कसरी भयो 'मधुमेह' को उपचारमा प्रयोग गरिने इन्सुलिनको खोज ?

इन्सुलिनका खोजका लागि नोबेल पुरस्कार विजेता डा. फ्रेडरिक ग्रान्ट बान्टिङको प्रेरक जीवनकथा

मधुमेह ! रगतमा चिनी बढ्ने यस्तो खतरनाक रोग, जुन रोगले च्यापेपछि मान्छे दुब्लाउँदै जान्छ, उसको मुटुले काम गर्न छाड्छ, किड्नी फेल खान्छ, आँखाको हेर्ने शक्ति नष्ट भएर जान्छ, स्नायु प्रणालीले काम गर्न छोड्छ, रगतमा विष बढ्न थाल्छ र अन्ततः मान्छेको ज्यानै जान्छ ।

यो खतरनाक रोगलाई पूर्ण रूपमा निको पार्ने औषधी अझैसम्म पत्ता लागेको छैन, यसलाई नियन्त्रण मात्र गर्न सकिन्छ । आहार विहारमा सावधानी र केही औषधीको प्रयोगले यसलाई नियन्त्रण गर्न सकिन्छ । यसलाई नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी औषधी चाहिँ इन्सुलिन नै हो ।

०००

जनवरी ११, सन् १९२२ । यतिखेर बेलुकीको समय भएको छ । क्यानाडाको टोरन्टोस्थित जनरल अस्पतालको एउटा वार्डमा भर्ना गरिएका १४ वर्षीय युवक करीब 'करीब 'कोमा' अवस्थामा आफ्नो जीवनको अन्तिम घडी गन्दैछन् । 'जिमी' नामले पुकारिने ती युवकको वास्तविक नाम चाहिँ लियोनार्ड हो । उनका वरिपरि जम्मा भएका उनका नातेदारहरू निराश र हताश देखिन्छन् । उक्त अस्पतालका डाक्टर तथा नर्सहरू पनि जिमीको खस्किँदो स्वास्थ्यस्थितिप्रति लाचार देखिन्छन । उनीहरूले जिमी अब बाँच्न नसक्ने अवस्थामा पुगिसकेको टुंगो निकालिसकेका छन् । किनभने, जिमीलाई यस्तो खतरनाक रोग लागेको छ, जसको उपचार अहिलेसम्म सम्भव देखिँदैन । अर्थात् उनलाई मधुमेह (Diabetise) नाम गरेको त्यस्तो खतरनाक रोग लागेको छ, जसको उपचारविधि अहिलेसम्म पत्ता लागेको छैन । संसारमा यही रोगको कारणबाट प्रतिवर्ष करोडौं मानिसहरू मर्दै आएका छन् । यो रोगले भेट्टाएपछि मृत्यु कुर्नु सिवाय अरू कुनै उपाय छैन ।

निराशाबीचको आशा

यसरी जिमीका सबै नातेदार तथा टोरन्टो जनरल अस्पतालका डाक्टर नर्सहरूले आशा त्यागिसके पनि सोही अस्पतालमा कार्यरत युवा डाक्टर फ्रेडरिक ग्रान्ट बान्टिङले भने जिमी बाँच्न सक्ने आशा त्यागी नै हालेका छैनन् । यतिखेर उनी गहिरो सोचमा डुबेका छन् । उनको मनमा यतिखेर विचारहरूको आँधी चलिरहेको छ । उनको मनमा यतिखेर जिमीलाई कसरी बचाउन सकिन्छ भन्ने उपायको खोजी चलिरहेछ । यही उपायको खोजीको क्रममा उनी दृढ निश्चयमा पुग्छन्- जिमीमाथि आफूहरूले खोजेको एउटा नयाँ औषधीको प्रयोग गर्ने, जुन प्रयोग उनले 'मार्जोरी' नाम गरेकी एक कुकुर्नीमाथि गरेका थिए र जसको सफलताले मधुमेहपीडित त्यो कुकुर्नीको जीवनरक्षा भएको थियो । वास्तवमा, मधुमेहको उपचारको खोजीको क्रममा डा. बान्टिङले आफ्ना सहयोगी डा. चार्ल्स हरबर्ट वेस्टका साथ मिलेर कुकुरहरूमाथि विगत नौ महिनादेखि विभिन्न प्रयोगहरू गर्दै आएका थिए । यही प्रयोगको क्रममा उनीहरूले निर्माण गरेको एउटा नयाँ औषधी मधुमेह पीडित कुकुर्नी 'मार्जोरी' लाई सुईमार्फत् दिँदा त्यसको मधुमेह रोग नियन्त्रण भएको थियो ।

https://faseb.onlinelibrary.wiley.com

कुकुरमा गरिएको प्रयोग मान्छेमा पनि !

