किन हामीलाई बाडुली लाग्छ ?
के हाम्रा पुर्खाका पुर्खाहरु पनि पानीबाटै विकास भएका हुन् त ?

Title Picture: https://res.cloudinary.com
सम्भवतः तपाईंले हतार गरेर खानेकुरा खानुभयो । वा तपाईंले कार्बोनेट गरिएको खानेकुरा खानुभयो, जसले तपाईंको पेटमा बढी फिँज पैदा गरायो । कारण जेसुकै होस्, तपाईंलाई सास फेर्दा अचानक हिक्क हिक्क हुनु थाल्यो । यसको अर्थ हो– तपाईंलाई बाडुली लाग्यो ।
सामान्यतः छिटो छिटो खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरु लिँदा, धेरै पिरो वा मसालादार खानेकुराहरु खाँदा, धेरै नै अट्टहासका साथ हाँस्दा वा जोरजोरले खोक्दा, अल्कोहल भएको खानेकुरा बेसी पिउँदा पनि बाडुली लाग्ने गर्छ ।
हाम्रो छाती र पेटलाई छुट्याउने भागमा एउटा पातलो मासुको झिल्ली हुन्छ । हामीले सास लिँदा त्यो फैलिन्छ र सास फेरेपछि पहिलेकै अवस्थामा खुम्चन्छ । यसक्रममा त्यस झिल्लीले हाम्रो फोक्सोलाई फैलन र खुम्चिन मद्दत गर्छ । त्यस झिल्लीलाई डायफ्रम भनिन्छ । हो त्यही डायफ्रममा कुनै कारणले उत्तेजना भयो भने त्यो हाम्रो चाहना वा नियन्त्रणवेगर नै पनि अचानक खुम्चिन मात्रै पुग्छ र त्यस्तो अवस्थामा हाम्रो स्वरयन्त्रबीचको भाग (glottis) बन्द हुन पुग्छ । बाडुली लाग्नु भनेको हाम्रो फोक्सो र वरिपरिका मांसपेशीहरुमा अचानक आउने खुम्चाइ हो, जसले गर्दा हामी सास भित्र लिन पुग्छौं । खासमा हाम्रो मांसपेशी खुम्चिएपछि Gottis ले हाम्रो सासनलीलाई बन्द गरिदिँदा हिक हिक (Hic) आवाज आउँछ । यो अवस्थालाई नेपाली भाषामा बाडुली लागेको भनिन्छ ।
बाडुली लाग्नुको खास कारण के हो भनेर अझै वैज्ञानिकहरुले किटेर भन्न सकेका छैनन् । तर बाडुली लाग्ने स्थिति चाहिँ हाम्रो मेरुदण्डमा रहेको फ्रेनिक स्नायु (phrenic nerve) मा पैदा हुने दवाबले पैदा हुन्छ । उक्त स्नायुले हाम्रो डायफ्रमको गति र स्वासप्रश्वासको क्रियालाई पैदा र नियन्त्रण गरिरहेको हुन्छ ।
सामान्यत: बाडुली लाग्नुका केही कारणहरु निम्नानुसार ठानिन्छ:
बढी खानु–पिउनुः हामीले सामान्यभन्दा बढी खाँदा हाम्रो डायफ्रम र त्यसलाई नियन्त्रण गर्ने फ्रेनिक स्नायु उत्तेजित हुन पुग्छ । फलतः हामीलाई बाडुली लाग्छ ।
तापक्रममा आएको आकस्मिक परिवर्तनः हामीले अति चिसो वा अति तातो खानेकुरा खाँदा पनि हामीलई बाडुली लाग्न सक्छ । त्यसैगरी, मसालेदार, पीरो खाँदा पनि हामीलाई बाडुली लाग्न सक्छ ।
