मार्क्सवाद र द्वन्द्वात्मक भौतिकवाद

मानव समाजको विकास र मार्क्सवाद–११

हामीले अघिल्ला लेखहरुमा पनि द्वन्द्वात्मक भौतिकवादबारे केही छलफल गर्‍यौं र त्यसलाई मार्क्सवादको विश्वसम्बन्धी दर्शन भनेर अर्थ्यायौं । अब मानव–समाजको विकासका नियम र द्वन्द्वात्मक भौतिकवादको सारतत्त्वको अध्ययन गरौं । द्वन्द्वात्मक भौतिकवाद त्यस्तो विश्वसम्बन्धी दृष्टिकोण हो, जुन मार्क्सले पत्ता लगाएको आधारभूत सत्य हो ।

मार्क्सवाद भन्नेबित्तिकै मानिसहरू त्यसलाई मार्क्सद्वारा प्रतिपादित दर्शन ठान्दछन् । यतिकै मात्र हो भने त मार्क्सवाद पनि अरु विभिन्न दर्शनझैं एउटा दर्शन हो र दर्शनशास्त्रका पण्डितहरूले रुचि लिएर पढ्नुपर्ने एउटा दर्शन मात्रै भयो । तर वास्तविक कुरा त्यो होइन । आज विश्वका शोषित–पीडित आम जनता मात्र होइनन्, मानव सभ्यता नै गम्भीर सङ्कटमा परेको छ । र गौतम बुद्धले भनेझैं जुनसुकै घटना र प्रक्रियाको पनि कारण हुन्छ, सङ्कट र विकृतिको पनि कारण हुन्छ । विश्वसामु रहेको यो सङ्कटलाई हटाउन वा रोक्न त्यसको कारणबारे सही ढङ्गले स्पष्टसित बुझ्नुपर्दछ । खास गरी विश्व मानव–समाजमा आज व्याप्त शोषण–उत्पीडनको मूल कारण जान्नु शोषित–पीडित जनताको ठूलो चासोको विषय हो । यो कारण जान्न मार्क्सवादबाहेक अरु दर्शन सहयोगी हुन सक्दैन । किनभने मार्क्सवाद विज्ञान हो, वैज्ञानिक सोचाइ र दृष्टिकोणले अध्ययन गरेमा मात्र आजको सङ्कटको कारण जान्न सकिन्छ । त्यति मात्र होइन, मार्क्सवाद व्यवहारबाट अलग विचारधारा वा सिद्धान्त पनि होइन । यो त त्यस्तो दर्शन हो, जसले विश्वलाई चिन्ने र व्याख्या गर्ने मात्र होइन, विश्वलाई बदल्ने काम (action) का लागि निर्देशक सिद्धान्त पनि हो ।

विश्व मानव–समाजमा आज व्याप्त शोषण–उत्पीडनको मूल कारण जान्नु शोषित–पीडित जनताको ठूलो चासोको विषय हो । यो कारण जान्न मार्क्सवादबाहेक अरु दर्शन सहयोगी हुन सक्दैन ।

वास्तवमा मार्क्सवाद व्यवहारको कसीमा प्रयोग र अवलोकनबाट सत्य जान्ने विज्ञान हो । त्यसैले यो ‘फलानो एक देशका लागि मात्र सही हुने, अरु ठाउँमा नमिल्ने’ सत्य पनि होइन । पहिले–पहिलेका दर्शन कुनै त अन्धश्रद्धा, अन्धविश्वास र अनुमानमा आधारित थिए, कुनैले अलि प्रगति गरेर स्वतन्त्र चिन्तनमा आधारित गरेका पनि थिए । ती दर्शन चिन्तन, मनन र बोधिज्ञानबाट केही सत्य जानेको र केही कुरामा सत्य नजिक पुगेका पनि थिए । तर, पूर्ण रूपले विज्ञानमा आधारित भएर सत्य पत्ता लगाएको दर्शन भने मार्क्सको द्वन्द्वात्मक भौतिकवाद मात्रै हो । द्वन्द्वात्मक अध्ययन तरिका अँगालिनु नै मार्क्सवादको सार हो । नयाँ समस्या वा नयाँ परिस्थितिबारे राम्ररी जान्न र त्यसबारे केही कदम लिन मार्क्सवादी विश्लेषणको तरिका अँगाल्नु आवश्यक पर्दछ । त्यस कारण आफ्नो मुक्तिको चाहना राख्ने शोषित श्रमिकवर्गले मार्क्सवाद जान्नैपर्दछ ।

