तुफानी पित्रेल चरीको गीत

समुद्रको निर्मल सतहमाथि
हावाको झोंकामा
थुप्रिँदै छ कालो बादल
बादल र समुद्रको बीच
चक्कर लाउँदै छ तुफानी पित्रेल चरी
छाती फुका'र निर्धक्क भएर
चट्याङ पर्दा देखिने विद्युतरेखा जस्तै ।
कहिले अन्धकार छिचोल्दै
यति तल डुबुल्की मार्छ
उसका पखेटा जल तरंग छुन पुग्छन्
कहिले तीर जस्तो भएर बादलको छाती छेड्छ
र रणघोष गर्दै उड्छ माथि माथि ।
बादल उसको साहसी हुङ्कारमा
देख्छ स्वयं तुफानको झलक
उसको चित्कारमा प्रतिध्वनित हुन्छ
तुफानसंग पौठेजोरी खेल्ने हाँक ।
त्यसमा ध्वनित हुन्छ
उसको आवेग, प्रचण्ड क्षोभ
अनि विजयमा उसको अडिग विश्वास ।
सि–गलहरु भयमा बिलखबन्द छन् तुफानले
चित्कार्छन् पानीको सतहमा
हुइँकिन्छन् उछिनपाछिन गर्दै तीर जस्तै
अनि डुबुल्की मार्छन् सुरक्षित हुन
भित्र कतै समुद्रको गहराइमा ।
बिलखबन्दमा छन् पानी हाँसहरु
संघर्षको संज्ञाहीन चरम आनन्द
तिनलाई के थाहा ?
सातो जान्छ
तिनको
फगत मुड्कामुड्कीको आवाज सुने मात्र पनि ।
बुद्धू पेंगुइनहरु
लाजले भुतुक्क हुँदै चट्टानका काँपतिर
आफ्नो धम्मरधुस्स शरीर लिएर लुक्छन् लुसुक्क
जब कि एक्लो तुफानी पित्रेल चरी
उगेल्दै गरेको फिंज संगै सामुद्रिक लहरमा
शयर गर्छ निर्भिक निस्फिक्री भएर ।
अझ कालोनिलो हुँदै बादल झर्दैछ तल तल
समुद्रको छाती माथि
लहरहरु सुरिलो भाका हाल्दै छन्
र उछिनापाछिन गर्दै छन् मानौं चट्यांग चुम्छु भनेर
चट्यांग गर्जिन्छ
चित्कार्छन् फिंज उगेल्दै ज्वारभाटाहरु
लाप्पा खेल्छन् हावाका झोंकाहरु
तुफानी बादल
जम्मा हुँदै छ समुद्र सतहमा घेरिदै
चट्यांग गर्जिन्छ, बिजुली चम्किन्छ
अब समुद्रका ज्वारभाटा
हावाका झोंका भन्दा के कम ?!
उता हावाको झोंका आफ्नै सनकमा
धृतराष्ट्रको आलिङ्गनमा अठ्याएर
पानीको मुस्लोलाई
पर कतै चट्टानमा बजारी दिन्छ
पाहा पछारे झैं
बिचरा हुन्छन् छताछुल्ल ।
तुफानी पित्रेल चरी रणघोष गर्दै उडान भर्दै छ
बिजुली चम्किदा रश्मि चिरेझैं गरेर
तिरले जस्तो तुफानी बादल चिरेर
तेजिलो धारले पानी काटे झैं गरेर ।
उ दैत्यले जस्तो
क्रुद्ध इन्द्रलाई ललकार्दै
कहिले अट्टाहास हाँसो हाँस्छ,
कहिले धुरु धुरु रुन्छ
जव बादल माथि बुर्कुसी मार्छ
तब गलल हास्न पुग्छ
अनि खुशीले ओतप्रोत भएर आँसु झार्छ ।
चट्यांगको क्रोधाग्निमा चतुर दैत्य
उसको मर्मस्थलको भेउ पाउँछ
उ ढुक्क छ,
बादलको के सामर्थ्य घाम लुकाउने ?!
बित्थाको ताउरमाउर !
हावाको तेजतर्राट सुनिन्छ ...चट्यांग गर्जिन्छ , बिजुली चम्किन्छ ...
सपाट, विस्तृत समुद्र माथि
तुफानी बादलबाट झरेका
बिजुलीका धर्साहरु
समुद्र
समातेर चिसो पानीमा चोबल्छ ।
तिनका नागबेली प्रतिविम्वहरु
थुर थुर काम्दै र झ्याप झ्याप निभ्दै
भित्र समुद्र गर्भमा लिन हुन्छन् ।
तुफान ! निमेष भरमा तुफान जाई लाग्नेछ
फेरि पनि तुफानी पित्रेल चरी छाती तन्काउँदै
चट्याङ्गको बीचोबीच हुँदै
रणघोष गर्दै, हुङ्कार्दै उडान भर्दैछ ।
र उसको रणघोषमा
चरम आनन्दको प्रतिध्वनि छ -
विजयको भविष्यवाणी जस्तै -
'आऊ तुफान, कम्मर कसेर आऊ !'
अनुवादकको टिप्पणी :
श्रमजीवी जनताको अदम्य साहस, अठोट र संघर्षशील क्षमताप्रति गोर्कीमाअगाध विश्वास थियो । सन् १९०१ मा रुसको पिटर्सवर्गमा भएको विराट विद्यार्थी प्रदर्शनलाई निर्ममतापूर्वक दमन गरियो । सन् १९०५ को पहिलो रुसी क्रान्तिमा रुसी श्रमजीवी वर्गले प्रदर्शन गरेको साहस र शक्तिको पनि गोर्की आफैँ साक्षी थिए । गोर्कीको यो विख्यात् कविता, तिनैको पृष्ठभूमिमा, तिनै विद्यार्थी तथा श्रमजीवी वर्गको सम्झना र कदरस्वरुप लेखिएको हो । यो कविता पछि गएर अक्टोवर क्रान्तिसम्मको रुसी श्रमजीवी आन्दोलनको रणघोष बन्न पुग्यो । कवितामा क्रान्तिको रंगपटमा देखिने शक्तिका प्रतिकात्मक रुप बडो कुशलताका साथ प्रस्तुत गरिएका छन् । उनले मजदुर वर्गको शौर्य र साहसलाई चित्रित गर्न तुफानी पित्रेल चरी, समाजका कायर, ढोंगी र आत्मकेन्द्रित मध्यम वर्गलाई सि–गल, पानी हाँस र पेङ्गुइनको रुपमा प्रस्तुत गरेका छन् । मानव समाजको मुक्ति र मानवीय मूल्यको प्रतिस्थापनाको निम्ति क्रान्ति अपरिहार्य छ र त्यसलाई सामना गर्ने क्षमता श्रमजीवि वर्गमै मात्र छ - गोर्कीमा ठूलो विश्वास थियो । कति मीठो छ उनको क्रान्तिको आह्वान - 'आऊ तुफान, कम्मर कसेर आऊ !'
प्रतिक्रिया