नेकपाको विभाजनमा दवाब र ‘एकता’भित्रका दु:खान्त संकेतहरु

(केही वर्षअघि प्रचण्ड बहुमतसहितको सरकार बनाउन सफल तथा दुई भिन्न पार्टीहरु नेकपा एमाले र माओवादीबीच पार्टी एकता भई नेकपा बनेको थियो । तर त्यो एकता लामो समय टिक्न सकेन । सर्वोच्च अदालतको एक आदेशले उक्त एकतालाई काँच जस्तै चकनाचुर हुने गरी टुटाइदियो र एकतामा जोडिएका दुवै पार्टीहरुलाई पूर्ववत अवस्थामा फर्काइदियो !

सतहमा हेर्दा नेकपाको पछिल्लो विभाजनको गोचर परिदृश्य यो हो । तर के विभाजनको वास्तविक कारण त्यही नै मात्र हो ? वामनेता टंक कार्कीले त्यतिखेरै लेखेको यो टिप्पणीले त्यसबेलाको वास्तविक वस्तुस्थितिको केही छनक दिन्छ । विभाजनका ती पक्ष र प्रवृत्तिहरु आजपनि उत्तिकै सक्रिय रहेका छन् जसले नेपाली वाम आन्दोलनलाई ध्वंश गर्ने कार्य निरन्तर रुपमा गरिरहेकै छ । –दायित्वबोध)

लाग्छ, नेकपा विभाजनमा दवाब बढ्न थालेको छ, भलै आफैँभित्र भने एकता टुट्नु हुन्न भन्ने जबरजस्त बलियो आधार छ । त्यसो त प्रचण्ड बहुमतसहित नेकपा नेपाली राजनीतिमा जसरी उपस्थित भयो त्यसमा दुइटा दवाव थिए:

१. यस शक्तिको अघिल्तिर अस्थिरताको खेतीमा पल्केको शक्तिको अब हर्कत गर्ने आधार नभएको हुँदा ढुक्कसंगले मुलुकको आर्थिक सामाजिक विकास प्रतिको बडो विश्वास, जसलाई सरकारले समृद्धिको नारामा समेटेको पनि हो ।

 २. 'कमी'हरुको शासनप्रति वैरभाव राख्ने वाह्य पक्ष, जतिसुकै खुसामद गरे पनि त्यो दाहिनो हुनेवाला थिएन । अलिक अघि भारतीय नाकाबन्दीमा प्रतिरोधको अगुवाई गर्ने शक्ति नै नेकपपा भित्रको रसायन हो भनेर नबुझ्ने कुरै भएन । त्यसैको बलमा नेकपाले निर्वाचन मार्फत शक्तिआर्जन पनि गरेको हो । त्यो शक्ति कति मुरमुरिएको होला ?! जति आरती उतारे पनि कुनै काम छैन । राष्ट्रहरुका फगत स्वार्थ हुन्छन, भावना होइन ।

पार्टीको आन्तरिक चुनौती आफ्नै ढंगको थियो । नेकपा दुइटा घटक, नेपाली कम्युनिष्ट आन्दोलनका दुई विराट घटक, एमाले र माओवादीको 'एकताको घोषणा थियो पार्टी बनेको थिएन ।' यो भयानक चुनौती भने थिएन । र्‍याङ्क एण्ड फाइल जस्तोसुकै बलिदान गर्न पनि मन्जुर थियो । तर पार्टीभित्रका शक्तिपीठ भविष्यको जोडघटाउ गर्न र आफ्नो पक्ष बलियो बनाउनमा भित्रभित्रै लागे । सुरुमै भीमकाय केन्द्रिय कमिटी र ठीकैको र सन्तुलित नै सचिवालय र स्थायी समिति बनायो । समय घर्किदै जाँदा केन्द्रिय कमिटी र त्यसको भीमकाय स्वरूप निर्णय  निर्माणको व्यापकतम आयाम नभएर तुष्टीकरणका  निम्ति भिराइएका फुली त होइनन् भनेर जो कोहीले लख काट्न सक्ने भयो । ती यस्ता जर्नेल भए,  जसले  युद्धको सामना त के परेड पनि खेल्नु थिएन । निर्णय प्रक्रिया साँगुरो घेरामा सीमित भयो । शासनको शैली 'पुरानो शासन'बाट उधारो लिएको जस्तो देखिन थाल्यो (राजषी शान, सुशासनको उल्लङ्घन, स्वयं पार्टीभित्र रातो टेबलपोशमा बस्ने, सेतो टेबल पोशमा बस्ने र 'कमनर' तीन श्रेणीको भयो) । नागरिक समाजले राज्य होइन, राज्यले नागरिक समाज कज्याउने परिपाटीको छनक देखापर्न थाल्यो । यस्तो बहुदलीय व्यवस्थाको अभ्यासमा उन्मुख भयो जहाँ फगतमा राज्य छ तर दलको आत्मा विसर्जन गरिएको छ । अनि भने पार्टीले राज्य होइन, राज्यले पार्टी चलाउने, राजाले पंचायत चलाए जस्तो, आभास हुन थाल्यो । यति भएपछि विरोधीहरुलाई खुँदो पल्टियो र 'अधिनायकवाद'को आरोप लाञ्छित गर्न थाले । आफैँभित्र भने 'जनवादी केन्द्रीयता'को हुर्मत । केही महिना भित्र सकिनु पर्ने संगठनात्मक मिलान एकपछि अर्को गर्दै हलो अड्केको छ, अड्केको छ,  वर्षदिन बित्दा पनि अब कहिले तुरिने हो अझै ढुक्कले भन्न सकिने अवस्था छैन ।

यता केही समय शीर्ष तहका अभिव्यक्तिहरुको छनक निश्चय नै विष्मयकारी र उदेकलाग्दो छ । आफू मुख खोल्दै जाने, जो संस्थागत दायराबाट गुज्रनु नपर्ने, आधार भएर पनि त्यसमा बाँधिनु नपर्ने अनि 'मातहत'का करिया झैँ चुपचाप रही दिनुपर्ने । कहिलेसम्म रहिरहलान त ?! यसरी एक अर्काले पुनरुत्पादन गर्ने भनेको फगत भद्रगोल । शक्तिको यो छिनाझपटी, यसै भन्न सकिन्छ, अनिष्टकारी छ । अब यो लहरो धेरै लामो भ'को छ र  दुवै छेउमा तान्न भनेर बसेका हस्तीहरु आन्तरिक मात्रै होलान भनेर बस्नु यथार्थपरक हुँदैन । यहीं  बेला प्रतिगमनका स्वरहरु चर्को सुनिन थालेका छन् । हुँदा हुँदा कांग्रेसका सभापति चुड्की बजाको भरमा दुई तिहाई बहुमतको सरकार ढालिदिने उद्घोष गर्न भ्याइसकेका छन् । अहिले सामरिक स्वार्थ्यमा बाह्य दवाव अंग्रेज नेपाल युद्धपछि सर्वाधिक बढेको अवस्था छ, कोरोनाको प्रकोपले अर्थतन्त्र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ, यसर्थ बृहत राष्ट्रिय मेलमिलापको खाँचो छ ।खिचडी पकाउनेहरु पकारहेका छन् । सबैले धमिलो पानीमा न माछा मार्ने हुन् । सच्चिन समय छ, तर इतिहासमा लालचले उत्पन्न गरेको संवेदनहीनता नराम्ररी दण्डित भएको छ । इतिहासको ऐनामा को को कहाँ छन्, सबको अनुहार देखिने नै छ ।

२०७६ असार १३