हावा निलिँदाः हामीले खानेकुरा खाँदा ,च्यूगम चपाउँदा, धूमपान गर्दा वा सोडा बढी भएका पेय पदार्थहरु खाँदा त्योसँगै अत्यधिक मात्रामा हावा पनि पैदा हुन वा निलिन सक्छ । त्यस्तो अवस्थामा हाम्रो डायफ्रम उत्तेजित हुन पुग्छ र हामीलाई बाडुली लाग्छ ।
आकस्मिक भावनात्मक परिवर्तनः कुनै पनि घटना, खुसी, तनाव र डरले पनि हामीलाई बाडुली लाग्न सक्छ ।
ग्यास्ट्रोइसोफेगल रिफ्लक्स डिजिज (Gastroesophageal reflux disease (GERD)): यो समस्या हुँदा हाम्रो फ्रेनिक स्नायुमा तनाव पैदा हुन्छ । फलतः हामीलाई बाडुली लाग्छ ।
केन्द्रीय स्नायु प्रणालीमा गडबडीः मस्तिष्कको क्यान्सर, हृदयघात तथा अन्य स्नायु प्रणालीसम्बन्धी समस्याहरु हुँदा पनि बाडुली लाग्ने समस्या देखापर्न सक्छ ।
औषधीहरुको प्रभावः केही औषधीहरुको दुस्प्रभावले पनि हामीलाई बाडुली लाग्न सक्छ । विशेष गरेर केही स्टेरोइडहरु, बेहोसीका दवाइहरुले यस्तो प्रभाव पार्न सक्छ ।
बाडुली जीव उद्भवको निशानी?
त्यसो त प्राचीन कालमा सबै प्राणी र मानिससमेत पानीबाट विकसित भएर जमीनमा आएको र त्यसबेला गिलले स्वास फेर्नुपर्ने प्राकृतिक नियमको अवशेषको रुपमा बाडुली रहेको पनि एकाथरि वैज्ञानिक मत छ छन् । यस मतलाई समर्थन गर्नेहरुका अनुसार बाडुली लाग्नुको रहस्य हाम्रो जीव विकासक्रमको कुरासँग जोडिएको छ र यसले के संकेत गर्छ भने मानिसको प्राचीन पुर्खा पनि कुनै बेला समुद्रबाटै उत्पत्ति भएको जीवबाट विकास भएको हो । त्यसैले उनीहरुको विश्वास अनुसार बाडुली भनेको तिनै समुद्रमा बस्ने जीवको अवशेष हो, जुन बेला उनीहरु फोक्सोको माध्यमबाट हैन, फुल्का (Gills) को माध्यमबाट सास फेर्ने गर्थे । यस मतावलम्बीहरुको तर्कमा बाडुलीकै जस्तो प्रक्रियाले पानीमा बस्ने र फुल्काको मद्दतले सास फेर्ने जीवहरुको फुल्काको प्वाललाई खोल्ने र बन्द गर्ने क्रियालाई नियन्त्रण गरिरहेको हुन्छ । उदाहरणको लागि भ्यागुताहरुमा फुल्काको प्वाललाई खोल्ने र बन्द गर्ने प्रक्रिया हाम्रो बाडुलीको प्रक्रियासँग मिल्दोजुल्दो छ । त्यसले के संकेत गर्छ भने अहिलेका मानवलगायत अहिलेका स्तनपायी जीवहरु समुद्रबाटै विकसित भएर आएका जीवका उन्नत रुप हुन् र त्यसबेला फुल्काजस्तो अंगबाट सास फेर्ने प्रक्रियाको अवशेष अझै बाडुलीको रुपमा बाँकी छ ।
