दासढुंगा काण्ड: के यो नियोजित हत्या हुन सक्छ ?

तुलाधर आयोगको ठहर: विषादि सुँघाएर बेहोश पारी दासढुंगामा नियोजित तवरले गाडी खसालेको हुन सक्ने

जेठ ३ गते । नेपालको इतिहासमा एउटा दुर्दान्त घटना भएको दिन । सम्भवत: नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमै सार्वजनिक भएको छोटो समयमा सबैभन्दा बढी चर्चित बनेका एमालेका नेता मदन भण्डारी तथा कुशल संगठकको छवि बनाएका अर्का नेता जीवराज आश्रितको त्रिशुली नदीमा भएको जीप ‘दुर्घटना’मा रहस्यमय मृत्यु भयो भने सोही दुर्घटनामा चालक अमर लामा भने अचम्मैसँग बाँचे (पछि अलग्गै घटनामा उनको पनि रहस्यमय हत्या भयो ।) इतिहासमा मदन–जीवराजको त्यो रहस्यमय मृत्यु ‘दासढुङ्गा हत्याकाण्ड’को रुपमा चर्चित छ । उक्त काण्डको उच्चस्तरीय एवं गहन छानविनबारे तत्कालीन समयदेखि नै बारम्बार आवाज उठ्दै आएपनि अहिलेसम्म त्यसो हुन सकेको छैन । ध्यानयोग्य कुरा के छ भने घटना भएयता एमालेका थुप्रै नेताहरु प्रधानमन्त्री बनेका छन् भने स्वयं मदन भण्डारीका धर्मपत्नी विद्या भण्डारी मुलुककै सर्वोच्च राष्ट्रपति पदमा दुई पटक पुगिसकेका छन् ।

तत्कालीन समयमा यस घटनाबारे छानविन गर्न जनपक्षीय नेता पद्मरत्न तुलाधरको नेतृत्वमा नागरिक स्तरमा एक छानविन समिति गठन भएको थियो । सो समितिले त्यसबेला उठाएका सवालहरु र गरेका ठहरहरु अद्यावधिक मननीय र सोचनीय देखिन्छ । आज मदन–जीवराजको रहस्यमय हत्या गरिएको दिनको सन्दर्भमा हामीले सो समितिको रिपोर्टलाई पुन: प्रकाशित गरेका छौं । यो रिपोर्ट मूल्याङ्कन मासिकको २०५० पुस अङ्कमा प्रकाशित भएको थियो ।

दायित्वबोध

०००

दासढुंगा काण्डबारे जनस्तरको आयोगको रिपोर्ट २०५० साल पुस १५ गते सार्वजनिक रूपमा प्रकाशित गरिएको छ । अहिलेसम्म आफ्नो रिपोर्ट पूर्ण रूपमा जनसमक्ष ल्याउने यही पहिलो आयोग भएको छ ।

यो आयोगले अरू सबै आयोगभन्दा बेसी तथ्य प्रमाण संकलन गरेर आफ्नो ठहर पेश गरेको छ । लण्डनको रगत र भिसेरा जाँचको प्रतिवेदनको विश्लेषण अरू आयोगको रिपोर्टमा थिएन, त्यो यही आयोगले पहिलो चोटी पेश गरेको छ । अमर लामाको प्रेमिकाको विवाद, नारायणी नदीमा गोही छेक्ने जाल बिछ्याएको विवादबारे पनि यस आयोगको प्रतिवेदनले एउटा प्रामाणिक टुंगो लगाएको छ । यी सबै हिसाबले यो प्रतिवेदन सबैभन्दा विशेष महत्त्वको रहेको छ ।

यही पत्रिका (मूल्याङ्कन)को शुरु पहलमा विभिन्न पेशा र क्षेत्रका बौद्धिकहरूको जेठ ६ को भेलाले गठन गरेको "नागरिक छानबिन समिति” ले दासढुंगा काण्डलाई नियोजित हत्या नै ठहर गरेको छ । एल्डसमस्टन रिपोर्टको आधारमा क. मदन र क. आश्रितको बेहोशी वा मृत्यु मोटर खस्नु अघि सुनकोशी रेस्टुराँदेखि दासढुंगाको बीचमा विषादि सुँघाएर भइसकेको र बेहोशी वा मृत्युको अवस्थामा नै दासढुंगामा नियत राखेकै गाडी तल खसालेको हुन सक्ने निष्कर्ष आयोगको रिपोर्टले तथ्य- प्रमाणहरू सहित पेश गरेको छ । यो अहिले सम्मको निष्कर्णमा नयाँ नसुनिएको निष्कर्ष हो ।

आयोगको विश्लेषण दासढुंगा काण्ड बारे वास्तविकता थाहा पाउन चाहने पाठकहरूको लागि उपयोगी हुने ठानेर हामीले त्यसको पूर्ण पाठ पेश गरेका छौं। हामीले यो पूर्ण पाठ नागरिक छानबिन समितिको प्रकाशित रिपोर्टबाट प्राप्त गरेका हौं ।

०००

उपलब्ध तथ्यहरुको आधारमा "दासढुंगाको घटना सामान्य भवितव्य गाडी दुर्घटना पनि नभएको, यो असामान्य भवितव्य गाडी दुर्घटना पनि नभएको र यो चालकको लापरवाहीबाट हुन गएको दुर्घटना पनि नभएको निष्कर्ष निक्लन्छ । यस्तो भएपछि स्वभाविक रुपमा प्रश्न उठ्छ, के त्यसो भए यो नियोजित हत्या हुन सक्छ त ?

नियोजित हत्या ठहरिनको लागि दुर्घटना हुनु पर्ने कुनै परिस्थिति दुर्घटनास्थलमा नभएर पनि चालकले नियत राखेर गाडी दुर्घटना गराएको हुनु पर्‍यो । चाहे त्यो आर्थिक प्रलोभनका कारणले होस् वा राजनीतिक स्वार्थका कारणले, चाहे व्यक्तिगत बैमनस्यका कारणले होस् वा अन्य कुनै कारणले । र, दुर्घटना अघि र पछिका चालक लामाका ब्यवहारहरुले पनि त्यसलाई परिपुष्टि गरेको हुनु पयो ।

हामीले माथि नै तथ्यहरुको आधारमा बिश्लेषण गरिसक्यौं- दासढुंगामा जतिखेर उपरोक्त जीप दुर्घटनाग्रस्त भयो त्यतिखेर गाडीको यान्त्रिक स्थिति राम्रो अवस्थामा थियो । गाडी पनि नियन्त्रण बाहिरको गतिमा थिएन । चालक होशपूर्ण अवस्थामा थियो । सडक १९ फिट ७ इञ्च चौडा र सिधा थियो । सडकका दुवै पट्टि गाडी रोक्न सकिने प्रशस्त ठाउँ थियो । गाडी देब्रेपट्टिको भित्तामा ठोक्काएर रोक्न पनि सकिन्थ्यो, दायाँ नदी पट्टिको १६ फिट चौडा गेगरयुक्त खाली भागमा ब्रेक लगाएर रोक्न पनि सकिन्थ्यो । गाडीको सामुन्ने अघि र पछि कुनै व्यवधान थिएन । सडक त्यतिखेर शून्य थियो । त्यतिखेर सिमसिम पानी परिरहेको थियो । अत्यन्त गतिवान गाडीमा कुनै ब्यबधान आई लाग्दा अकस्मात् ब्रेक लगाएको खण्डमा मात्र - सिमसिम पानी परिरहेको स्थितिमा गाडी सडकमा फनक्क फर्किन वा नाच्न सक्दछ भन्ने गाडीबिजहरुको भनाई बारे बिचार गर्दा - त्यस्तो ब्यबधान आईलागेर ब्रेक लगाएको स्थिति पनि देखिन आएन ।

यी सब तथ्यहरुको आधारमा दुर्घटना स्थल र गाडी स्वयम्मा दुर्घटना हुनु पर्ने कुनै सामान्य वा असामान्य परिस्थिति कतैबाट देखिन आएन ।

चालक त्यो दिन मानसिक र शारीरिक रुपले स्वस्थ्य अवस्थामै भएको कुरा पनि हामीले माथि बिश्लेषण गरिसक्यौं। त्यसैले यसको कारणले पनि दुर्घटना हुनु पर्ने कुनै कारण देखिएन ।

चालक लामाले शुरुमा गाडी दासढुंगामा पुग्दा दायाँ बायाँ नाच्न थाल्यो, नियन्त्रण गर्न खोजियो, नियन्त्रण भएन, अन्ततः गाडी दायाँ तान्यो र तल खस्यो भन्ने बयान यस ना. छा. स. समक्ष दिएका छन् ।

सडकमै : हाम्फालेको !

