जंगलका सज्जनवृन्द

उहिलेको कुरा हो, जंगलको गजराजले एउटा मानिससंग मित लगायो । एक दिनको कुरा हो, ठूलो आँधिवेहरी आयो । गजराज आफ्नो मितकहाँ गएर भन्यो, "मितज्यु ! के म तपाईको झुप्रोमा आफ्नो सुँड छिराउन सक्छु  ता कि म यसलाई मुसलधारे वर्षाको प्रकोपबाट बचाउन सकौं ।"

गजराजले आफ्नो मितको यो हालत देखेर प्रत्युत्तर दियो, "मितज्यु, मेरो झुपडी साह्रै सानो छ, तैपनि तपाईंको सुँड र म भने अटाउँछौं ।"

तर त्यस पछि के हुनुहार भयो ?

गजराजले आफ्नो सुँड झुपडीमा छिरायो । अनि बिस्तारै आफ्नो टाउको पनि घुसायो । हुँदा हुँदा उसले आफ्नै मितलाई घिसारेर बाहिर दर्के झरीमा हुत्याइदियो ।

गजराजले गरेको कुकृत्य देखेर ऊ मुरमुरियो, चिच्यायो । जंगलका अरु जनावरले उसको त्यो चिच्याहट सुने र के भएछ भनेर हेर्न आए । गजराज र ऊ गल्ल्फत्ती गरिरहेका थिए, यो सब  उनीहरुले सुने । यो  झमेला सुनेर वनको राजा सिंह गर्जिदै आयो र भन्यो, " तिमेरलाई यति पनि चेत छैन कि म जंगलको राजा हुँ ! मेरो अधिराज्यको शान्ति, अमनचैन बिथोल्ने दुस्साहस तिमेरले कसरी गर्यौ ?!  म मेरो मन्त्रीलाई एउटा जाँचबुझ आयोग गठन गरेर त्यसको यथातथ्य मेरो हजुरीमा जाहेर गर्न हुकुम जारी गर्छु ।"

आफ्ना मालिकको आदेश शिरोधार्य गर्दै गजराज अरु मन्त्रीहरुसंग मिलेर जाँचबुझ आयोग गठन गर्न लिट्टी कसेर लाग्यो । आयोगमा नियुक्त पदाधिकारीहरुको  सूची देखेर सम्बन्धित मानिस भने क्षुब्ध भयो र प्रतिवाद गर्दै भन्यो, " यो त पक्षपात भयो, मेरो पट्टीको पनि त कोही त पर्नु पर्यो नि !" तर उसलाई के भनियो भने त्यसो गर्नु असम्भव छ, किनभने जंगली कायदा कानूनको पैरवी गर्न सक्ने उसको पक्षका कोही पनि पढे लेखेका छैनन् ।

आयोग दशी प्रमाण जुटाउनतिर लागिहाल्यो । सर्वप्रथम महामहिम गजराजलाई बयान लिन बोलाइयो । गजराज शानका साथ आएर  बयान दियो, " जंगलका महाशय वृन्द, आफ्ना मितको हितलाई जगेर्ना गर्नु मैले सर्वदा आफ्नो कर्तव्य ठानेको छु । वहाँले मलाई आफ्नो झुपडी आँधिहुरीले न उडाई देओस् र बचाउन सकियोस भनेर निम्त्याउनु भयो ।  खाली ठाउँ देखेर आँधीहुरीले  घर जमाइसकेको थियो । मैले मितकै भलो होस् भनेर  खेर गएको ठाउँमा म बसिदिंदा किफायत हुन्छ भन्ने ठानेर बसिदिएको हुँ ।"

महामहिम गजराजको बयान सिद्धिनासाथै प्रतिवादीलाई बयानको  निम्ति बोलाइयो ।  उसले विवादको विषयलाई लिएर आफ्नो बयान दिन थाल्यो । आयोगका  पदाधिकारीले बिचैमा उसलाई रोकेर  भने, "महासय, यताउता  न बरालिकन गाँठी विषयमा आउनुहोस्  । हामीले जान्न चाहेको कुरा चाहिँ  के मात्रै हो  भने  गजराजले खेर गएको ठाउँ ओगट्नुअघि त्यहाँ अरु कसैले ओगटेको थियो कि थिएन ?" प्रतिवादीले बयान दियो, " त्यो त थिएन, तर ...।"  उसले आफ्नो पूरा भनाइ राख्नै पाएको थिएन, आयोगका पदाधिकारीले उसलाई रोक्दै घोषणा गरे, "हामीले दुवै पक्षका यावत प्रमाण सुनी सक्यौं ।"

