नियमअनुसार "कुनै पनि वस्तु आफ्नो गति वा स्थिर अवस्थामा रहन चाहन्छ जबसम्म बाह्य बलले त्यसमा परिवर्तन गर्दैन।" अर्थात् गतिमा रहेको कुनै पनि वस्तु तबसम्म रोकिन्न, जबसम्म बाहिरी शक्तिले त्यसमा हस्तक्षेप गर्दैन । जब पृथ्वीको निर्माण भयो, त्यसबेला पृथ्वी वरिपरिका कुनै पनि बाहिरी शक्तिहरु त्यति शक्तिशाली थिएन, जसले पृथ्वीको घुमाइलाई रोक्न सकोस् । त्यही कारण यो घुमिरह्यो र आजपर्यन्त घुमिनै रहेको छ । त्यति मात्र कहाँ हो र, यो त अब यस सौर्यमण्डल र यसका ग्रहउपग्रह तथा अन्य खगोलिय पिण्डहरु अस्तित्वमा रहेसम्म घुमिनै रहनेछ । यसको घुमाइको अन्त्य त्यसबेला मात्र हुनेछ, जब सौर्यमण्डलको विनाश हुनेछ वा कुनै बाहिरी शक्तिशाली खगोलीय पिण्डले यसलाई हस्तक्षेप गर्नेछ ।

सजिलो शब्दमा भन्नुपर्दा, निर्माणको शुरुवातीकालदेखि नै निरन्तर रुपमा घुमिरहेको पृथ्वीलाई रोक्न निकै ठूलो बल चाहिन्छ । त्यो बलको हस्तक्षेप नभएसम्म यो निरन्तर रुपमा घुमिरहन्छ ।

पृथ्वी घुम्न रोकियो भने के हुन्छ ?

माथि उल्लेख गरिसकिएको छ, पृथ्वीको यो घुमाइकै कारण दिन र रात हुने गर्छ । कदाचित पृथ्वी घुम्दैनथियो भने यसको एक हिस्सामा सधैं रात र एक हिस्सामा दिन मात्रै हुने थियो । यसको अर्थ पृथ्वीको एउटा भाग अति तातो र अर्को भाग अति चिसो हुने थियो । यसको सोझो अर्थ के हो भने पृथ्वी बसोबासको लागि योग्य नै हुने थिएन ।

पृथ्वीको घुमाइले गर्दा नै मौसम परिवर्तन भइरहेको हुन्छ । कुनै पनि कारणले त्यो घुमाइ रोकिएमा मौसमको चक्रमा ठूलो असन्तुलन पैदा हुनेछ । त्यसले कृषि र पारिस्थितिकीय प्रणालीमा व्यापक प्रभाव पार्नेछ ।

पृथ्वीको घुमाइ रोकिएको खण्डमा पर्ने अर्को सबैभन्दा ठूलो प्रभाव भनेको गुरुत्वाकर्षण बलमा पर्ने प्रभाव हो । त्यसले पृथ्वीको गुरुत्वाकर्षण बलमा परिवर्तन आउने, समुद्रको स्तर र ज्वारभाटामा असर पार्न सक्छ ।

पृथ्वीको घुमाइले वायुमण्डललाई स्थिर राख्ने काम गरिरहेको हुन्छ । त्यो रोकिँदा वायुमण्डलमा अस्थिरता आउँछ, हावाको गति र मौसममा ठूलो परिवर्तन ल्याउँछ ।

भनिबस्नु नपर्ला, यी सबै असरहरुको जम्मा जोड अकल्पनीय रुपमा भयानक हुनेछ । निरन्तर दिन र रात, मौसममा असन्तुलन, वातवरणीय अस्थिरताले पृथ्वीको ठूलो हिस्सा जीवनको लागि प्रतिकूल बन्ने छ । अन्ततगोत्वा त्यसले पृथ्वीबाट जीवन नै समाप्त समेत पार्न सक्नेछ ।