तर हामीले बिर्सनै नहुने कुरो के हो भने मार्क्सवाद अरु दर्शनझैं अध्ययन गरेर जाने पुग्ने दर्शन होइन । अरु दर्शनका हकमा त्यसबारे राम्रो ज्ञान भएका मानिसलाई त्यसको पण्डित वा पारंगत विद्वान् भन्दछौं, तर मार्क्सवादी सिद्धान्त र त्यसको आधारभूत दर्शनको राम्रो ज्ञान हुँदैमा कुनै व्यक्तिलाई ‘मार्क्सवादी’ भन्न सकिँदैन । द्वन्द्वात्मक भौतिकवादीहरूले विज्ञानमा आधारित अध्ययन गरेर मात्र पुग्दैन, व्यवहारको कसीमा जाँचेर मात्रै निस्कर्ष निकाल्नुपर्दछ । मार्क्सवाद विश्व र समाजलाई बदल्ने दर्शन भएकाले समाजलाई परिवर्तन गर्ने कार्यमा, उत्पीडित जनताको मुक्ति सङ्घर्षमा सहभागी नभईकन, जनताको क्रान्तिकारी आन्दोलनमा भाग नलिईकन त्यसबाट अलग रही खालि अध्ययन मात्र गर्दैमा मार्क्सवादी बनिँदैन । तसर्थ ‘मार्क्सवादी योद्धा’ नभईकन ‘मार्क्सवादी चिन्तक’ वा ‘मार्क्सवादी विद्वान्’ भन्ने बिल्ला भिर्न मिल्दैन । फेरि मार्क्सवादलाई ‘राजनीतिक वा अर्थशास्त्रीय दृष्टिकोण’ मात्र ठान्नु गलत हुन्छ । यो त विश्व दृष्टिकोण हो । मुख्य कुरा त यो कार्य गर्ने वा ‘एक्सन’ मा जाने पथप्रदर्शक सिद्धान्त हो ।

अरु दर्शनका हकमा त्यसबारे राम्रो ज्ञान भएका मानिसलाई त्यसको पण्डित वा पारंगत विद्वान् भन्दछौं, तर मार्क्सवादी सिद्धान्त र त्यसको आधारभूत दर्शनको राम्रो ज्ञान हुँदैमा कुनै व्यक्तिलाई ‘मार्क्सवादी’ भन्न सकिँदैन ।

विज्ञान हो मार्क्सवाद

मार्क्सवाद विज्ञान हो र मार्क्सवाद तथा विज्ञानका आधारभूत नियम बुझ्न भौतिक जगत् र सामाजिक जीवनको अध्ययन सुरु गर्नुपर्छ । यी दुवै वस्तु: भौतिक जगत् र सामाजिक जीवनको मूलभूत प्रकृति नै यसको निरन्तर बदलिरहने स्वभाव हो । अध्यात्मवाद र आदर्शवादको दलदलमा नफसीकन वस्तुगत दृष्टिले हेर्नेले यो कुरा तुरन्तै थाहा पाउँछ । आजभन्दा छब्बीस सय वर्ष पहिले विज्ञानको राम्ररी विकास भई सकेको थिएन । त्यस बेलै गौतम बुद्धले यो भौतिक जगत् र मानव जीवन निरन्तर बदलिरहने कुरामा जोड दिई ‘क्षणभङ्गुरवाद’को सिद्धान्त प्रचार गर्नुभयो । भौतिक जगत् र मानव जीवनको निरन्तर बदलिरहने स्वभाव वस्तुगत यथार्थ हो, यसलाई कसैले नकार्न सक्दैन । तर यस्तो निरन्तर रूपमा हुने परिवर्तन कुनै आकस्मिक र विनाकारण हुने होइन, यसका निश्चित नियम हुन्छन्, समाज विकासका नियम र सामाजिक जीवनका परिवर्तनका नियमलाई विज्ञानसम्मत तरिकाले अध्ययन गरी जान्ने र त्यही नियमअनुरूप मानव मुक्तिका लागि काम गर्नु मार्क्सवादीहरूको कर्तव्य हो ।