चालक लामा स्वयंले पछि यस नागरिक छानवीन समिति समक्ष नदीतर्फ गाडी खस्नु अघि आफू माथि सडकमै हाम्फालेको पनि स्वीकारेका छन् । उनको पछि पछि रहेको ट्रक नं. ना. अ. ख. ६२० का खलाँसीले पनि उनलाई प्रत्यक्ष रुपमा सडकमै हाम्फालेको देखेको कुरा बताएका छन्। दुर्घटना हुँदा पारीपट्टि नारायणी नदीमा माछा मारी बस्ने बाबुलाल श्रेष्ठ र होम बहादुर मगर तथा बारी फाँडी बस्ने सूर्य बहादुर मगरले पनि यस नागरिक छानवीन समितिसितको बयानमा चालक लामालाई सडक भन्दा अलि तल, रुखभन्दा माथि ओर्लिरहेको प्रत्यक्ष रुपमा देखेको बयान दिएबाट पनि चालक लामा त्यस भन्दा माथि सडकमै हाम्फालेको कुरा सत्य ठहरिन आयो ।

दासढुंगाको दुर्घटना स्थल नजिकै छाप्रोमा बस्ने श्रीमती मायाँ श्रेष्ठले आफ्नै आँखाले गाडी दायाँ बायाँ' गर्दै गतिमा आएको देखेको बयान यस समिति समक्ष दिएकी छिन् । यस हिसावले गाडी दायाँ बायाँ गर्दै आएको हुन सक्ने संभावना देखियो ।

तर अमर लामालाई पटक पटक सोध्दा पनि यी मूलभूत प्रश्नहरुको उत्तर भने उनीबाट आएन ।

प्रश्न के भने गाडी त्यसरी दायाँ बायाँ भएर चल्न थालेर खतराको आभाष भएको हो भने चालक लामाले तुरुन्तै गाडीको गियर डाउन गरेर वा गाडीमा फोरहिल गियर लगाएर गाडीलाई नियन्त्रण भित्रको मन्द गतिमा चलाउन प्रयत्न गरेनन् किन, जबकि ती सबै यन्त्रहरु राम्रो अवस्थामा थिए ? अथवा उनले ब्रेक लगाएरै पनि गाडी रोक्न सक्थे, त्यस्तो ठाँउ सडकमा प्रशस्त थियो, त्यस्तो गर्ने प्रयत्न नै उनले गरेनन् किन ? त्यो पनि असफल भए, गाडीको स्टेरिङ राम्रो अवस्थामा थियो र देब्रे भित्तामा ६ फीट भन्दा पनि बेसी चौड़ा ढल थियो, त्यस उता माटोको भित्ता | थियो, त्यहाँ गाडी ठोक्काएर पनि गाडीलाई रोक्न सकिन्थ्यो, त्यो प्रयत्न पनि उनले गरेनन् किन ? गाडी नियन्त्रण भन्दा बाहिरको गतिमा थियो भन्ने उनको भनाइ सही हो भने त्यस्तो गतिको गाडीबाट उनी सकुशल, झ्याल खोलेर सडकमा हाम्फाल्न सके कसरी ? किन उनले यो खतराको सूचना आफ्ना पार्टी नेताहरुलाई चाहिं दिन प्रयत्न गरेनन् ?

बाँच्ने बिकल्प नभएर जीवनमाथि टड्कारो खत्रा आइलाग्यो भने मानिसको सबभन्दा पहिले आफ्नो ज्यान जोगाउनेतिर ध्यान जान्छ । यो मानिसको मनोवैज्ञानिक प्रवृत्ति हो । चालक लामालाई विस्तो पो भयो कि ? भन्ने तर्फ विचार गर्दा त्यतिखेर गाडी दायाँ बायाँ नाचेर चालक लामाले भने जस्तो खतरा नै आई लागेको हो भने पनि चालक ज्यान लामासित जोगाउने कैयन बिकल्प देखिन्छन् । जस्तो गाडी देब्रे भित्तामा ठाक्काउनु, गाडीको गियर डाउन गर्न, फोर ह्विल गियर लगाउनु, सडकको दाहिने पट्टि खालि भागमा ब्रेक लगाएर रोक्नु, भित्तामा ठोकाउनु, गाडीको स्टेरिङ कण्ट्रोल गरेर गाडी सिधा अगाडि जानका लागि छोडी दिनु । त्यसैले, चालक लामा ज्यान जोगाउन बाध्यतावश हाम्फाल्नु सिवाय अर्को उपाय नै नभएको स्थितिमा पनि देखिन्नन् ।

यसरी गाडी दुर्घटना हुनु पर्ने कुनै परिस्थिति नै नभइकन, र गाडी सुरक्षित तवरले रोक्ने थुप्रै बिकल्प हुँदा हुँदै, कुनै पनि बिकल्प अप्नाउने प्रयत्न नै नगरी महत्वपूर्ण पार्टी नेताहरु भएको गाडीलाई नदीतर्फ जानका निम्ति छोडिदिएर चालक लामा मात्र सड़कमा सकुशल हाम्फाल्नुले यो दुर्घटना नियतपूर्ण हत्या भएकै इंगित गर्दछ ।

शंकास्पद व्यवहारहरू

अब हामी बिश्लेषण गरौं, चालक लामाका दुर्घटनापछि र अधिका ब्यबहारहरु बारे । के ती ब्यबहारहरु र यो प्रश्न. बीच कुनै संगति देखिन्छ ?

दुर्घटना नियतपूर्ण थिएन र भबितब्य थियो भने दुर्घटना पछि दुर्घटनामा परेकाको उद्धार कार्य गर्न आतुर हुनु निर्दोष मानिसको मानबीय स्वभाव हो । त्यो आती प्रेमपूर्ण संबन्ध भएका सबैजसो निर्दोष मानिसमा धेरथोर मात्रामा हुने गर्दछ ।

महासचिव मदन भण्डारीको चालक लामासितको संबन्ध अत्यन्त सुमधुर र प्रेमपूर्ण देखिन्छ । चालक लामाकै बयान अनुसार मदन भण्डारीले चालकलाई चालकको जस्तो ब्यबहार गर्दैनथे । आफ्नै भाइ छोराको जस्तो ब्यबहार गर्दथे । कहीं गोष्ठी कार्यक्रममा जाँदा पाएको मीठाइको पोका पनि आफूले एउटा खाएर बाँकी सबै चालक लामालाई नै दिन्थे । खानपिनमा पनि पटक्कै छुट्याउँदैनथे । भण्डारीले चालक लामालाई कहिल्यै गाली गरेनन् । संबन्ध यस्तो प्रेमपूर्ण थियो भन्ने कुरा श्रीमती बिद्या पाण्डे, अमर लामाकी श्रीमती गोमा लामा, शैलेन्द्रजंग थापा, ईश्वर पोख्रेलको बयानबाट पनि पुष्टि हुन्छ ।

राजनीतिक बिचारमा पनि चालक लामा ने. क. पा. एमालेको पार्टी सदस्यको हैसियतमा भण्डारीकै बिचारको पक्षपोषण गर्दथे । यो कुरा चालक लामाको बयान र सी. पी. मैनालीको बयानबाट पनि पुष्टि भएको छ । यति आत्मीय र प्रेमपूर्ण ब्यबहार गर्ने र बैचारिक रुपले पनि समान सोच भएको आदरणीय अगुवा - मानिस आफैले हाँकेको गाडी दुर्घटनामा परेपछि चालक लामा निर्दोष भएका भए स्वभावतः चालक लामाको सारा ध्यान दुर्घटना पछि बचाउका लागि उद्धार कार्यतर्फ प्रवृत्त हुनु पर्ने हो । तर आश्चर्यको कुरा, यस्तो प्रबृत्ति चालक लामामा कतै देखिएन ।

दासढुंगा यस्तो ठाउँ हो, जहाँ १०/१५ मिनेट सडकमा खडा भएर आएका गाडीहरु रोक्न गुहार माग्ने हो भने सैयौं मानिस जम्मा हुन सक्दछन् र उद्धार कार्य हुन सक्छ । त्यस माथि मदन भण्डारी देशव्यापी रुपमा चर्चित व्यक्तित्व भएकाले उनको गाडी दुर्घटना भएको सूचना दिने हो भने थुप्रै मानिस उद्धार कार्यका लागि उत्प्रेरित हुन सक्दथे । दुर्घटना भएको - १०/१५ मिनेट अत्यन्त महत्वपूर्ण र निर्णायक समय थियो, उद्धार वा बचाउ कार्यका लागि । तर चालक लामाले यो महत्वपूर्ण र निर्णायक समयमा आफ्ना नेताहरुको बचाउको लागि त्यस्तो केही गरेको देखिएन ।

गाडी नदीमा खसेपछि चालक लामा पनि तल गए। तल नदीमा, चालक लामा र श्रीमती मायाँ श्रेष्ठका पति रत्नलाल श्रेष्ठका अनुसार, मदन भण्डारीको हात र टाउको पुलुक्क देखियो । तर चालक लामाले आफ्नो नेता त्यहीं भित्र पानीमा छ भन्ने थाहा पाएर पनि, र आफू पौडी खेल्न जान्ने भएर पनि, उतार्नका लागि कोशिस गरेनन् । चालक लामाको भनाइ अनुसार, रत्नलाल श्रेठले पानीमा पस्यो भने मर्लास् भनेर तर्साएको हुनाले बचाउन पानीमा नगएको हो । यस्तो हुन पनि सक्छ । तर आफू जान नसकेपछि तुरुन्तै उनी सडकमा आएर गाडी रोक्न सक्थे । अरुलाई आह्वान गरेर आफ्ना नेताहरुलाई बचाउन उद्धार कार्य गर्न सक्थे । रत्नलाल श्रेष्ठको बयान अनुसार र श्याम रंजितकार ( भ्यानको ड्राइभर) बयान अनुसार, उनी सडकमा त आए, तर बचाउ कार्यका लागि कसैलाई पनि अनुरोध गरेनन् । रामनगर प्रहरी चौकीका प्रहरी कृष्ण बहादुरका अनुसार उनले त्यहाँ पनि उद्धार कार्यका लागि प्रहरीलाई अनुरोध गरेनन् । र, नारायणगढ इलाका प्रहरी कार्यालयका स. इ. प्रेम बहादुर बूढाथोकीको बयान अनुसार उनले त्यहाँ पनि घटनाको रिपोर्ट मात्र गरे, तर उद्धार कार्यको लागि अनुरोध गरेनन् ।

