द्वन्द्वात्मक भौतिकवाद: मूलभूत बुँदा

मानव समाजको विकास र मार्क्सवाद–११(१)

अब द्वन्द्वात्मक भौतिकवादका मूलभूत बुँदाबारे विचार गरौं । द्वन्द्वात्मक भौतिवादको दुई तत्त्व: द्वन्द्वात्मकता र भौतिकवादबारे स्तालिनले भन्नुभएको छ, ‘द्वन्द्वात्मक भौतिकवादले द्वन्द्वात्मक तरिकाले प्रकृतिका घटनालाई हेर्ने, अध्ययन गर्ने र बुझ्ने काम गर्दछ । यसले भौतिकवादी तरिकाअनुसार प्रकृतिका घटनाको व्याख्या गर्दछ, प्रकृतिका घटना र तिनका सिद्धान्तबारे यसको धारणा भौतिकवादी छ ।” यसैले यसको नाम द्वन्द्वात्मक भौतिकवाद रहन गएको हो ।

द्वन्द्वात्मक भौतिकवाद मार्क्सवादीका लागि पथ–प्रदर्शक सिद्धान्त हो र मार्क्सवादी–लेनिनवादी वा कम्युनिस्ट पार्टीका लागि विश्व–दृष्टिकोण हो । यही द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तलाई सामाजिक जीवनको अध्ययनमा पनि प्रयोग गरिन्छ । यसरी सामाजिक जीवनका घटना र समाजको इतिहासलाई अध्ययन गर्न द्वन्द्वात्मक भौतिकवाद प्रयोग गरिँदा यसलाई ऐतिहासिक भौतिकवाद भनिन्छ । यसकारण मार्क्सको विश्व–दृष्टिकोणलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद भनिन्छ भने द्वन्द्वात्मक भौतिकवाद मात्रै पनि भनिन्छ ।

यो दर्शनको द्वन्द्वात्मक तरिकाबारे केही इतिहास खोतल्ने, मार्क्स र एङ्गेल्सले गरेको प्रयोगलाई उधिन्ने काम अध्याय १ मा मानव–समाजको विकासबारे द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणद्वारा विश्लेषण गरिँदा केही भइसकेको छ । भौतिकवादको परिभाषा र परिचय, मार्क्स र एङ्गेल्सले गरेको भौतिकवादी तरिकाबारे पनि छोटकरी अध्ययन त्यही अध्यायमा भइसकेको छ ।

सामाजिक जीवनका घटना र समाजको इतिहासलाई अध्ययन गर्न द्वन्द्वात्मक भौतिकवाद प्रयोग गरिँदा यसलाई ऐतिहासिक भौतिकवाद भनिन्छ । यसकारण मार्क्सको विश्व–दृष्टिकोणलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद भनिन्छ भने द्वन्द्वात्मक भौतिकवाद मात्रै पनि भनिन्छ ।

अब द्वन्द्वात्मक भौतिकवादका दुई तत्त्व: द्वन्द्वात्मकता र भौतिकवादी दृष्टिकोणको स्वरूप र सारबारे केही विश्लेषण र छलफल गर्ने प्रयत्न गरौं ।

द्वन्द्वात्मकता

पहिले द्वन्द्वात्मकता (dialectics) वा द्वन्द्वात्मक तरिकाबाटै कुरा थालौं । द्वन्द्वात्मक प्रणालीलाई आत्म–तत्त्वज्ञान (metaphysics) सित दाँजेर अध्ययन गर्नु उचित हुन्छ । किनभने ‘डाइलेक्टिक्स’ (द्वन्द्वात्मक प्रणाली) ‘मेटाफिजिक्स’को ठीक विपरीत प्रणाली वा तरिका हो भनी कामरेड स्तालिनले भन्नुभएको छ । ‘मेटाफिजिक्स’लाई यसका अनुयायीले विश्वलाई हेर्ने, वस्तु तथा प्रक्रियालाई अध्ययन गर्ने तरिकाको रूपमा लिए भने कसैले पूरै एउटा दर्शन र राजनीतिक दर्शनको रूपमा पनि प्रयोग गरे । आत्म–तत्त्वज्ञान (मेटाफिजिक्स)ले वस्तु र घटनालाई स्थायी वा स्थिर ठानेर हेर्ने तथा जुनसुकै वस्तु र प्रक्रियालाई अरुसँग अन्तर्सम्बन्धसित नजोडी स्वतन्त्र रूपमा हेर्ने गर्दछ । द्वन्द्ववादी प्रणाली प्रयोग गर्ने भनी एङ्गेल्सद्वारा वर्णन गरिएका प्राचीन ग्रीक विद्वान एरिस्टोटलले समेत पनि आफ्नो दर्शनमा केही हदसम्म ‘मेटाफिजिक्स’ प्रयोग गरेको देखिन्छ । ‘मेटाफिजिक्स’को ठीकविपरीत तरिका र दृष्टिकोण ‘डाइलेक्टिक्स’ (द्वन्द्ववाद)ले लिन्छ ।

