किन थुपार्दैछन् धनी देशले सुन, कुनसँग कति छ ?

किन थुपार्दैछन् धनी देशले सुन, कुनसँग कति छ ?

संयुक्त राज्य अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भको ब्याजदर सम्बन्धी नीति, विश्वव्यापी केन्द्रीय बैङ्कको खरिद प्रवृत्ति र विश्व व्यापारका महत्त्वपूर्ण मुद्राहरूको गतिशीलतामा आएको परिवर्तनले गर्दा सुनको मूल्य विश्व बजारमा बढिरहेको छ।  यसरी सुनको मूल्यमा भएको वृद्धिको कारण हिजो असार ७ गते शुक्रबार नेपाली बजारमा पनि सुनको मूल्य एक लाख ४ हजार सय रुपैयाँ कायम रहेको थियो

यसरी बढ्यो सुनको महत्त्व

खास गरी, १८०० को उत्तरार्धतिर वैश्विक बजारमा सुनलाई मानक मानिन थालिएको हो । १९०० को शताब्दीमा त मुद्राको मूल्यलाई सुनले निर्धारण गरिन्थ्यो । सन् १९७० को दशकमा पेट्रो डलरको प्रादुर्भाव भएपछि वैश्विक कारोबारमा सुन पछाडि परेको हो । तथापि सक्षम र सम्पन्न मुलुकहरूले सुनको सञ्चय गर्ने कामलाई भने जारी राखेका छन् ।

अमेरिकी डलरसँग यसको विपरीत सम्बन्धले पनि सुन आकर्षणको वस्तु बनेको हो । खास गरी,  डलरको मूल्य घट्दा सुनको मूल्य बढ्ने गर्छ। यही कारण पनि विभिन्न मुलुकका केन्द्रीय बैङ्कहरूले बजार अस्थिरताको अवधिमा आफ्नो रिजर्भ सुरक्षित गर्न सुनलाई सञ्चय गर्ने गर्छ ।

अन्तर्राष्ट्रिय व्यापार र वित्तमा पनि सुनको विशेष भूमिका हुन्छ। केही देशहरूले व्यापार असन्तुलन मिलाउन वा ऋणको लागि सुन प्रयोग गर्ने गर्छन्। सुनको भण्डारले देशको ऋण लिन सक्ने क्षमता प्रदर्शित गर्ने गर्छ । सुन भण्डारणको क्षमताले विश्वव्यापी आर्थिक प्रणालीमा कुनै पनि मुलुकको स्थानलाई प्रभाव पार्न सक्छ।

मूल्य बढ्नुको कारण    

विश्वभरका केन्द्रीय बैङ्कहरूले अवलम्बन गरेको नीतिका कारण सुनको मूल्य यसरी बढेको देखिन्छ ।  त्यो हो, सुन भण्डारण बढाउने नीति । सन् २०२३ मा पीपुल्स बैंक अफ चाइना शीर्ष सुन खरिदकर्ताको रूपमा देखा पर्‍यो । पोल्याण्ड र सिंगापुरले पनि ठुला खरिदकर्ताको रुपमा महत्त्वपूर्ण स्थान ओगटे । अहिले विश्वव्यापी रुपमा केन्द्रीय बैङ्कहरूले सुन खरिदको परिमाण बढाइरहेका छन् ।

गएको जनवरीमा मात्र केन्द्रीय बैङ्कहरूले विश्वव्यापी सुनको भण्डारमा ३९ टन थपेका छन्। यो डिसेम्बरमा भएको १७ टनको खरिद भन्दा दोब्बर भन्दा बढी थियो। टर्की र चीन फेरि पनि उच्च खरिददारहरूका रुपमा देखिएका छन् । त्यसबाहेक चीन र भारतमा सुनको खुद्रा मागमा आएको बढोत्तरीले पनि यो बहुमूल्य धातुको मूल्यबृद्धिमा महत्त्वपूर्ण प्रभाव पारेको छ।

छ वटा केन्द्रीय बैङ्कहरूले गएको जनवरी महिनामा सुनको भण्डार (एक टन वा सो भन्दा बढीले) बढाए। जसमध्ये टर्कीको केन्द्रीय बैंक सबैभन्दा ठुलो खरिदकर्ता थियो। यसले आधिकारिक सुन होल्डिङ १२.२ टनले बढ्यो बढ्यो । यसको भण्डारमा कुल सुनको होल्डिङ ५५२ टन पुगेको छ ।

उता पिपुल्स बैंक अफ चाइनाले जनवरीमा सुनको सञ्चिति १० टनले बढाएको थियो । यसरी यसले सुनको सञ्चिति बढाएको यो १५ औँ महिना हो । अहिले चीनसँग कुल सुनको होल्डिंग अब २ हजार २४५ टन रहेको छ, जुन अक्टोबर २०२२ को अन्त्यको तुलनामा झन्डै ३०० टन बढी छ ।

