नारायणकाजीको ‘भाइरल फण्डा’ !

यतिखेर सामाजिक सञ्जालहरुमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको एउटा तस्बिर निक्कै भाइरल भइरहेको छ । त्यस तस्बिरमा उनले एकजना बौद्ध धर्मगुरुको खुट्टा ढोगिरहेका छन् ।

व्यक्तिगत आस्थाका आधारमा कसैले कसैलाई मान्नु, सम्मान गर्नु, खुट्टा ढोग्नु कुनै अनौठो र उदेकलाग्दो कुरा होइन । यो संसारका करोडौँ मानिसहरूले आ–आफ्नो आस्था र विश्वासअनुसार आफूले मानिआएका, सम्मान गरेका धर्मगुरुहरूको खुट्टा ढोग्छन्, सम्मान प्रकट गर्छन् । तर, त्यस्ता तस्बिरहरू भाइरल हुँदैनन्, खासै चर्चा–परिचर्चा हुँदैनन् ।

यो प्रकरण माथिको विमर्श यहीँबाट थालौँ - आखिर नारायणकाजीकै तस्बिर चाहिँ किन चर्चामा आयो? नारायणकाजीको तस्बिर यस अर्थमा भाइरल र चर्चित भयो, किनकि उनी धर्मभिरु (आम) व्यक्ति होइनन् । उनी नेपालका  स्थापित 'कम्युनिष्ट ' नेता हुन् ।

कुनै बेला उनी तत्कालीन समयका चर्चित माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डका दाँजोमा थिए । प्रचण्डले माओवादी सशस्त्र युद्ध हॉकिरहेका बेला उनी सैद्धान्तिक रूपमा उनलाई चुनौती दिने एक प्रखर नेताको परिचयमा थिए।

प्रचण्डको कम्युनिष्ट छवि उनले गरेको  चर्चित भैँसी पूजासँगै धूलीसात भएको थियो । अहिले काजीको यो तस्बिरले उनलाई त्यही खाडलमा खसालिदिएको छ । यो यस अर्थमा कि धार्मिक कर्मकाण्डहरूलाई विश्वास नगर्ने कम्युनिष्ट नेताको यो व्यवहार उनीहरूले सार्वजनिक रुपमा भन्दै आएको  तथा अपनाउँदै आएको वामपन्थी, भौतिकवादी  चेत अनुकूल देखिएन । यस मेसोमा कतिपय कम्युनिष्ट भन्नेहरुबाटै पशुपतिमा जलहरी चढाउने, लोकरिझ्याइँकै लागि ठोरीमा राम जन्मभूमि खडा गर्ने जस्ता कामहरु गरेर कम्युनिष्ट–वामपन्थी चेतलाई हाँसोको विषय बनाइएको प्रसंग पनि उल्लेखनीय छ ।

त्यसो त, उनको निकट सम्बन्ध भारतीय जोगी जग्गु वासुदेव उर्फ सद्गुरुसँग रहँदै आएको यसअघि नै सार्वजनिक भइसकेको छ । त्यसलाई नारायणकाजी समर्थकहरुले  सद्गुरु पुरापुर धार्मिक जोगी (बाबाजी) नभएर इनर इन्जिनियरिङका ज्ञाता भएकाले उनका कतिपय कुरा विज्ञानसम्मत् छन् भन्दै उनीसँग नारायणकाजीको सङ्गतलाई सहज रुपमा लिइनुपर्ने तर्क पनि दिँदै आएका थिए । तर, अब त्यो स्थिति रहेन ।

गणतान्त्रिक नेपालका औँलामा गन्न मिल्ने नेताहरूमध्येका एक हुन्, नारायणकाजी । जसले गणतन्त्रको स्थापनापछि बारम्बार सत्तामा आसिन हुने मौका पाए । गणतन्त्रपछिका सरकारहरूमा उनी स्वयं वा उनले पत्याएका नजिकका मानिसले बारम्बार मन्त्री बन्ने अवसर पाउँदै आएका छन् । जसले उनको व्यक्तिगत छवि नै त धूलिसात पारेको छैन तर उनले नामको पछाडि झुन्डाउँदै आएको ‘प्रकाश’ को फुर्को भने चुँडाइसकेको अवस्था छ ।

त्यसो त नारायणकाजी कुनै न कुनै रुपमा चर्चामा आइरहने पात्र हुन् । कतिपयले त उनलाई भाइरल हुने फण्डा जानेको पात्रको रुपमा पनि चर्चा गर्ने गर्छन् । कुनै बेला जग्गी वासुदेवसँगको निकटताको कारण उनी चर्चामा आए भने गृहमन्त्री हुँदा सबै कर्मचारीहरूलाई कार्यालय समयमा अनिवार्य रुपमा योगा गर्नुपर्ने परिपत्र गराएर ‘हाँस्यास्पद पात्र’  समेत बने ।

सबैभन्दा बढी चर्चा त उनको त्यसबेला भएको थियो, जुन बेला उनी सरकारी सुविधाहरू परित्याग गरेर केही समय सार्वजनिक सवारी साधन माइक्रोबस चढेर आवातजावत गरेका थिए । तर, उनले त्यसलाई लामो समय निरन्तरता भने दिएनन् । किनकि त्यो उनको जीवनशैली थिएन, फगत फण्डा मात्र थियो– चर्चा बटुल्ने ।

तर, यसपटकको तस्बिरलाई उनको अर्को फण्डाका रुपमा मात्र हेरियो भने त्यो दृष्टि सही नहुन सक्छ । किनकि यो तस्बिरमा नारायणकाजीको ‘असली अनुहार’ छ । यो नै उनको सही तस्बिर हो । विगतमा कम्युनिष्ट बनेर गरेका कुरा त फगत ढोँग मात्र रहेछ । माथि चढ्ने सिँढी मात्र बनाएका रहेछन् भन्ने उनका पछिल्ला व्यवहारहरूले प्रमाणित गरिरहेका छन् ।

अब कुनैदिन उनका अनुयायीहरू (हालसम्म उनीहरूलाई कार्यकर्ता भनेर सम्बोधन गरिँदै आएको छ) ले आफ्नो फेसबुकको भित्तोमा ‘श्री १०८ प्रकाशजी महाराज’ बाट जीवन, जगत्, ब्रह्माण्ड र मानव मुक्तिका बारेमा पशुपतिको वनकालीमा  दिव्य ज्ञान प्रवचन र महायज्ञको आयोजना गरेको सूचनासहित सहभागिताको लागि निमन्त्रण गरे भने अवश्य पनि अचम्म मानिने छैन  ।

चर्चित कार्टुनिष्ट रवि मिश्रले आफ्नो फेसबुकमा व्यंग्य गर्दै लेखेको यो पोष्टलाई नारायणकाजीका भक्तजनले आफ्ना गुरुको रक्षार्थ प्रयोग गरे भने त्यसलाई समेत अन्यथा नमाने हुन्छ : "निधार र खुट्टा दुवै भौतिक जिनिस भएको हुँदा कसैले धर्मगुरुको चरणमा ललाट ठोस्नु भौतिकवादकै अभ्यास हो । चरण-ललाट-ठोसकवाद आधुनिक भौतिकवादकै एक रुप हो । यसक्रममा ठोसकका मनमा ललाट ठोसम् कि नठोसम् भन्ने द्वन्द भएको भए त्यो द्वन्द्वात्मक भौतिकवाद हो । यसमा उल्किबिल्ली गर्नु आवस्यक छैन ।"

तस्विर स्रोत: सामाजिक सञ्जालहरु