जारराजाको त्रासद् अन्त्य

जनतामाथि युद्ध र हिंसा थोपर्ने राजाहरुको हालत कस्तो हुन्छ ? स्वदेशवासीलाई अकाल र भोकमरीको मुखमा घचेट्ने शासकहरुको भविष्य कस्तो हुन्छ ? शायद, उनीहरु पनि जार निकोलसजस्तै राजगद्दी त्याग्न र गुमनाम मृत्यु स्वीकार्न बाध्य हुनसक्छन् ।

सन् १९१७ मा युद्ध र अकालका बीच रुसी जनताले रोटी मागे, पानी, बिजुली र ग्यास माग गरे । यी सबैका लागि जिम्मेवार जारको निरंकुशता अन्त्यको कामना गरे । तर राजाले जनतालाई युद्धको चारो बनाउने दुष्कर्मलाई जारी राखे । देशलाई आफ्नो बिर्ता ठान्ने राजा नै दिशाहीन महामूर्ख शासक भएपछि उनले नेतृत्व गर्नसक्ने कुरै भएन ।

जार निकोलस त्यस्ता मूर्खाधिराज थिए, जो मूर्ख र जिद्दी पत्नी जारिनाको मुट्ठीमा कैद थिए । र, ती दुवैचाहिँ दरबारका लुच्चालफंगा र मूर्खहरुको गिरोहका बन्दी थिए । गिरोहको नाइके थियो, घोडा चोरबाट भगवानमा फेरिएको ‘रास्पुटिन’, जसको अर्थ हो : घिनलाग्दो कुकुर ।

रास्पुटिनका कैदी राजाले जनतालाई युद्धको भुमरीमै फसाइराखेपछि गरीखानेहरु विद्रोहमा उत्रे । लाखौं भोका गरिखाने पुरुष–महिला तथा युद्धबाट आजित सिपाहीहरु शहरका सडकमा उत्रेर विद्रोह गर्न थाले । प्रधान सेनापति जारले सेनामार्फत् दमन गर्न खोजे, जसले प्रतिरोधको आगोमा घ्यू थप्यो । जनताले रोटी, स्वतन्त्रता र शान्ति माग्न थालेपछि सेनाको ठूलो तप्का जनताको पक्षमा उत्रियो र जनतामाथि गोली चलाउने जारको हुकुम अस्वीकार गर्‍यो । गरीखाने जनताले जर्जर भइसकेको सामन्ती राज्यव्यवस्थालाई जरैदेखि फेर्नुपर्ने माग गरे । त्यो माग भने राजाको निरंकुश र तानाशाही सत्ताको लागि स्वीकार्य भएन ।

यस्तो राष्ट्रिय संकटको बेला पनि राजा भने प्रधानमन्त्रीमात्रै फेर्न तयार भए । व्यक्तिलाई फेर्दैमा राजाको सामन्ती व्यवस्थाका रोग हल हुँदैनन् । तर उनी भने एकैवर्षमा चारचारजना प्रधानमन्त्री फेरेर भएपनि सिंहासन र राज्यव्यवस्था बचाउनमा लागि नै रहे ।

आठ मार्चदेखि शुरु भएको जनविद्रोहमा सेना पनि सहभागी भएपछि विद्रोहले क्रान्तिको रुप लिन थाल्यो । शहर शहरमा मजदुर र किसानहरुको स्वशासित

संस्था: ‘सोभियतहरु’ले शासन चलाउन थाले । त्यसमा सेना पनि सहभागी भएपछि सोभियतहरु शक्तिशाली समानान्तर सरकारको रुपमा स्थापित भए, राजतन्त्रका शासनयन्त्रहरु निस्तेज र ध्वस्त हुनथाले ।

यस्तो विजोग भएपछि राजाले हड्ताल र विद्रोह दबाउन सैनिक शासन थोपरे । सेनाको कमान गर्ने सेनापतिले बकाइदा सैनिक शासन घोषणा गरे । कस्तो विडम्बना भने त्यो घोषणा न शहरमा प्रचार गर्न सकियो, न त कुनै पोष्टरकै रुपमा टाँस्न सकियो । किनकि त्यस्तो काम गर्न कोही पनि तयार भएनन् !

मूर्ख राजा विद्रोहीहरुको कब्जामा रहेको पेत्रोग्राद शहरमा जान खोज्दा रेल मजदुरहरुले बाटैमा उनको गाडी रोकिदिए । र, जारिनाले जारलाई पत्र पठाउँदा हुलाकका कर्मचारीले यस्तो लेखेर उनैलाई पत्र फर्काइदियो, ‘पत्र पाउनेको थरठेगाना थाहा नभएको !’

अन्तमा राजतन्त्र बचाइराख्न जार निकोलसले राज्याधिकार त्यागे र प्रिंस लुबोबलाई प्रधानमन्त्री बनाए । तर जारशाहीको सिंहासन खालीको खाली नै रह्यो ।

क्रान्तिको क्रममा युराल पर्वतमा बन्दी बनाइएका जार र उनको परिवार नराम्ररी मारिए, राजावादीहरुले उनीहरुलाई मुक्त गरी प्रतिक्रान्तिको केन्द्र बनाउलान् भन्ने भयले गर्दा उनीहरु मारिए । यसरी एउटा जर्जर सामन्ती राजतन्त्र ढालियो, तीनसय वर्षको निरंकुश शक्तिशाली जारशाहीको अन्त्य गरियो । लाखौं जनतालाई तर्साइराखेको ‘पवित्र रुस’का ‘पिता’ इतिहासको डम्पिङसाइटमा फ्याँकिए ।

नवयुवाबाट । Image: https://cont.ws