किन सबै बादलले पानी पार्दैन ?

के तपाईंहरु कहिले अग्लो डाँडामा गएर बस्नु भएको छ, जहाँ बादलले तपाईलाई छुँदै उडिरहन्छ ? या कहिले हवाइजहाजमा चढेर बाँदलको बीचबाट यात्रा गर्नुभएको छ ? गर्नुभएको छ भने अवश्य पनि तपार्इंले बादल अरु केही नभएर मात्र पानीका बाफहरुको समूह हो भनेर थाहा पाइसक्नु भएको छ होला ।

हावामा जहिले पनि केही मात्रामा पानीको बाफ हुने गर्छ । गर्मी महिनामा पृथ्वीको तापक्रम धेरै हुने गर्छ । तापक्रम धेरै भएकोले सूर्यको प्रकाशका कारण खोला, नदी आदिबाट पनि धेरै मात्रामा पानी सुकेर बाफमा परिर्वतन हुन्छ । रुखले जमीनबाट सोसेको पानी पनि पातबाट बाफकै रुपमा हावामा मिसिन्छ । त्यही भएर गर्मीमा ती बाफहरुको मात्रा हावामा अझ धेरै हुने गर्छ । त्यहाँ यति धेरै मात्रामा बाफ हुने गर्छ कि तापक्रम अलिकति मात्र कम भयो भने पनि ती बाफहरु चिसिने गर्छन् र पानीका स–साना थोपाहरुमा परिवर्तन हुने गर्छन् । हावा पूर्ण रुपमा पानीले भिज्ने गर्छ । यस्तो अवस्थालाई हावाको आद्रताको अवस्था भनिन्छ ।

जब ती आद्रताको अवस्थामा रहेको तातो हावा अझ उँचाइमा जान्छन्, तब ती स–साना पानीका थोपाहरु फेरि जोडिएर ठूला थोपा बन्ने गर्छन् । यसरी नै बादल बन्ने गर्छ । यतिबेला बाफहरु चिसो भएर गन्नै नसक्ने गरी पानीका थोपाहरु बनिसकेका हुन्छन् । यदि ती चिसिएको बादलले तातो हावा भेट्यो भने के हुन्छ त ? त्यसो भयो भने चिसो भएका ती पानीका थोपाहरु फेरि तातेर बाफ बन्छन् । बनिसकेको बादल फेरि हराउने गर्छ । यही कारणले नै गर्दा बादलको स्वरुप पनि परिवर्तन भइरहेको हुन्छ । विभिन्न तापक्रमका कारणले गर्दा बाफ पानीमा र पानी वाफमा परिवर्तन भइरहेको हुन्छ । यो प्रक्रिया निरन्तर रुपमा चलिरहेको हुन्छ ।

बादलमा पानीको थोपा रहेको अवस्थामा तिनीहरुको वजन पनि धेरै हुने गर्छ । तिनीहरुलाई पृथ्वीको गुरुत्वाकर्षणले पनि तानिरहेको हुन्छ । जब तिनीहरु तानिँदै पृथ्वीको छेउतिर आउँछन्, तिनीहरु फेरि तातो हावासँग मिसिने गर्छन् र तातेर माथि नै पुग्ने गर्छ । त्यसैले सबै बादलले पानी पार्न सक्दैन । पानी बनेर पृथ्वीमा खस्नुभन्दा पहिले नै तिनीहरु बाफमा परिवर्तन हुने गर्छन् ।

तर यदि तल रहेको हावा तातो छैन र चिसो नै छ भने त्यहाँ त्यसको ठीक उल्टो प्रक्रिया हुने गर्छ । ती पानीका थोपाहरु वाफमा परिर्वतन नभएर चिसो हावामा रहेका पानीका अन्य थोपाहरुसँग मिलेर झन ठूला पानीका थोपाहरु बन्ने गर्छन् । यसरी थोपाहरु बन्ने क्रममा चाँडै नै तिनीहरु यति भारी हुन्छन्, पृथ्वीमा झर्न थाल्छन् । यसरी नै पानी पर्ने गर्छ ।

आकाशमा परेको पानीको मात्रा नाप्ने यन्त्रलाई रेनगज (Rain gauge) भनिन्छ । संसारको विभिन्न ठाउँमा भिन्न भिन्न मात्रामा पानी पर्ने गर्छ । कहीँ धेरै पर्छ त कहीँ एकदमै थोरै पर्ने गर्छ । उदाहरणको लागि भारतको चेरापुन्जीमा वर्षमा करिब ११४०० मिलिमिटर पानी पर्छ । उता इजिप्टमा भने वर्षमा करिब ४० मिलिमिटर मात्र पानी पर्छ ।

सबैभन्दा बढी वर्षा इक्वेटोरियल क्षेत्र भनेर चिनिने भूमध्य रेखा वरपरको क्षेत्र, लगभग १० डिग्री उत्तर र दक्षिणको बीचमा, इन्टरट्रोपिकल कन्भर्जेन्स जोन (ITCZ) को कारणले सबैभन्दा धेरै वर्षा हुन्छ। त्यहाँ पैदा हुने कम चापले तातो आर्द्र हावा तान्ने हुनाले बारम्बार र भारी वर्षा हुन्छ। भारतको मावसिनराम र चेरापुन्जी, क्यामरुनको डेबुन्डस्चा र अमेजन वर्षावनका केही भागहरू संसारमा सबैभन्दा बढी पानी पर्ने क्षेत्रहरुङ्गा पर्दछन् । ती क्षेत्रमा  वार्षिक १०,००० मिलिमिटर (४०० इन्च) भन्दा बढी वर्षा हुन्छ।

त्यसै गरी, दक्षिणपूर्वी एशिया, विशेष गरी भारत र म्यानमारमा मनसुनी वर्षा हुन्छ। यी क्षेत्रहरुमा बहने मौसमी हावाहरूले गर्मी महिनाहरूमा तीव्र वर्षा ल्याउँछन्, जसले गर्दा वार्षिक २००० मिमी (८० इन्च) भन्दा बढी वर्षा हुन्छ।

सबैभन्दा कम वर्षा चाहिँ उपोष्णकटिबंधीय मरुभूमिहरुमा हुने गर्छ । त्यसमा अफ्रिकाको सहारा मरुभूमि, दक्षिण अमेरिकाको अटाकामा मरुभूमि र एसियाको गोबी मरुभूमि जस्ता क्षेत्रहरू पर्दछन् । त्यहाँको उच्च चाप प्रणाली र चिसो महासागर धाराहरूका कारण न्यूनतम वर्षा हुन्छ। यी क्षेत्रहरूमा वार्षिक वर्षा ०.१ मिमी (०.००४ इन्च) सम्म मात्रै पानी पर्ने गर्छ ।  

सबैभन्दा कम पानी पर्ने क्षेत्रमा ध्रुवीय क्षेत्रहरू पनि पर्दछ । आर्कटिक र अन्टार्कटिकमा निरन्तर कायम हुने चिसो तापक्रम र सीमित वाष्पीकरणको कारणले धेरै कम वर्षा हुने गर्दछ। यी क्षेत्रहरूमा औसत वार्षिक वर्षा २०० मिमी (८ इन्च) भन्दा कम हुने गर्छ ।

वर्षाको कुरा गर्दा ख्याल गर्ने पर्ने कुरा के हो भने स्थानीय भौगेलिकता, पानीको ठूला स्रोतहरूको निकटता, र प्रचलित हावाको ढाँचा जस्ता कुराहरुले पनि प्रभाव पार्ने गर्छ ।