कवाड व्यवसायको समस्या: के  हुन सक्छ समाधानका उपाय?

काठमाडौं महानगर क्षेत्रभित्रबाट सम्पूर्ण कवाड व्यवसायलाई विस्थापन गर्ने नीति लिएर महानगरले डोजर चलाउन थालेपछि कवडा व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले राजधानीका सडकहरु अवरुद्ध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध अझ विशेष गरेर मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी समेत गर्ने गरेका छन् । उनीहरुको पछिल्लो आन्दोलनलाई प्रहरीले बल प्रयोग गरेर तितरवितर पारेपछि त्यसबारेमा स्वतन्त्र सांसद अमरेश सिंहले सदनमै आवाज उठाएका छन् र उनको कदमलाई हिटलरसँग तुलना गरेका छन् । कतिपयले चाहिँ मधेशी मूलका बालेनले मधेशीविरुद्ध नै भेदभावको व्यवहार गरेको आरोप समेत लगाएका छन् ।

कवाड व्यवसायलाई महानगरभित्र सञ्चालन गर्न नदिने महानगरको नीति कवाड व्यवसायलाई व्यवस्थापन गर्ने होइन, विस्थापन गर्ने खालको रहेको तर्क जायज छ । कवाड व्यवसायले एकातिर धेरैलाई रोजगार प्रदान गरिरहेको छ भने अर्कोतिर त्यसले पुनर्प्रयोगजन्य खेरजाने सामानहरुको संकलन तथा उपयोगमा योगदान समेत गरिरहेको छ । त्यसले आर्थिक चक्रमा तथा वातावरणीय सफाइमा समेत सहयोग पुगिरहेको कुरा पनि भुल्न मिल्दैन ।

तर यसो भनिरहँदा अहिले जे जसरी कवाड व्यवसायहरु सञ्चालन भइरहेका छन्, त्यसलाई सही ढंगले व्यवस्थापन गरिनु चाहिँ जरुरी छ ।खासगरी, शहरको विभिन्न भागहरुमा जथाभावी तथा अवस्थिति ढंगले जस्ताले बारेर कवाडहरु संकलन गरेर राखिँदा त्यसले बढाएको जोखिमबारे ख्याल गर्नैपर्छ । खासगरी, त्यस्ता कवाडहरुमा कागज, गत्ता, प्लाष्टिक लगायतका प्रज्वलनशील पदार्थहरु समेत भण्डारण गरिने हुनाले त्यसले आगलागीको जोखिमलाई निम्त्याइरहेको हुन्छ । शहर–बस्तीका बीचमा आगलागी भइहाल्यो भने त्यसले निम्त्याउने परिणाम निक्कै भयावह हुन सक्ने निश्चित छ । त्यसबाहेक, कवाडमा संकलन गरिने सामग्रीहरुको उचित भण्डारण र व्यवस्थापन नहुँदा त्यसबाट उत्पन्न हुने दुर्गन्धले मानवीय वस्तीहरुमा पार्ने असर पनि उल्लेख्य छ ।

यस पृष्ठभूमिमा, कवाड व्यवसायलाई विस्थापन गर्ने होइन, व्यवस्थापन गरिनु उचित हुन्छ । खासगरी, कवाड संकलन केन्द्रहरु मानववस्तीबाट निश्चित दूरी परमात्रै गर्न पाउने, कवाड संकलन केन्द्रहरुमा सम्भावित आगालागीका जोखिमविरुद्ध तयारीको अनिवार्यता गराउने, फोहोर दुर्गन्धहरु आउन नपाउने गरी मात्रै कवाड संकलन केन्द्रहरु सञ्चालन गर्न पाउने व्यवस्था गरिनु जरुरी छ । खासगरी, कस्ता खालका सामानहरु के कति समयसम्म त्यस्ता कवाड संकलन केन्द्रहरुमा भण्डारण गर्न पाउने र कस्ता सामग्रीहरु सुरक्षा एवं स्वास्थ्यको दृष्टिकोणले संकलन लगत्तै प्रशोधन केन्द्रमा पठाइहाल्नुपर्ने हो, सो कुराको समेत वर्गीकरण गरिनु पर्छ । एउटा निश्चित मापदण्ड निर्धारण गर्ने र तिनको कडाइका साथ पालना गर्ने गरी कवाड व्यवसाय सञ्चालन गर्न दिनु समस्या समाधनको सही उपाय हुन सक्छ । यसो गरेको खण्डमा हज्जारौं मानिसको प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी–आम्दानीको स्रोत बन्द हुनेछैन भने त्यसले शहर–बजारको फोहोर व्यवस्थापन तथा खेर गएका सामग्रीहरुको पुनर्प्रयोगले वातावरण संरक्षणमा समेत थोरबहुत योगदान पुग्छ भन्ने हामीलाई लाग्छ ।