तर इलाका प्रहरी कार्यालयको नजिकै प्रकाश कोल्ड स्टोर्सबाट काठमाण्डू केन्द्रिय पार्टी कार्यालयमा ट्रंकल गर्दा भने चालक लामाले सेना र प्रहरी जवान उद्धार कार्यमा लागी सकेका छन्, र अब उहाँहरु बाँच्ने आशा छैन भनेर पनि रिपोर्ट गरेको भन्ने लेखनाथ कोइरालाको बयान छ । अन्यत्र रिपोर्ट गर्दा पनि अब उहाँहरु बाँच्ने आशा छैन भनेर उद्धार कार्यलाई निरुत्साहित गर्ने ढंगले रिपोर्ट गरेको देखिन्छ ।

यसबाट चालक लामा मदन, भण्डारी र आश्रितको बचाउ कार्यको लागि उत्सुक र तत्पर नभएको देखिन्छ । एकातिर मदन भण्डारीले मलाई सारै माया गर्नु हुन्थ्यो र आत्मीय ब्यबहार गर्नु हुन्थ्यो भन्ने अमर लामा स्वयम्को बयान र अर्कोतिर तिनै मायालु र आत्मीय भनिएका नेता दुर्घटनामा पर्दा बचाउ कार्यप्रति बेहद् बेवास्ता, यी आपसमा अन्तरबिरोधी कुरा हुन् । यो मानव स्वभावं बिपरित कुरा हो । चालक लामामा देखिएको यो मानव स्वभाव बिरोधी लक्षणले पनि दासढुंगा घटना नियतपूर्ण थियो भन्नेतर्फ नै इंगित गरेको देखियो ।

चालक लामा उद्धार कार्य गर्नुको सट्टा घटनाको तुरुन्तै पछि नदीमा गएर आफ्नो लुगा र शरीर धमिलो पानीले भिजाउने, धमिलो पानी नै खाने र म पनि गाडीसितै पानीमा पसेको थिएँ,पौडी खेलेर निस्किएँ भनेर ढाँट कुरा गर्ने तर्फ प्रबृत्त भएको देखियो । उनले खोलामा आएर धमिलो पानी खाएको र त्यही पानीले शरीर भिजाउँदै गरेको देखेको कुरा घटनास्थलका प्रत्यक्षदर्शी सूर्य बहादुर मगर, होम बहादुर मगर र बाबुलाल श्रेष्ठले आफ्नो बयानमा बताएका छन् । त्यसपछि उनको प्रयत्न भाग्नुको सट्टा प्रहरीलाई खवर गर्नु र पार्टी कार्यालयलाई खवर गर्न रहेको देखियो । आफ्ना नेताहरुलाई बचाउनुको निम्ति ध्यान नजानु, तर प्रहरी र पार्टी कार्यालयलाई खवर गर्नतिर भने ध्यान जानु र घटनाको लगत्तैपछि धमिलो पानी खाने र शरीरमा धमिलो पानी छर्कनेतिर ध्यान जानुले चालक लामा आफ्नो निर्दोषिता सावित गर्न र आत्मसुरक्षा गर्नको निम्ति बढी चिन्तित भएको देखियो । म पानीमै परेको, पौडी खेलेर निस्केको भन्ने उनको शुरु बयान पनि यही आत्मसुरक्षा भावबाट प्रेरित देखिन्छ । आफ्नो नेताहरु भवितव्य दुर्घटनामा परेको तात्कालिन स्थितिमा हरेक निर्दोष मानिसको मुख्य चिन्ता हुन्छ कसरी उनीहरुलाई जिउँदो रुपमै पाउने वा बचाउने । कानूनी ब्यहोरा पुऱ्याउने आत्म सुरक्षाका कामहरुमा उनीहरुको चिन्ता स्वभावतः कम हुने गर्छ । तर चालक लामामा भने उल्टो प्रबृत्ति देखियो ।

के नियतले उनले यसरी धमिलो पानी खाए र शरीरमा छर्किए ? किन उनी प्रहरी र पार्टी कार्यालयलाई खवर गर्नतिर बढ्ता प्रवृत भए ? किन उनी पौडी खेलेर पानीबाट निस्केको भन्ने झूठो बयान दिन उत्प्रेरित भए ? किन एउटा दक्ष अपराधीमा भै कानूनी रुपबाट आफ्नो बचाउको निम्ति जरुरत पर्ने सावधानी र होशियारी चाहिँ उनमा पैदा भयो ?

यी प्रश्नहरु स्वभावतः उठ्छन् । र यिनले पनि यो गाडी दुर्घटना भवितव्य नभएर नियतपूर्ण हो भन्ने तर्फ नै इंगित गरेका छन् ।

नियतवश गाडी दुर्घटना नभएको स्थितिमा आफ्नो नेताहरुको मृत्यु भएको थाहा भएपछि र आफूले त्यसमा केही गर्न नसकेको बोध भएपछि स्वभावतः निर्दोष मानिसमा दुःखको भाव र पश्चातापको भाव पैदा हुने गर्छ । आफ्नो नेताको मृत्युमा पनि दुःख भाव नहुनु र आफूले बचाउने संभावना हुँदा हुँदैपनि केही गर्न नसकेर नेताहरुको मृत्यु हुँदा पनि पश्चाताप भाव पैदा नहुनु भनेको अमानबीय र संदेहास्पद लक्षण हो । तर चालक लामामा भने मदन भण्डारी र आश्रितको मृत्युपछि पनि दुःखभाव र पश्चाताप भाव पैदा भएको देखिएन । भरतपुर अस्पतालका डाक्टर प्रकाश रायमाझी, डा. विजयमान कायस्थको बयानबाट यो ज्ञात हुन्छ । उनलाई वीर अस्पतालमा ल्याएपछि पनि उनमा त्यो भाव देखिएन । उनको पालो बसेका यदुनाथको बयानबाट त्यसको जानकारी मिल्दछ । यस नागरिक छानवीन समितिले उनलाई डि. एस. पी. कार्यालयमा बयान लिंदा पनि उनमा यो भाव भएको पाइएन ।

आफूप्रति सारै मायालु, आत्मीय र आफ्नो श्रद्धाको केन्द्रको मृत्युमा पनि किन चालक लामामा दुःखको भाव पैदा भएन ? आफ्ना नेतालाई आफूले बचाउन नसक्दा पनि किन उनमा पश्चाताप भाव पैदा भएन ? यो (आश्चर्यजनक र सन्देहास्पद लक्षणले पनि दासढुंगा परिघटना नियतपूर्ण भएको तर्फ नै इंगित गरेको छ । दुर्घटनापछि ओली आयोगले थुप्रै प्रमाणहरुका साथ चालक लामालाई सत्य बोल्न दवाव दिएपछि मात्रै सर्वप्रथम  खड्ग ओली समक्ष चालक लामाले आफ माथि सडकको डीलमा हाम्फालेको स्वीकारे । र, आफू अलि माथि देखि नै बाहिर हाम्फाल्नका लागि पोजिशन मिलाउँदै गरेको बताए । नत्र उनले आफ गाडीसंगै तल खसेको अडान लिइरहेका थिए । यस्तो ढाँट कुरा उनले शुरुमा किन गरे ? किन उनले माथि हाम्फालेको कुरा लुकाउन जरुरी ठाने ? किन तथ्यहरुले चेपेपछि मात्र | उनले सत्य कुरा बताए ? यसबाट माथि सडकको डीलमा हाम्फाल्नुसित उनको अपराधबोध जोडिएको प्रतीत हुन्छ र -यसले पनि घटना नियतपूर्ण भएकोतर्फ नै इंगित गर्दछ ।

दुर्घटना हुने निश्चित भएपछि ड्राइभरहरुमा आफ्नो भए पनि ज्यान जोगाउन गाडीबाट हाम्फाल्ने प्रबृत्ति हुन्छ नै । यो भवितव्य घटना भएको खण्डमा उनले त्यो स्थिति, सफासफी राखेर म यस कारणले माथि नै हामफालें भनेको खण्डमा चालक लामाले बढी मानिसको सहानुभूति र समझदारी हासिल गर्न सक्थे । तर उनले त्यसो पनि गरेनन् । भयबश पनि उनले शुरुमा सत्य कुरो नबताएको हुन सक्छ । यस संभाबना उपर बिचार गर्दा पनि यो स्थितिमा पनि उनमा आफूलाई माया गर्ने मानिसको मृत्युबाट दुःखभाब त स्वभावतः. हुनुपर्ने, जुन चालक लामामा देखिएन । त्यसैले चालक लामाले माथि हाम्फालेको कुरा शुरुमा भयबश लुकाएको नभएर अपराधबोधबाट लुकाएको हुन सक्ने देखियो ।

मेकानिकल रिपोर्ट कति सही ?