महामहिम गजराजले दिएको भुजा ज्युनार गरिसकेपछि आयोगले फैसला सुनायो, "हाम्रो विचारमा यो झगडा तपाईंको (प्रतिवादीको) पछौटे विचारको कारणले उत्पन्न भएको हो । हामीलाई के लागेको छ भने गजराजज्युले तपाईको भलोको निम्ति नै आफ्नो कर्तव्य भरपुर निर्वाह गरेका छन् । खेर गएको ठाउँलाई लाभकारी प्रयोजनमा ल्याएर तपाईंको भलो नै भएको छ भन्ने कुरा प्रष्ट छ । तपाईं आफैले त्यसलाई प्रयोजनमा ल्याउने ल्याकत राख्नु भएको रहेनछ । गजराजज्युले तपाईको झुपडी ओगट्न पाइरहनु हुने छ । तर हामी तपाईंलाई अन्यत्र कहिं आफ्नो हित सुहाउँदो पायक ठाउँ खोजेर झुपडी बनाउनको निम्ति अनुमति दिन्छौं ।"

अब उसको निम्ति कुनै उपाय बाँकी रहेन । प्रतिवाद गर्ने हो भने पनि आयोगका सारा सदस्य आफैंमाथि खनिन बेर छैन ।  यसैले उनीहरुले जे फैसला गरे त्यसलाई शिरोधार्य गर्यो । तर उसले अर्को झुपडी के बनाएको थियो श्रीमान गैंडा  घोसे मुन्टो लगाउदै आएर सिंगले उधिन्दै  त्यसलाई पनि भताभुङ्ग बनाइदियो र उसलाई त्यो ठाउँ तुरुन्त छोड्न उर्दी जारी गर्यो । यहीं प्रकृयालाई श्रीमान महिषासुर, श्रीमान चितुवा र श्रीमान ब्वाँसोले पनि जारी राखे । यसरी सबैले उसैले बनाएको नयाँ नयाँ झुपडीमा घरजाम गरे ।

अब भने उसले सुरक्षाको निम्ति बेग्लै कुनै प्रभावकारी बन्दोबस्त नगरी नहुने भयो । उसको निम्ति जाँचबुझ आयोग कुनै कामको रहेन ।

उसले खुब गम्यो र भन्यो, "यो धर्तिमा त्यस्तो कुनै ठाउँ छैन जहाँ पैताला राख्न नसकियोस् ।" अर्थात अरुलाई केही समय त मूर्ख बनाउन सकिएला तर सधैंभरि भने होइन । एक दिन विहान सबेरै उ बाहिर निस्क्यो र अलिक पर एउटा झन् ठूलो र  राम्रो झुपडी बनायो । आँखा झिमिक्क गर्न पाएकै थिएन, श्रीमान गैंडाले देखेर हतासिदै आयो र भित्र छिर्यो । ल, भित्र त गजधम्म परेर श्रीमान गजराज पो मस्त निद्रामा शयनरत छ । एकै छिनमा श्रीमान चितुवा आएर झ्यालबाट भित्र छिर्यो । श्रीमान सिंहराज, श्रीमान फ्याउरो र श्रीमान महिषासुर त मुल ढोका बाटै भित्र छिरे । ब्वाँसो भने झुपडीको बगलमा बसेर लेघ्रो तान्न थाल्यो । श्रीमान गोही भने छतमा लम्पसार परेर सुत्यो । अब भने ती सब  आ-आफ्नो अंशलाई लिएर गलफत्ती  गर्न थाले । जब तिनीहरु ठेलमठेल गरेर कुडुल्को लागे, उसले झुपडीमा आगो लगाएयो र त्यसलाई भष्म बनायो ।

"शान्ति बिनासित्ति  पाइदैन, त्यो महँगो हुन्छ तर त्यसमा खर्च गर्नु जायजै हुन्छ ।" भन्दै ऊ घर फर्कियो ।

अनुवादकको टिप्पणी :

जोमो केन्याटा (१८९७ - १९७८) । स्वतन्त्रता सेनानी, केन्याका पुर्व प्रधानमन्त्री ( १९६३- १९६४),  पुर्व राष्ट्रपति (१९६४-१९७८) ।

प्रस्तुत कथा उपनिवेशवादको घुसपैठ, उपनिवेशको साधन र श्रोतको बलात हडप र शोषण, तिनको रजगज र अन्तत: त्यस विरुद्धको राम कहानी हो । आफूलाई सुसभ्य भन्ने उपनिवेशवादीहरुको न्यायधर्मिता भनेको जंगली राज हो र कथा त्यसको बडो सजीव भण्डाफोर हो !  कथामा केन्याटाको सन्देश हो, अन्यायलाई सहनु होइन, त्यसको विरुद्धमा विद्रोह गर्नु पर्दछ, त्यो पनि जुक्तिका साथ; अनि मात्रै स्वतन्त्रता र मुक्ति मिल्छ ।

औपनिवेशिक शासनको अन्त्यसंगै कथाको सान्दर्भिकता सिद्धिएको छैन, त्यस पछिको 'राजनीति'ले पनि औपनिवेशिक शासकहरुकै बिंडो थाम्यो र त्यसैले गर्दा "स्वतन्त्रता र मुक्ति"को ध्येय साच्नेहरुले अझै मूल्य चुकाउनु परिरहेको छ ।

क्या जोडदार कथा !