प्राचीन ग्रीक विद्वान एरिस्टोटलले समेत पनि आफ्नो दर्शनमा केही हदसम्म ‘मेटाफिजिक्स’ प्रयोग गरेको देखिन्छ ।

द्वन्द्वात्मकताअनुसार कुनै पनि घटना वा प्रकृतिको प्रक्रिया वातावरण र सेरोफेरोबाट प्रभावित हुन्छन् । त्यसैले त्यसबाट अलग छुट्याएर अध्ययन गर्नु गलत हुन्छ । यसो गरेमा हामीले ती घटनालाई बुझ्न सक्दैनौं, सत्य जान्न सक्दैनौं । त्यसमा पनि प्रकृति र भौतिक जगत् त निरन्तर चलायमान छ र त्यसमा परिवर्तन, नवीकरण र विकास भइरहन्छन् । पुरानोको अन्त्य हुने र नयाँ निस्कने प्रक्रिया अटूट रूपले चलिरहन्छ ।

प्रकृतिमा जारी रहेको यही निरन्तर द्वन्द्व थाहा पाएरै एङ्गेल्सले भन्नुभएको छ, ‘वस्तुहरू र तिनीहरूको धारणागत रूपको अध्ययन गर्दा ती वस्तुको अन्तर्सम्बन्ध शृङ्खला, गति, उदय र अवसानको आधारमा अध्ययन गर्नुपर्दछ ।’

द्वन्द्वात्मकताअनुसार विकास सूक्ष्म परिवर्तन जम्मा हुँदै गएर एक चरण पुगेपछि मौलिक वा गुणात्मक परिवर्तन हुन्छ । परिमाणात्मक प्रगति जम्मा हुँदै गएर बीच–बीचमा फड्को मारेर अर्को चरण पुग्दछ । विकासको गति फनफन घुमेर उही बिन्दुमा फर्कने होइन, निरन्तर अगाडि बढ्छ, माथि–माथि चढ्दै जान्छ ।

‘द्वन्द्वात्मक भौतिकवादी’ दर्शनको तरीका–सम्बन्धी पक्ष द्वन्द्वात्मक तरीकाको वर्णन गर्दा द्वन्द्वात्मकताको दृष्टिले हेर्दा परिवर्तनको सम्बन्धमा मूलभूत रूपले तीन वटा नियम स्पष्टै देखिन्छ । ती नियम हुन्: १) दुई परस्पर विपरीत वस्तुको एकता वा सङ्गम (२) परिमाणात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन (३) निषेधको निषेध ।

विपरीत वस्तुहरूको एकता

यस नियमलाई कसैले ‘विपरीतहरूको एकता’ भन्छन् भने कसैले ‘विपरीतहरूको एकरूपता’ र ‘विपरीतहरूको सङ्गम’ पनि भन्ने गर्छन् । यद्यपि अङ्ग्रेजी भाषामा भने ‘unity of opposites’ भन्ने गरिन्छ । परस्पर विपरीत वस्तु भन्नेबित्तिकै तिनीहरूको एकता भन्नु ‘सङ्घर्षयुक्त सङ्गम’ वा ‘सङ्घर्षयुक्त एकता’ हो । यो एकतालाई सङ्घर्षको रूपमा हेरी लेनिनले ‘विपरीत वस्तुहरूको सङ्घर्ष नै विकास हो’ भन्नुभयो । त्यसको अर्थ हो, ‘मानव–समाजमा विकास नै विपरीत वस्तुहरूको एकताबाट निस्कन्छ ।’

