प्रचण्डको जादुइ नम्बर !

गणतन्त्र स्थापनापछिको नेपालमा सत्ता राजनीतिको केन्द्रमा हरहमेशा आफूलाई राख्न सफल व्यक्ति नेकपा माओवादीका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरणको राजनीतिमा नयाँ शब्द प्रयोग गरेका छन्– जादुइ नम्बर । ‘विख्यात विद्रोही नेता’का रुपमा निर्माण भएको आफ्नो छवि ‘कुख्यात सत्ता दुर्व्यसनी’का रुपमा परिणत भइसक्दा समेत चेत नखुलेका उनले आफ्नो चातुर्यता सिद्ध गर्न सार्वजनिक रुपमा नै यो शब्दलाई स्थापित गर्ने प्रयास गरेको देखिएको छ ।

तामाङ राष्ट्रिय मुक्तिमोर्चाको ७ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई असार ८ गते सम्बोधन गर्दै उनले आफूहरूलाई सरकारबाट हटाउन सजिलो नरहेको बताए । त्यसको कारण खुलासा गर्दै उनले भने– ‘हामीलाई हटाउन सजिलो छैन । इतिहासको कारणले, मुद्दाको कारणले, आन्दोलनको कारणले र हाम्रो जादुइ नम्बरको कारणले पनि । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ । त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन ।’

प्रचण्डले यहाँ संकेत गरेको जादुवाला नम्बर भनेको विद्यमान प्रतिनिधिसभामा नेकपा माओवादीको कायम ३२ सीट हो । संसदमा उपस्थितिको हिसाबले तेस्रो दल रहेपनि नेकपा माओवादीका अध्यक्ष प्रचण्डले कहिले संसद्कै सबैभन्दा ठूलो दल नेपाली काँग्रेस त घरी दोस्रो ठूलो दल नेकपा एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री पदमा विराजमान रहँदै आएका छन् । पहिलो पटक नेपाली काङ्ग्रेसलगायतका दलहरूसँग गठबन्धन गरेर सरकार बनाएका प्रचण्डले पछिल्लो पटक काँग्रेससँगको सहकार्यलाई तोडेर नेकपा एमालेसमेतको सहकार्यमा नयाँ गठबन्धन गरी प्रधानमन्त्री पदलाई कायम राख्न सफल भएका हुन् । यही कारण उनले १६ महिनाको छोटो अवधिमै चार चार पटक विश्वासको मत समेत लिइसकेका छन् ।

जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउँदाताका नेकपा माओवादीको हैसियत नेपालकै सबैभन्दा ठूलो दलको थियो । त्यस बेला ६०१ सीटको प्रतिनिधिसभामा माओवादी एक्लैको २२९ सीट रहेको थियो ।  प्रतक्ष्य निर्वाचित २४० को आधा १२० सीटमा  माओवादीले विजय हासिल गरेको थियो । माओवादीको त्यो काया क्षयीकरण हुँदै यतिखेर उक्त पार्टी प्रतिनिधिसभामा ३२ सीटमा सीमित भएको छ ।

त्यसबिच माओवादी पार्टीमा थुप्रै फुटहरू भएका छन् । कुनै चमत्कार भएन भने आगामी २०८४ को आम चुनावमा प्रचण्डको जादुइ नम्बरले मात्रै माओवादी पार्टीको नैयालाई पार लगाउन सम्भव छैन । आम अनुमान र विश्लेषण यो छ कि लगभग अस्तित्व नै संकटमा पर्ने अवस्थामा अबको निर्वाचनमा माओवादी हुनेछ ।  सम्भवतः यही कुरा बुझेर नै होला, सोही कार्यक्रममा माओवादी सुप्रिमो प्रचण्डले भनेका छन्– मलाई अब धेरै समय छ जस्तो पनि लाग्दैन ।

त्यसकारण अब यो अन्तिम समयसम्म साथीहरू, नेताहरू, कार्यकर्ताहरू कसैलाई पनि फुर्सद नदिने आत्मनिर्भर अर्थतन्त्रका निम्ति, उत्पादनको निम्ति, रोजगारीको निम्ति, जातीय मुक्तिका निम्ति यी सबै विषयका विभिन्न कार्यक्रम संचालन गर्ने सोचमा उनी रहेका छन् । “कहिले सांस्कृतिक अभियान, कहिले उत्पादनको अभियान, कहिले प्रचारको अभियान आदि इत्यादि गर्दै हामी अभियानात्मक रुपमा जाने सोचेका छौँ ।“, कार्यकर्तालाई ढाडस दिँदै उनले भनेका थिए ।

नेपालमा उथलपुथलकारी जनयुद्धको नेतृत्व गरेर विश्वलाई नै चकित पार्ने माओवादी पार्टी र प्रचण्डलगायत त्यसको नेतृत्वमण्डलीको क्रान्तिकारिता यतिखेर बिटुलिइसकेको छ । प्रचण्डको छवि यतिखेर चरम सत्तालिप्सामा डुबेको तथा नीति सिद्धान्त र न्यूनतम राजनीतिक नैतिकतालाई समेत परित्याग गरेर  जसरी पनि सत्ताको मियो आफैँले सम्हाल्नुपर्ने अति केन्द्रीकृत एवं व्यक्तिवादी मानसिकता बोक्ने नेताको रुपमा बदनाम छ ।

उता माओवादीका नेताहरूको कुलीन जीवनशैली र विभिन्न काण्डहरूमा रहेको लिप्तताले माओवादी पार्टीको भुइँतहका जनतासँग तीव्र गतिमा सम्बन्ध विच्छेदको क्रममा छ । यस्तो स्थितिमा आमकार्यकर्ताहरुलाई अलमल्याउन प्रचण्डले यो जादुइ नम्बरको पासा फ्याँकेको हुन सक्छ । त्यसो त अब उनले जादुकै माध्यमबाट केही गर्छन् भन्ने कल्पना र त्यसैको विश्वासमा रहेका कार्यकर्ता मात्र उनको साथमा छन् । त्यसैले उनले भिड हेरेर त्यसैको इच्छा अनुरूपको अभिव्यक्ति दिएको रुपमा पनि उनको पछिल्लो सम्बोधनलाई बुझ्न सकिन्छ ।

प्रचण्ड बेलाबेलामा अन्टसन्ट कुराहरू गरेर ‘चियाको कपमा तुफान सिर्जना गर्न’ माहिर खेलाडीका रुपमा परिचित छन् । उनले आफ्नो नम्बरको स्मरण गराएर कतै केपी ओलीलाई अर्को जादु देखाउने धम्की दिएका त हैनन् ? केहिदिन यता यस्तो विश्लेषण समेत हुन थालेको छ । ताकपरे आफूले पाँच वर्ष नै शासन गर्ने कुरा गरेर उनले आवश्यक परे फेरि कित्ता परिवर्तन गर्ने समेत संकेत गरेका हुन सक्छ । हुन त कुनै बेला प्रचण्डको एक शब्दको समेत अनेकौँ अर्थ लगाउने र विश्लेषण गर्ने गरिएकोमा पछिल्लो समय उनको अभिव्यक्तिलाई ‘मुकुन्दे पारा’ भन्दै धेरैले बेवास्ता गर्ने गरेका छन् ।