पोषिलो र स्वास्थ्यको दृष्टिले फाइदाजनक मकैको जुङ्गा

कसैले तपाईंलाई सोध्योमकैको खानयोग्य कुरा के हो ? प्रश्न तपाईंलाई उटपट्याङ लाग्न सक्छ । किनभने सबैले थाहा पाएकै कुरा हो, मकैको दाना वा गेडा खानयोग्य कुरा हो । मकैका गेडा वा दाना हामीले खान्छौं त्यसका अन्य भागहरु, जस्तै पात तथा कलिला डाँडहरु पशुलाई खुवाउन सकिन्छ । त्यसको छिप्पिएको डाँठ तथा खोया चाहिँ हामी बाल्न प्रयोग गर्छौं ।

तर यसो मात्रै भनियो भने त्यो अधुरो जवाफ हुन सक्छ । किनभने मकैमा अर्को एउटा खानयोग्य कुरा पनि हुने गर्छ । त्यो होत्यसको जुङ्गा ।

हो, मकैको जुङ्गा पनि खानयोग्य कुरा हो । त्यति मात्रै कहाँ हो र ? मकैको जुङ्गामा धेरै नै गुणकारी पोषकतत्व पनि हुने गर्छ ।

ख्याल गर्नुपर्ने कुरा के छ भने हामीले वेवास्ता गर्ने गरिएको तथा त्यसै खेर फालिने मकैको जुङ्गा पनि निकै गुनिलो हुन्छ, यो मकैको तुलनामा मकैभन्दा कम फाइदाजनक हुँदैन, बरु स्वास्थ्यको दृष्टिकोणले मकैजस्तै, अझ त्यो भन्दा बढी गुनिलो हुन्छ ।

आउनुहोस्, मकैको जुङ्गाका केही फाइदाहरुबारे चर्चा गरौं ।

भिटामीन सीको स्रोत

भिटामीन सी भन्नेबित्तिकै हाम्रो मनमस्तिष्कमा अमिलोको ख्याल आइहाल्छ । त्यसैले सुन्दा अलि पत्यारिलो लागेपनि सत्य कुरा के हो भने मकैको जुङ्गामा भिटामीन सी पाइन्छ । थाहा भएकै कुरा हो कि भिटामीन सीले शरीरको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाइदिन्छ । त्यसैगरी, मकैको जुङ्गाको नियमित रुपमा सेवन गर्ने हो भने यसले थायराइडको कार्यप्रणालीलाई पनि सही बनाइदिन्छ ।

शरीरमा मिनरलहरुको मात्रालाई नियमित एवं स्थीर तुल्याउँछ

मकैको जुङ्गाको नियमित सेवन गर्नाले शरीरको विकासका लागि अपरिहार्य विभिन्न खनिजतत्वहरुको मात्रालाई नियमित एवं स्थीर गर्न सहयोग पुग्छ । खासगरी, यसको नियमित सेवनले शरीरमा सोडियमको मात्रालाई स्थीर राख्न तथा शरीरमा बढी भएको पोटासियमलाई निस्कासन गर्न सहयोग पुग्छ । हेक्का रहोस्, सोडियमले मस्तिष्कको विकास तथा त्यसको कार्यक्षमताको सही सञ्चालनका लागि सोडियमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ ।

पिसाब लगाउने तत्व

मकैको जुङ्गाको चियामा पिसाब लगाउने तत्व अर्थात् Diuretic agent हुन्छ । विशेषतः कुनै पनि कारण शरीरका कोषहरुमा पानी जम्ने वा पानी जमेर सुन्निने समस्या पैदा भयो भने मकैको चियाको सेवन लाभदायी हुन्छ । महंगा र शरीरलाई नोक्सानी पुर्याउने विभिन्न थरि पिसाब लगाउने औषधीहरुको तुलनामा यो अति सुरक्षित हुन्छ । यही कारण मकैको जुङ्गाको चियालाई शरीरमा बढी जम्मा भएको पानी र फोहोर पदार्थहरुलाई पिसाबको माध्यमबाट बाहिर निकाल्ने एउटा सुरक्षित र भरपर्दो उपायको रुपमा लामो सयमदेखि मानिसहरुको अपनाउँदै आएको पाइन्छ ।

 

मृगौलाको पत्थरीबाट बचाउँछ

मकैको जुङ्गाको चियाले पिसाब लगाउने भएको कारण यसको नियमित सेवनले मृगौलामा पत्थर बन्ने सम्भावना पनि न्यून बनाइदिन्छ । ख्याल गर्नुपर्ने कुरा के छ भने, यसले पत्थरी बन्न दिँदैन तर पहिल्यै पत्थरी भइसकेको छ भने त्यसको उपचारमा चाहिँ यो काम लाग्दैन ।

पिसाबनलीको संक्रमण (Urinary tract infecgtion)

