शरीरले देखाउने यस्ता संकेतहरु: यी हुन सक्छन् कारणहरु !

तपाईंका शरीरमा भिटामीन तथा खनिजहरुको कमी भयो भने त्यसबेला विभिन्न खालका लक्षणहरु देखापर्न सक्छन् । वास्तवमा भन्ने हो भने, ती संकेतहरुले हामीलाई त्यसबारे जानकारी दिइरहेको पनि हुन्छ । तपाईको शरीरमा पनि विभिन्न खालका लक्षणहरु देखापरेको त छैन ? छ भने त्यस्ता लक्षणहरु र तिनका कारणहरुबारे थाहा पाइराखौं ।

कहिलेकाहीँ तपाईंको हातखुट्टाहरु झम्झमाउन सक्छ । सामान्यतः शरीरको कुनै निश्चित भाग एउटै आसनमा लामो समयसम्म बसिबस्दा त्यसरी झम्झमाउनु सामान्य कुरा हो । शरीरको निश्चित क्षेत्रमा एउटा खास अवधिसम्म रक्तसञ्चार हुन नपाउँदा त्यसरी झम्झमाउने गर्छ । हामीले आसन बदलेपछि र त्यसरी झम्झमाएका ठाउँमा मुसारेपछि सामान्यतः त्यस्ता लक्षणहरु हटेर जान्छ । तर कहिलेकाहीँ बिनाकारण नै पनि हातखुट्टाहरु झम्झमाइबस्ने लक्षणहरु देखापर्न सक्छ । त्यस्तो अवस्था देखापर्नुको मूल कारण शरीरमा भिटामीन बी१२ को कमी भयो भन्ने हो ।

हामीले अण्डा, पालुङ्गो, चीज, दुध तथा दुग्धजन्य पदार्थहरु नियमित खाने गर्यौं भने भिटामीन बी१२ को कमी पूरा हुन्छ ।

बरफको चाहनाः कतिपय बेलामा हामीलाई बरफ खाने चाहना जाग्न सक्छ । कहिलेकाहीँ, अझ विशेष गरी गर्मी मौसमको बेलामा बरफ खान खोज्नु सामान्य कुरा हो । तर लगातार बरफ खाइबस्ने चाहना जाग्यो भने त्यसो हुनुको कारण शरीरमा आइरन (लौहतत्व) को कमीको संकेत पनि हुन सक्छ । शरीरमा आइरनको कमी हुँदा हाम्रो पनि हुने गर्छ ।

सामान्यतः हरियो सागपात, कालो अङ्गुर/कालो किसिमिस, दाल, कलेजो आदिबाट हामी लौहतत्वको कमी पूरा गर्न सक्छौं ।

कतिपयलाई मांसपेशी बाउडिने समस्या देखापर्न सक्छ । लामो समयसम्म शारीरिक श्रम गर्दा वा शरीरमा पानीको कमी हुँदा मांसपेशी बाउँडिने गर्छ । तर सामान्य अवस्थामा पनि मांसपेशी बाउँडिने समस्या देखापर्यो भने चाहिँ त्यसको अर्थ शरीरमा म्याग्नेसियमको कमी भएको कुराको संकेत पनि हुन सक्छ ।

हामीले पालुङ्गो, काजु, एभोकाडो, फर्सीको बियाँहरुको सेवनबाट शरीरलाई चाहिने मात्रामा म्याग्नेसियम पाउन सक्छौं ।

रसायनहरुको सम्पर्कमा आउँदा, धूलो हावाको सम्पर्कमा आउँदा छाला सुख्खा र खस्रो हुने गर्छ । त्यसैगरी, छालाका कतिपय रोगहरु लाग्दा पनि छालामा त्यस्तो समस्या आउन सक्छ । तर सामान्य अवस्थामा पनि छाला खस्रो र सुख्खा भयो भने त्यसको अर्थ शरीरमा जिङ्कको कमी भयो भन्ने कुराको संकेत पनि हुन सक्छ ।

त्यस अवस्थामा हामीले ओट, फर्सीको बियाँ, चना, काजुको सेवनबाट शरीरमा चाहिने जिङ्क प्राप्त गर्न सक्छौं ।

शरीर दुख्नुको विभिन्न कारणहरु हुन सक्छन् । अत्यधिक शारीरिक श्रम, लामो हिँडाइ, बसाइ–सुताइको आसन नमिल्दा पनि शरीर दुख्न सक्छ । त्यसबाहेक शरीर दुख्नुको एउटा मुख्य कारण शरीरमा पोटासियमको कमी हुनु पनि हो । अर्थात् शरीरमा चाहिने पोटासियमको मात्रामा कमी भयो भने शरीर दुख्ने समस्या देखापर्न सक्छ ।

हामीले हाम्रो खानामा केरा, एभोकाडो, सखरखण्ड, पालुङ्गो, चुकुन्दर समावेश गरेर शरीरलाई चाहिने पोटासियमको आपूर्ति गर्न सक्छौं ।

वास्तवमा, शरीरले यस्ता विभिन्न संकेतहरुबाट शरीरको स्वास्थ्य अवस्था सही नभएको जानकारी गराइरहेको हुन्छ । हामीले त्यस्ता संकेतहरुलाई वेवास्ता गर्नु हुन्न । बेलैमा त्यसको कारण पत्ता लगाएर समाधान खोज्ने हो भने शरीर स्वस्थ राख्न सहयोग पुग्छ ।