विभेद र अन्यायको साम्राज्यको अन्त्य नगर्दासम्म सामाजिक रूपान्तरण सम्भव छैन: कवि राजेन्द्रप्रसाद अधिकारी

अविरल यात्रा-९२’मा कवि डा.राजेन्द्रप्रसाद अधिकारीका दर्जन कविता गुन्जिए !

राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा’को ९२ औँ शृङ्खलामा प्रगतिवादी साहित्यकार डा.राजेन्द्रप्रसाद अधिकारीले एक दर्जन कविताहरु सुनाए ।

त्यस अवसरमा डा. अधिकारीले आफूले कविता सिर्जनाबाटै साहित्ययात्राको थालनी गरेको बताउँदै लामो इतिहास निर्माण गरिसकेको  ‘अविरल जनसाहित्य यात्रा’को अभियानमा विद्वान स्रष्टा तथा व्यक्तित्वका सामुन्ने आफ्ना एक दर्जन कविता सुनाउने अवसर प्राप्त भएकोमा गौरवान्वित महसुस गरेको बताएका थिए । आफ्ना कविताका विषयवस्तु यही समाजबाट टिपिएका र मुलुकको भविष्य निर्माण हामीले नै गर्नुपर्छ भन्ने चेतनाले घच्घच्याएपछि तथा विभेद र अन्यायको साम्राज्यको अन्त्य नगर्दासम्म सामाजिक रूपान्तरण सम्भव छैन भन्ने लागेपछि आफूले कविता सिर्जना गरेको बताएका थिए ।

त्यस अवसरमा उनले  राजनीतिको तन्त्रसाधना, पदक, हो, गिद्धहरू गीत गाउँदैनन्, ‘महेन्द्रको सालिक र समाजवाद, भूकम्पपीडित र संवेदनहीन तमासेहरू, ‘कविजी खै त नैतिकता !, किसान र सरकार, र काका र काकाहरू शीर्षकका आठवटा कविता वाचन गरेका थिए । त्यसबाहेक उनका अन्य चारवटा कविताहरुमध्ये कवि डम्बर पहाडीले नारी समानता र मन्त्रीको भाषण,  विष्णु भण्डारीले अलबिदा शिवानी, प्रह्लाद पोखरेलले काँसका सेता फूलहरू  र जीवराज घिमिरेले ‘फूल’ शीर्षकको गद्यकविता वाचन गरेका थिए ।

त्यसअवसरमा वाचन गरिएका कविताहरुमाथि समीक्षक प्रा.डा.षडानन्द पौड्यालले टिप्पणी गरेका थिए । टिप्पणीको क्रममा उनले राजनीतिक परिवर्तनपछि राजनीति दूषित भएको र जनतालाई केन्द्रमा नराखिएको प्रति सशक्त राजनीतिक व्यङ्ग्य कवितामा अभिव्यक्त गरिएको, कवितामा शब्दचयन र वाचन उत्कृष्ट एवं बोधगम्य रहेको,  सामाजिक व्यवहारका मसिना कुराहरू जीवन्तरूपमा कवितामा उतारिएको तथा  रूपान्तरणको सन्देश सम्प्रेषण गरेका बताएका थिए।

कार्यक्रमका प्रमुख अतिथि  तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका इन्चार्ज एवम् एमाले संस्कृति विभाग प्रमुख रघुजी पन्तले वर्तमान समय र राजनीतिसँग आजका कविताको असन्तुष्टि देखिन्छ भन्ने उल्लेख गर्दै साहित्यले समाजका नराम्रा पक्षलाई उजागर गर्ने र रूपान्तरण गर्ने पक्षमा विशेष योगदान गर्नु अझै आवश्यक रहेका बताए । उनले  स्रष्टाले पनि भाषा, साहित्य जोगाउने र चेतना जगाउने सिर्जना गर्नु आवश्यक रहेके बताउँदै नयाँपुस्तामा साहित्य पुर्याउने काम गर्नु पर्ने आवश्यकता औंल्याएका थिए ।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका अध्यक्ष राम विनयले तथा सञ्चालन सचिव नवराज रिजालले गरेका थिए । उक्त कार्यक्रममा समारोहमा एमाले सल्लाहकार परिषद् सदस्य प्रा.डा.जीवेन्द्र देव गिरी, भाषा आयोगका सदस्य मातृका पोखरेल, कवि अधिकारीकी जीवनसङ्गिनी प्रभा प्याकुरेल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, महासचिव नन्दु उप्रेती, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने, नर्मदेश्वरी सत्याल, अनिल पौडेल, डम्बर पहाडी, कृष्ण बाउसे, प्रह्लाद पोखरेल, जीवराज घिमिरे, सुशिला प्रधानाङ्ग, नरनाथ लुइँटेल, महेशराज खरेल, पोषरमण चापागाईँ, श्याम तमोटलगायत साहित्यानुरागीहरुको उपस्थिति थियो ।

वि.सं.२०१८ सालमा नुवाकोटमा जन्मेका डा.राजेन्द्रप्रसाद अधिकारी ‘२०३८ सालमा ‘खै के हाँस्नु र ?’ कवितासङ्ग्रह लिएर नेपाली साहित्यमा प्रवेश गरेका हुन् । उनका ‘आजको आकाश’ संयुक्त कवितासङ्ग्रह २०४२, २०६३ र २०७५ प्रकाशित गर्नुका साथै अन्य सिर्जना सङ्ग्रहसमेत प्रकाशित छन् ।  विभिन्न पत्रपत्रिकामा फुटकर कविता, लेख आदि प्रकाशित गर्दै आएका अधिकारी ‘वेदना’ साहित्यिक पत्रिकाका पूर्वकार्यकारी सम्पादक, पारिजात स्मृति केन्द्रका पूर्वअध्यक्ष रहिसकेका छन् भने उनले ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’लगायत थुप्रै पुरस्कार तथा मानसम्मान प्राप्त गरेका छन् ।

प्रस्तुत छ: उक्त कार्यक्रममा कवि अधिकारीले वाचन गरेका कविताहरुमध्येका एक सशक्त कविता:

 

किसान र सरकार

किसान भन्छन्-

हामीले दूध सरकारी संस्थानलाई बेच्यौ

उसले विगत तीन महिनादेखि भुक्तानी दिएको छैन

 

महानिर्देशक भन्छन्-

अहिले बजेट समस्या भएकोले दिन नसकेका हौं

समस्या बुझ्नु पर्ने हो किसानहरुले पनि

हामीले दिन्‍नौं भनेका छैनौं

 

कृषि मन्त्रीले भने-

मैले भर्खरै मात्र निर्देशन दिइसकेको छु

 

यति भएपछि

जिम्मेवार, जवाफदेही र जनउत्तरदायी गाईहरुले बुझ्नु पर्ने हो

पशुहरु संसद, सरकार र सरकारी निकायमा पुग्‍न थाले भने

गोठमा हरिया घाँस र कुँडो आइपुग्दो रहेनछ

किसानको घरको चुल्होमा आगो बल्दो रहेनछ।

***