उक्त प्रयोगको नतिजाको आधारमा, डा. बान्टिङले आफूहरूले निर्माण गरेको नयाँ औषधी अब पहिलो पटक मान्छेमा पनि उपचारको लागि प्रयोग गर्ने भए ।

गाईको नजन्मँदैको बाच्छाको फियो (Pancreas) बाट यो औषधी तयार गरिएको थियो । डा. बान्टिङ र उनका सहयोगी वेस्टले यो नयाँ औषधीको नाम 'आइलेटिन' राखेका थिए । यही 'आइलेटिन' औषधी सुईमार्फत् अब विस्तारै जिमीको शरीरमा पठाइन थालियो । प्रत्येक सुईका साथ उनको रगतको नमूना झिकेर त्यसमा चिनीको मात्रा पनि जाँचिदैछ । सुखद आश्चर्यको कुरा ! पहिलो सुईबाटै जिमीको रगतमा चिनीको मात्रा घटेको देखियो । यसबाट उत्साहित डा. बान्टिङले जिमीको शरीरमा 'आइलेटिन' को मात्रा बढाउँदै लगे । जति उनको शरीरमा 'आइलेटिन' को मात्रा बढाउँदै लगियो, उत्तिनै उनको रगतमा चिनीको मात्रा पनि घटदै अन्ततः त्यो सामान्य स्तरमा ओर्लियो । आखिरमा, डा. बान्टिङको आशा र प्रयास सफल भएर छाड्यो । औषधीको निश्चित मात्रा जिमीको शरीरमा पुगेपछि मृत्युको मुखमा पुगेर इन्तुनचिन्तु अवस्थामा रहेका जिमीले विस्तारै आँखा खोले । यसरी 'उपचार नै हुन नसक्ने' र भेट्टाएपछि अनिवार्य रूपमा मृत्युको मुखमा धकेलिदिने खतरनाक रोग मधुमेहलाई नियन्त्रण गर्ने यस सफल उपचारले खतरनाक रोगहरूमाथि चिकित्सा विज्ञानको सफल नियन्त्रणको अध्यायमा अर्को एउटा अध्याय फेरि थपियो ।

के हो इन्सुलिन ?

फियोमा हुने विशेष कोशिकाहरू, जसलाई आइसलेट अफ ल्याङ्गरहान्स (Islets of Langerhans) वा आइल्याण्ड अफ ल्याङ्गरहान्स पनि भनिन्छ, ले एउटा विशेष हर्मोनको उत्पादन गर्दछ । त्यस हर्मोनलाई इन्सुलिन भनिन्छ ।

इन्सुलिनले हाम्रो शरीरमा ग्लूकोज, बोसो तथा प्रोटिनहरूको प्रणाली (metabolism) लाई व्यवस्थित राख्छ । जब हाम्रो रगतमा ग्लूकोजको मात्रा बढ्न थाल्छ, तब ल्याङ्गरहान्समा इन्सुलिनको उत्पादनमा पनि बृद्धि हुन थाल्छ । यो विशेष गरी हामीले खानेकुराहरू खाएपछिको अवस्थामा हुन्छ । यो इन्सुलिनले हाम्रो शरीरका कोषहरूलाई ग्लूकोजको खपत गर्न तथा बढी भएको ग्लूकोजलाई संग्रह गर्न उत्प्रेरित गर्छ ।

यदि कुनै कारणले यसको उत्पादनमा कमी आयो वा उत्पादन रोकियो भने, हाम्रो शरीरमा विभिन्न गड़बडीहरू पैदा हुन थाल्छ । यसमध्ये पनि सबैभन्दा खतरनाक गडबढी चाहिँ मधुमेह नाम गरेका ज्यानमारा रोग लाग्नुनै हो ।