परस्पर विपरीत वस्तु भन्नेबित्तिकै तिनीहरूको एकता भन्नु ‘सङ्घर्षयुक्त सङ्गम’ वा ‘सङ्घर्षयुक्त एकता’ हो । यो एकतालाई सङ्घर्षको रूपमा हेरी लेनिनले ‘विपरीत वस्तुहरूको सङ्घर्ष नै विकास हो’ भन्नुभयो । त्यसको अर्थ हो, ‘मानव–समाजमा विकास नै विपरीत वस्तुहरूको एकताबाट निस्कन्छ ।’

‘विपरीत गुण वा लक्षणको सङ्गम’ व्यक्ति मानिस, मानव–समाज र प्रकृति सबैतिर रहेको हुन्छ । जुनसुकै मानिसमा पनि सद्गुण र दुर्गुण एकसाथ रहेको हुन्छ र यो सङ्गममा ती विपरीत गुणको अन्तरद्वन्द्व चलिरहन्छ । मानिसमा रहेको नराम्रो प्रवृत्ति र भावनालाई उसको चेतना र सदिच्छाले नियन्त्रण गरेमा उसबाट सत्कार्य निस्कन्छ ।

समाजमा पनि विपरीत शक्तिहरूको सङ्गम हुन्छ । पुँजीवादी समाजमा दुई परस्पर विपरीत वा अन्तर्विरोधी शक्ति वा वर्ग: पुँजीपति वर्ग र मजदुर वर्गको अस्तित्व हुन्छ । ती दुई वर्गमा निरन्तर अन्तर्विरोध र सङ्घर्ष चलिरहेकै हुन्छन् र एकले अर्को वर्गलाई पराजित गर्न र कुचल्न खोजिरहन्छ । त्यसरी अन्तर्विरोध र सङ्घर्ष भए पनि दुवै वर्गले परस्पर सहयोग गरेर काम गरिरहेका हुन्छन् । मजदुर वर्गले ज्याला लिएर पुँजीपति वर्गको सेवा गरिरहेको हुन्छ । यसको अर्थ ती दुई विरोधी शक्तिको सहयोगबाटै उद्योग र पुँजीवादी व्यवस्था चलिरहेका हुन्छन् ।

आजको पुँजीवादी समाजमा पनि मजदुर वर्गले पुँजीपति वर्गसित अन्तर्विरोध रहे पनि सम्झौता र एकता गरी सहयोग गरिरहन्छ, समय–समयमा सङ्घर्ष पनि गरिरहन्छ र पछि पुँजीपति वर्गलाई फाल्न सक्ने शक्ति आफूमा भएपछि सत्ता खोसेर लिन निर्णायक सङ्घर्ष गर्दछ ।

पुँजीवादी समाजमा मात्र होइन, समाज विकासका विभिन्न चरणमा पनि यही तथ्य देखिन्छ । सामन्तवादको प्रभुत्व भएको सामन्ती समाज पनि त्यस बेलाका दुई परस्पर विरोधी र सङ्घर्षरत वर्ग: सामन्त वर्ग र पुँजीपति वर्ग सँगसँगै रहेर ती दुईबीचको एक प्रकारको एकताबाट सामन्ती समाज टिकिरहेको हुन्छ । त्यस समाजमा पुँजीपति वर्गले सामन्ती वर्गलाई पूरै पराजित गरेर धराशायी वा सत्ताच्यूत पार्ने शक्ति आफूमा नभएसम्म आफू बाँचिरहेर शक्ति–सञ्चय गर्न सामन्ती वर्ग र त्यसका नेतृत्व गर्ने राजतन्त्रसँग सम्झौता गरिरहन्छ ।

आजको पुँजीवादी समाजमा पनि मजदुर वर्गले पुँजीपति वर्गसित अन्तर्विरोध रहे पनि सम्झौता र एकता गरी सहयोग गरिरहन्छ, समय–समयमा सङ्घर्ष पनि गरिरहन्छ र पछि पुँजीपति वर्गलाई फाल्न सक्ने शक्ति आफूमा भएपछि सत्ता खोसेर लिन निर्णायक सङ्घर्ष गर्दछ ।