मकैको जुङ्गामा एन्टी इन्फ्लेमेटोरी तत्वहरु पाइन्छन् । त्यसले गर्दा मकैको जुङ्गाको सेवन पिसाबनलीको संक्रमणमा धेरै लाभदायी हुन्छ् । यसले पिसाब नलीको तहलाई सुरक्षा कवच प्रदान गरेर पोलाइलाई कम गरिदिनुका साथै संक्रमणलाई पनि निको पार्ने काम गर्छ । विशेषतः मकैको जुङ्गाको चिया बनाएर नियमित सेवन गर्ने गरेमा त्यसले पिसाब थैलीको साथी पिसाब नलीको संक्रमणलाई पनि कम गरिदिन्छ । खास गरेर मकैको जुङ्गाको चियाले पिसाब लगाइदिने काम पनि गर्छ, जसले गर्दा पिसाबथैली तथा पिसाब नलीमा व्याक्टेरियाहरु पैदा हुने र फैलिने क्रियालाई कम गराइदिन्छ । मकैको जुङ्गाको चिया प्रोस्टेट ग्रन्थीको जलनलाई पनि कम गराउन फाइदाजनक हुन्छ ।

रगत जम्न सहयोग गर्छ

शरीरमा चोटपटक लाग्दा रगत बग्छ । यो सबैले जानेकै कुरा हो । कुनै पनि कारण शरीरबाट रगत बग्दा केही बेरमै रगत जम्छ । यो रगत बग्नबाट जोगाउने शरीरको प्रतिरक्षा प्रणालीकै हिस्सा हो । रमाइलो कुरा के छ भने, मकैको जुङ्गाको चियामा भिटामीन के पाइन्छ । यो त्यही भिटामीन हो, जसले शरीरबाट रगत बगेर खेर नजाओस् भन्नका लागि रगतलाई जम्न मद्दत गर्छ ।

रक्तचाप घटाउँछ

कुनै बेला धनीमानीहरुको मात्र रोग मानिने उच्च रक्तचाप आजभोलि सबै समुदाय र वर्गलाई लाग्ने सामान्य रोग भइसकेको छ । उच्च रक्तचापको समस्या विश्वव्यापी रुपमै एउटा ठूलो नसर्ने रोगको रुपमा स्थापित भइसकेको छ । उच्च रक्तचापको एउटा बिन्दूमा पुगेपछि अनिवार्य रुपमा औषधीको सेवन गर्नैपर्ने हुन्छ । तर मकैको जुङ्गाको चिया नियमित रुपमा सेवन गर्ने हो भने त्यसले उच्च रक्तचापलाई पनि घटाइदिने गर्छ । यस अर्थमा मकैको जुङ्गाको चियाको सेवन उच्च रक्तचापका रोगीहरुका लागि पनि फाइदाजनक छ । तर उच्च रक्तचापका लागि औषधी सेवन गरिरहेकाहरुले भने यो खानुअघि चिकित्सकको सल्लाह लिनु जरुरी छ ।

मधुमेहबाट बचाउँछ

मकैको जुङ्गा रगतमा चिनीको मात्रालाई नियन्त्रित गर्न उपयोगी रहेको कुरा अनुसन्धानबाट देखिएको छ । इन्टरनेशनल जर्नल अफ बायोलोजिकली काक्रोमोलेक्युल्समा सन् २०१२ मा प्रकाशित एक अनुसन्धान लेखका अनुसार मधुमेह भएका मुसाहरुलाई प्रयोगशालामा मकैको जुङ्गाको तत्व निकालेर सेवन गराउँदा तिनको रगतबाट चिनीको मात्रा घटेको पाइएको थियो । त्यसैगरी न्यूट्रिसन एण्ड मेटाबोलिजम जर्नलमा प्रकाशित अर्को अनुसन्धान रिपोर्टमा पनि मकैको जुङ्गाको चियाको सेवनले मानिसको रगतमा इन्सुलिनको उत्पादनमा सहयोग पुगेको देखिएको थियो । यसको सोझो अर्थ के हो भने, मकैको जुङ्गाको चियाको नियमित सेवन गर्ने हो भने यसले मधुमेहका रोगीहरुलाई पनि फाइदा गर्छ ।

मोटोपन घटाउँछ

मोटोपन आजभोलि आम समस्या बन्दै गइरहेको छ । मोटोपनका कारणहरु विभिन्न हुन्छन् र तीमध्ये एक शरीरमा पानीको मात्रा बढी सञ्चिति हुनुपनि हो । यो खालको मोटोपन घटाउनमा चाहिँ मकैको जुङ्गाले भूमिका निर्वाह गर्न सक्छ । खासगरी, मकैको जुङ्गाले शरीरमा अनावश्यक जम्मा भएको पानी र विकारहरुलाई हटाउने काम गर्छ । फलतः त्यस्ता मोटोपन भएकाहरुका लागि मकैको जुङ्गाको सेवन उपयोगी हुन सक्छ । त्यस्ता मानिसहरुले दिनको दुई तीन पटकसम्म मकैको जुङ्गाको चिया सेवन गर्दा राम्रो हुन्छ ।

