गन्हाउने पाद–झगडाको बात

पाद आउनुकाे वैज्ञानिक कारण यस्तो छ

संसारमा प्रायः सबै मानिसले पाद्ने गर्छ । । मानिस शरीरको पाचन प्रणालीमा पादको ग्याँस निर्माण हुने गर्छ । त्यो ग्याँस निर्माण गर्ने काम चाहिँ त्यहाँ रहेका व्याक्टेरियाहरुले मुख्य रुपमा गरिरहेको हुन्छ । खासगरी, हामीले खाएको खानेकुराहरु आन्द्रामा व्याक्टेरियाले पचाउने क्रिया सम्पन्न गर्दा सो ग्याँस पैदा हुने गर्छ । हामीले खाएको खानेकुरा पचेन वा अपच भयो भने पनि पाद आउने गर्छ । खाएको खानेकुरा पचेन भने मात्र हैन, खानेकुरा खाँदा चाहिँदो भन्दा बढी मात्रामा हावा निलियो भने पनि पाद आउने गर्छ । कुनै कुनै खानेकुराहरुले चाहिँ हाम्रो भुँडीभित्र पुगेपछि ग्याँस पैदा गर्ने गर्छ विशेष गरेर प्रोटिन बेसी हुने सीमी तथा गेडागुडीहरुले यस्तो हुने गर्छ । जेसुकै कारणले होस्, हाम्रो पेटभित्र ग्याँस जम्मा भएपछि हामीलाई पाद आउने गर्छ । पाद आउनु भनेको हाम्रो पेटभित्र कुनै पनि कारणले जम्मा भएको ग्याँस शरीरबाट बाहिर निस्कने प्रक्रिया हो । यसलाई शरीरले आफूभित्रको नचाहिने ग्याँसलाई बाहिर फ्याँकेको स्वस्थ प्रक्रियाको रुपमा हामीले बुझ्नु पर्छ ।

हो, पाद आउनु भनेको शरीर स्वस्थ राख्ने प्रक्रिया नै हो । तर समस्या के भइदिन्छ भने, पाद आफैं चाहिँ अति नराम्ररी गन्हाउने गर्छ । कसैको पाद बढी गन्हाउँछ भने कसैको पाद कम गन्हाउँछ । कहिले काहीँ त हावा राम्ररी आवतजावत नहुने ठाउँमा कसैले पादिदियो भने त्यहाँ बस्ने प्रायः सबैलाई गन्हाएको खपिनसक्नु भएर बडो आपत पर्न जान्छ । कतिपयको त झगडा नै पनि पर्न जान्छ । कतिपय बुझ्ने जान्ने मान्छे चाहिँ ‘आयो पाद, गयो पाद, पादको लागि के को बात’ भनेर चित्त पनि बुझाउने गर्छन् ।

किन गन्हाउँछ पाद ?

पाद भनेको शरीरभित्र जम्मा भएका काम नलाग्ने ग्याँस हो । पादमा नाइट्रोजन, कार्बनडाइअक्साइड, अक्सिजन, मिथेन र हाइड्रोजन सल्फाइड जस्ता ग्याँसहरु मिस्सिएको हुन्छ । पाद गन्हाउनुको मुख्य कारण पनि यसमा हुने यही हाइड्रोजन सल्फाइड ग्याँस नै हो । विशेष गरेर यो ग्याँसमा हुने सल्फर अर्थात् गन्धकको कारण पाद नमिठो गन्हाउने गर्छ । मानिसको भुँडीमा जति बढी यो ग्याँस जम्मा वा पैदा भएको हुन्छ, त्यति नै बढी उसको पाद पनि गन्हाउने गर्छ । विशेष गरेर बढी सिमीहरु, बन्दाकोपी, चीज, सोडा र अण्डा जस्ता खानेकुराहरु बढी खाने मानिसहरुको भुँडीमा यस्तो ग्याँस धेरै बन्ने गर्छ ।  साथै, खाना खानेक्रममा खानासँगै निलिएको हावाको कारण पनि पाद आउने गर्छ ।

