फाइदाजनक हुन सक्छ मधुमेहका रोगीहरुलाई बेसारको सेवन

सबैको भान्छामा अनिवार्य रुपमा पाइने मसलाहरुमध्येमा सबैभन्दा प्रमुख हो बेसार । बेसारबिना हामी खानेकुरा पकाउने कल्पना पनि गर्न सक्दैनौं । तर बेसार वास्तवमा मसला मात्रै होइन । यो त औषधीय गुणहरुले भरपूर अत्यन्तै महत्वपूर्ण जडीबुटी पनि हो ।

बेसार दक्षिण एशियामा पाइने महत्वपूर्ण जडीबुटी मसला हो । यसको प्रयोग प्राचीनकालदेखि नै हुँदै आएको छ । यो अदुवा परिवारमा पर्ने विरुवाको गानो हो । यस विरुवाको छिप्पिएको गाढा सुन्तले, पहेलो रङको गानो खाद्य मसला तथा औषधीको रुपमा प्रयोग हुने गर्छ । स्वादमा केही तीतो हुने यस मसालाको गन्ध तोरीको जस्तो तिख्खर हुने गर्छ । मसला र औषधीको रुपमा बाहेक बेसारको प्रयोग कपडा, धागो, कागजहरु रङ्ग्याउन समेत प्रयोग हुने गर्छ ।

बेसारको धूलोको रुपमा बढीजसो प्रयोग हुने गर्छ । त्यसबाहेक, बेसारलाई प्रशोधन गरेर ट्याब्टेल, क्याप्सुल तथा तेल समेत बनाउने गरिन्छ । सामान्यतः बेसारको प्रयोग सुरक्षित नै मानिन्छ । तर यसको जथाभावी अत्यधिक सेवनले पेट दुख्ने, अल्सर हुने, डण्डीफोर आउने जस्ता समस्याहरु देखापर्न सक्छ । बेसार आयुर्वेद तथा चिनियाँ परम्परागत औषधीहरुमा प्रयोग गर्ने गरिन्छ ।

बेसारका फाइदाहरु अनगिन्ती छन् । यहाँ मधुमेहका रोगीहरुलाई बेसार किन र कसरी फाइदाजनक हुन सक्छ भन्नेबारे सामान्य जानकारी दिइएको छ ।

बेसार डाइबिटिज रोगमा उपयोगी मानिन्छ । हाम्रो शरीरको रगतमा चिनीको मात्रा बढेको अवस्था मधुमेह हो । खासगरी, खानेकुराहरुमार्फत् हामीले प्राप्त ग्लुकोजलाई उपयोग गर्न मुख्य भूमिका खेल्ने इन्सुलिनको उत्पादन शरीरमा पर्याप्त मात्रामा हुन नसक्दा वा शरीरले उत्पादित इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह देखापर्ने हो । यस्तो अवस्थामा बेसारको नियमित सेवनले मधुमेहको असरलाई कम गर्ने गर्छ । विशेषतः बेसारका कर्क्युमिनमा पाइने एन्टिअक्सिडेन्ट, एन्टिमाइक्रोबायल र एन्टि ग्लेकाइमिक पदार्थहरुले शरीरले इन्सुलिनलाई प्रतिरोध गर्ने समस्याबाट बचावट गर्ने गर्छ । बेसारको नियमित सेवन गर्दा मधुमेहका रोगीहरुको शरीरले विस्तारै इन्सुलिनलाई प्रतिरोध गर्न छोड्छ ।

बेसारले शरीरमा इन्सुलिनको स्तर नियमन गर्न सहयोग गर्छ । रगतमा चिनीको मात्रा नियमित गर्न प्यान्क्रियाजमा उत्पादन हुने इन्सुलिनले भूमिका खेल्छ । बेसारको एन्टिग्लाइसेमिक गुणले प्यान्क्रियाजको कामलाई नियमित र ठीकसँग कायम राख्न, इन्सुलिनको स्तरलाई शरीरमा नियमित गर्न, शरीरमा इन्सुलिन प्रतिरोधको विकासलाई रोक्न, रगतमा चिनी र ट्राइग्लिसराइडको स्तर घटाउन भूमिका खेल्ने गर्छ । त्यसैगरी, यसले रगतमा चिनी र ग्लुकोजको स्तरलाई सन्तुलनमा राख्न, पाचन सुधार गर्न, हानिकारक बोसो शरीरमा जम्मा हुन रोकी मोटोपन तथा अनावश्यक तौल बढ्न नदिने काम गर्छ । यो अवस्था भनेको निश्चय पनि मधुमेह रोकथामका लागि राम्रो हो ।

बेसारमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट र फाइटोन्यूट्रिएन्टहरु पाइन्छ । यसमा पाइने कर्क्युमिनमा एन्टिमाइक्रोबायल, एन्टिइन्फ्लेमेटरी र एन्टि ग्लाइसेमिक गुणहरु हुने गर्छ । यी तत्वहरुले शरीरको रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । शरीरको रोग प्रतिरोधी क्षमता बलियो हुनुको अर्थ धेरै स्वास्थ्यसमस्याहरुबाट मुक्ति पाउनु हो । स्वस्थ शरीरले मात्र मधुमेह जस्ता रोगहरुविरुद्ध प्रभाकारी रुपमा लड्न सक्छ ।

कोक्साकी बी४ (Coxsackie B4) नाम गरेको भाइरसले मानिसमा डाइबिटिज लगाउने सम्भावना बढाइदिने विश्वास गरिन्छ । बेसारको एन्टिभाइरल एन्टिव्याक्टेरियल र अन्य एन्टिबायोटिकले यो भाइरसविरुद्ध लड्न सहयोग गर्छ । यसको अर्थ के पनि हो भने बेसारले यी भाइरसविरुद्ध शरीरको रोगप्रतिरोधी क्षमतालाई बलियो बनाएर मधुमेह लाग्ने एउटा सम्भावनालाई न्यून गरिदिन्छ । त्यसबाहेक, बेसारले पाचनसम्बन्धी थुप्रै समस्याहरुविरुद्ध लड्न पनि सहयोग गर्छ, जुन समस्याहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा मधुमेहसँग पनि सम्बन्धित हुने गर्छ ।

त्यसैले बेसारको प्रयोग मधुमेहका विरुद्ध उपयोगी मानिन्छ ।

बेसार मधुमेहका विरुद्ध उपयोग हुने कुरा अध्ययनहरुले देखाएको नतिजाको कुरा हो तर त्यो नै अन्तिम नतिजा भने होइन । यसबारेमा थप व्यापक अध्ययन हुनु जरुरी छ । खासगरी, मधुमेह रोगीहरुका लागि बेसार फाइदाजनक छ, यसको ठिक्क मात्राको सेवनले कुनै साइड इफेक्ट गर्दैन । तर यसको अर्थ यो होइन कि यो मधुमेहका रोगीहरुले खाइरहेको औषधी कै विकल्प हो । चिकित्सकको सल्लाहमा औषधी खाइरहेका मधुमेह रोगीहरुले बेसार खाए पनि औषधी खान छाड्नु हुँदैन ।  बेसार खाँदा भएका फाइदाहरुका आधारमा चिकित्सकको सल्लाहमा विस्तारै औषधीको मात्रा घटाउँदै लैजानु उत्तम उपाय हुन सक्छ ।

अर्को महत्वपूर्ण कुरा के हो भने, आफ्ना चिकित्सकलाई यसबारे अवगत गराउनु जरुरी हुन्छ । सामान्यत: बेसार सेवन सुरक्षित कुरा हो तर कतिपय औषधीहरुसँग यो जुघ्न सक्छ । त्यस्ता कुनै अस्वभाविक लक्षण देखिएमा औषधीको रुपमा बेसारको सेवन तुरुन्तै रोक्नु जाति हुन्छ ।सामान्यत: प्राकृतिक रुपमा हामीले बेसार सेवन गर्दा त्यसको औषधीय तत्वलाई शरीरले राम्ररी ग्रहण नगर्न पनि  सक्छ । सामान्यत: बेसारका साथ कालो मरिच मिसाएर खाँदा त्यसको प्रभाव राम्रो पर्ने गर्छ । अझ आजभोलि त शरीरले राम्ररी पचाउने गरी बेसार ट्याब्लेट–क्याप्सुलका रुपमा पनि पाइन्छ । त्यो एउटा विकल्प हुन सक्छ ।