घुर्ने समस्या – हामीले सोचेभन्दा खतरनाक हुन सक्छ !

धेरै मानिसहरुमा घुर्ने समस्या हुने गर्छ । रमाइलो कुरा चाहिँ के हुन्छ भने, घुर्ने मानिसलाई आफूले घुर्छु भनेर थाहा हुँदैन तर उसको घुराइले सँगै वा एउटै कोठामा सुतेका मानिसको निद्रा भने चौपट्टै पारिदिने गर्छ । सामान्यतः हामी के ठान्छौं भने, घुर्नु एउटा सामान्य समस्या हो, अझ हामी त यसलाई बानी पनि भन्ने गर्छौं । तर वास्तवमा, घुर्ने समस्या, हामीले सोचे जस्तो सामान्य समस्या मात्रै नहुन पनि सक्छ, बरु यो त हामीले सोचेको भन्दा पनि खतरनाक हुन सक्छ ।

हामी त्यो बेला घुर्ने गर्छौं, जब निदाएको बेला केही कुराले हाम्रो श्वासप्रश्वासको क्रियामा वायुको प्रवाहलाई रोकिदिने काम गर्छ । सामान्यतः के ठानिन्छ भने यो समस्याले सँगै सुतेका साथीलाई डिस्टर्ब गर्नुबाहेक अरु खासै नोक्सानी गर्दैन । तर वास्तवमा त्यो गलत कुरा हो । वास्तवमा, घुर्ने समस्याका परिणामहरु हामीले सोचेभन्दा पनि बढी खतरनाक हुन सक्छ ।

स्वास्थ्य विज्ञानको भाषामा घुर्ने समस्या निद्रासबन्धी गम्भीर समस्या ‘अब्सट्रिक्टिभ स्लिप एपनिया’को प्रमुख संकेत हुन सक्छ । घुर्ने समस्याले गर्दा एक पटकका मा हाम्रो सास १० सेकेन्डसम्म बन्द हुन सक्छ । यसबाहेक, यसले हृदयघात, मस्तिष्कघात तथा अन्य स्वास्थ्यसँग सम्बन्धित जोखिमहरुलाई पनि बढाइदिन्छ । यस अर्थमा कतिपय व्यक्तिको लागि घुर्ने समस्या कालको कारण पनि बन्न सक्छ ।

निदाएको बेलामा होस् या जागेको बेला, हामीले हरहमेशा स्वास फेरिरहेका हुन्छौं । यसरी सास फेर्ने क्रममा हामी निदाएको बेलामा कतिपय अवस्थामा मुख या नाकबाट हावा सजिलै वाहिर निस्कन सक्दैन । यस्तो हुँदा हामीले फेरेको सास जबरजस्ती बाहिर निस्कने गर्छ । यस क्रममा मुख, नाक र गालाका नरम क्षेत्रहरु एकापसमा ठोक्किन पुग्छ र त्यहाँ कम्पन पैदा हुन्छ । त्यही कम्पनले घुरेको आवाज पैदा हुन्छ ।

सामान्यतः आफ्नो जीवनकालमा प्रायः सबैले कुनै न कुनै बेला घुर्ने गर्छन् । सामान्यतः ५० वर्षमाथिका पुरुषहरु बढी घुर्ने गर्छन् । त्यसमा पनि धेरै तौल भएका तथा मोटे मानिसहरु घुर्ने गर्छन् ।

घुर्नुका कारणहरु

थुप्रै स्थितिहरु र कारणहरुले गर्दा हाम्रो श्वासप्रश्वासको क्रममा वायु प्रवाह अवरुद्ध हुन सक्छन्, जसले गर्दा हामी घुर्न पुग्छौं । घुर्नुका केही कारणहरु निम्नानुसार छन्ः

–केही मानिसहरु एलर्जीको कारण वा साइनसको संक्रमण हुँदा घुर्न पुग्छन् । त्यसबेला उनीहरुको नाकको वायुमार्ग अवरुद्ध भएको हुन्छ ।

–जब हाम्रो घाँटी र जिब्रोको मांसपेशीहरु बढी सिथिल हुन पुग्छ, त्यसबेला हाम्रो वायुमार्ग पनि खुम्चिन पुग्छ । फलतः श्वास फेर्दा घुर्न पुगिन्छ ।

–कहिलेकाहीँ हाम्रो घाँटीमा धेरै मासु लाग्दा पनि घुर्ने समस्या पैदा हुन सक्छ । त्यसबाहेक, केही बच्चाहरुको टन्सिल र लिम्फ ग्रन्थी ठूलो हुने गर्छ । त्यसले गर्दा पनि घुर्ने समस्या देखापर्छ ।

