रोग र वैकल्पिक चिकित्सा पद्दतिको प्रभावकारिता

यो प्रश्न जति सरल देखिन्छ त्यति नै विस्तारमा जवाफ दिन सकिन्छ । सामान्यतया हरेक मानिसको पहिलो इच्छा भनेको निरोग रहनु हो । मानिस या कुनै पनि प्राणीको‌ प्राकृतिक‌ अवस्था निरोगिता हो भने त्यसको अभाव रोग हो ।‌ रोग किन कसरी कहिले कुन कुन अवस्थामा र कारणले लाग्छ, त्यो सबैले जान्न सक्ने विषय होइन ।

वैद्य समाजमा एउटा कथा प्रचलित छ । परापुर्वकालमा भगवान धन्वन्तरीले पृथ्वीमा आफ्नो स्वास्थ्य सम्बन्धी ज्ञान लिन सक्ने सुपात्र खोज्दै जाने क्रममा सुगाको रूप लियर कोअरुक: कोअरुक: अर्थात निरोगी को ? भन्दै यहाँ वहाँ उडदै जाने क्रममा धेरैले आ-आफ्नै स्तरमा उत्तर दिए तर धन्वन्तरी सन्तुष्ट भएनन् । यसै क्रममा एउटा रूख‌मुनि तपस्या गरिबसेका एक जना ज्ञानीले हितभुक, ऋतभुक, मितभुक सोअरुक: भन्ने उत्तर दिए ।‌ त्यो सुनेर धन्वन्तरी तुरुन्त तल आफ्नो स्वरूपमा आई तिमी को हौ ? यो उत्तर तिमिले कहाँबाट पायौ ? भनेर प्रश्न गरे । जवाफमा उनले यो मैले ध्यानद्वारा स्वआर्जित गरेको भने । यस कुराले सन्तुष्ट भएर धन्वन्तरीले आफ्नो स्वास्थ्य विद्या दिन मिल्ने सुपात्र पाएर विद्या प्रदान गरे भन्ने उल्लेख पाइन्छ ।‌

यसको अर्थ हो जो मानिसले ऋतु अनुसार शरीरलाई हितकारी र चाहिने जति मात्र आहार गर्छ त्यही निरोगी हो । यो उत्तर दिने चरक ऋषि थिए । आयुर्वेदको मान्यताअनुसार अहिलेसम्म संसारमा स्वास्थ्यसम्बन्धी लिखित पहिलो दस्तावेज यहीलाई मानिँदै आइएको छ । अहिलेसम्म आधुनिक स्वास्थ्य विज्ञानले पनि निरोगिताको यो मान्तालाई नकार्न सकेको छैन । त्यसैगरी, पूर्वेली मान्यताअनुसार आचार्य सुस्रुतलाई संसारकै शल्य चिकित्सा विज्ञानका पहिलो जनक मानिन्छ । कतिसम्म भने अस्ट्रेलियामा  रॉयल ऑस्ट्रेलेयिन कॉलेज ऑफ सर्जन्सको बाहिर सुस्रतको‌ मूर्ति समेत स्थापित छ ।

संसारमा सबै भन्दा बढी जडीबुटीजन्य औषधिको व्यापार चीन जापान र भारतले गर्छन । युरोप र अमेरिकाले जडीबुटीहरुलाई भरपर्दो औषधिको रुपमा मानेको छैन । यसलाई वैकल्पिक चिकित्सा मात्र मानेको छ । अर्कोतिर चीन, जापान र भारत, पाकिस्तान, नेपालका प्रतिष्ठित विश्वविद्यालयहरुले भने जडीबुटी चिकित्सा विद्यामा डिग्रीको पढाइ विगत लामो समयदेखि गर्दै आएका छन् ।

वास्तवमा आयुर्वेद सनातन वेद कै एउटा विभाग हो यसमा कसैको दुईमत नहोला । अझ विस्तारमा जाँदा आयुर्वेदको उद्गमस्थल नै नेपाल‌ भएको मानिन्छ । हामी दास्तावेजीकरण मा पछाडि परेका छौं । सत्य र तथ्य प्रमाणित गर्ने क्रममा अन्तैबाट दवाव आउँछ अनि लिय दिएर राजनीतिज्ञ एवं कर्मचारीतन्त्रहरुले मामला तलमाथि पारेको स्पष्ट प्रायः सुनिन्छ । कतिसम्म दावी गर्ने गरिन्छ भन् आयुर्वेदमा मृत्युसँग लड्न सक्षम नवरस हुन्छ । त्यो नेपाली वैद्यहरुको देन हो यो भारतीय वैद्य जगत एवं आयुर्वेद ग्रन्थहरुमा स्पष्ट लेखिएको छ ।