अन्य प्रोटिनहरू जस्तै, इन्सुलिन पनि एक किसिमको प्रोटिन नै हो । त्यसैले, यदि हामीले मुखबाट खायौं भने, यो हाम्रो आन्द्रामा नै पच्छ र यसले जे काम गर्नुपर्ने हो, त्यो काम गर्न सक्दैन । त्यसैले, मधुमेह रोग लागेको रोगीलाई यो खुवाउने हैन, इन्जेक्सनबाट सोझै रगतमा दिइन्छ ।

किसान परिवारका कान्छा छोरा

फ्रेडरिक ग्रान्ट बान्टिङको जन्म क्यानडाको ओन्टारियो स्थित एलिस्टन नाम गरेको स्थानमा नोभेम्बर १४ तारिखका दिन सन् १८९१ मा भएको थियो । खेती किसानीमा रमेका क्यानाडाका एक मध्यमवर्गीय परिवारमा जन्मेका उनी माता मार्गरेट ग्रान्ट र पिता विलियम  थम्पसनका पाँच बच्चाहरूमध्ये सबैभन्दा कान्छा थिए । फ्रेडरिकको बाल्यकालको पढाइ स्थानीय पब्लिक हाइस्कूलमा भएको थियो । स्कूलको पढाइ सकिएपछि उनका अभिभावकहरूको चाहना फ्रेडरिकले अध्यात्मवादबारे पढोस् भन्ने थियो । त्यसैले उनी टोरन्टो विश्वविद्यालयमा अध्यात्मवादको अध्ययन गर्न भर्ना भए । तर उनको खास रूचि अध्यात्मवाद हैन, चिकित्सा-विज्ञानमा थियो । त्यसैले टोरन्टो विश्वविद्यालयको अध्यात्मवादको पढाइलाई बीचैमा छाडेर उनी आफ्ना हाइस्कूल कालका सहपाठी, नातामा भाइ पर्ने फ्रेड हिपवेलका साथ भिक्टोरियो कलेजमा भर्ना भए र चिकित्सा विज्ञानको अध्ययन गर्न थाले । सन् १९१६ मा आएर उनले औषधी विज्ञानमा ग्राजुएट (एम. बी. डिग्री) हासिल गरे । त्यसैताका प्रथम विश्वयुद्ध शुरू भयो भने फ्रेडरिक क्यानाडाको सेनामा चिकित्सा शाखातर्फ क्याप्टेनको दर्जामा चुनिए ।

https://bantinglegacy.ca

युद्धमा सहभागी फ्रेडरिक घाइते बने !

प्रथम विश्वयुद्धमा फ्रेडरिक क्यानाडाको फौजको तर्फबाट विश्वयुद्धमा सक्रिय सहभागी बने । विश्वयुद्धमा उनी विशेष गरेर फ्रान्समा खटाइएका थिए । सन् १९१८ मा भएको क्याम्ब्राई (Cambrai) को युद्धमा फ्रेडरिक घाइते बने । उनको दायाँ हातमा गोलाको टुक्रा लागेको थियो । घाइते फ्रेडरिकलाई उनका कमाण्डरले युद्ध मैदानबाट पछि फर्कन आदेश दिए । तर फ्रेडरिकले कमाण्डरको यो आदेशलाई टेरेनन् । उनी लगातार घाइते सैनिकहरूको सेवामा जुटिरहे । अन्ततः उनलाई जबरजस्ती एम्बुलेन्समा राखेर युद्ध क्षेत्रबाट हटाइयो र उपचारको लागि अस्पताल लगियो । अस्पतालमा डाक्टरहरूले गोलाको टुक्रा लागेर घाइते भएको उनको हात काट्नु पर्ने सल्लाह गरे तर आफू स्वयं पनि चिकित्सक रहेका डा. फ्रेडरिकले आफ्नो हात काट्न अस्वीकार गरे । उनको दृढ विश्वास थियो- गोलाको टुक्राले घाइते भएको आफ्नो हात काट्नु पर्दैन, घाउको मात्र उपचार गरे पुग्छ । नभन्दै उनको घाउ निको भयो । हात काट्नै परेन ।

सन् १९१९ मा प्रथम विश्वयुद्ध समाप्त भयो । युद्धको समाप्ति पछि उनलाई मिलिटरी क्रसले सम्मानित गरियो ।