वर्ग–विभाजन रहेसम्म वर्गीय शोषण रहन्छ, वर्गहरूबीच अन्तर्विरोध पनि रहन्छ, जसले गर्दा निरन्तर वर्ग–सङ्घर्ष चलिरहन्छ ।

अर्को कुरा, भौतिक जगतका सबै पदार्थ निरन्तर परिवर्तन भएझैं मानव–समाज पनि बदलिरहन्छ । यही चलायमान प्रवृत्तिको समाज बदलिँदै गई एक चरणमा पुगेपछि परिवर्तनको नियमअनुसार मानव–समाजमा वर्ग–विभाजन देखा परेको हो र यो विभाजनस्वरूप ऐतिहासिक कारणले धेरै पटक परिवर्तन भएको छ । विभिन्न वस्तुगत स्थितिका कारण आजका विविध सामाजिक पद्धतिमा वर्ग विभाजनले विभिन्न रूप लिएको छ । तर पनि वर्ग–विभाजन रहेसम्म वर्गीय शोषण रहन्छ, वर्गहरूबीच अन्तर्विरोध पनि रहन्छ, जसले गर्दा निरन्तर वर्ग–सङ्घर्ष चलिरहन्छ ।

तसर्थ मार्क्स र एङ्गेल्सले ‘कम्युनिस्ट घोषणापत्र’को प्रथम अध्याय ‘पुँजीपति र मजदुर’ नामक अध्यायमा पहिलो वाक्य नै ‘आजसम्मको मानव–समाजको इतिहास वर्ग–सङ्घर्षको इतिहास हो” भनी सुरु गर्नुभयो । वास्तवमा यो वर्ग–सङ्घर्ष उत्पीडित वर्गले आफ्नो मुक्तिका लागि गर्ने सङ्घर्ष हो । अर्को शब्दमा, मानव–समाजको प्रगतिको इतिहास नै मानिसले, व्यक्ति मानिसले होइन, सामाजिक प्राणी मानिसले आफ्नो स्वाधीनताका लागि गरेका सङ्घर्षको इतिहास हो ।

मानिस विशिष्ट प्राणी

अरु प्राणीभन्दा मानिस प्राणीको भिन्न स्वभाव के हो भने ‘मानिस स्वाधीनता चाहन्छ, मानिस बन्धनमा बस्न चाहँदैन ।’ मार्क्सवाद–लेनिनवादका अनुयायी तथा कोरियाली मुक्ति सङ्ग्रामका महान् योद्धा कामरेड किम इल सङले व्याख्या गरेअनुसार ‘सामाजिक प्राणी मानिसले समाजको दासता र प्रकृतिको बन्धनविरुद्ध आफ्नो स्वाधीनताको निम्ति लड्छन् । श्रमिक जनताका विद्रोहबाटै मानव–समाज अगाडि बढ्दै जान्छ । किम इल सङको शब्दमा सामाजिक प्राणी मानिसमा रहेको अपरिहार्य गुण हुन्: स्वाधीनता, चेतना र सिर्जना । पशुभन्दा एकदम फरक मानिसको ‘स्वाधीनताको आकाङ्क्षा’ मानिसको विशिष्ट गुण हो । यही आकाङ्क्षाले गर्दा मानिसले समाजको र प्रकृतिको पनि बन्धन तोड्न खोज्छ ।

मानिस प्रकृतिको बन्धन र नियन्त्रणलाई चुपचाप सहँदैन, त्यसको मुकाबिला गर्दछ । त्यसै गरी समाजको बन्धन र दासताविरुद्ध पनि मानिस लड्छ, आफूसित भएको स्वाधीनताको आकाङ्क्षाकै कारण ।