हामीले आ-आफ्नो शरीरको संकेत अनुसार विभिन्न सामान्य रोगको पहिचान तथा त्यसको सानो तिनो घरेलु उपचार प्रायः सबैले जानेका हुन्छौं । घरका ठूलाबडा विशेष हजुरआमाहरु यस काममा सिपालु हुन्छन् , त्यो उनीहरुको दीर्घ अनुभव मात्र हो । कैयौं जटिल ठानियका रोगहरु उनीहरुले सामान्य औषधि र केही खानपानको नियम पालना गराएर ठीक पारेको प्रायः धेरैको अनुभव हुन्छ । यि सामान्य रोगहरुमा घरमा पाइने केही जरिबुटी र दैनिक प्रयोगमा आउने मर मसलाको मात्रा मिलायर अन्य कुनै वस्तुको मिश्रण विमिश्रणको प्रयोग गरेर सानातिना रोग ठीक पारेको धेरैको अनुभव छ । यो भनेको रैथाने ज्ञान र सीपको कुरा हो । यिनलाई संरक्षण गर्न र प्रचार प्रसार गर्न सके सामान्य खालका धेरै रोगहरुको घरमै उपचार गर्न र निको पार्न सकिन्छ । तर यसतर्फ राज्यले खासै ध्यान दिने गरेको पाइँदैन ।

शरीरको कुन अवस्थालाई निरोग मान्ने ? त्यसका के के लक्षण हुन्छ, कारण के हुन सक्छन र त्यसको समाधान कसरी निकाल्ने ? त्यो सबै जान्न आयुर्विज्ञान वा स्वास्थ्य विज्ञान(Medical sciense) जान्नु आवश्यक हुन्छ । किनकि मानव शरीरको बनावट, कार्यशैली विभिन्न अन्तःश्रावी ग्रन्थिहरुले आवश्यकता अनुसार छोडिने हार्मोनले शरीरको सबै सिस्टम स्वतः कन्ट्रोल गरि रहेको हुन्छ । जोसुकैले यस विद्याको ज्ञान हासिल गर्न सक्दैन ‌। मेडिकल साइन्स पढेर डाक्टर बन्नेहरुको पढ्न पाउने योग्यता र पढाइ केही जटिल हुन्छ । यसमा विद्यार्थीहरुको भीडबाट त्यो विद्या लिन सक्ने योग्य सुपात्र छाँटेर त्यसको निकै गहन अध्ययनद्वारा विशेषज्ञता हासिल गराइन्छ । त्यसैले कहिले काहीं रोग लागेको दशामा आफै औषधि नगरी प्रामाणिक चिकित्सकसँग उपचार गराउनु सुरक्षित हुन्छ,यसले रोग पूर्णत: निको हुन्छ र फेरि बल्झिन पाउँदैन ।

चिकित्सा विज्ञानमा धेरै विधाहरु हुन्छन्, एलोपेथिक, यूनानी, आयुर्वेदिक, सिद्ध,होम्योपैथिक, तिब्बती चाइनीज आदि । यसबाहेक विश्वका विभिन्न भागहरुमा अस्तित्वमा रहेका  रैथाने ज्ञानमा आधारिर अन्य विद्या हामिलाई अज्ञात पनि हुन सक्छन् तर‌ मुख्यतया यिनै ६–७ विधा विश्वभरि चलनमा छन् । ती सबै पद्दतिका आ-आफ्नै प्रकृया र लाभहानी हुन्छन् । सम्भवतः देशकाल परिस्थिति अनुसार सबैको आ-आफ्नै महत्व पनि छ । यो आयुर्वेदमा यस्य देशष्य योजन्तु तज्यौ तस्यौषधं हितम् भनेर निकै स्पष्ट पारेको छ । आधुनिक चिकित्सा विज्ञानले विश्वभरि प्रायः एउटै प्रोटोकोल पालन गरेको हुन्छ । यसको अध्ययनको तरीका अनुसन्धान र प्राप्त सारांश निचोडहरु प्रायः सार्वजनिक हुन्छ जो मेडिकल जर्नलमा प्रकाशित हुन्छन् , जो अध्ययन–अनुसन्धानका क्रममा बेला बेलामा फेला परेका नयाँ तथ्यहरुका आधारमा परिमार्जित पनि भइरहने हुन्छ ।‌