प्राचीनकालमै पनि मधुमेहबारे थाहा थियो
इन्सुलिनको खोजी गर्ने क्रममा कुकुरमाथि प्रयोगको थालनीमा सबैभन्दा पहिले डा. बान्टिङले मधुमेहसम्बन्धी भेट्टाएसम्मका र प्राप्त भएसम्मका पुस्तक एवं पत्रपत्रिकाहरू खोजेर गहनताका साथ अध्ययन गरेका थिए । उनले सन् १९२१ भन्दा पहिले यस क्षेत्रमा भएका अनुसन्धान एवं प्रयोगहरूलाई पनि गहिरिएर अध्ययन गरेका थिए । अध्ययनको क्रममा उनले थाहा पाए- प्राचीन इजिप्टवासी, हिन्दू चिनियाँ, ग्रीकहरूलाई प्राचीनकालदेखि नै यस रोगको बारेमा राम्रो जानकारी थियो । अध्ययनकै क्रममा उनीहरूले यस ज्यानमारा रोगको उपचार खोज्ने क्रमको आधा शताब्दीभन्दा लामो इतिहास रहेको पनि थाहा पाए, जुन इतिहास असफलताले भरिएको थियो । तर यस असफलताको इतिहासले उनीहरूलाई हतोत्साहित पार्न सकेन । बरू, उनीहरूलाई त्यसको कमी कमजोरीहरू थाहा पाउने वा खोज्ने प्रेरणा मिल्यो । डा. बान्टिङ आफ्नो प्रयोगमा कम्मर कसेर लागे । र, आखिरमा उनीहरूले सफलता हासिल गरेरै छाडे ।

क्लिनिक खोले तर चलेन

युद्धको समाप्तिपछि उनले सेनाबाट अवकाश लिए र पुनः अध्ययनमा जुटे । यस पटकको अध्ययनमा उनले हड्डीसम्बन्धी चिकित्सा विज्ञानको अध्ययन गरी हड्डीको सर्जरीमा विशेषज्ञता हासिल गरे । यो सन् १९१९ तिरको हो । त्यसपछि १९१९-१९२० को दौरानमा उनले टोरान्टोस्थित बिमार बच्चाहरूको लागि बनाइएको अस्पतालमा आवासीय चिकित्सकको रूपमा पनि काम गरे । त्यसपछि  उनले क्यानाडाको पश्चिम ओन्टारियोस्थित लण्डन नाम गरेको एउटा नगरमा आफ्ना एक मित्र डा. ट्यूका साथ मिलेर स्वतन्त्र चिकित्सकको रूपमा काम पनि गरेका थिए । तर उनको यो स्वतन्त्र चिकित्सा पेशा बिरामीहरू नआएको कारण जम्न सकेन । भनिन्छ, उनले तीन महिनाको समयमा बिरामी जाँचेर १२ डलर मात्र कमाएका थिए । जीवन धान्न पनि मुश्किल पर्ने कमाइको यो दयनीय स्थितिले उनको स्वतन्त्र चिकित्सकको रूपमा मानव सेवा गर्ने इच्छा सेलाएर गयो । यसबीच, उनलाई पश्चिमी टोरन्टोको विश्वविद्यालयले चिकित्सा विज्ञानका छात्राहरूलाई औषधी विज्ञान (Phar- macology) पढाउन आमन्त्रित गयो । आफ्नो क्लिनिक नचलेर दोधारमा परिरहेका डा. फ्रेडरिकले सहर्ष यो आमन्त्रणलाई स्वीकारेर पढाउन थाले ।

यसरी भयो इन्सुलिनको खोज गर्ने विचारको जन्म !

 टोरन्टो विश्वविद्यालयमा पढाउने क्रममा डा. फ्रेडरिक बान्टिङले विभिन्न विषयहरूमा प्रवचन दिनुपर्ने हुन्थ्यो । यसैक्रममा एक दिन उनले फियो (Pancreas) को बारेमा प्रवचन दिनुपर्ने भयो । आफ्नो प्रवचनलाई बढी आधिकारिक, तथ्ययुक्त र प्रभावकारी बनाउनका लागि स्वभावैले अध्ययनशील बान्टिङ आवश्यक सन्दर्भ सामग्रीहरू जुटाउनका लागि पुस्तकालयतिर लागे ।