–रक्सी र नशालु पदार्थको सेवन गर्नेहरुको जिब्रो र घाँटीको मांसपेशीहरु शिथिल हुने गर्छ । फलतः यस्ता मानिसहरुमा पनि घुर्ने समस्या देखापर्छ ।

–मानिस घुर्नुको अर्को प्रमुख कारण सुताइको तरिका पनि हो । खासगरी, कोल्टे फर्केर सुत्नेहरुमा घुर्ने समस्या कम हुन्छ वा हुँदैन भने उत्तानो परेर सुत्नेहरु घुर्ने सम्भावना बढी रहन्छ । त्यसैगरी ठूलो सिरानी राखेर सुत्ने बानी भएकाहरु पनि बढी घुर्ने गर्छन् ।

–पर्याप्त निद्रा पुगेका मानिसको तुलनामा निद्रा नपुगेका मानिसहरु बढी घुर्ने गर्छन् । यसो हुनुको कारण निद्रा नपुगेको कारण उनीहरुको घाँटीको मांसपेशीहरु बढी शिथिल रहनु नै हो ।

घुर्ने समस्यासँग जोडिएका जटीलताहरु

चिसो वा फ्लूको कारण कहिलेकाहीँ घुर्नु सामान्यतः हानिरहित हुने गर्छ । तर धेरै तीब्र गतिमा तथा पटक पटक घुर्नु चाहिँ निद्रा नपुगेको कुराको संकेत हुन सक्छ ।

–घुर्ने मानिसहरुमा श्वासप्रश्वासको दौरानमा बीच बीचमा १० सेकेण्ड जति श्वास लिन रोकिने गर्छ । यो अवस्थाले हृदयसँग सम्बन्धित समस्याहरु पैदा गराउन सक्छ । यसले खासगरी, उच्च रक्तचाप, कोरोनरी धमनी रोगहरु गराउन सक्छ, जसले अन्ततः हृदयघातलाई जन्म दिने गर्छ ।

–तीखो स्वरमा घुर्नेहरुमा गरिएको एक अध्ययनले त्यस्ता मानिसहरुमा क्यारोटिड एथेरोस्क्लेरोसिस (carotid atherosclerosis) को जोखिम हुन सक्ने देखिएको थियो । त्यो भनेको घाँटीको धमनीहरु अत्यधिक बोसो जमेका कारण संकुचित भएको अवस्था हो । यस्तो अवस्थाले अन्ततः हृदयघात हुन सक्ने सम्भावनालाई बढावा दिने गर्छ ।

लामो समयसम्म धुर्ने तथा राम्रो निद्रा नलाग्ने मानिसहरुको हृदयको गतिमा तलमाथि हुने समस्या (arrhythmia) देखापर्न सक्छ ।

निद्रा राम्रो नलाग्ने तथा घुर्ने मानिसहरुमा देखापर्न सक्ने अर्को समस्या भनेको ग्यास्ट्रोएसोफेगल रिफ्लक्स (Gastroesophageal reflux disease (GERD)) को समस्या पनि देखापर्न सक्छ । यसो हुनुको कारण उनीहरु सुतेको बेलामा श्वास प्रश्वासको दौरानमा उनीहरुको घाँटी बन्द हुने अवस्थाले पनि हो । त्यस दौरानमा उनीहरुको घाँटी बारम्बार बन्द हुने गर्छ । यसले गर्दा त्यस क्षेत्रको दवाबमा परिवर्तन आउँछ र त्यसले आमाशयको सामग्रीहरु भोजननलीतिर तानिने सम्भावनालाई जन्म दिन्छ । यो समस्या विशेष गरी, मोटो मानिसहरुमा बढी देखापर्छ ।

घुर्ने समस्याले मानिसहरुको निद्रा राम्ररी पूरा हुन पाउँदैन । फलतः त्यस्ता मानिसहरुलाई जागेको बेलामा पनि अत्यधिक थकानको अनुभव भइरहेको हुन्छ । यस्ता मानिसहरु काम गर्दागर्दै अत्यधिक थाक्ने र निदाउने सम्भावना बढ्छ । यो भनेको जोखिमलाई नै निम्तो दिने स्थिति हो ।

घुर्ने समस्याले निद्रा पूरा हुन नपाउने हुनाले त्यसले हाम्रो मानिसक अवस्थामा पनि प्रभाव पार्न सक्छ । सामान्य मानिसको तुलनामा घुर्ने मानिसहरुमा बढी चिढचिढापन देखापर्ने तथा दीर्घकालमा त्यसले डिप्रेसन –मानसिक अवसाद)को अवस्था पनि निम्त्याउन सक्छ ।

