गर्भाधानको लागि अण्डाले नै पो शुक्रकीट रोज्दो रहेछ !

अहिलेसम्मको स्थापित मान्यताअनुसार गर्भाशयमा अण्डालाई निषेचन गर्ने क्रममा शुक्रकीटहरुमाझ तीब्र प्रतिस्पर्धा हुने र त्यसक्रममा जुन शुक्रकीटले पहिले अण्डालाई भेट्छ, त्यसले निषेचन गर्ने सम्भावना सबैभन्दा बढी हुने गरेको मानिँदै आइएको छ । तर पछिल्लो एक अध्ययनले त्यो मान्यतालाई चुनौती दिने देखिएको छ ।

‘प्रोसिडिङ्स अफ रोयल सोसाइटी बी’ नामक जर्नलमा प्रकाशित उक्त अध्ययन रिपोर्टअनुसार, निषेचनका लागि परिपक्व अण्डासम्म शुक्रकीट पुग्दैमा त्यसले अण्डाभित्र प्रवेश गरिहाल्न सक्दैन । अण्डालाई निषेचन गर्नका लागि गर्भाशयभित्र अण्डाछेउ पुगेका लाखौं करोडौं शुक्रकीटहरुमध्ये कुन शुक्रकीटले अण्डालाई निषेचन गर्ने भन्ने कुराको निक्र्योल अण्डाले गर्ने गर्छ । त्यसका लागि अण्डाले आफूले छानेको शुक्रकीटलाई सन्देश दिनको लागि विशेष किसिमको रासायनिक सन्देश पठाउने गर्छ । त्यसका लागि उसले केमो एटर्याक्ट्यान्स (Chemo-attractants) रसायन निस्काशन गर्ने गर्छ । यही रसायनको मद्दतबाट अण्डाले आफूतिर तीब्र रुपमा तैरिएर अघि बढिरहेका लाखौं करोडौं शुक्रकीट मध्ये एउटालाई छान्ने गर्छ ।

गर्भाधानको परम्परागत स्थापित मान्यतालाई चुनौती दिने यो अध्ययन रिपोर्टबाट प्राप्त तथ्यहरुको अन्तिम सत्यापन हुन भने बाँकी नै छ । यसका लागि थप गहन अध्ययनहरु हुनु जरुरी छ । त्यसबाहेक, गर्भाधान आफैंमा निक्कै जटील प्रक्रिया हो । यस प्रक्रिया सफलतापूर्वक सम्पन्न हुनका लागि महिलाको मासिकधर्मचक्र, अण्डाको निश्कासन, शुक्रकीटहरुको उत्पादन र त्यसको स्वास्थ्य लगायत विभिन्न पक्षहरुको भूमिका र जिम्मेवारी उत्तिकै गहन हुने गर्छ । त्यसैले यस अध्ययन रिपोर्टले यस सवालमा नयाँ अवधारणा अघि सारे पनि त्यही नै सही र सत्य हो भनेर भनिहाल्न सक्ने अवस्था छैन ।

के हो केमो एटर्याक्ट्यान्स ?

केमो एटर्याक्ट्यान्स भनेको त्यस्तो रासायनिक चिज हो जसले कुनै कोष वा जीवित चीजहरुलाई एउटा निश्चित दिशातिर अघि बढ्नका लागि प्रेरित गर्ने गर्छ । यस रसायनलाई कोषहरुले एकापसमा सन्देशहरु सम्प्रेषण गर्न र तिनका गतिविधिहरुलाई निर्देशित गर्नका लागि उपयोग गर्ने गर्छ । गर्भाधानको सन्दर्भमा कुरा गर्दा, शुक्रकीटलाई निषेचन प्रक्रिया सम्पन्न गर्नका लागि आफूतिर आकर्षित गर्न अण्डाले यस्ता केमो एटर्याक्ट्यान्स निश्कासन गर्ने गर्छ । यही रसायनको सहयोगले अण्डाले आफूतिर पौडिइरहेका शुक्रकीटहरुमध्ये कुनै एकलाई चयन गर्ने गर्छ ।

केमो एटर्याक्ट्यान्स हाम्रो शरीरभित्रका अन्य जैविक प्रक्रियाहरु सम्पन्न गर्नका लागि पनि प्रयोग भइरहेको हुन्छ । उदाहरणको लागि, हाम्रो शरीरमा चोटपटक लाग्दा वा किटाणु–विषाणुहरुले आक्रमण गर्दा रोगप्रतिरोधी कोषहरुलाई सञ्चालन गर्ने काममा पनि सक्रिय रुपमा प्रयोग भइरहेको हुन्छ । त्यसैगरी, यो रसायनलाई विभिन्न अध्ययनहरुमा रासायनिक संकेतहरुलाई शरीरका कोषहरुले कसरी प्रतिक्रिया जनाउँछ भनेर अध्ययन गर्नका लागि समेत प्रयोग हुने गर्छ ।