गोलाबारुद, उत्प्रेरणा र सैनिकको अभावः इजरायली सेना गाजामा युद्धविराम चाहन्छ

गाजामा हमासलाई ध्वस्त पार्ने लक्ष्य र लेवनानमा युद्धविस्तार गर्ने धम्कीलाई लिएर इजरायली सेना र राजनीतिज्ञबीच चिरा बढ्दैछ !

इजरायली सेनाका नेतृत्वले गाजामा व्यापक युद्धविरामको लागि अनौपचारिक रुपमा दवाब दिइरहेका छन् । यसलाई उनीहरुले हमासले बन्धक बनाएका १०० भन्दा बढीको मुक्ति तथा "हिजबुल्लाहसँग सही सम्झौता गरी युद्धको विस्तारलाई रोक्ने सही उपायको रूपमा चित्रित गरेका छन् । यो कुराको खुलासा नाम नबताउने शर्तमा हाल सेवारत तथा सेवानिवृत्त भइसकेका छ जना इजरायली सैन्य अधिकारीहरुले न्यूयोर्क टाइम्सलाई बताएका हुन् ।

युद्धविराम सम्झौतामा पुग्ने प्रयासहरूलाई बारम्बार भङ्ग गर्ने राजनीतिक दलहरुले इजरायललाई "सदाका लागि युद्ध" मा तानेको डर शीर्ष जनरलहरूलाई छ। न्यूयोर्क टाइम्ससँग कुरा गर्ने अधिकारीहरूका अनुसार, "सेनासँग जगेडा पुर्जाहरु, गोलाबारुद, प्रेरणा र सैनिकको पनि कमी छ।"

"दशकौंपछि  इजरायलको सबैभन्दा लामो युद्धमा थप लडाइँका लागि हातहतियारहरुको अभाव हुँदै गएपछि  इजरायली जर्नेलहरु हेजबुल्लाह विरुद्ध स्थलयुद्ध सुरु भएमा लड्नका लागि इजरायली सेनालाई समय चाहिन्छ भन्ने ठान्छन्," रिपोर्टले जोड दिएको छ ।

"जगेडा सैनिकहरुमध्यै कमै मात्रले सहभागिता जनाएका छन्... र सैन्य अधिकारीहरुमा आफ्ना कमाण्डरहरूप्रति अविश्वास बढ्दै गएका छन्," अधिकारीहरूले भने, गोलाबारुदका आपूर्तिलाई जोगाउन गाजाका केही ट्याङ्कहरूमा उनीहरुको क्षमताभन्दा कम गोलाबारुद लोड गरिएका छन् ।

हालैका हप्ताहरूमा, नरसंहारकारी युद्ध रोकिनुअघि गाजामा "हमासलाई नष्ट गर्ने" सरकारको घोषित लक्ष्यको विरूद्ध इजरायलको सुरक्षा प्रतिष्ठानका शीर्ष सदस्यहरूले सार्वजनिक रूपमा बोलेका छन्।

"हमासलाई नष्ट गर्ने, हमासको नामोनिशान मेटाइदिने कुरा जनताको आँखामा छारो हाल्ने काम मात्रै हो। हमास एक विचार हो; हमास एउटा पार्टी हो। यसले जनताको हृदयमा जरा गाडेको छ - हामी हमासलाई नष्ट गर्न सक्छौं भन्ने कसैले सोच्छ भने त्यो गलत हो," सेनाका प्रवक्ता ड्यानियल हगारीले १९ जुनमा भनेका छन्।

उनका भनाइहरुलाई राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख जाची हानेग्बीले प्रतिध्वनित गरेका छन् । उनले भनेका छन्, "हामीले विचारको रूपमा हमासबाट छुटकारा पाउन सक्दैनौं, त्यहाँ हामीलाई वैकल्पिक उपाय चाहिन्छ।"

"बन्धक सम्झौता र युद्धविरामलाई सेनाले पूर्ण समर्थन गरेको छ," इजरायलका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार इयाल हुलाताले न्यूयोर्क टाइम्सलाई बताइन्। "उनीहरू बुझ्छन् कि गाजामा एक विरामले लेबनानमा युद्धको तनाव बढ्ने सम्भावनालाई  कम तुल्याइदिन्छ। उनीहरूसँग पहिलेको तुलनामा कम हतियार, कम स्पेयर पार्ट्स, लड्ने ऊर्जाको अभाव छ - त्यसैले उनीहरूले पनि के ठान्छन् भने गाजामा हुने विरामले भोलि केही गरी हिज्बुल्लाहसँग ठूलो युद्ध भड्किएमा तयारी गर्न थप समय दिन्छ भन्ने ठान्दछन्।

रिपोर्टका अनुसार, अधिकारीहरू पनि सहमत छन् कि "बन्धकहरूलाई फिर्ता गराउनुको बदलामा हालको लागि हमासलाई सत्तामा राखिराख्नु इजरायलको लागि सबैभन्दा कम खराब विकल्प हो।"

तेल अभिभले हिजबुल्लाह विरुद्ध लड्न उत्तरमा सेनालाई पुन: तैनाथ गर्नको लागि गाजामा लडाइँलाई विस्तारै बन्द गर्दै जाने घोषणा गरेको बेला यी खुलासाहरू आएका छन्। त्यसो त नेत्जारिम र फिलाडेल्फी कोरिडोर दुवैलाई नियन्त्रण गर्न गाजामा नै ठूलो संख्यामा सेना थप केही महिनासम्म राखिराख्ने तयारी गरिएको छ।

द क्रेडलमा प्रकाशित रिपोर्टको अनौपचारिक नेपाली रुपान्तर