पानीमा बस्ने जीव जमीनमा आएर फोक्सोले सास फेर्न थालेपछि पनि फुल्काको जस्तो सास तानिने बाडुली ३७० मिलियन वर्षपछाडिसम्म कायम रहनुको पछाडि एउटा खास कारण हुनुपर्छ । त्यो कारण के भने, पानीबाट उत्पत्ति भएपनि जमीनमा आएर स्तनपायी जीवको रुपमा विकसित भएपछि दूध खानको लागि त्यो तरिका बाँकी रहेको हुन सक्छ । किनभने, बाडुली लाग्दा जसरी हाम्रो स्वरयन्त्रको ढकनीले सास नलीलाई छोपिदिन्छ, ठीक त्यही प्रक्रिया दूध वा तरल पदार्थ खाँदा त्यो फोक्सोमा नपसोस् भनेर दोहोरिन्छ । त्यसैले वैज्ञानिकहरु के विश्वास गर्छ भने, स्तनपायी जनावरले दूध चुस्ने प्रक्रिया र बाडुली लाग्ने प्रक्रियालाई नियन्त्रण गर्ने हाम्रो मस्तिष्कको भाग एकै ठाउँमा छ वा ती बीच कुनै अन्तरसम्बन्ध रहेको हुन सक्छ । बाडुलीको रहस्यलाई उद्घाटित गर्नको लागि यस कुरामा गहन अध्ययनको खाँचो छ ।
गर्भमा रहेका भ्रूणलाई समेत बाडुली लाग्ने गरेको कुरा अल्ट्रासाउण्डमा देखिएको छ । यस आधारमा केही वैज्ञानिकहरु बाडुलीलाई गर्भमा रहेको बच्चाको श्वास प्रश्वास प्रणालीको मांसपेशीहरुको कसरतको रुपमा लिने गर्छन् । उनीहरुका अनुसार यसले गर्दा उनीहरुको श्वासप्रश्वास प्रणाली सास फेर्नका लागि जन्मेपछिको अवस्थामा सक्षम हुन पुग्छ । त्यसका साथै, बाडुलीलाई बच्चा जन्मनुभन्दा पहिले गर्भमा रहँदा त्यहाँ रहेको एम्नियोटिक तरल पदार्थलाई फोक्सोमा पस्न नदिन प्रकृतिले गरेको व्यवस्थाको रुपमा पनि मान्ने गर्छन् । तर यो कुरालाई सबै वैज्ञानिकहरुले शतप्रतिशत सही हो भनी स्वीकार्न सकेका छैनन् । उनीहरुका अनुसार, यदि बाडुलीले गर्भको तरल पदार्थलाई गर्भमा रहको बच्चाको मुखभित्र छिर्न नदिने हो भने बाडुलीको सट्टा खोकी जस्तो सास बाहिर फ्याक्ने प्रक्रिया त्यहाँ हुनु पर्थ्यो, बाडुली जस्तो सास भित्र तान्ने हैन । त्यसैले यो कुरामाथि थप गम्भीर र गहन् वैज्ञानिक अनुसन्धानहरु हुन बाँकी नै छ ।
बाडुलीले हाम्रो जीवनमा कुनै कारण र महत्व राख्दैन । यो लाग्दैमा शरीरलाई खासै फाइदा पनि हुँदैन । र, सामान्यतः अप्ठ्यारो हुनुको अलावा अरु कुनै नोक्सान पनि गर्दैन । यही कारणले गर्दा किन बाडुली लाग्छ भन्ने कुराले वैज्ञानिकहरुलाई रनभुल्लमा पारेको छ ।
बाडुली सामान्यतः केही मिनेट रहन्छ र पछि आफैं ठीक पनि हुन्छ । तर कहिले काहीँ निक्कै बेरसम्म पनि लागिरहन सक्छ । केही गरेर हामीलाई २४ घण्टाभन्दा बढी समयसम्म बाडुली लागिरह्यो भने त्यसो हुनुमा माथि उल्लिखितभन्दा अरु नै केही गम्भीर कारणहरु हुन सक्छन् र हामीले तुरुन्तै चिकित्सकको मद्दत लिइहाल्नुपर्छ ।
६८ वर्षसम्म बाडुली लागेको मान्छे
चार्ल्स ओस्बोर्न जसलाई ४३ करोडभन्दा बढी पटक बाडुली लाग्यो !
Photo: https://journal.medizzy.com