रमाइलो नामहरु

पादलाई अंग्रेजी भाषामा Fart भनिन्छ । यसको वैज्ञानिक नाम चाहिँ flatus cyjdf flatulence हो । अंग्रेजी भाषामा पादलाई बुझाउने धेरै शब्दहरु चलनचल्तीमा रहेका छन् । त्यस्ता केही प्रचलित नामहरु gassers, stinkers, air biscuits, bombers, barking spiders, rotten eggs,  wet ones  आदि हुन् ।

पाद गन्हाउने, सानो वा ठूलो वा आवाज नै नसुनिने पनि हुन सक्छ । तर सबै पादहरु ‘खतरनाक’ हुन्छ किनभने यो गन्हाउने गर्छ ।

रमाइला तथ्यहरु

कसैले मानोस् वा नमानोस्, यस धर्तीमा जन्म लिएका सबैजनाले पाद्छन् पाद्छन् । वास्तवमा, यो दैनिक जीवनको एउटा अनिवार्य हिस्सा नै हो ।

संसारमा जन्मेका र कुनै पनि खालको खानेकुरा खाने सबै मानिसलाई पाद अनिवार्य रुपमा आउँछ । अर्को शब्दमा भन्ने हो भने यो संसारमा नपाद्ने मानिस कोही पनि हुँदैन । एउटा स्वस्थ मानिसले औसत रुपमा दिनको १६ पटकसम्म पनि पाद्न सक्छ ।

एउटा स्वस्थ मानिसले दिनको ५०० देखि १५ सय मिलिलिटरसम्म ग्याँस पैदा गरिरहेको हुन्छ । त्यो ग्याँस चाहिँ दिनको १० देखि २० पटकसम्म गरी पादको माध्यमबाट शरीरबाट निस्कासित हुनेगर्छ ।

धेरैलाई भ्रम छ, पुरूषको तुलनामा महिलालाई कम पाद आउँछ । सत्य कुरा के हो भने महिला वा पुरुष, सबैलाई पाद आउने गर्छ । धेरै मानिसहरु जागेको बेलाभन्दा पनि बढी सुतेको बेला पाद्ने गर्छ । सके सुत्नुअघि खाएको खानेकुराको असरले हुन सक्छ ।

मानिसले मात्रै हैन, जनावरले पनि पाद्ने गर्छ । जनावरहरुमा पनि बिरालो, कुकुर, गाई, हात्तीले बढी पाद्ने गर्छ ।

अनुसन्धान गर्नेहरुले पत्ता लगाएका छन्, पाद पनि बल्ने खालको (flammable) हुन्छ । विशेष गरेर मिथेन र हाइड्रोजन बढी भएको पाद यस्तो हुन्छ ।

यो पढ्दा तपाईं हामीमध्ये धेरैलाई कस्तो–कस्तो लाग्यो होला । तर पाद भन्ने कुरा मानिसको जीवन र स्वास्थ्यसँग जोडिएको कुरा हो । यस्ता कुराहरु र यसो हुनुको कारण बुझ्नु जरुरी हुन्छ । जस्तो कि, स्वस्थ्य मानिसलाई पनि पाद आउँदो रहेछ, खानेकुरा राम्ररी नपच्दा पनि पाद आउँदो रहेछ । त्यसैले जानिराखौं, सामान्य ढंगले पाद आयो भने त्यो कुनै खराबी हैन । तर असामान्य ढंगले, दिनमा १५–१६ पटकभन्दा पनि बढी र लगातार पाद आइरह्यो भने पक्कै त्यो गडबडीको संकेत हो । त्यस्तो भयो भने तुरुन्तै स्वास्थ्य संस्था वा चिकित्सक भएको ठाउँमा गएर जचाउनु राम्रो हुन्छ ।