पुल निर्माता
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Khalil%2520gibran%2520Bridge_vu6BMPpFbN_jzkchhxz7bdcecoex1qmqvoxc3897rqlvqevleztouihzzcl12xnmmrljujf_QQISQo7B3a_frtmvfa1nzhvfwb6vhz73a8yn1bo2u6ghpsj9ep56pauomoslnea0kduivxj.jpg)
(सन् १८८३ मा सिरियामा जन्मेका र १९३१ मा देहान्त भएका लेखक खलिल जिब्रान छोटा रचनामा जीवनको मसिनो र गहिरो चित्रण गर्न साह्रै सिपालु र नामी व्यंग्यकार हुन् । उनले आफ्ना रचनामा जताततै सामाजिक अन्याय विरूद्ध आवाज दिएका छन् । सामाजिक अन्धविश्वास, कुरीति, शोषण र धार्मिक पाखण्डविरूद्ध उनका रचनाहरू छुरासमान धारिला छन् ।
कुरूप जीवनलाई सुन्दरतातर्फ डोर्याउन मानिसहरूको ध्यान खिच्नु उनको साहित्य सिर्जनाको मूल उद्देश्य हो ।
एक पटक उनले भनेथे "म मरे पनि मानिसहरूका कानमा बाँचिरहने छ।" नभन्दै मृत्युपछि पनि आफ्ना रचनाहरूमा उनी बाँचिरहेका छन् । तिनै खलिल जिब्रानको आवाज हाम्रा पाठकहरूका कानसम्म पुऱ्याउन हामीले उनको एउटा छोटो कथा यहाँ प्रस्तुत गरेका छौं । "गर्ने भन्ने हनुमान, पगरी गुथ्ने ढेडू” भन्ने नेपाली उखानलाई यस कथाले झल्झली सम्झाउँछ।
- अनुवादक ।)
एण्टीओक भन्ने शहरको बीचबाट आसी भन्ने नदी समुद्रतिर बग्दछ । नदीवारिको आधा भागलाई नदीपारिको आधासित जोड्न एउटा पुल बनाइएको थियो । एण्टीओकका खच्चर का पिठ्यूँमा बडा बडा ढुङ्गा लादेर ओसार्दै सो पुल बनाइएको थियो ।
पुल बनाएर ठीकठाक भइसकेपछि एउटा खम्बामा ग्रीक तथा आर्मिनियाँका भाषाका अक्षरहरूमा यसो लेखियो, “यो पुल सम्राट एण्टीओक्स (द्वतीय) ले बनाइबक्सिएको हो ।”
सबै मानिस त्यो सुन्दर पुल भएर मनोहर आसी नदी पार गर्ने गर्थे ।
एक दिन यी माथि भनिएका वचन लेखिएको पुलमा आएर एउटा युवक अडियो ।
कोही कोही मानिस त्यस युवकलाई अर्ध- सिल्ली ठान्दथे । सो युवकले खम्बाका अक्षरहरूमाथि अंगारको कालो पोतेर त्यसमाथि यस्तो व्यहोरा लेखिदियो, “यो पुल बनाउँदा माथि पहाडतिरबाट खच्चरलाई बोकाएर ढुङ्गा ल्याइएका थिए । यो पुलमाथिबाट वारपार गर्दा तिमी मानिसहरू खच्चरहरूको पिठ्यूँमा चढ्ने गरेका छौ । वास्तवमा यस पुलका निर्माता तिनै खच्चरहरू हुन् । "
युवकले लेखेका कुरा पढेर कोही-कोही मानिस हाँस्न थाले, कोही-कोही मानिस चकित पनि भए र कोही-कोही चाहिँ भन्न लागे, “अँ, हामीलाई थाहा छ, यो उही पागल केटाको काम हो। "
तर एउटा खच्चरले हाँस्तै अर्को खच्चरसंग भन्यो, "हैन, यी ढुङ्गा त हामीले नै बोकेका हौं नि, तँलाई यस कुराको सम्झना छैन र ? तर आजसम्म पनि यो पुल सम्राट एण्टीओक्सले नै बनाएको हो भन्ने गरिएको छ ।”
अनुवादक : खगेन्द्र संग्रौला । मूल्याङ्कन मासिक, २०४८ माघ–फागुन अङ्कमा प्रकाशित
प्रतिक्रिया