माउतारालाई सबैभन्दा छिटो परिक्रमा गर्ने ग्रह

हाम्रो सौर्यमण्डलभन्दा बाहिरका ग्रहलाई एक्जोप्लानेट भनिन्छ । अर्थात् त्यस्ता ग्रहले हाम्रो सूर्यलाई हैन, अर्कै तारालाई आफ्नो कक्षमा रहेर परिक्रमा गर्ने गरिन्छ । त्यस्तै एउटा एक्जोप्लानेटको नाम हो– KOI 1843.03 । पृथ्वीबाट ४३५.४ प्रकाशवर्ष टाढा लीरा नक्षत्रमा अवस्थित यस ग्रहले आफ्नो माउ तारा केपलर–९७४ (KOI 1843)  लाई परिक्रमा गर्ने गर्छ ।  यसले आफ्नो माउतारालाई  प्रत्येक घण्टा १५ मिनेटमा एक चक्कर लगाइसक्छ । यस हिसाबले यो अहिलेसम्म फेला परेका  हाम्रा सौर्यमण्डलका ग्रहहरु लगायत अन्य ताराहरुका एक्जेप्लानेटहरुमध्ये सबैभन्दा छिटो आफ्नो माउतारालाई परिक्रमा गर्ने ग्रह मानिन्छ ।

यस ग्रहलाई सन् २०१३ मा नासाको केपलर स्पेस टेलिस्कोपले फेला पारेको थियो । पृथ्वीभन्दा करीब १० प्रतिशत सानो यो ग्रह प्रचुर मात्रामा फलामले बनेको छ । वैज्ञानिकहरुका अनुमानमा यो ग्रहको ६६ प्रतिशत फलाम छ । यही कारण यस ग्रह आफ्ना माउताराको बलियो गुरुत्वाकर्षणको बाबजूद टुक्राटुक्रा नभएको हो । बरु खगोलविद्हरुले तीब्र गतिमा ताराको परिक्रमा गर्ने हुनाले यो ग्रह गोलाकार नभई रग्बी–बल जस्तो आकारको रहेको विश्वास गर्छन् । स्मरण रहोस्, हाम्रो पृथ्वीको हिस्सामा ३२ प्रतिशत मात्र फलाम छ ।

हाम्रो सौर्यमण्डलमा भने सबैभन्दा छोटो वर्ष भएको ग्रह बुध हो । पृथ्वीको दिनका आधारमा बुध ग्रहमा ८८ दिन बराबर एक वर्ष हुन्छ । अर्थात् बुध ग्रहले ८८ दिनमा सूर्यको एक चक्कर लगाउने गर्छ । रमाइलो कुरा त के छ भने नेप्च्युन ग्रह (बरुण) ले सूर्यको परिक्रमा गर्न पृथ्वीको १६५ वर्ष बराबरको समय लगाउँछ ।

Title Photo: https://cdn.mos.cms.futurecdn.net