संसारमा सबैभन्दा लामो समयसम्म बाडुली लागेका व्यक्तिका रुपमा चार्ल्स ओस्बोर्नको नाम लिइन्छ । अमेरिकाको एन्थोन, लोआमा सन् १८९४ मा जन्मेर १९९१ मा मरेको उनलाई सन् १९२२ देखि १९९० सम्म लगातार ६८ वर्ष बाडुली लाग्ने गरेको थियो । उनलाई बाडुली लाग्न शुरु भएको वर्ष १९२२ देखि केही वर्षसम्म उनलाई प्रतिमिनेट ४० पटकसम्म बाडुली लाग्ने गर्थ्यो भने पछि त्यो घटेर प्रतिमिनेट २० पटक भएको थियो । अचम्म लाग्दो कुरा त के छ भने, उनको मृत्यु हुनु एक वर्ष अगाडि फेब्रुअरी १९९० का दिनदेखि उनको बाडुली चट्टै रोकिएको थियो ।
ओस्बोर्नले एउटा सुँगुरलाई मार्नुपूर्व त्यसको तौल कति छ भनी उचालेर अन्दाज गर्न खोजेका थिए । त्यसैबेलादेखि उनलाई बाडुली लाग्नु शुरु भएको थियो ।
रमाइलो कुरा त के छ भने, चिकित्सक तथा वैज्ञानिकहरुले पनि उनलाई त्यति लामोसमयसम्म बाडुली लाग्नुको कारण पत्ता लगाउन सकेनन् । बाडुलीले पीडित भए पनि उनले आफ्नो सामान्य जीवनमा कुनै बाधा पर्न दिएनन् । उनी जति बाँचे, एउटा स्वस्थ मानिसले जस्तै सामान्य जीवन बाँचे र दुई पटक विवाह समेत गरी ८ जना सन्तानका पितासमेत बने । जीवनको पछिल्लो चरणमा उनलाई बाडुलीले पारेको एउटै अप्ठ्यारो चाहिँ त्यसैको कारण आफ्नो नक्कली दाँत खस्ला कि भन्ने डर मात्रै थियो । उनको यो अनौठो रोगको कारण उनी अमेरिकामा सेलिब्रेटी नै बने । विभिन्न टिभी च्यानलहरुले उनलाई विभिन्न टिभी सोहरुमा समेत प्रस्तुत गरे । गिनिस बुक जस्तो विश्वप्रसिद्ध किताबमा पनि उनको नाम संसारको सबैभन्दा धेरै र लामो समयसम्म बाडुली लाग्ने मानिसको रुपमा लेखियो ।
सामान्यतः केही मिनेटसम्म बाडुली लाग्दा नै पूरा हावा कावा खाने हामी के अनुमान गर्न सक्छौं – विचरा ओस्बोर्नले कति सास्ती झेले होलान् र उनले जिन्दगीभरिमा कति बाडुली गरे होलान् ? वैज्ञानिकहरुले ६८ वर्षमा उनले बाडुली गरेको संख्या गणना गर्दा औसत रुपमा ४३ करोड पटक हुने अनुमानित तथ्यांक निकालेका छन् ।

किन महिलाहरू पुरुषहरूभन्दा बढी बाँच्छन्?

चुइङ्ग गम खाने बानी छ ? सावधान !

किन फर्कन्छ हाम्रो शरीरको मासु ?

यस कारण मैदा स्वास्थ्यको लागि हानिकारक छ !

खासै नाम नचलेको चिनियाँ कम्पनीले बनाएको औषधीले संसारकै सबैभन्दा बढी बिक्री …

चर्को नून खाने बानी छ ? होशियार पेटको क्यान्सर हुन सक्छ !
_OUHV2MBstV_encj4kvdphvxu7dtnnfd5cyjwlwayfg9u2nwj3rtq6jjk1lxo2xbd8vsifg1_ketspwtWMU_d7h2kj3r84nk7h2v5noi07qejakue0wfho7pecvie1sugmq523htts4wm8wv.jpg)
सिमसार दिवस र इलामको माइपोखरी

प्रतिक्रिया