एउटा सामान्य उदाहरण लिऔं । खेतको बीचमा एकजना मानिसले गोरु जोतिरहेको छ, उसको साथमा छ उसले पालेको एउटा कुकुर पनि । त्यही बेला जोडले पानी पर्‍यो भने गोरुले चुपचाप निहुरेर सहिरहन्छ, उसले प्रकृतिलाई चुनौती दिँदैन । गोरुभन्दा अलि चलाक पशु कुकुर पनि प्रकृतिसित लड्न सक्दैन, तर पानीबाट बच्न ऊ भागेर जान्छ । तर मानिसले तुरन्त छाता खोलेर ओढ्छ र ऊ आफूले बनाएको टहरा, छाप्रो वा घरमा गएर ओत लिन पुग्छ । प्रकृतिको शक्तिसित लड्न नै मानिसले टहरा, छाप्रो आदि बनाउँछ । त्यस्तै बाढीबाट बच्न बाँध बनाउँछ । यसको अर्थ हो, मानिस प्रकृतिको बन्धन र नियन्त्रणलाई चुपचाप सहँदैन, त्यसको मुकाबिला गर्दछ । त्यसै गरी समाजको बन्धन र दासताविरुद्ध पनि मानिस लड्छ, आफूसित भएको स्वाधीनताको आकाङ्क्षाकै कारण ।

यसरी मानिस एक विशिष्ट प्राणी हो । तर प्रश्न उठ्छ, यो विशिष्टता मानिसमा आयो कसरी ? मानिस नै भौतिक पदार्थको उपज वा उत्पादन हो र विकासक्रमको परिणाम पनि । मानिसमा सोच्ने शक्ति हुन्छ । सोच्ने गुण भएको मानिसको मस्तिष्क पनि भौतिक पदार्थ हो । लेनिनको शब्दमा, मानव मस्तिष्क भौतिक पदार्थको सबैभन्दा उच्च उत्पादन हो । तर यान्त्रिक भौतिकवादीहरूले भनेझैं मानव मस्तिष्क र सोच्ने शक्ति नै पदार्थको परिणाम भएपनि उसको चेतना र स्वाधीनताको आकाङ्क्षा पनि भौतिक पदार्थबाट मात्र निस्केको हो भनी हामी मान्न सक्दैनौ ।

आफ्नो चेतनाका कारण मानिसले भौतिक जगत् र मानव–समाजलाई जान्न र बुझ्न सक्दछ । जब स्वाधीनताको आकाङ्क्षाद्वारा मानिसले शारीरिक भौतिक शक्ति र मनको शक्तिलाई संयोजन गर्दछ, तब उसको सिर्जनात्मक शक्ति झन्झन् बढ्दै जान्छ ।

पक्कै पनि मानव मन भौतिक पदार्थको परिणाम हो, तर भौतिक पदार्थको उपजको रूपमा आएको मानिसको दिमाग र सोच्ने शक्ति प्रयोग गरी मानव–समाजभित्रको सम्पर्क र प्रतिक्रियाबाट मानिसको चेतना र स्वाधीनताको आकाङ्क्षा निस्कन्छ । स्वाधीनताको आकाङ्क्षाले मानिसको क्रियाकलापलाई निर्देशित गर्दछ । आफ्नो चेतनाका कारण मानिसले भौतिक जगत् र मानव–समाजलाई जान्न र बुझ्न सक्दछ । जब स्वाधीनताको आकाङ्क्षाद्वारा मानिसले शारीरिक भौतिक शक्ति र मनको शक्तिलाई संयोजन गर्दछ, तब उसको सिर्जनात्मक शक्ति झन्झन् बढ्दै जान्छ । तर मूल कुरा के हो भने मानिसको मनको शक्ति नै भौतिक पदार्थको उपज हो ।

यसरी हामी के भन्न सक्छौं भने मार्क्सले पत्ता लगाएको द्वन्द्वात्मक भौतिकवाद व्यवहार र प्रयोगको तरिकाद्वारा सिद्ध भएको छ । द्वन्द्वात्मक भौतिकवाद विश्वलाई हेर्ने विज्ञानमा आधारित दृष्टिकोण र क्रियाकलापको पथ–प्रदर्शक सिद्धान्त हो । यही द्वन्द्वात्मक भौतिकवादमा आधारित क्रान्तिकारी दर्शन हो मार्क्सवाद । उत्पीडित श्रमिक जनताले आफ्नो मुक्तिका लागि सङ्घर्ष गर्न प्रयोग गर्ने पथ–प्रदर्शक ज्योति नै मार्क्सवाद हो ।