३० अक्टोबर, १९२० को बेलुकी । भोलि दिनुपर्ने प्रवचनको तयारीको लागि अध्ययन गर्न एवं सन्दर्भ सामग्रीहरू जुटाउन बान्टिङले
पुस्तकालयमा पुस्तक एव पत्रपत्रिकाका थाकहरू पल्टाउँदै  आफूलाई चाहिने सामग्रीहरू खोतल्न थाले । यही क्रममा अचानक उनका आँखा 'सर्जरी, गाइनोकोलोजी एण्ड अब्स्टेटिक्स' (Surgery, Gynecology and Obstetrics) नामक जर्नलको नोभेम्बरको ताजा अंकमा छापिएका शीर्षकहरूमा पर्यो । त्यसमा छापिएको एउटा शोध लेखले विशेष रूपमा उनको ध्यान तान्यो ।
मोसेस बारोनले लेखेको उक्त लेखमा फियोभित्र हुने कोशिकाहरू, जसलाई आइसलेट अफ ल्याङ्गरहान्स (Islet of Langerhans) भनिन्छ, र मधुमेहबीचको सम्बन्धका बारेमा चर्चा गरिएको थियो । साथै, सो लेखमा फियो नलीमा भएको पत्थरीको समस्याबारे पनि चर्चा गरिएको थियो । डा. बान्टिङले यो लेख आफ्नो प्रवचनको तयारीमा उपयोगी हुने ठानी आफूसँगै लिएर घर गए ।

शायद मधुमेह रोगकै कारण आफ्ना एक मिल्ने युवा साथीको मृत्यु भएको कारणले पनि होला, मधुमेहको समस्याबारेमा डा. बान्टिङले विशेष चासो राख्दथे । त्यसैले उनले उक्त लेख पनि प्रवचन पत्र तयार गर्ने दृष्टिले भन्दा अझ फरक ढंगले विशेष अभिरूचिका साथ अध्ययन गरे ।

मधुमेहको रोग र फियोबीचको अन्तरसम्बन्धबारे त्यसबेलासम्म विभिन्न वैज्ञानिक एवं चिकित्साकर्मीहरूले धेरै तथ्यहरू प्रकाशमा ल्याइसकेका थिए । यसक्रममा नाउन्यन, मिन्कोवस्की. ओपेई, स्चाफेरलगायत अन्य चिकित्साकर्मी एवं वैज्ञानिकहरूले के कुरा पत्ता लगाइसकेका थिए भने, फियोस्थित आइसलेट अफ ल्याङ्गरहान्समा पैदा हुने हर्मोनको कमीले मधुमेह रोग लाग्छ । स्चाफेर (Schafer) ले यो हर्मोनको नाम इन्सुलिन (Insulin) राखिदिएका थिए । यो हर्मोनले रगतमा एवं शरीरमा ग्लुकोजको मात्रालाई नियन्त्रण गर्ने र यसको अभावमा रगतमा चिनीको मात्रा बढ्ने तथा पिसाबमा चिनी देखिने खतरनाक ज्यानमारा रोग मधुमेह लाग्ने कुरा ती अनुसन्धानकर्ता एवं वैज्ञानिकहरूले पहिले नै पत्ता लगाइसकेका थिए ।

यसै क्रममा, प्रख्यात अनुसन्धानकर्ता मिन्कोवस्कीले १८८९ तिरै कुकुरको फियोलाई धूलोपिठो पारेर त्यसलाई झोल बनाई सुईमार्फत् मधुमेह लागेको कुकुरको रगतमा पठाएर त्यसको मधुमेहमाथि नियन्त्रण गर्न सकिने विचार अघि सारेका थिए । यसअनुसार, उनले विभिन्न प्रयोगहरू पनि गरेका थिए, तर ती प्रयोगहरू सफल हुन सकेका थिएनन् ।

त्यसै गरी, इन्सुलिनको आविष्कार हुनुभन्दा पहिले मधुमेहका रोगीहरूमा इन्सुलिनको मात्रा आपूर्ति गर्न रोगीलाई जनावरहरूको ताजा फियो तथा त्यसबाट निकालिएको रस खुवाउने गरिन्थ्यो । तर यो तरीका पनि मधुमेहको उपचारमा सफल हुन सकेको थिएन ।

यस पृष्ठभूमिमा, चिकित्साकर्मी तथा वैज्ञानिकहरूसामु रहेको सबैभन्दा ठूलो र उनीहरूले हल निकाल्न नसकेको समस्या नै सुरक्षित रूपमा कसरी फियोबाट इन्सुलिन निकाल्ने भन्ने रहेको थियो । यही समस्याको हल खोज्ने ध्याउन्नमा यतिखेर डा. बान्टिङले पनि आफ्नो दिमाग रिंग्याइरहेका थिए ।

बान्टिङपूर्वका वैज्ञानिकहरूले गरेको त्रुटी पनि पत्ता लाग्यो !