गाडी विशेषज्ञहरुले दिएको मेकानिकल प्रतिबेदन अनुसार दुर्घटनापछि गाडीको मेन गियर १ नं. मा भेटिएको । फोरह्विल गियर न्यूट्रलमा भेटिएको छ । गाडीको चालक बसेको साइडको ढोका खुला र बाँकी लक भेटिएको छ । गाडीको स्विच अनको अवस्थामा छ । र गाडीमा साँचो छैन ।

गाडी पानीबाट झिकेपछि 'सुरक्षित अवस्थामा प्रहरीहरुले कर्डन गरेर नराखेको हुनाले र मेकानिकल प्रतिवेदन गाडी पानीबाट निकालेको दुई दिन पछि, जेष्ठ ६ गते मात्र, तयार पारिएको हुनाले गाडीको मेन गियर र फोरह्विल गियर दुर्घटनाका दर्शकहरुले चलाएको पनि हुन सक्ने संभावना छ । यस ना. छ. स. ले त्यही मोडेलको पजेरो गाडीमा परीक्षण गरी हेर्दा पछि चलाइयो भने मेन गियर र फौरविल गियर दुवै पहिलेको स्थितिबाट परिवर्तित पनि हुन सक्ने देखियो । त्यसैले जुन अवस्थामा त्यस गाडीको मेकानिकल प्रतिबेदन तयार पारियो, त्यो अवस्थामै मेन गियर र फोरह्विल गियर दुर्घटनाको बेलामा नहुन सक्ने पनि संभाबना देखियो । यस हिसावले खालि मेकानिकल प्रतिबेदनका आधारमा गाडीको मेन गियर र फोरह्विल गियरको बारे अन्तिम धारणा बनाउनु युक्तिसंगत हुन नसक्ने देखियो ।

तथापि दुर्घटना स्थालका अन्य सबूदहरुले भने मेकानिकल प्रतिबेदनमा | उल्लिखित गाडीको मेनगियर र फोरविल गियरको स्थितिलाई नै सही साबित गरेको देखिन्छ ।

गाडी सडकको डीलबाट नदी तर्फ खसेको बेला त्यसको गियर ४ नं. थियो भन्ने भनाइ छ । चालक लामाले भनेकै स्थितिमा मेन गियर हुने हो भने गाडी ५०/६० कि. मि. प्रति घण्टाको गतिमा हुने गर्छ । त्यति तीब्र गतिमा गाडी हुने हो भने गाडी सडकको डीलबाट तल खस्दा केही परसम्म बत्तिएर जाने र भिरालो जमिनमा बजारिने सम्भावना हुन्छ र चालक लामाले ढोका खोलेर सडकमा सकुशल हाम्फाल्नु पनि संभब हुदैन । र हाम्फाली हाल्यो भने पनि चोटपटक गंभीर हुने स्थिति हुन्छ । सकुशल हाम्फाल्नका लागि उपयुक्त गियर १ नं. . गियर नै हो भन्ने गाडी बिज्ञहरुको भनाइ छ । तर दुर्घटनास्थलमा भने सडकको डीलदेखि नै गाडीको पांग्राको डोब देखिएको छ । गाडी बत्तिएर बजारिएको कुनै संकेत छैन । बजारिंदा ऐना फुटेको सब्द पनि त्यहाँ छैन । गाडी सडकको डीलदेखि नै राम्ररी गुडेर तल एउटा अबरोधमा नठोकिएसम्म सिधा अगाडि गएको सबूद भेटिएको छ । भरतपुर जिल्ला प्रहरी कार्यालयका डि. एस. नवीन अधिकारको बयान र स्वयम् चालक अमर लामाको बयानबाट यो स्पष्ट हुन्छ । खड्ग ओलीको बयान अनुसार स्वयम् चालक लामाले गाडी डीलबाट झर्ने बेलामा ५/१० कि. मि. को गतिमा थियो भनेर खड्ग ओली आयोग समक्ष स्वीकारेका छन् । यसबाट गाडी ४ नं. गियरले पैदा गर्ने गतिमा नभएर, धीमा गतिमा तल नदीतर्फ ओर्लेको देखिन्छ । यो धीमा गति १ नं. गियर वा फोरह्विल गियर न्यूट्रलमा हुनुबाट नै पैदा हुन सक्ने देखिन्छ ।

गाडी बिज्ञहरुको भनाइ अनुसार फोरह्विल गियर न्यूट्रल पछि अरु गियर निष्क्रिय हुन्छ र गांडी ओरालोमा धीमा गतिमा, तर बिना -रोकाबट गुडेर जाने हुन्छ । १ नं. गियरभा 'मात्र गाडी हुने हो भने यो कुनै अवरोध आउने बित्तिकै रोकिने पनि संभावना हुन्छ । यसरी दुर्घटना स्थलका सब्दहरुबाट गाडी सडकको डीलबाट तल गुड्दा तीब्र गतिमा बत्तिएको देखिन्न । त्यसैले चालक लामाले शुरुमा भने जस्तो ४ नं. गियरमा गाडी रहेको देखिन्न । गाडी १ नं. गियर वा फोरह्विल गियर न्यूट्रल भएकै स्थितिमा तल गुडेको देखिन्छ । यी सबूदहरुका आधारमा मेकानिकल प्रतिबेदनले दिएको गाडीको मेन गियर र न्यूट्रल गियरको स्थिति बारेको रिपोर्ट सही भएको देखिन्छ र चालक लामा यस निम्ति दोषी भएको देखिन्छ ।

गाडी १ नं. गियरमा हालेर र फोरह्विल गियर न्यूट्रलमा राखेर चालक आफू चाहिं ढोका खोलेर गाडीबाट हाम्फाल्नु र तल नदीमा खस्ने गाडीमा महत्वपूर्ण पार्टी नेताहरुलाई छोडी दिनु, यो कर्ने भवितव्य दुर्घटनाको लक्षणको रुपमा देखिन्न । यी लक्षणले गाडीलाई नियतपूर्ण रुपमै नदीतर्फ खसालेको देखाउँछन् ।

 मदन-आश्रित किन भाग्न खोजेनन् ?

गाडी सडकमा दाँया बाँया गर्न थालेपछि र सडकको डीलमा चालक गाडीबाट हाम्फाले पछि स्वभावतः त्यस भित्रका सचेत अवस्थामा रहेका यात्रुहरु आफ पनि ज्यान जोगाउन प्रयत्नशील हुनु पर्ने हो । यसका लागि आफ्नो साइडको ढोका खोल्न प्रयत्न गर्न पर्ने हो । डिलबाट तल खसेपछि गाडी  नपल्टीकन एउटा अवरोध नआएसम्म सिधै गुडेर गएको परिप्रेक्ष्यमा त सामुन्ने सेटमा बसेका मदन भण्डारीले झनै ढोका खोल्न प्रयत्न गर्नु पर्ने हो । तर चालकको बाहेक अरुको ढोका खुलेको देखिएन । अन्य सबै ढोका लक स्थितिमा देखियो । अझ संगठन विभाग प्रमुख आश्रित त सीटमा आड लागेर खुट्टा पसारेर बसीरहेको पोजिसनमा भेटियो । यसबाट मदन भण्डारी र आश्रित त्यतिखेर मृत वा बेहोशीको अवस्थामा रहेको संकेत मिल्दछ ।

डा. भरत प्रधानको बयान अनुसार लंडनको एल्डरमास्टन फोरेन्सीक ल्याबले दिएको रगत जाँचको प्रतिबेदन अनुसार उहाँहरुको रगतमा सुँघाउने प्रकारको बिषादि निकै घनिभूत मात्रामा भएको ठहऱ्याइएको छ र यही बिषादिले उहाँहरुलाई बेहाशी वा मृत पारेको हुन संभव छ । मदन र आश्रितको पोष्ट मार्टम रिपोर्ट अनुसार उहाँहरुको फोक्सोमा पानी भेटिएको छैन । यसबाट पनि उहाँहरुको बेहोशी वा मृत्यु पानीमा पर्नु अघिनै भै सकेको संकेत मिल्दछ । यसरी दुर्घटना स्थलका सबूदहरु, गाडीको मैकानिकल रिपोर्ट, लण्डनको रंगत जाँचको प्रतिवेदन, पोष्ट मार्टम रिपोर्टको फोक्सोमा पानी नभेटिएको भन्ने भनाइ र चालक लामाको ५/१० कि. मि. को गतिमा गाडी छाडेर म सडकको डीलमां नै हाम्फालेको भन्ने स्वीकारोक्ति बीच तालमेल र संगति भेटिन्छ । र यो तालमेल र संगतिले पनि चालक लामाले नियोजित रुपमै गाडी नदीतर्फ खसालेको देखाउँछ ।