मानिस र प्रकृतिबीच, मानव मस्तिष्क र मानिसको वातावरणबीच, चारैतिरको सेरोफेरो वा भौतिक जगत्, सामाजिक जीवन र प्रकृतिबीचको अन्तर्क्रिया र द्वन्द्वबाट मानिसको चिन्तन–शक्ति बढ्दै गयो ।

अब मूल छलफलको विषय वा मानवको स्वाधीनताको आकाङ्क्षाबारे विचार गरौं । स्वाधीनताका लागि मानिसले गरेको सङ्घर्षको फलस्वरूप निर्माण भएको हो, समाज–विकासको लामो इतिहास । यस इतिहास हेर्दा देख्छौं, आफ्नो स्वाधीनताका लागि र सुखमय जीवनका लागि प्रकृतिविरुद्ध लड्ने क्रममा मानिसले आफ्नो क्षमता बढाउँदै लगेर एक चरणमा पुगेपछि उत्पादन पद्धतिको जन्म दियो । मानिसको चेतना वा चेतनशील क्रियाकलाप प्रकृतिलाई जान्न र प्रकृतिविरुद्ध लड्न प्रयोग हुँदै आएको छ । यसको अर्थ मानिस र प्रकृतिबीच, मानव मस्तिष्क र मानिसको वातावरणबीच, चारैतिरको सेरोफेरो वा भौतिक जगत्, सामाजिक जीवन र प्रकृतिबीचको अन्तर्क्रिया र द्वन्द्वबाट मानिसको चिन्तन–शक्ति बढ्दै गयो । तसर्थ मानिस र मानिसको वातावरणको, बाह्य जगत् र उत्पादन–प्रणालीबीच निरन्तर अन्तर्क्रिया र अन्तर्द्वन्द्व चलिरहने हुनाले ती दुईलाई एक–अर्काबाट अलग सोच्न सकिँदैन । यसको अर्थ वातावरण वा बाह्य जगतबाट अलग रहेर विचारको विकास भएको होइन । यसरी विचार वा सोचाइको विकास भएपछि मानिस र उसको वातावरणबीचका अन्तर्क्रिया र अन्तरविरोधले नयाँ मोड लिए । त्यस बेलादेखि विचार र स्वाधीनताको आकाङ्क्षाका कारण मानिसले भौतिक जगत्लाई प्रभाव पार्न थाल्यो । र, मानिसको चारैतिरको भौतिक वातावरण वा सेरोफेरोले मानव मस्तिष्कको क्षमता, यसको शक्तिसँगै नयाँ विचार बनाउने र परिस्थितिअनुकूल चल्ने शक्ति बढाउन मद्दत गर्‍यो ।

मानिस र मानिसको वातावरणको, बाह्य जगत र उत्पादन–प्रणालीबीच निरन्तर अन्तर्क्रिया र अन्तर्द्वन्द्व चलिरहने हुनाले ती दुईलाई एक–अर्काबाट अलग सोच्न सकिँदैन ।

यसको अर्थ भौतिक पदार्थले सोच्ने शक्ति वा विचारलाई जन्मायो भने विचारले पनि भौतिक परिस्थितिलाई प्रभाव पार्न थाल्यो । यो भौतिक पदार्थ र विचारको यो अन्तर्सम्बन्ध मार्क्सवादी दृष्टिकोण हो । हुन त अध्यात्मवादीहरूको दाबी छ, ब्रम्ह नै सबथोक हो, भौतिक पदार्थको स्वतन्त्र अस्तित्व नै छैन । आदर्शवादीहरूको जिकिर छ, हाम्रो चेतनामात्र सत्य हो र भौतिक संसार र प्रकृति त हाम्रो चेतनामा, विचारमा रहेका हुन्छन् । यस्ता दाबीलाई मार्क्सवादले पूरै झुठ्ठा ठान्दछ । ‘भौतिक पदार्थबाहेक विचार र चेतनाको कुनै स्वतन्त्र अस्तित्व नै छैन’ भन्ने यान्त्रिक भौतिकवादीहरूको भनाइलाई पनि मार्क्सवादले मान्दैन । विचार र पदार्थबारे मार्क्सको द्वन्द्वात्मक भौतिकवादी दर्शनअनुसार भौतिक पदार्थ मुख्य हो र विचार तथा चेतना त्यसैमा निर्भर रहन्छ, तर त्यसको पनि अस्तित्व छ । भौतिक पदार्थको प्रथम स्थान र चेतनाको दोस्रो स्थान हुन्छ । यसबारे स्वयम् मार्क्सका शब्द उद्धृत गर्नु उपयुक्त हुन्छ ।