डा. बान्टिङले इन्सुलिनको खोज गर्नुभन्दा पहिले पनि विभिन्न वैज्ञानिकहरुले फियोबाट नै इन्सुलिन प्राप्त गर्न धेरै प्रयोग एवं प्रयासहरु गरेका थिए तर उनीहरुले यस कार्यमा सफलता भने प्राप्त गर्न सकेका थिएनन् । डा. बान्टिङ र वेस्टको कुकुरको फियोबाट इन्सुलिन झिक्ने प्रयोगको सफलता पहिलेका वैज्ञानिकहरुले कहाँ गल्ती गरेका थिए भन्ने कुरा पनि खुल्न आयो वास्तवमा, फियोको बाहिरी कोशिकाहरुमा निर्माण हुने पाचन रसको कारण लैंगर हैंस द्वीपमा निर्माण हुने तथा रगतमा ग्लुकोजको मात्रालाई नियन्त्रण गर्ने महत्वपूर्ण रसायन 'इन्सुलिन' नष्ट हुने गर्थ्यो । यो तथ्यलाई यसअधिका अनुसन्धानकर्ता एवं वैज्ञानिकहरुले ठम्याउन सकेका थिएनन् ।
1
डा. बान्टिङले आफ्नो प्रयोगको क्रममा चार हप्ताको समायावधिमा नै कुकुरको शल्यक्रिया गरी नली बाँधिएको फियोको जाँच गरेका थिए । यसो गरेर उनीहरुले बुद्धिमानीको काम गरेका थिए । अन्यथा, फियोको बाहिरी कोशिका नष्ट भएको केही समयपछि त्यसका भित्री कोशिकाहरु पनि सुकेर नष्ट हुने थिए । तर ठीक समयमा जाँच गरिएको कारण भित्री कोशिकाहरु नष्ट भएका थिएनन्। र डा. बान्टिङले शुद्ध इन्सुलिन प्राप्त गर्न सकेका थिए ।

डा. बान्टिङले फेला पारेको मोजेज बारेन नामक एक अनुसन्धानकर्ताले लेखेका माथि उल्लेखित लेखमा फियो-नलीमा भएको पत्थरीको कारण फियोको आकार घटेको चर्चा गरिएको थियो । यसैक्रममा सो लेखमा 'प्रयोगात्मक रूपमा आन्द्रासम्म पाचनरस लैजाने फियोको नली बलियोसँग बाँधिदिँदा पाचन रस पैदा गर्ने फियोका कोशिकाहरू सुकेको तर ल्याङ्गरहान्सको कोशिकाहरू भने केही नभइकन जस्ताको तस्तै रहेको' कुरासमेत उल्लेख गरेका थिए ।
उनले उक्त लेख दोहोर्याइ तेहऱ्याइ पढे, तर उनी कुनै निष्कर्षमा पुग्न सकेनन् । पढ्दा पढ्दै डा. बान्टिङ निदाए । मध्यरातमा उठेर उनी फेरि सोही लेख पढ्न थाले ।

लेखमा उल्लेखित माथिको अंशबारे गहिरिएर चिन्तन गर्दागर्दै अचानक डा. वान्टिङ्गको दिमागमा मधुमेहको उपचारको लागि आवश्यक इन्सुलिन पैदा गर्न सकिने एउटा नयाँ 'थ्योरी' ले जन्म लियो । उनको मनमा प्रश्न उठ्यो- यदि इन्सुलिन पैदा गर्ने फियोभित्रको ल्याङ्गरहान्सको कोशिका नमर्ने गरी फियोको पाचन रस लैजाने नलीलाई थुनिदिएर त्यसलाई उत्पादन गर्ने कोशिकाहरूलाई मात्र नष्ट गरिदिने हो भने, त्यस सुरक्षित ल्याङ्गरहान्सको कोशिकाहरूबाट इन्सुलिन हासिल गर्न सकिन्छ कि सकिँदैन ?