विपरीत र अन्तर्विरोधी शक्तिहरूबीचको यस्तै एकता र त्यसमा अन्तर्निहित सङ्घर्षबाटै समाजमा परिवर्तन र विकास हुन्छ ।

परिमाणात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन

प्रकृति अथवा जड पदार्थमा र मानव–समाजमा पनि परिवर्तन हुने नियम हेर्दा हामी के देख्छौं भने परिवर्तन क्रमिक र स्थिर रूपले एकै गति र एकै खालले लगातार जाने होइन, बरु परिमाणात्मक रूपमा परिवर्तन हुँदै गएर एक स्थिति पुगेपछि गुणात्मक परिवर्तन हुन्छ । पानीकै उदाहरण लिऔं । हामीले पानी तताउँदा त्यसको तापक्रम बढ्दै जान्छ, न्यानो हुन्छ, अनि तातो हुन्छ, झन् तातो हुन्छ, तताउँदै गरौं, एक स्थिति पुगेपछि, १०० डिग्री सेन्टिग्रेड पुगेपछि पानी उम्लेर बाफ बन्दछ । सुरुमा पानी तात्नु परिमाणात्मक परिवर्तन हो, १०० डिग्री पुगेपछि पानी बाफमा परिणत हुनु गुणात्मक परिवर्तन हो ।

पुँजीपति वर्गभित्रैका अन्तर्विरोध चर्किंदै गए पनि पुँजीवादी शासकवर्गले मजदुरवर्गको असङ्गठित स्थिति, श्रमिकवर्गको पार्टी एकीकृत र सही नेतृत्वयुक्त नभएको स्थितिको फाइदा लिइरहेको छ । ती ठाउँमा परिवर्तन त भइरहेका छन्, तर आाधारभूत परिवर्तन भएको छैन ।

परिमाणात्मक परिवर्तन हुँदै गुणात्मक परिवर्तन हुने नियम समाजको परिवर्तन र विकासमा पनि लागू हुन्छ । समाजको परिवर्तन पनि यही नियमअनुसार हुन्छ । हुन त नेपालमा सामन्तवाद सत्ताबाट हटे पनि समाजमा यो वर्गको पकड अझै रहेको छ । यहाँ सामन्तवाद पूरै निर्मूल भइसकेको छैन र पुँजीवाद पनि पूर्ण रूपले स्थापना भइसकेको छैन । यो नियमबारे बुझ्न हाम्रो देश नेपाल होइन, पुँजीवाद राम्ररी विकास भइसकेको देशको उदाहरण बोधगम्य हुनसक्छ । पुँजीवादी समाज–पद्धति वा पुँजीवादी राज्यसत्ता स्थापना भइसकेका विकासोन्मुख र विकसित पुँजीवादी समाजको आजको परिस्थिति यसको उदाहरण हुनसक्छ । त्यस्ता देशमध्ये धेरैजसो ठाउँमा आर्थिक सङ्कट निकै गहिरो भएको छ, मूल्य–वृद्धि आकासिएको छ, आमजनताको जीवन–स्तर गिर्दै गइरहेको छ र वर्ग–सङ्घर्ष पनि झन्–झन् तीब्र हुँदै गइरहेको छ । तैपनि त्यहाँ पुँजीवाद त अझै पुँजीवादै कायम रहेको छ । पुँजीपति वर्गभित्रैका अन्तर्विरोध चर्किंदै गए पनि पुँजीवादी शासकवर्गले मजदुरवर्गको असङ्गठित स्थिति, श्रमिकवर्गको पार्टी एकीकृत र सही नेतृत्वयुक्त नभएको स्थितिको फाइदा लिइरहेको छ । ती ठाउँमा परिवर्तन त भइरहेका छन्, तर आाधारभूत परिवर्तन भएको छैन । समाजमा क्रान्तिकारी परिस्थितिको विकास भएर समाजभित्रका अन्तर्विरोध शिखरमा पुगेपछि विस्फोट भएर पुँजीवादी व्यवस्थै ढल्दछ ।