मार्क्सले भन्नुभएको छ, ‘मानिसहरूको भौतिक अस्तित्व उनीहरूको चेतनाद्वारा निर्धारित हुने होइन, बरु उनीहरूको चेतना नै मानिसको सामाजिक भौतिक अस्तित्वबाट निर्धारित हुन्छ ।’

उहाँको अर्को भनाइ छ, ‘जनसमूहको हृदयमा जरा गाडेपछि विचार पनि एउटा भौतिक शक्ति बन्दछ ।’

विचार र पदार्थबारे मार्क्सको द्वन्द्वात्मक भौतिकवादी दर्शनअनुसार भौतिक पदार्थ मुख्य हो र विचार तथा चेतना त्यसैमा निर्भर रहन्छ, तर त्यसको पनि अस्तित्व छ । भौतिक पदार्थको प्रथम स्थान र चेतनाको दोस्रो स्थान हुन्छ ।

यसरी भौतिक पदार्थ वा मानिसको भौतिक अस्तित्वबाट विचार निस्कन्छ र त्यही विचार मानव–समाजमा फैलिएर व्यापक जनताको मनमा जरा गाडिएपछि विचार पनि भौतिक परिस्थितिलाई र मानव–समाजलाई प्रभाव पार्न सक्ने महत्त्वपूर्ण शक्ति बन्दछ ।

यसरी पदार्थ र विचार दुवैको अस्तित्व मान्ने, तर भौतिक पदार्थलाई प्राथमिकता दिने हुनाले मार्क्सको दर्शनलाई भौतिकवादी दर्शनको कित्तामा राखिए पनि यान्त्रिक भौतिकवादभन्दा भिन्न प्रकारको भौतिकवाद: द्वन्द्वात्मक भौतिकवाद भनिएको हो ।

द्वन्द्वात्मक भौतिकवादअनुसार ‘पदार्थ नै विचार वा सोचाइको स्रोत हो, तसर्थ यो प्राथमिक हो । विचार अस्तित्वमा आइसकेपछि यसले भूमिका लिन थाल्दछ र यसको स्वाधीन अस्तित्व हुन्छ, तर ‘निरपेक्ष स्वाधीन’ अस्तित्व होइन, सापेक्ष ‘स्वाधीन अस्तित्व’ । भारतका प्रसिद्ध मार्क्सवादी चिन्तक शिवदास घोषको शब्दमा ‘भौतिक परिस्थिति जग हो भने विचार वा सोचाइ त्यस जगमाथि ठडिएको संरचना हो । तर यसको मतलब जग बदल्नेबित्तिकै त्यसमाथि बनेको संरचना स्वतः बदलिन्छ भन्न सकिन्न ।”

घोषको भनाइ सत्य सिद्ध हुने खालको इतिहासको कमी छैन । इतिहासमा देखिन्छ, क्रान्ति भएर जगै भत्किएपछि पनि पुरानो संरचनाको अवशेष रहिरहन्छ र त्यसलाई पूरै निर्मूल गर्न समय लाग्दछ । भौतिक पदार्थले विचार वा मनलाई जन्म दिन्छ, तर विचार अस्तित्वमा आइसकेपछि विचार र भौतिक वातावरणको द्वन्द्वात्मक अन्तर्सम्बन्ध रहेर एकले अर्कोलाई प्रभाव पार्दछ ।