लण्डनको भिसेरा र रगत जाँचको प्रतिवेदन बारे डा. भरत प्रधानको बयान

रगत परीक्षणको लागि लण्डन जाँदा एमालेको सहयोगीको रूपमा म गएको थिएँ। आधिकारिक रूपमा सरकारले प्रहरी इन्पेक्टरलाई जिम्मा दिएको थियो । रगत .० डिग्रीको तापक्रममा वरफमा विशेष रूपले प्याकिङ गरेर लगेका थियौं। पुगेको दिन बेलुकी भएकोले भोलिपल्ट परीक्षण गरियो। डा. हम्फ्रेले घटना सम्बन्धमा बुझ्न खोजेकाले विस्तृत व्याख्या गर्‍यौं । चिया खाएको ठाउँबाट दुर्घटनास्थलसम्म पुग्न १५ मिनेट मात्र लाग्ने ठाउँ भएकोमा गएको समय र घटना भएको समय निकै अन्तर भएकोले त्यस बीचमा कुनै हस्तक्षेप र अन्तर्क्रिया भएको र कुनै तुरून्तै लाग्ने विषालु औषधिको प्रयोग भएको साथै शव परीक्षणबाट फोक्सोमा पानी नभएकोले शंका व्यक्त गर्‍यौं ।

त्यसैले टेक्नोलोजीको जाँचमा बढी ध्यान केन्द्रित गरियो र मुख्य रूपमा रगतको नै जाँच गरियो । पेटको भोल्यूनको कन्टेपट र टिस्यूको पनि जाँच भयो। जाँचको क्रममा दुवै जनाको रगतमा एकै किसिमको विषालु केमिकल पाइयो, जुन केमिकल काठ रंगाउन प्रयोग गरिन्छ । यसको प्रयोग बढी भएमा मानिसको बेहोस बेहोसमै मृत्यु हुन सक्तछ । परीक्षणमा कुनै किसिमको जाँड-रक्सी वा नसालु केमिकल प्रयोग भएको पाइएन । खानेकुरामा कुनै कीटनाशक औषधि प्रयोग भएको पनि पाइएन । रगतमा पाइएको विषालु केमिकल या त सुँघाएर गएको हुनुपर्छ या सिधै रगतमा पुऱ्याउने उपायद्वारा गएको हुनुपर्छ भन्ने अनुमान गरियो ।

दुवैको रगतमा पाइएको केमिकल दिमागलाई नै असर पार्ने, मानिस नै बेहोस हुने हुन्छ, जुन बजारमा पेन्टिङ गर्दा, काठ रंगाउँदा प्रयोग हुन्छ भन्ने डा. हम्फ्रे लगायत ७ जनाको रिपोर्ट रह्यो। दुवैको रगतमा एउटै केमिकल पाइएबाट सम्भवतः मोटर भित्रै प्रयोग भएको हुनसक्ने शंका गरियो ।

मृतकहरूको लाश निकाल्ने, पोष्टमार्टम गर्दा, रगत निकाल्दा, प्याकिङ गर्दा, ल्याउँदा, तीन महिनासम्म प्याकिङ गरी राख्दा High Altitude मा रगत ल्याउँदा पनि असर पार्न सक्छ भन्ने प्रश्न पनि उनीहरूले उठाएका छन् ।

ती प्रश्न उठाए पनि वीरअस्पतालमा पोष्टमार्टम भएको, त्यहाँ यी केमिकल पर्ने प्रश्नै उठ्दैन । त्यसपछि रगत र भिसेरा एस.पी. थानामा गयो। त्यहाँ पनि यस्तो केमिकल पस्नु पर्ने जरूरत छैन । भोलिपल्ट रोनाष्टको ल्यावमा लगि राम्ररी राखिएको थियो। त्यहाँ गडबडी हुने प्रश्नै उठ्दैन । रगत जाँच दिल्लीमा गराइयो, त्यो बाहेक रगतमा कुनै हस्तक्षेप भएको छैन । लण्डनमा लाँदा -८० डिग्रीको बरफमा लगिएकोले बाहिरबाट कुनै रासायनिक पस्ने बिल्कुनै असम्भव कुरा हो ।
त्यसैले सबैभन्दा स्पष्ट सम्भावना यो सुँघाएर नै पसेको हुनुपर्छ। यतिका दिनसम्म रगत रहन सक्नु High Concentration मा भएर यस्तो भएको हुनुपर्छ ।

 

 

यस परिप्रेक्ष्यमा गाडी दासढुंगामा नागवेली पर्नु र दुर्घटना स्थलको सडकको देब्रेपट्टि छेउमा ६० र ११२ फिटको फरक पारी राखिएका ३ वटा बालुवाको थुप्राहरु र त्यसमाथि एउटा एउटा ढुंगाको चिन्ह हुनु अर्थपूर्ण र प्रासांगिक देखिन्छन् । गाडी पहिलो बालुवाको थुप्रोबाट नागवेली पर्न शुरु गरेको देखिन्छ र अन्तिम बालुवाको थुप्रोबाट मोडिएर सडकको दायाँ छेउको भूसको थुप्रो हुँदै सडकको डीलबाट तल नदीमा ओर्लेको देखिन्छ । यस हिसाबबाट स्वाभाविक रुपमा प्रश्न उठ्छ, बालुवाका थुप्राहरु कतै गाडी दायाँ बायाँ मोड्नका लागि र निर्धारित ठाउँमा दुर्घटना गराउनका निम्ति नियोजित तवरले राखिएका संकेत त हैनन् ? गाडी दायाँ बायाँ नागवेली पर्न थाल्नुको कारणले दुर्घटना भएको नभएर गाडी नियोजित रुपमा दुर्घटना गराउनको लागि दायाँ बायाँ नागवेली पार्न थालिएको त हैन ? यस्तो सोच्ने आधार दुर्घटनास्थलका अन्य सबूदहरुले प्रशस्त दिएका छन् । किनकि सिधा बाटोमा गाडी नागवेली परेर आउँदा र त्यसरी त्यस ठाँउबाट दायाँ मोडिंदा नै त्यस प्रकारको घटना घटाउन सकिने संभावना देखिन्छ ।

स्वभावमा परिवर्तन

यस परिप्रेक्ष्यमा के यसरी नियोजितरुपबाट गाडी दुर्घटना गराइएको भनेर सोच्नका लागि दुर्घटना अघि पनि (त्यस्ता बस्तुगत आधारहरु र घटनाहरु देखिन्छन् ?

नागरिक छानवीन समितिले त्यसको ऐतिहासिक पृष्ठभूमि खोज्दैजाँदा त्यस्ता केही बस्तुगत आधार र घटनाहरुको क्रमबद्धता विद्यमान रहेको भेटेको छ ।

ने. क. पा. (एमाले) केन्द्रीय कार्यालयका सचिव ईश्वर पोखेलका अनुसार चालक लामा पहिले महासचिव मदन भण्डारी बाहिरबाट आउँदा एकै परिवारका सदस्य झैँ बिमान स्थलमा VIP लौञ्ज भित्रै जान्थे र बडो सौहार्दतापूर्वक हात मिलाउँथे । पहिले उनको मदन भण्डारीप्रति निकै प्रेमभाव र श्रद्धाभाव देखिन्थ्यो । तर पछिल्लो चोटि, दासढुंगाको घटना भन्दा एक डेढ महिना अघि, चीन वा कलकत्ताबाट फर्कदा, उनको त्यो सौहार्दता गायव भएको देखियो । उनले हात त मिलाए तर अनुहारमा त्यो प्रेमभाव र सौहार्दता थिएन । घटना घट्नु भन्दा १ महिना अघिदेखि नै चालक लामाको अनुहार फुंग उडेको देखिन्थ्यो । उनले कम बोल्न थालेका थिए । उनले साथीहरुसंग झगडा गर्ने, छासछुस गर्ने गर्न थालेका थिए । पहिले उनी यस्ता थिएनन् ।

मदन भण्डारीकी श्रीमती बिद्या. पाण्डेको पनि चालक लामाको स्वभावमा परिवर्तन सम्बधमा यस्तै टिप्पणी रहेको छ । श्रीमती बिद्या पाण्डेका अनुसार चालक लामा पहिले जहिले आउँदा पनि एकै परिवारका सदस्य झैं भान्साघरमा पस्ने, चियाउने गर्थे । तर पछिल्लो १/२ महीनामा, विशेषतः मदन भण्डारी चीनबाट फर्केपछि उनमा यो आत्मीयता र सौहार्दता हराएको थियो । उनले त्यसरी भान्साघरमा पस्ने, चियाउने गर्न छाडेका थिए। उनी कोठामा नै पत्रिका पढेर बस्थे र पत्रिका पढ्दा पनि पत्रिकाले मुख ढाक्ने गरी छोपेर बस्थे र कोठामा जाँदा देखे पनि नदेखे जस्तो गर्थे । उनले पहिले भन्दा खाना पनि निकै कम खान थालेका थिए । चीनबाट मदन भण्डारी फर्कदा उनी VIP लौञ्ज भित्रै पसेनन्, जबकि पुऱ्याउन जाँदा भने पसेका थिए । मदन भण्डारी चीनबाट फर्के यता उनी निकै सिरियस हुन थालेका थिए । पहिला उनी फरासिला, रमाइला मान्छे थिए ।