जतिखेर उनको मनमा यो प्रश्नले जन्म लियो, त्यतिखेर अक्टोबर ३१, १९२० को बिहानको २ बजेको थियो । आफूमा उब्जेको यो प्रश्नले उनमा मधुमेहको उपचारको खोजी गर्न सकिने आशाको नयाँ किरण जाग्यो । उनले सोचे- अवश्य पनि माथि उल्लेखित 'थ्योरी'को आधारमा इन्सुलिन प्राप्त गर्न सकिन्छ । जति जति यसबारेमा उनी सोच्दै र विचार गर्दै गए, त्यति त्यति नै आफ्नो दिमागमा उब्जिएको यो 'थ्योरी' सफल हुने विश्वास उनमा जाग्दै गयो । अन्ततः उनी आफ्नो थ्योरीमा पूर्ण विश्वस्त बने । अब जरूरत थियो- आफ्नो थ्योरीलाई 'व्यवहारिक रूपमा प्रमाणित गर्न मात्र एउटा प्रयोगको । त्यसैले उनी त्यस प्रयोग गर्ने निश्चयमा पुगे । भोलिपल्टै उनले पश्चिमी ओन्टारियो विश्वविद्यालयका चिकित्साविज्ञान विभागका अध्यक्ष डा. मिलरलाई भेटेर आफनो थ्योरी सुनाए र प्रयोग गर्नका लागि आवश्यक सहयोगको लागि अनुरोध गरे ।

इन्सुलिनमा प्रो. म्याकलिओडको योगदान के ?

इन्सुलिन, जसलाई डा. बान्टिङले आइलेटिन नाम राखेका इन्सुलिनको खोजमा प्रो. म्याकलिओडको योगदान पटक्कै नरहेको भने होइन ।
डा. बान्टिङ र वेस्टले आफ्नो प्रयोगको नतिजा सबैभन्दा पहिले प्रो. म्याकलिओडलाई नै बताएका थिए । उनले उक्त प्रयोगको नतिजाप्रति
विश्वस्त हुन डा. बान्टिङ र वेस्टलाई आफ्नो प्रत्यक्ष निगरानीमा नै उक्त प्रयोग दोहोऱ्याउन लगाएका थिए । त्यसको उही नतिजा आएपछि मात्र प्रयोगको सफलतामा उनी विश्वस्त बनेका थिए । र, त्यसपछि मात्रै उनले उक्त महान खोजको सार्वजनिक घोषणा गरेका थिए ।
विश्लेषकहरू के भन्छन् भने, प्रो. म्याकलिओड पनि इन्सुलिनको खोजको पूर्ण श्रेय डा. बान्टिङलाई नै दिने गर्थे । उनको नियत र इच्छा त्यसको श्रेय आफूले समेत लिने पटक्कै थिएन । त्यसैले इन्सुलिनको खोजकर्ताको रूपमा आफ्नो नामको व्यापक प्रचार र साथसाथै त्यसको विरोध भएपछि सेप्टेम्बर २२ प्रो. म्याकलिओडले एक वक्तव्य नै जारी गरे । त्यस वक्तव्यमा उनले विनम्रताका साथ, इन्सुलिनको खोजकर्ताको रूपमा आफूलाई श्रेय दिनु गलत भएको र त्यसको एक मात्र हकदार डा. बान्टिङ रहेको उल्लेख गरेका थिए ।
स्मरणीय के छ भने, डा. बान्टिङहरूले आविष्कार गरेको इन्सुलिन सोझै प्रयोग गर्दा त्यसको धेरै साइड इफेक्टहरू देखिन्थे । अर्थात्, त्यसरी प्राप्त गरिएको इन्सुलिन अशुद्ध थियो । साथै, त्यसको उत्पादन प्रयोगात्मक रूपमा मात्र भएको थियो । इन्सुलिनको यस अशुद्धतालाई हटाउने तथा त्यसलाई औषधीको रूपमा प्रयोग गर्ने गरी उत्पादन गर्ने दिशामा प्रो. म्याकलिओडले महत्वपूर्ण योगदान दिएका थिए । उनले १९२१ को डिसेम्बरताका यस दिशामा काम गर्न त्यस समयका प्रख्यात मधुमेह रोग विशेषज्ञ तथा बोयोकेमिस्ट जे.बी. कोलिपलाई विशेष रूपमा 'अनुरोध गरेका थिए । कोलिपले पनि प्रो. म्याकलिओडको अनुरोधलाई स्वीकारेर प्रो. म्याकलिओडसँग काम गरेका थिए। प्रो. म्याकलिओडको पहल र कोलिपको दक्षताको कारण नै इन्सुलिनको औषधीय प्रयोग सम्भव भएको थियो । तिनै क्यानडाली अनुसन्धानकर्ता एवं औषधीविद् कोलिपसँग नै उनले आफूले पाएको नोबेल पुस्कारको आधा राशी बाँडेका थिए ।