ती समाजमा दिनहुँ भइरहेका परिवर्तन परिमाणात्मक परिवर्तन हुन्, यस्ता परिवर्तन बढ्दै गएर चरम बिन्दुमा पुगेर पुँजीवादी व्यवस्थै ढलेको बिन्दुलाई गुणात्मक परिवर्तनको बिन्दु भन्न सकिन्छ ।

सन् १९१७ भन्दा पहिलेको रुसी जारशाही साम्राज्य पुँजीवादी व्यवस्था थियो र साम्राज्यवाद पुँजीवादको तीव्रतम हो । रुसी पुँजीवादी व्यवस्था अक्टोबर समाजवादी क्रान्तिको क्रममा ढल्यो । त्यस्तै सन् १९४९ मा चीनमा कुओमिन्ताङको व्यवस्था ढलेर जन–गणतन्त्र चीनको उदय भयो । यस्ता घटना गुणात्मक परिवर्तनका उदाहरण हुन् । रुसमा सन् १९१७ अघिका र चीनमा सन् १९४९ भन्दा पहिलेका परिवर्तन परिमाणात्मक परिवर्तनमात्र थिए ।

निषेधको निषेध

‘निषेधको निषेध’ द्वन्द्वात्मकताका तीन नियममध्ये एउटा हो । ‘निषेधको निषेध’को नियमको मुख्य सार हो: संसारमा विशुद्ध सिर्जना वा सृष्टिमात्रै वा खालि नास वा ध्वंसमात्रै हुँदैन । जुनसुकै सिर्जनासित ध्वंस वा पतन गाँसिएको हुन्छ र पतनसित उत्थान पनि हुन्छ । विकास वा उन्नतिसँगै अवसान र अवसानको उद्गम हुन्छ । प्रकृति, मानव–समाज, मानव शरीर सबैमा पुरानोको नास भई नयाँको जन्म हुन्छ ।

आजसम्मका कुनै पनि व्यवस्था स्थायी छैनन्, कुनै समाज सदाकाल टिकेको छैन । तसर्थ पुँजीवादी व्यवस्था निरन्तर रहने होइन, तदनुसार पुँजीवादी शोषण र मजदुरवर्गको विपत्ति पनि सदाकाल रहने होइन, एक दिन यसको पतन अवश्यम्भावी छ ।

मानव–समाजको विकासको इतिहासको अध्ययन गर्दा हामी थाहा पाउँछौं, वर्गीय समाज बनेदेखि, समाजमा वर्ग विभाजन सुरु भएदेखि वर्ग–सङ्घर्ष पनि थालनी भयो । त्यसपछि समाजले विभिन्न चरण पार गरेको छ: दास प्रथाको समाज, सामन्ती समाज हुँदै पुँजीवादी समाज स्थापना भइसकेको छ । समाजको एउटा चरण नास हुँदैमा मानव–समाजकै अन्त्य हुँदैन, नयाँ चरणको समाजको उदय हुन्छ । आजसम्मका कुनै पनि व्यवस्था स्थायी छैनन्, कुनै समाज सदाकाल टिकेको छैन । तसर्थ पुँजीवादी व्यवस्था निरन्तर रहने होइन, तदनुसार पुँजीवादी शोषण र मजदुरवर्गको विपत्ति पनि सदाकाल रहने होइन, एक दिन यसको पतन अवश्यम्भावी छ । मानिसका क्रान्तिकारी गतिविधिले परिवर्तनको नियमलाई छिटो गति दिन सक्छन् । पुँजीवादको पतन अवश्यम्भावी भन्ने बुझेरै क्रान्तिकारीहरूले पतनको क्रमलाई छिटो साकार पार्न प्रयास गर्छन् । उनीहरूले पुँजीवादको पतनको कारकतत्त्व घनीभूत पार्छन्, पुँजीवादलाई धराशायी पार्ने शक्ति: मजदुरवर्गलाई सङ्गठित पार्ने, सचेत तुल्याउने र तिनीहरूलाई वर्ग–सङ्घर्ष तीव्र रूपले चलाउन सहयोग गर्ने काम गर्छन् । त्यो काम जति छिटो र तीव्रतासाथ गरिन्छ, त्यति नै छिटो क्रान्ति साकार हुन्छ ।