उनको स्वभावमा आएको यो उल्लेखनीय परिवर्तन बारेमा पोखराका ती थुप्रै मानिसहरुको पनि समान अनुभूति रहेको भेटियो, जो चालक लामालाई पहिलेदेखि नै राम्ररी चिन्दछन् । पोखराका खगराज अधिकारी, रविन्द्र अधिकारी, राघव शर्मा, श्रीनाथ बराल, हरि पाण्डे र श्रीमती तुलसा पाण्डेको बयानबाट यो स्पष्ट भएको छ । गोर्खाका ने. क. पा. (एमाले) का जिल्ला पार्टी सचिव ऋषि कट्टेल, जो जेष्ठ ३ गते पोखराबाट आँबूखैरेनीसम्म उही गाडीमा आएका थिए, उनको पनि चालक लामाको स्वभाव परिवर्तन संबन्धमा समान धारणा पाइयो ।

तर मदन भण्डारीको तर्फबाट भने चालक लामाप्रतिको बिश्वासको स्थिति र ब्यबहारमा परिवर्तन पाइएन । श्रीमती बिद्यापाण्डेको बयान अनुसार लामो यात्राको लागि दुई जना ड्राइभर लानु पर्छ भनेर श्रीमती बिद्या पाण्डेले जोड गर्दा पनि मदन भण्डारीले मान्नु भएन । चालक लामाप्रतिको उहाँको अति बिश्वास यथावत रही रह्यो । पार्टीको तर्फबाट पनि चालक लामाको स्वभाब परिवर्तनलाई आलोचनात्मक तवरले र होशियारीपूर्वक लिएको पाइएन ।

चालक लामाको स्वभाबमा आएको यो परिवर्तनबाट चालक लामा केही समय अघिदेखि नै नियोजित योजनामा संलग्न हुन थालेको संकेत मिल्छ । बिशेषतः मदन भण्डारीहरु चीनमा गए यता उनको पार्टी नेताहरुप्रतिको दृष्टिकोण र ब्यबहारमा परिवर्तन आउन थालेको देखिन्छ । एकातर्फबाट पहिले जस्तै प्रेम र हार्दिकता दर्शाइँदा दर्शाइँदै पनि चालक लामाको ब्यबहारमा हार्दिकता र न्यानोपन ख़तम हुन थाल्नु, व्यवहारमा एकतर्फी चीसोपन र गंभीरता आउन थाल्नु त्यसैको लक्षणका रुपमा देखिन्छ ।

घटनाको दिन

चालक लामाको ब्यबहारमा सबैभन्दा बेसी असामान्यता जेष्ठ ३ गते 'देखिएको छ, जुन दिन दासढुंगा काण्ड घट्यो । त्यो दिन उनी सधैं भन्दा असामान्य रुपले गंभीर देखिएका छन्, बिहानैदेखि बेचैन र तनाबग्रस्त देखिएका छन् । महासचिव भण्डारी र आश्रितसंग बसेर खाना खान बारम्बार डाक्दा पनि नआउने, झ्यालबाट दुई जनाले खाना खाएको हेरिरहने, खाना पनि राम्ररी नखाने, एकनास टोलाइरहने, बोलाउँदा झस्किने, सधै जस्तो बोल्दा पनि राम्ररी नबोल्ने जस्ता असामान्य मनोबैज्ञानिक व्यवहारहरु उनले त्यो दिन घट्ना घट्नु अघि देखाएका छन् । पोखरामा उनी बसेको घरका घरमूली श्रीमती तुलसा पाण्डेको बयानबाट यो देखिएको छ । उनमा आएको असामान्य गंभीरता बारे त्यो दिन उनलाई नजिकैबाट र पहिलेदेखि चिन्ने खगराज अधिकारी, राघव शर्मा, श्रीनाथ बराल, रवीन्द्र अधिकारी र पोखराबाट आँबू खैरेनीसम्म त्यही गाडीमा आउने ऋषि कट्टेलको पनि समान धारणा रहेको उनीहरुको बयानबाट देखिन्छ ।

गायबी किन ?

चालक लामामा आफ्ना नेताहरुप्रति पहिले जस्तै श्रद्धा र प्रेम बाँकी रहेको स्थितिमा, भवितव्य वा लापर्वाहीबाट घटना घटेको भए आफ्ना नेताहरु चढेको गाडी आफ्नै हँकाई अन्तर्गत दुर्घटनाग्रस्त भएर उनीहरु नदीमा बेपत्ता भए पछि त्यो बेचैनी, तनाव र गंभीरता अझ झन् बढ्नु पर्ने । तर चालक लामामा त्यस्तो भएको देखिदैन । गाडी दुर्घटना पछि भरतपुर अस्पतालमा उनी संतुलित, शान्त र तनावरहित देखिएका छन् । भरतपुर अस्पतालका डाक्टरहरु डा. विजयमान कायस्थ, डा. प्रकाश रायमाझी, हे. अ. महीन्द्र शाहको बयानबाट यो देखिन्छ । बीर अस्पतालमा सरेपछि पनि, र आफ्ना नेताहरुको मृत्यु भएको निश्चित भएपछि पनि, उनको त्यही मनोदशा भएको कुरा मनोरोग विशेषज्ञ डा. विश्वबन्धु शर्माको स्वास्थ्य परीक्षण रिपोर्टबाट देखिन्छ । उनको पालो बसेका यदुनाथ पोखेलको बयान अनुसार त उनी बीर अस्पतालमा हँसीमजाक समेत गरिरहेका देखिन्छन् । यो मनोदशा प्रेमपूर्ण संबन्ध भएको मानिसमा र निर्दोष मानिसमा नभेटिने अन्तरबिरोधपूर्ण मनोदशा हो ।

त्यसैले केही महीना अघि देखि एकतर्फी रुपमा चालक लामामा आउन थालेको गंभीरता र चिसोपन, जेष्ठ ३ गते, घटना घट्नु अघि, उनमा देखिएको तनाब, | बेचैनी र असामान्य गंभीरता र घटना घटीसकेपछि देखिएको शान्त, सन्तुलित र बेचैनीरहित उनको मनोदशा, यी सबै मनोबैज्ञानिक ब्यबहारहरुले पनि दासढुंगाको घटना नियतपूर्ण नै थियो भन्ने देखाउँछन् |

यस बाहेक पोखरामा चालक लामा पटकपटक बेपत्ता भएको देखिएको छ । उनी जेष्ठ २ गते राघव शर्माको मोटर साइकल लिएर जीपको हायण्ड ब्रेक किन्न भनेर पार्टी जिल्ला सम्मेलनको सभास्थलबाट करिब आधा घण्टासम्म बेपत्ता भएका देखिन्छन् । यो घटनाले किन सन्देह जगाउँछ भने सम्मेलन स्थलबाट हायण्ड ब्रेक किन्ने ठाँउ हिंडेर जाँदा पनि ५ मिनेट भन्दा टाढा छैन । साथ साथै ह्याण्डब्रेक किन्नका लागि यस कुराको अनुभवी हुनाले सांसद हरि पाण्डेको सल्लाह लिएर मात्र किन्तु भनेर नेताहरुले चालक लामालाई अह्राएको देखिन्छ । हरि पाण्डे पनि यो काम गर्न तयार देखिन्छन् । तर चालक लामा सांसद हरि पाण्डेलाई कुनै सूचना नै नदिईकन एक्लै नेताहरुको निर्देशन बिपरित आधा घण्टासम्म गायब भएका छन् ।

जेष्ठ ३ गते बिहान खाना खान जानु अघि पनि उनलाई खोज्नु पर्ने गरी उनी अलप भएका छन् । जेष्ठ ३ गते हिंड्ने बेलामा पनि उनी १०/१५ मिनेट मदन भण्डारी र आश्रितले कुर्नु पर्ने गरी अलप भएका छन् । पटक पटक उनी कहाँ गए कसैलाई पत्तो भएको पाइएन । हरि पाण्डे, रविन्द्र अधिकारी, राघव रर्मा, खगराज अधिकारीको बयानबाट यी सबै देखिएको छ ।

माथि उल्लेखित अरु सबै घटना र सबूदहरुको परिप्रेक्ष्यमा चालक लामा यसरी पोखरामा बिना सूचना अलप हुनु अर्थपूर्ण र सान्दर्भिक हुन आएको छ । अझ चालक लामाले बिदेशीहरुलाई भेटिरहेको देखेको परिप्रेक्ष्यमा त यो झनै अर्थपूर्ण र सान्दर्भिक देखिन आएको छ । पोखराका पुष्पज्योति ढुंगानाको बयान अनुसार उनले गौशाला हार्डवयर नेर चालक लामाले केही बिदेशीहरुलाई भेटिरहेको, कुरा गरिरहेको आफैले देखेका थिए । ती दुई बिदेशी साइकलमा थिए, उनीहरुलाई देखेपछि चालक लामा परिचित मानिस भै हाँसे र कुराकानी गर्न थाले भन्ने उनको बयान छ । जेष्ठ २ र ३ गते ने. क. पा. (एमाले) को कास्की जिल्ला पार्टी सम्मेलन भइरहेको ठाँउ दीपेन्द्र सभा गृहमा हामी फेञ्च कम्युनिष्ट हौं, तपाईहरुका पार्टीका नेताहरु भेट्न चाहन्छौं भन्दै जवरजस्ती पस्न खोज्ने बिदेशीहरु तिनै थिए भन्ने उनको भनाइ रहेको छ । सम्मेलन थलोका स्वयमसेवी रविन्द्र अधिकारीको बयानले पनि यो कुरा पुष्टि गरेको छ ।

तुलाधर आयोग समक्ष अमर लामाको साविती बयान

प्रश्न - तपाईले स्पष्टसँग कुरा भनिराख्नु भएको छैन जस्तो लागिरहेछ। गाडीले बाटो छोड्नुअघि माथि बाटोमै हाम्फालेको हो कि होइन, लौ भन्नुस् त ?

