खाली पेटमा पानी पिउनुको फाइदै फाइदा

तपाईंले शायद बारम्बार सुन्ने गर्नुभएको छ– बिहान उठ्नेबित्तिकै पानी पिउनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

यो वास्तवमा सत्य हो ।

रातको समयमा हाम्रो शरीरले आफूलाई मर्मत गर्ने काम गरिरहेको हुन्छ । त्यस दौरानमा शरीरभित्रका विषालु तत्वहरु पैदा भइरहेका हुन्छन् ।

बिहान उठेर हामीले जब  खाली पेटमा पानी पिउँछौं त्यो आन्द्राको माध्यमबाट सोसिएर हाम्रो रगतमा पुग्छ । रगतको माध्यमबाट त्यसले हाम्रा शरीरमा भएका विषाक्त पदार्थहरुलाई सुद्धिकरणको लागि फोक्सो, कलेजो, मृगौला, आन्द्रा जस्ता अङ्गहरुमा ल्याइदिन्छ । ती माध्यमहरुबाट शरीरमा जम्मा भएका विषाक्त तत्वहरु बाहिर निस्काशन हुने गर्छ ।

खाली पेटमा पानी पिउँदा हुने फाइदाहरुलाई हामी निम्नानुसार बुँदागत रुपमा प्रस्तुत गर्न सक्छौं–

पानीको आपूर्तिः हामी बिहान उठ्दा एउटा लामो समयसम्म पानी नपिइएको अवस्था हुन्छ । यस्तो अवस्थामा खाली पेटमा पानी पिउने बानी गर्दा हाम्रो शरीरमा आवश्यक पानीको आपूर्ति हुन पाउँछ ।

पाचनमा सहयोगः पानीले हाम्रो पाचन प्रणालीलाई स्वस्थ र नियमित राख्न सहयोग गर्छ । यसले खानेकुराहरुलाई टुक्र्याउन तथा त्यसमा भएका पोषक तत्त्वहरुलाई राम्ररी सोस्न मद्दत गर्छ । पाचन प्रणालीमा गडबडी हुनेहरुका लागि त खाली  पेटमा पानी पिउने बानीले धेरै फाइदा पुग्छ ।

विषरहित बनाउछः हाम्रो शारीरिक गतिविधिहरुले शरीरभित्र विभिन्न खालका विषाक्त तथा अनावश्यक पदार्थहरु पैदा भइरहको हुन्छ । पानीले तिनलाई शरीरबाट बाहिर निकाल्नमा मद्दत गर्ने गर्छ । अझ विहानको समयमा पानी पिउने बानीले शरीरमा रातभर जम्मा भएका विषाक्त तथा अवशेषजन्य पदार्थहरुबाट छुटकारा पाउन मद्दत गर्छ ।

तौल घटाउनमा सहयोगः बिहान उठ्नेबित्तिकै पानी पिउने बानीले हाम्रो भोकलाई नियन्त्रण गर्ने गर्छ । त्यसो हुँदा हामीले अनावश्यक खानाहरु खाइबस्दैनौं ।

राम्रो पाचनः बिहान पानी पिउने बानीले हाम्रो पाचन प्रक्रिया राम्रो बनेर जान्छ । त्यसले हाम्रो शरीरमा क्यालोरीको खपत पनि बढाइदिन्छ । फलतः हाम्रो तौल पनि नियन्त्रित रहन्छ । यद्यपि यो तौल घटाउने चमत्कारिक समाधान त होइन तर यसले समग्र जीवनशैलीमा योगदान दिन सक्छ ।

सुन्दर छालाः हाम्रो शरीरको छाला स्वस्थ रहनको लागि हाम्रो शरीरमा पर्याप्त मात्रामा पानीको आपूर्ति हुनु जरुरी छ । यस अर्थमा भनिबस्नै पर्दैन– खाली पेटमा पानी पिउने बानीले हाम्रो छालाको सुन्दरतामा अवश्य पनि बृद्धि हुने गर्छ ।

कब्जियतबाट सुरक्षाः खाली पेटमा पानी पिउनुको सबैभन्दा उत्तम फाइदा कब्जियत हुन दिँदैन । कब्जियत भएकाहरुले पनि नियमित रुपमा खाली पेटमा पानी पिउने बानी गर्यो भने कब्जियतको समस्याबाट राहत मिल्छ ।

उर्जा बढाउँछः शरीरमा पानीको कमी हुँदा हामीलाई चाँडो थकान लाग्ने, अल्छी लाग्ने हुन्छ । तर दिनको शुरुवात पानी पिउने बानीबाट गर्यषे भने हामीलाई स्फूर्ति र ताजगी प्राप्त हुन्छ ।

टाउको दुखाइ कम हुन्छः टाउको दुखाइका विभिन्न कारणहरुमध्ये एक प्रमुख कारण शरीरमा पानीको कमी हुनु पनि हो । बिहान पानी पिउने बानीले  हामीलाई यो समस्याबाट मुक्ति मिल्छ ।

मृगौला स्वस्थ राख्छः सबैलाई थाहा  भएकै कुरा हो शरीरमा जम्मा भएका फोहार तथा विषाक्त पदार्थहरु निस्कासन हुने विभिन्न उपायहरुमध्ये मृगौलाले रगत शुद्ध पार्ने र पिसाबमार्फत् बाहिर निस्काशन गर्ने पनि हो । यस अर्थमा खाली पेटमा पानी पिउने बानीले शरीरमा पानीको आपूर्तिलाई सुनिश्चित गर्छ । यसले मृगौलाको कार्यमा सहजता ल्याउँछ र त्यहाँ पत्थरी हुन दिँदैन ।

स्वभाविक रुपमा प्रश्न उठ्न सक्छः खाली पेटमा पानी पिउनुको यत्तिको फाइदा छ भने पिउने चाहिँ कति ? यो कुराको एउटै उत्तर हो– उचित मात्रामा । उचित मात्रामा भन्नाले व्यक्तिअनुसार यो मात्रा फरक फरक हुन सक्छ । कतिपयलाई बानी नहुँदा खाली पेटमा पानी पिउँदा उलुक उलुक हुन सक्छ । यस्तो अवस्थामा शुरुमा थोरै मात्रामा पानी पिउने र विस्तारै त्यो मात्रा बढाउँदै लान सकिन्छ । सामान्यतः खाली पेटमा २–३ गिलास मनतातो पानी पिउनु पर्याप्त हुन्छ । के कुरामा चाहिँ भ्रम राख्नु हुन्न भने, बिहान खाली पेटमा पानी पिएपछि बाँकी दिनभरि पानी पिइबस्नु जरुरी हुँदैन । वास्तवमा, एउटा वयस्क मानिसलाई दैनिक ३ लिटरसम्म पानी पिउनु जरुरी हुन्छ । तर एउटा मानिसले कति पानी पिउने भन्ने कुरा उसको उमेर, लिङ्ग र स्वास्थ्य अवस्था अनि उसको बसोबास स्थानको हावापानीमा पनि भर पर्दछ ।