भारतीय रिजर्भ बैङ्कले लगभग ९ टन थप्यो। यो अक्टोबर २०२३ पछिको सुनको भण्डारमा पहिलो मासिक वृद्धि हो र जुलाई २०२२ पछिको सबैभन्दा ठुलो हो। यसको सुनको होल्डिङ अहिले जम्मा ८१२ टन छ। त्यस्तै, काजकिस्तानको नेशनल बैङ्कले ६ टन सुन किन्यो।

जोर्डनको केन्द्रीय बैङ्कले जनवरीमा ३ टन सुन खरिद गर्‍यो। चेक नेशनल बैङ्कले लगभग २ टन थप्यो। लगातार एघारौँ महिना सुन खरिद गरेर यो बैङ्कले सुनको भण्डार १२ टनबाट ३२ टन (+१७०%) भन्दा बढी पुर्‍याएको छ।

विश्व गोल्ड काउन्सिलका अनुसार अघिल्लो वर्षको अक्टोबरमा मात्र विभिन्न देशको भण्डारमा ४० टनभन्दा बढी सुन थपिएको थियो । केन्द्रीय बैङ्कहरूले यसरी सुन खरिद गर्ने क्रम अहिले पनि जारी राखेका छन् ।

किन थुपार्दै छन् देशहरूले सुन ?

केन्द्रीय बैङ्कहरूले आर्थिक सुरक्षण खोज्ने क्रममा "भरपर्दो सुरक्षित आश्रय" का रुपमा सुन किन्छन् किनभने यसले अस्थिर मुद्राहरू वा घट्दो बन्ड मूल्यहरू विरुद्ध स्थिर मूल्य कायम राख्छ । साथै, लगानीकर्ताहरूले यसको व्यापार गर्न कुनै विशेष सरकारमा भर पर्नु पर्दैन ।

वाशिंगटनसँग बढ्दो राजनीतिक तनावको बिचमा अमेरिकी डलरबाट आफूलाई टाढा राख्न उदीयमान बजारहरू मध्ये पनि चीनले सुन खरिद गर्ने प्रवृत्तिको नेतृत्व गरेको देखिन्छ । विगतमा बढ्दो मुद्रास्फीतिले उपभोक्ताहरूलाई यो बहुमूल्य धातु खरिद गर्न प्रेरित गरेपछि टर्कीको केन्द्रीय बैङ्कले बढ्दो चालू खाता घाटालाई नियन्त्रण गर्न सुनको आयातलाई रोक्नको लागि आफ्नो होल्डिङ कम गर्ने नीति लिएको थियो । तर, फेरी सुन भण्डारणमा यो मुलुक सक्रिय बन्यो ।

यसैबिच, डलर कमजोर हुँदा सुनलाई युरो, युआन वा येन जस्ता जुनसुकै मुद्रामा साट्न सकिने भएकाले त्यसलाई विविधीकरण गर्न उदीयमान बजारका बैङ्कहरूले सुन किनिरहेका छन् । भूराजनीतिक र आर्थिक झट्काबाट सुरक्षाका लागि पनि उदीयमान र विकसित केन्द्रीय बैङ्कहरूले सुन खरिद गर्ने अर्को कारण हो ।

चर्को आर्थिक मन्दीको दिशामा विश्व अग्रसर हुँदै गर्दा चुनौती सामना गरिरहेका उदीयमान राष्ट्रहरूले निकट र भविष्यमा सुन सङ्कलन गर्न जारी राख्नेछन् । हालैको सर्वेक्षणले यी सबै मुलुकका केन्द्रीय बैङ्कहरूले लामो समयसम्म चलिरहेको मुद्रा (डलर) को बढ्दो अविश्वास र रुस-युक्रेन द्वन्द्वका कारण उत्पन्न हुने राजनीतिक जोखिमहरूबाट आफुलाई जोगाउन यो धातु सङ्कलनमा चासो राखेको देखिएको छ ।

संसारमा सबैभन्दा बढी सुन भएका देशहरू

पछिल्लो तथ्यांकअनुसार, संसारमा सबैभन्दा बढी सुन सञ्चय गर्ने मुलुकहरूको सूची यस प्रकार रहेको छः

देश

सुन टनमा

अमेरिका

८१३३.४६

जर्मनी

३३५२.६५

इटाली

२४५१.८४

फ्रान्स

२४३६.८८

रुस

२३३२.७४

चीन

२२६२.४५

स्वीटजरल्याण्ड

१०४०.००

जापान

८४५.९७

भारत

८२२.०९

नेदरल्याण्ड

६१२.४५

टर्की

५७०.३०

ताइवान

४२३.६३

पोर्चुगल

३८२.६३

उज्वेकस्थान

३५७.६९

साउदी अरेबिया

३२३.०७

कजाकस्तान

३१०.६२

बेलायत

३१०.२९

लेबनान

२८६.८३

स्पेन

२८१.५८