अमर- त्यस्तो माथि हाम्फालेको छैन, गाडी दायाँ गयो ।

प्र.- गाडीले पीच छाडेपछि चौर छाड्नुअघि हाम्फाल्नु भयो, हैन ?

अ.– अँ ।

 प्र. - त्यो देख्ने मान्छे अरू कोही छन् ?

अ. - त्यही झोपडीका मानिसले देख्न सक्छन् । ट्रकका ड्राइभरहरू त पछि आएका हुन्, गाडी खसी सकेपछि ।

प्र.- पहिले पानीबाट पौडिएर बाहिर निक्लें, भन्नु भो, अहिले बाहिर
हाम्फाले भनियो । पहिले किन ढाँटियो ?

 अ. - त्यति बेला म आत्तिएको थिएँ । त्यस बखत पानीबाट निस्के जस्तो
लाग्यो र पानीबाट निस्कें भनेको थिएँ होला । पछि अनिल आयोग आयो। पहिले पानीबाट निस्के भनेपछि त्योसंग मिलाउन यहाँ पनि त्यही भन्नुपर्छ होला भनेर अनिललाई पनि त्यही भनें । पछि सुभाष र भरत प्रधान आउनु भएको थियो। उहाँहरूले एकान्तमा कुरा गर्ने भए गर भनेपछि के.पी. ओली कमरेडसंग कुरा गर्छु भने। अनि के. पी. ओलीले यथार्थ विवरण भन् भनेपछि सबै कुरा उहाँलाई बताएं।

 

ती बिदेशीहरु को हुन् भन्ने तर्फ खोजी हेर्दा सीमित स्रोत साधनहरुको कारणले बिस्तृत परिचय पत्ता लगाउन सकिएन । पोखराका श्रीनाथ बरालबाट तिनीहरु पोखरा ड्याम साइडतिर बस्दथे भन्ने सम्म सूचना मिल्यो ।

उता रविन्द्र अधिकारीले चालक लामालाई मोटर साइकल लिएर कहाँ गएको भनी सोद्धा उनले पनि ड्याम साइडतिरै गएको भनेको भन्ने रबिन्द्र अधिकारीको बयान छ । यसबाट चालक लामाको ती बिदेशीहरुसित अर्थपूर्ण सम्बन्ध त थिएन ? गायब भएका बेला चालक लामा तिनै विदेशीसित सम्पर्क कायम गर्न गएका त थिएनन् ? र दासढुंगा घटनासित ती विदेशीहरुको सम्बन्ध त थिएन ? भन्ने प्रश्न स्वभावतः उठ्छ । यसको खोजीको निम्ति सक्षम र अधिकार प्राप्त खुफीया यन्त्रबाट अनुसन्धानको जरुरत देखिएको छ । यस समितिको प्रयत्नले माथि उल्लेखित कुराहरु त पत्ता लागे, तर त्यो भन्दा गहिराइमा र बिस्तारमा जान संभव भएन । तथापि माथि उल्लिखित कुराहरुले दासढुंगा घटनामा चालक लामा एक्लै नभएर उनका पछाडि बिदेशीहरुको पनि संलग्नता हुन सक्ने संभावना देखाएका छन् ।

पार्टीको गाडीमा पार्टीको झण्डा राख्नु कुनै आश्चर्यजनक कुरा होइन । तथापि माथिका सबै घटना र सबूदहरुको परिप्रेक्ष्यमा यसै पटकं, चालक लामाकै जोडबाट पोखराबाट चितवन तिर जाने क्रममा नै गाडीमा पार्टीको झण्डा हाल्नु पनि अर्थपूर्ण र सान्दर्भिक देखिन आएको छ । कतै गाडी चिनाउनका निम्ति त यस पटक त्यसरी चालक लामाले झण्डा हाल्न जोड गरेका थिएनन् ? यो प्रश्न स्वभावतः उठ्छ र उठ्ने ठाँउ छ ।

किन त्यति बढी समय लाग्यो ?

अर्को महत्वपूर्ण कुरो के देखियो भने आँबू खैरेनीबाट दासढुंगासम्म पुग्न गाडीले लिएको समय असामान्य छ । गाडी, ऋषि कट्टेलको बयान अनुसार ४.३० बजेतिर आँबू खैरेनीबाट छुटेको छ । सुनकोशी रेष्टुरेण्टका मालिक श्रीमती बुद्धिमाया लामाको बयान अनुसार त्यहाँ चिया खान १० मिनेट जति मात्र लागेको छ । र श्याम रंजितकारको गाडी सिमलतालतिरबाट हिंडेको समय ५.३० तिर र गाडी खसि सकेपछि श्याम रंजितकारले दासढुंगामा चालक लामालाई पिकअप गरेर रामनगर प्रहरी चौकीमा पुगेको समय ६.०५ तिर बिचार गर्दा गाडी ५.३० सम्ममा नदीमा खसिसकेको देखिन्छ । गाडीको गति न्यूनतम ४० देखि ६५ को स्पीडमा भएको भन्ने ऋषि कट्टेलको बयान र स्वयम् चालक लामाको बयान, श्याम रंजितकारको गाडी निकै 'बेगमा थियो भन्ने बयानलाई बिचार गर्दा यो गतिको गाडीलाई आँबु खैरेनीबाट दासढुंगामा पुग्न ३०-३५ मिनेट भन्दा बढी समय लाग्ने देखिएन, किनकि दूरी ३०-३५ कि. मी. भन्दा बेसी छैन । तर सुनकोशी रेष्टुरामा बिताएको १० मिनेट कटाउने हो भने गाडीलाई करिव ५० मिनेट समय लागेको देखियो । यो समयावधि असामान्य समयावधि हो ।

अमर लामासित नागरिक छानबिन समितिको बयान

प्रश्न पौडी कत्तिको खेल्नु  हुन्छ ?

अमर- जान्दछु ।

प्र- कस्तो ठाउँमा पौडी खेल्नु

अ - मर्स्याङ्दी, चेपे र तालहरूमा ।

प्र- वारपार गर्न सक्नु हुन्थ्यो ?

अ- सक्थे ।

प्र- अनि पौडी खेलेर नेताहरूलाईकिन बचाउन खोज्नु भएन त ?

अ- एक पटक पानीमा जाउँ जस्तो लागेको थियो । खास गरी मदन कमरेडको हात-खुट्टा देखेपछि । जान पनि लागेको । तर ती मानिसहरूले मलाई तर्साइ दिए । “नजानुस्” भने । “डुब्ने मान्छेले आफैलाई पनि समाउँछ" भने । के गरौं, के गरौं जस्तो भो । “मदन कमरेड " भनेर बोलाएँ । माथि आएर मानिसलाई पनि बोलाएँ, तल जाउँ भने । ट्रकलाई रोकेर तल जाउँ भने । “होइन तपाई अस्पताल जानुस्” भन्यो । म आत्तिएँ । मलाई लाग्यो पुलिस भेटिदिए हुन्थ्यो, पार्टीका मानिस भेटिदिए हुन्थ्यो ।

प्र- पुलिस भेटिदिए हुन्थ्यो भन्ने किन लाग्यो ?

अ– क्रेन ल्याएर बचाउनलाई ।

प्र- नारायणघाटमा पुलिसलाई भन्नु भो त क्रेन ल्याएर बचाउनलाई ?

अ- त्यो पुलिसहरू त, ट्रक उता गइहाल्यो । एउटा पुलिस मसंग आयो ।

प्र. मदन कमरेडहरू पानीमा पुग्न अघि नै मर्नु भो जस्तो लाग्यो ?

अ- त्यो त अब उहाँहरू कसरी बित्नु भो, मलाई थाहा छैन ।

प्र.- पानीमा डुबेर, पौडी खोल्न नजानेर मरेको जस्तो लाग्यो ?

अ. - मलाई त्यो एक जना मानिसले उहाँहरू बितिसक्नु भयो, आशा नगर्नुस् भनेपछि म आत्तिएँ । मैले उहाँहरूलाई बोलाएँ । एकदम गहुँगो लाग्यो । जीप निकाल्न पनि सकिने होइन । पौडी खेल्न पनि डर लाग्यो ।

प्र.- तपाईलाई उहाँहरू बित्नु भो भनेर कुन बेला लाग्यो ?