यस बाहेक कैयों देशमा नेचुरोपैथी,एक्युपञ्चर र एक्युप्रेशरमा पनि MBBS MD पढाइन्छ । दन्तरोग फिजियोथेरापी आदि पनि आधुनिक स्वास्थ्य विज्ञानका विभाग हुन्छन ।‌ प्रायः स्नातक पछि मात्र कुनै विशेष विधामा विशेषज्ञता गराइन्छ । यद्यपी MBBS पछि प्रायः सबै रोगको उपचार गर्ने अधिकार प्राप्त हुन्छ तथापी यिनिहरुलाई आफ्ना विषयका आधारभूत तहसम्मको मात्र जानकारी रहने हुन्छ, त्यसबारे मिहिनताका साथ जानी सकेका हुँदैनन् । तर विशेषज्ञता हासिल गरे पछि भने त्यस सम्बन्धी पारंगत हुन्छन् । यहाँ स्पष्ट पारौं कि विशेषज्ञता हासिल नगरे पनि व्यक्तिको रूची र बौद्धिक स्तर तथा धेरै वर्षको अनुभवले पनि डक्टरलाई निकै पारंगत बनाएको हुन्छ । त्यस्ता औपचारिक डिग्री नभएका कैयौं मानिसहरु व्यवहारिक ज्ञानमा खारिएर कुशल चिकित्सक हुन सक्छन् । भनाइ नै छ– पढेर भन्दा बढी त परेरै जानिन्छ । खासगरी आयुर्वेदमा त्यस्ता अनेकौं मानिस विशेषज्ञता प्राप्त अनुभवी हुन्छन् । यहाँ लामो अनुभव र उमेर पनि हुन सक्छ । त्यसैले जुनसुकै विधामा उपचार लिए पनि विशेषज्ञता हासिल गरेका तथा अनुभवी चिकित्सक सँग गराउनु राम्रो र सुरक्षित हुन्छ ।

मुख्यतया आयुर्वेदिक युनानी,सिद्ध र होम्योपैथिक तथा तिब्बती चाइनिज चिकित्सामा औषधीय आधार प्राकृतिक (Natural plant based) हुन्छ भने एलोपैथिक मा रासायनिक(Synthetic chemical) मात्र हुन्छ । यद्यपी ती केमिकललाई हाम्रो शरीरको अनुकुल प्रभाव गर्ने तर प्रतिकुलता नपार्ने हुन सक्ने जति न्युन गर्ने काम अनुसन्धानद्वारा प्राप्त परिणामको आधारमा गरिएको हुन्छ । तर जतिसुकै कोशिश गरे पनि  धेरै जसो केमिकल औषधिको प्रकृति आधारित औषधि जति निर्दोष मानिंदैन । त्यसैले आजभोलि प्रायः धेरैको रोजाइ प्रकृति आधारित पद्दति बन्दै गइरहेको पाइन्छ । प्रकृतिमा आधारित चिकित्सा पद्दतिमा केमिकलमा आधारित चिकित्सा पद्दतिमा जस्तो जटिलता हुँदैन । तर यसको अर्थ यो पूर्णत: दोषरहित हुन्छ भन्ने कदापि होइन । हरेक कुराको अतिले खति गर्न सक्छ । त्यसैले जुनसुकै चिकित्सा पद्दतिलाई अपनाए पनि तत् विषयमा राम्रो अध्ययन र अनुभव हासिल गरेका चिकित्सकको सल्लाह र निरीक्षणमा मात्र उपचार पद्दति अपनाउनुपर्छ ।

आधुनिक चिकित्साविज्ञानले रोगको पहिचान, शल्यचिकित्सा  तथा आपतकालीन उपचार जस्ता जीवन रक्षक प्रणालीमा निकै कुशलता हासिल‌ गरि सकेको छ भने दीर्ध र जटिल रोगको उपचारमा पनि उत्तिकै प्रभावकारी साबित भइसकेका छन् । तर कतिपय दीर्घ र जटील रोगहरुको उपचारमा अन्य प्रकृति आधारित पद्धति पनि निकै सक्षम छन् । कतिपय रोगहरुमा त आधुनिक चिकित्सा विज्ञानले हार खाइसकेको अवस्थामा पनि  वैकल्पिक चिकित्सा पद्दतिको उपचारबाट  रोगीहरु बीसौं वर्ष बाँचेका दृष्टान्तहरु पनि समाजमा देख्न पाइन्छ ।  

आकस्मिक‌ रोग र दीर्घरोग कसरी छुट्याउने ?