गर्भावस्थाको अन्तिम तीन महिनामा महिलाहरुमा घुर्ने समस्या देखापर्न सक्छ । यसो हुनुको मुख्य कारण उनीहरुको बढेको बजन नै हो । तर यसो भू्रणसम्बन्धी जटीलताहरुको संकेत पनि हुन सक्छ । गर्भावस्थाको दौरानमा धेरै घुर्ने महिलाहरुले प्रसुति रोग विशेषज्ञसँग परामर्श गर्नु उचित हुन्छ ।

घुर्ने समस्या भएका मानिसहरु छिटो थाक्ने, अलिकति काम गर्दा पनि स्वाँ स्वा हुने जस्ता समस्याहरु देखापर्न सक्छ । यस्तो समस्या लगातार देखापरिरह्यो भने विशेषज्ञलाई जचाउनुपर्छ ।

सामान्य मानिसको तुलनामा घुर्ने मानिसहरुले कम यौन सन्तुष्टि प्राप्त गर्ने गर्छन् । अध्ययनहरुले उनीहरुमा यौनइच्छा पनि कम हुने देखाएको छ ।

मानिस घुर्नुको मुख्य कारण भनेकै उनीहरुको अतिरिक्त वजन हो । शरीरको तौल बढ्दा गर्धन क्षेत्रको मांसपेशीहरुमा पनि बोसो जम्ने गर्छ जसले गर्दा हामीलाई सास फेर्न कठिनाइ हुने र त्यसले गर्दा राम्रो निद्रा पूरा नहुने हुन्छ । यस्तो अवस्थामा शरीरको तौल घटाउँदा निद्रासँग सम्बन्धित विकारहरुमा कमी आउन सक्छ, मानिस घुर्ने समस्या कम हुने वा रोकिने हुन्छ ।

कतिपय मानिसलाई रातिको समयमा दुई वा त्योभन्दा बढी पटक पिसाब फेर्न जानुपर्ने हुन सक्छ । यो अवस्थालाई नोक्टुरिया (nocturia) भनिन्छ । यस्तो समस्या देखापर्नुका विविध कारणहरु हुन सक्छन् तर तीमध्ये एउटा कारण घुर्ने समस्या पनि हो ।

घुर्ने समस्याले सिर्जना गर्ने सबैभन्दा ठूलो दृष्प्रभाव भनेको चाहिँ सँगै सुत्ने साथीको निद्रामा पर्ने बाधा नै हो ।

उपचारहरु

घुर्ने समस्याको उपचारका विभिन्न उपायहरु हुने गर्छन् । तीमध्ये सबैभन्दा मुख्य उपचार भनेको चाहिँ शल्यक्रिया हो । अत्यधिक घुर्ने मानिसहरुको समस्या शल्यक्रियाको विधिबाट हल गर्न सकिन्छ । यसमा श्वास–प्रश्वास मार्गमा अवरोध सिर्जना गर्ने अनावश्यक मांसपेशीहरुलाई हटाएर सजिलो श्वास फेर्न सकिने गरी तुल्याइन्छ ।

शल्यक्रियाबाहेक, सुताइको अवस्थितिलाई व्यवस्थित गरेर तथा उचित किसिमका सिरानीहरुको प्रयोग गरेर पनि घुर्ने समस्यालाई हटाउन वा न्यून गर्न सकिन्छ ।

त्यसबाहेक, खानपीनमा ध्यान दिने, रक्सी, नशाली पदार्थहरुको परित्याग, शरीरको तौललाई ठीक्कको अवस्थामा ल्याएर पनि घुर्ने समस्याबाट पार पाउन सकिन्छ ।

एलर्जी तथा चिसोको कारण घुर्ने समस्या देखिएको हो भने औषधीहरुको सेवन तथा नाक खुलाउने औषधीहरुको प्रयोग गरेर पनि घुर्ने समस्यालाई हल गर्न सकिन्छ ।

त्यसबाहेक, आजभोलि निदाएको बेला घुर्ने समस्यालाई रोक्ने विभिन्न खालका यन्त्रहरु पनि प्रयोग गर्ने गरिन्छ । ती यन्त्रहरुले निदाएको बेलामा श्वासप्रश्वासलाई यथासक्य अवरोधरहित ढंगले सञ्चालन हुन दिन्छ । फलतः घुर्ने मानिसहरु नघुर्ने वा कम घुर्ने हुन्छ ।

सामग्री स्रोतः सिएनएन, एभ्रिडे हेल्थ, क्लेभल्याण्ड क्लिनिक