अ.- पछि अस्पतालमा साथीहरूले भनेका थिए ।

प्र. - होइन, तपाईलाई उहाँहरू बित्नु भयो भनेर लाग्यो कति बेला ?

अ.- मलाई त अब, त्यस्तो गहिरोमा खस्नु भएको छ । डराएँ । निस्कनु भएन । त्यसो भएपछि बित्नु भयो जस्तो लाग्यो ।

प्र.- उहाँहरू बित्नु भो भन्ने लागेपछि पुलिसलाई खबर गरेर क्रेन ल्याएर बचाउने भन्ने कुराको के अर्थ रह्यो त ?

अ. - (चुप)

 

 

 

 मदन भण्डारी र आश्रितको रगतमा, एल्डर मास्टन फोरेन्सिक ल्याबको रिपोर्ट अनुसार, सुँघाउने प्रकारको बिषादि पाइएको भन्ने डा. भरत प्रधानको बयान, फोक्सोमा पानी नभएको लाशको अवस्था र आँबू खैरेनीबाट दासढुंगासम्म पुग्न लागेको अस्वभाविक समय बीच यसरी संगति र संबन्ध देखिन्छ ।

सुनकोशी रेष्टुराँसम्म मदन भण्डारी र आश्रित जीवित र होशको अवस्थामा रहेको भन्ने बुद्धिमाया लामाको बयानबाट देखिन आएको परिप्रेक्ष्यमा दासढुंगा र सुनकोशी रेष्टुराँको बीचको बाटोमा नै बिषादि प्रयोग भएको हुन सक्ने संभाबना देखिन्छ । संभवत यही विषादिको प्रयोगको निम्ति यो बीचमा अस्वाभाविकरुपले बढी समय लागेको हुन सक्छ ।

निष्कर्ष :-
प्राप्त सबूदहरु, सूचना र जानकारीहरुका आधारमा यो नागरिक छानवीन समिति दासढुंगाको २०५० जेष्ठ ३ गतेको घटना सामान्य वा असामान्य किसिमको भवितव्य दुर्घटना होइन भन्ने ठहर गर्दछ ।

यो चालकको लापर्वाहीबाट हुन गएको दुर्घटना होइन भन्ने यस समिति ठहर गर्दछ ।

 यो समिति जेष्ठ ३ गते भएको दासढुंगा काण्ड र त्यसमा भएको मदन भण्डारी र जीवराज आश्रितको मृत्यु नियोजित हो भन्ने ठहर गर्दछ ।

सुझावहरु :-
उक्त घटनामा संलग्न अन्य तत्व को हुन् ? किन तिनले हत्याको साजिश रचे? यस बारे खोजी अनुसन्धान गर्नु यस समितिको साधन श्रोत र अधिकार भित्र देखिएन। घटनाको प्रकृति हेर्दा कुनै दक्ष अपराधी समूहले अत्यन्त सिद्धहस्तताका साथ पूर्व नियोजित रुपमा हत्या कार्य संपन्न गरेको आभाष पाइन्छ । यस्तो दक्ष अपराधी पत्ता लगाउन अत्यन्त दक्ष अपराध अनुसन्धान बिज्ञ र अनुसन्धान प्रविधि चाहिने हुन्छ । यी दुबै समितिसित उपलब्ध छैनन् ।

यस बारे थप गहिराइ र बिस्तारमा खोजी गर्न दक्ष खुफीयायन्त्र र अपराध अनुसन्धान प्रविधिले संपन्न सक्षम र ब्यापक अधिकार संपन्न निकायबाट उक्त घटनाको गंभीर छानवीन गरिन् जरुरी हुन्छ । उक्त लेखिए बमोजिमको प्रबिधि र दक्ष जनशक्ति स्वदेशमा उपलब्ध हुन नसके अन्तर्राष्ट्रिय सहयोग लिनु पनि आवश्यक हुन्छ ।

यसै घटनाका सबभन्दा राम्रा ज्ञाता चोलक लामा नै हुन् । आधुनिकतम बैज्ञानिक प्रबिधि प्रयोग गरेर मात्र उनीसित रहेको जानकारी प्राप्त हुन सक्ने देखिन्छ । सबूदको यो सबैभन्दा मुख्य स्रोतबाट नै अविलम्ब जानकारी लिने कार्य हुनु जरुरी देखिन्छ ।

अझै अनुत्तरित प्रश्नहरु

हामीले प्रयत्न गरेर पनि हाम्रो साधन, श्रोत र अधिकारको सीमाको कारणले अझै केही प्रश्नहरु अनुत्तरित रहेका छन् । त्यसबारे संबन्धित निकाय तथा अंगहरुले अनुसन्धान गरेर पत्तालगाउनु पर्ने देखिन्छ ।

१ चालक लामा बाहेकका अन्य यस घटनाका सूत्रधार हुन् ?
२. पोखरामा देखिएका चालक लामाले भेटेका र करा गरेका आफूलाई फ्रेन्च कम्युनिष्ट भन्ने ती बिदेशीहरु को हुन् ?

३. दुर्घटनाग्रस्त गाडी बिदेशी संस्थाहरुलाई भाडामा गएको देखिएको छ र त्यतिखेर चालक अमर लामा नै गाडी हाँक्नेमा छन् । यसै मार्फत चालक लामाको बिदेशीहरुसितको सम्पर्क हुन सक्ने एउटा संभावना हुँदाहुँदै पनि यस बारे बिस्तृत अनुसन्धान हुन सकेको छैन । यी बिदेशी संस्थाहरु यस घटनासंग संबन्धित छन् कि छैनन् ?

४. पोखरामा चालक लामा पटक पटक सम्मेलन स्थलबाट रहस्यमय ढंगबाट हराउने गरेको बारे र काठमाडौंमा पनि पार्टीले लगाएको दैनिक काम बाहेक निजको अन्य सम्पर्क बारे बिस्तृत जानकारी हुन सकेको छैन ।

५. ग. अ. ख. ३१९ नं. का बस चालक शंकर प्रसाईले आँबू खैरेनीबाट चालक लामाको गाडी ४.३० बजे छुटेपछि ४ वटा अग्ला अग्ला मोटर साइकल चालक लामाको गाडीलाई पिछा गरेको भन्ने र दुर्घटनापछि ती मोटर साइकल दासढुंगा र रामनगरमा पनि देखिएका थिए भन्ने जानकारी यस समितिलाई प्राप्त भएको छ । यी मोटर साइकलहरुमा को थिए ? तिनको यो दुर्घटनासंग संबन्ध छ कि छैन ?

६. मदन भण्डारी र आश्रित दुबैको रगतमा प्रचुर मात्रामा सुँघाउने प्रकारको बिषादि रहेको एल्डरमस्टन फोरेन्सिक ल्याव, लण्डनको रिपोर्ट छ । यो बिषादि उहाँहरुको रगतमा कसरी कुन प्रक्रियाद्वारा पुग्न गयो ?

७. गाडी सडकबाट खसेपछि नदीमा पुग्नु अघि नदी छेवैको त्यहाँको दुंगाको चट्टानमा केही बेर अडेको बयान छ । त्यो गाडीमा माथिबाट झरेको ढुंगा लागेपछि मात्र गाडी नदीमा खसेको छ । त्यो ढुंगा मोटर खसिसकेको केही बेरपछि कसरी खस्यो ?

८. मदन भण्डारीको शरीर मोटरबाट कसरी बाहिर निक्लियो ? किन उनको एउटा हात उठेको अवस्थामा छ ? किन मदन भण्डारीको जीउमा त्यति घाउ देखिन्न ? किन उनको एउटा बायाँ आँखा छैन ?. किन उनको लाश ३२ कि. मि. तल गुंजनगरमा एउटा भंगालोमा भेटियो ? किन उनको लाश त्यति बिघ्न कालो भयो ? उनको पेटी लगाएको पाइन्ट कसरी गायब भयो ?

 ९. सरकारले राष्ट्रिय महत्वको घटनाको खोज र अनुसन्धान कार्यलाई गंभीरतापूर्वक लिएको देखिएन । सरकारले दुर्घटना क्षेत्र र गाडीलाई कन्ट्रोल गरेर सबूदहरु सुरक्षित पारेको पाइएन । यस घटनामा चालक लामालाई अन्य अभियुक्तलाई जस्तो अपराध अनुसन्धानबिद् लगाएर आधुनिक बैज्ञानिक प्रबिधि लगाएर वास्तविकताको खोजी गरेको देखिएन। बीर अस्पतालमा | चालक लामाले माथि नै हाम्फालेको भनेर साविति बयान दिनासाथ उनीमाथि भइरहेको पार्टी र सरकारको संयुक्त निगरानी व्यवस्था सरकारले एकतर्फी रुपमा खतम पारेको देखियो र चालक लामालाई सरकारको निगरानीमा मात्र राखियो । लामालाई अनावश्यक रुपमा अस्पतालमा राखियो र जथाभावी मानिसलाई भेट्न दिईयो । यस्तो सरकारले किन गयो ?

तस्विर: पत्रकार तीर्थ कोइरालाको फेसबुक