कोलेस्ट्रोल नियन्त्रण गर्छ

रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढ्नु र त्यो अनियन्त्रित हुँदै जानुको एउटै परिणाम हो, विभिन्न घातक मुटुरोगहरु पैदा हुनु । त्यसैले मुटु रोगबाट बच्न गर्नुपर्ने प्रमुख कार्यहरुमध्येका पनि प्रमुख कार्य हो, रगतमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रित राख्नु । चीनको जिलिन विश्वविद्यालयका वैज्ञानिकहरुले गरेका एक शोधबाट नियमित रुपमा मकैको जुङ्गाको सेवन गराउँदा मुसाहरुमा कोलेस्ट्रोलको मात्रा प्रभावकारी रुपमा घटेको तथा नियन्त्रित भएको पाइएको थियो ।

अन्य उपयोगहरु

छालामा हुने घाउ, फोका, चिलाउने भागहरुमा मकैको जुङ्गाको लेप लगाउँदा फाइदा गर्छ ।

मकैको जुङ्गामा माइसिन नाम गरेको फाइदाजनक तत्व पाइन्छ । यसले शरीरका विकारहरुलाई निस्कासन गर्न तथा कोषहरुलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । कतिसम्म विश्वास गरिन्छ भने यसको नियमित सेवनले निश्चित प्रकारका क्यान्सरको रोकथाममा पनि प्रभावकारी हुन सक्छ । यही माइसिनका कारण मकैको जुङ्गाले मानसिको रोगप्रतिरोधी शक्ति अर्थात् रोगसँग लड्ने क्षमता पनि बढाइदिन्छ ।  त्यसैगरी, मकैको जुङ्गाको नियमित सेवनले छालाका समस्याहरु निको पार्न पनि मद्दत गर्छ ।

ख्याल गर्नुपर्ने कुरा

नेपालीमा एउटा भनाइ छ, धेरै खायो भने अमृत पनि विष हुन्छ । यो कुरा मकैको जुङ्गाको हकमा पनि लागू हुन्छ । फाइदा हुन्छ भन्दैमा मकैको जुङ्गाको पनि अत्यधिक सेवन गर्नु ठीक हुँदैन । अत्यधिक मात्रामा मकैको जुङ्गाको सेवनले शरीरमा पोटासियमको मात्रा चाहिनेभन्दा बढी पनि घट्न सक्छ । परिणामतः छाचलाका समस्या तथा एलर्जीहरुले सताउन सक्छ ।

त्यसैगरी, स्तनपान गराइरहेका तथा गर्भवती महिलाहरुका लागि सामान्य मात्रामा मकैको जुङ्गाको सेवन सुरक्षित नै मानिन्छ । तर पनि गर्भवती महिलाहरुले धेरै मात्रामा मकैको जुङ्गाको सेवन गर्न उचित हुँदैन । विशेष गरेर यसको अत्यधिक सेवनले गर्भाशयलाई अत्यधिक उत्तेजित गराउन सक्ने तथा गर्भपात हुने सम्भावना बढाइदिन्छ ।

कतिपय मानिसहरुलाई मकै तथा मकैजन्य परिकारको एलर्जी पनि हुन सक्छ । त्यस्ता एलर्जी हुनेहरुले पनि मकैको जुङ्गाको सेवन नगर्नु नै सुरक्षित हुन्छ ।

ख्याल गर्नैपर्ने विशेष कुरा के हो भने, तपाईं कुनै पनि औषधी नियमित रुपमा सेवन गरिरहनु भएको छ भने मकैको जुङ्गाको सेवनले नकारात्मक असर पार्न पनि सक्छ । विशेष गरी, यसको सेवनले रगतमा ग्लुकोजको मात्रा घटाउने तथा रक्तचापलाई पनि न्यून गर्ने भएकोले डाइबिटिज वा रक्तचापका औषधी सेवन गरिरहेका मानिसहरुले यसको सेवन गर्नुपूर्व आफूले उपचार गराइरहेको चिकित्सकको समेत राय लिनु अति जरुरी छ ।

कसरी गर्ने सेवन?

मकैको जुङ्गा सेवन गर्ने सबैभन्दा सजिलो तरिका त्यसको चिया बनाएर पिउनु हो । ताजा वा हरियो जुङ्गालाई सोझै उमालेर वा त्यसलाई सुकाएर राखेर पनि चियाको रुपमा सेवन गर्न सकिन्छ ।

प्रस्तुतिः हर्कबहादुर प्रधान