राजदूतको सिफारिशः रास्वपाले टिकेप्रथा हैन, मापदण्ड बनायो !

राजदूत नियुक्तिमा टीके प्रथालाई तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सिफरिसको ६ बुँदे मापदण्ड बनाएर आवेदन मागेको छ ।

सरकार परिवर्तनपछि पछिल्लो पटक सरकारले ८ वटा देशबाट पूर्व सरकारले नियुक्त गरेको राजदूतहरुलाई फिर्ता बोलाइसकेको छ । त्यसरी फिर्ता बोलाएका राजदूतहरुमा हालको सत्ता गठबन्धनबीचको भागबण्डमा नेकपा एमालको भागमा ५, अशोक राई नेतृत्वको जसपाका २, राष्ट्रिय स्वतन्त्र पार्टीका २ र नेकपा माओवादीका भागमा १ राजदूत परेका छन् । त्यसअनुसार, एमाले र जसपाले आफ्नो भागका राजदूतहरुको नाम सिफारिश गरिसकेको छ भने माओवादी र रास्वपाले भने सिफारिश गरेको छैन ।

वैकल्पिक राजनीतिको नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भागबण्डामा राजदूत हात पारेपछि व्यापक आलोचना भएको थियो । अहिले उसले नेताका आसेपासेलाई वा उनले रुचाएकालाई टीका लगाएर हैन, मापदण्ड बनाएर राजदूत सिफारिश गर्ने काम गरेर त्यो दागलाई मेट्ने कोशिश गरेको छ ।