दैनिक रूपमा सहजता पुर्वक चल्दा चल्दै कहिले काहीं आकस्मित किटाणुले झाडा पखाला रुघाखोकी ढाड कम्बर दुख्ने टाउको दुख्ने जस्ता अस्थायी रोग हुन भने मधुमेह, उच्च रक्तचाप, हृदय रोग, कोलेस्ट्रोल, मृगौला रोग, बिर्सने रोग अल्जाइमर, कम्पवात, पार्किन्सन, क्यान्सर, प्रोस्टेट, बाथ, हाड खिइने, स्त्रिहरुमा स्तन तथा गर्भाशय गाँठा या मासु‌ पलाउने (PCOD) जस्ता दीर्घ रोग हुन् । जो कुनै बाहिरी आकस्मिक किटाणु नभएर दीर्घकाल सम्म औषधि या केमिकलयुक्त आहार विहारले विजातीय पदार्थ (Toxic) को अधिकताले हुने रोग हुन् । यसमा अयोग्य अपर्याप्त चिकित्सा सबैभन्दा प्रमुख हो । शरीरलाई अति लोड , व्यायामको अभाव तथा विभिन्न खाले औषधीहरुको दीर्घ प्रयोगको दुष्प्रभावले विजातीय पदार्थ (Toxic) जम्मा भै रोगी बनाउँछन् ।‌ यसमा केही हाम्रो वार्धक्यले पनि निम्त्याउने रोग हुन्छन् । बुढौलीमा हाम्रा तमाम‌ कोषाणुहरु शक्तीहीन भएका हुन्छन् ।‌ त्यस्ता शक्तिहीन कोषहरुले विजातीय तत्व (Toxic) बाहिर निस्कासित गर्न सक्दैन र त्यहीं रोग बनाउछन् ।‌ यसरी जुनसुकै रोग पनि तिनै विजातीय तत्वहरु जहाँ जहाँ बल्झिएका हुन्छन् त्यहीं रोग बनाउने हुन्छ । त्यसैका विभिन्न नाम मात्र फरक हुन कारण एउटै हुन्छ जो शरीरले प्रयोग गरेर नभ्याएका या पचाउन नसकेको नचाहिने वस्तुले नै रोगी बनाउने हुन्छ ।

ती विजातीय तत्व(Toxic) बाहिर निकाल्ने विभिन्न तरीका र क्रियाकलाप हुन्छन् ।‌ जस मध्ये उचित र सम्यक आहार द्वारा बनि सकेको तत्व बाहिर निस्कंदा सम्म कम‌ र हल्का सुपाच्य आहार गर्ने । आयुर्वेदमा यसलाई पथ्यापथ्य निदान परिवर्जनम् भनिन्छ । दोस्रो विभिन्न एक्सरसाइजद्वारा शरीर मै नष्ट गरेर पसीना तथा मलमुत्रद्वारा समाप्त पार्ने । यस बाहेक केही आयुर्वेदिक या अन्य औषधिद्वारा मलमुत्रको बेग बढायर सफाइ गर्ने, यिनै पद्धति सर्वत्र सर्वमान्य छन् ।‌ अंग्रेजी पद्दतिमा रोगको अवस्था हेरीकन मलमुत्र (Urination,Laxatives)को बेग बढायेर सफाइ गराउने कुरामा जोड दिइन्छ । यत्ति आधारभूत कुरा ठीक ठीक जान्न सके मानिस खासै दीर्घ रोगी हुनु पर्दैन । यहाँ अजम्बरी तो कोई पनि छैन तर गाउँ विशेषमा या शहरमा पनि दैनिक शारीरिक काम गर्ने मानिस प्रायः स्वस्थ र दीर्घायु पाइन्छन् । सबैलाई एकै किसिमको काम या व्यायाम हुन सक्दैन । सबैमा त्यो पदार्थको‌ मात्रा र स्थान फरक हुन्छ । सबै व्यायाम‌हरुमा पैदल हिंड्नु सबैभन्दा मान्य र प्रमाणिक व्यायाम हो जो सबै चिकित्सा पद्धतिमा मान्य छ । शहरका सुखी बसी खानेहरुले पहिला जथाभावी अस्वस्थकर ढङ्गले खाने र जीम या मोर्निंग वाक गरेर पचाएर स्वस्थ रहने कोशिस गरेको पाइन्छ । सामान्य शारीरिक कामकाज सहित उक्त हिंडाइ,जीम या एक्सरसाइज आदि सबै क्रियाकलापहरु त्यसै विजातीय तत्व(Toxic) बाहिर निकाल्न का लागि गरिएको प्रयास मात्र हो भन्न सकिन्छ ।