यस पटक बुहारी गाउँ आइन् !

यस पटक बुहारी

शहर छाडिन् र गाउँ आइन्

रहर थियो उनको या कहर !

जे भए पनि उनी आइन्

बुहारी गाउँ आउँदा

हामी भन्दा बढी

छिमेकीहरु दङ्ग छन् ।

हरेक दिन र हरेक दृश्य

फिल्म जस्तै महशुस गर्दैछिन उनी

केही सुखान्त अनि केही दु:खान्त

केहि सम्योगान्त जस्तै

र केही वियोगान्त जस्तै

यी सबै पलहरु उनको अनुहारमा

सजिलै पढ्न सक्छ हाम्रो अनुभवले ।

 

सानो तिनो बाहिरको काम

बाध्यताको फिस्स हाँसो

लत्पतिएको गाजल

नाकको टुप्पो हुँदै भुइँ तर्फको

पसिनाको यात्रा

मिहिनेतले पालेका (हुर्काएका)

नङ भरी माटो

छुटेका यादहरु झैँ

उतै छुटेको मोइश्चराइजर/संस्क्रीम

यता आएपछी

फुट्न शुरु गरेका कुर्कुच्चा

हतारमा उतै छोडिएको

परफ्यूम/बडी स्प्रे

यता पसिनाको गन्ध

यति हुनुको बाबजुद !

मोरो ऐना !

घरी घरी जिस्काउँछ बुहारीलाई

उनले जे गर्छिन त्यसै गर्दै जिस्किन्छ ।

खोइ किन हो कुन्नी ? बुहारी पनि

हामीसँग भन्दा बढी

उसै(ऐना)सँग रमाउँछिन् ।

 

पहिला पहिला १५ दिनमा

एक पटक फोन गर्ने छोराले

आजकल दिनक्कै ६/७ चोटि फोन गर्छ

साँझ पख एक चोटि त हामीसँग नि कुरा गर्छ

तपाईंलाई कस्तो छ बा ! आमा ! भन्दैन

उनले गाह्रो त मानेकि छैनन् नि ! भन्छ

आत्तिनु भयो कि तपाईंहरु भन्दैन

उनी आत्तिएकी त छैनन् नि ! भन्छ

ख्याल गर होइ बा-आमाको भन्छ कि भन्यो

उल्टै ख्याल गर्नु है उनको भन्छ ।

जे भए नि फोन गर्छ

छोराको फोन मात्रै आए नि !

सन्तोष हुन्छ

जब उसको फोन आउँछ

उजेली देखिन्छिन् बुहारी

लाग्छ पूर्णिमा आजै हो ।

 

यसपाली बुहारीले

यूट्युबबाट नभएर प्रत्यक्ष

दूध दुहेको हेरेकी छन्

गोबर फालेको देखेकी छन्

मकै गोडेका खेतालालाई

खाजा पुर्याएकी छन्

बारिमा गहुँ फलेको देखेकी छन्

आफ्नै पसिनाको गन्ध सुँघेकी छन्

खेत जोतेको देखिन्

वारी खनेको देखिन्

धान कुटेर चामल बनाएको देखिन्

चापाकलबाट पानी झिकिन्

जुठेल्नो देखिन्

खरानीले भाडा मस्काइन्

गोबरले चुल्हो लोटाइन्

सर्लक्क नभए नि !

लिपिन् ।

 

बुहारी हुन्

तर छोरी जस्तै लाग्छ

केही देखेर जानिन् उनले /केही गरेर जानिन्

खासै काम नगरे पनि

हामीलाई सघाउन नसके पनि

अप्ठ्यारोमा घर आइन्

घरलाई आफ्नो ठानिन्

यसपाली असाध्यै खुशी भएका छौं

हामी दुई बुढा-बुढी ।

 

शहर फर्के पछि बुहारीले,

ड्याडिको ड्याडी, अनि ड्याडिको ममी होइन

हजुरबा हजुरआमा भन्न सिकाउनेछिन्

दूध डेरीले होइन, गाई भैसीले दिन्छन्

चामल फल्दैन, धान फल्छ

अन्नबाली फ्याक्ट्रीमा होइन

माटोमा उत्पादन हुन्छ्न्

आदि इत्यादि यस्तै यस्तै कुराहरू

नाति नातिनालाई

सिकाउनेछिन्/बुझाउनेछिन्

र उनीहरुलाई गाउँ जाऊँ जाऊँ बनाउनेछिन् !

 

लोकल पर्यटक जसरी नै सहि

नाति नातिना गाउँ आउँनेछन् ।

पालै पालो काखमा बसेर

गिलास भरी भरी

दूध पिउनेछन्/दही पिउनेछन्

उनीहरुले !

अनि हामी बुढाबुढी धित मरुन्जेल

उनीहरुलाई हेरिरहनेछौं ।

 

– चितवन