डा. मिलरले डा. बान्टिङकोकुरा ध्यानपूर्वक सुने र तर यसअघि नै ठूला ठूला वैज्ञानिकहरूले हार मानिसकेको काम डा. बान्टिङबाट हुन सक्ने कुरा उनले पत्याउन र विश्वास गर्न नै सकेनन् । तर पनि उनले डा. बान्टिङलाई निराश पार्न चाहेनन् । उनले आन्टारियो विश्वविद्यालयको प्रयोगशाला एवं भौतिक साधनहरू डा. बान्टिङको प्रयोगको लागि अपर्याप्त हुने बताउँदै
प्रयोगका लागि आवश्यक ठूलो प्रयोगशाला एवं भौतिक सामग्रीहरूले सम्पन्न टोरन्टो विश्वविद्यालयका प्रख्यात प्रोफेसर जे. आर. म्याकलिओडलाई भेट्ने सल्लाह दिए ।

सहयोगको सट्टा अस्वीकार !

तर डा. बान्टिङको सो प्रयोगबाट मधुमेहको उपचार विधि खोज्न सकिने कुरामा प्रोफेसर म्याकलिओड सहमत हुन सकेनन् । त्यसको लागि डा. बान्टिङले जे थ्योरी एवं विधि बताए, त्यो उनले व्यवहारमा सम्भव हुने ठान्नै सकेनन् । त्यसैले म्याकलिओडले डा. बान्टिङलाई प्रयोग गर्न विश्वविद्यालयको प्रयोगशाला एवं भौतिक सामग्री तथा अन्य सहयोगहरू गर्न ठाडै अस्वीकार गरे । उनको सोझो भनाइ थियो- यो भनेको फिजुलखर्च र समयको अनावश्यक बरबादी मात्रै हो ।

तर मन हारेन

यसरी त्यस समयका प्रख्यात प्रोफेसरबाट सहयोगको सट्टा दुरूत्साहन पाए पनि डा. बान्टिङ निराश भएनन् । उनी आफ्नो थ्योरी र प्रयोग पूर्ण सफल हुने कुरामा पूरै विश्वस्त थिए । त्यसैले उनले पुनः डा. मिलर र अन्य केही प्रभावशाली व्यक्तित्वहरूको सिफारिश लिएर प्रोफेसर म्याकलिओडलाई भेटे । यसपटक म्याकलिओडले डा. बान्टिङको सहयोगको अनुरोधलाई अस्वीकार गर्न सकेनन् । उनले बाध्य भएर डा. बान्टिङलाई प्रयोग गर्न अनुमति दिए । तर साथमा उनले एउटा कठोर शर्त राखे- विश्वविद्यालय खुल्नुभन्दा र म्याकलिओ छुट्टीबाट फर्कनुभन्दा पहिले नै डा. बान्टिङले आफ्नो प्रयोग सफल भए पनि, नभए पनि, काम सकिसकेको हुनुपर्छ ।

Canadian scientists Frederick Banting (right) and Charles Best circa 1924, three years after they successfully isolated insulin for the first time. (Image: Courtesy of Thomas Fisher Rare Book Library, University of Toronto) Photo: penntodya.upenn.edu

यो शर्तअनुसार, विश्वविद्यालयको छुट्टीको अवधि (करीब ८ हप्ता) भित्र डा. बान्टिङले आफ्नो प्रयोग सकिसक्नुपर्ने भयो । प्रो. म्याकलिओडले डा. बान्टिङको मागअनुसार उनलाई सहयोग गर्न आफ्नै मातहतमा चिकित्साविज्ञानको अध्ययन गरिरहेका २२ वर्षीय चार्ल्स हरबर्ट वेस्ट र नोबेल नाम गरेका अन्य एक छात्रलाई ४-४ हप्ताको हिसाबले आलोपालो डा. बान्टिङलाई सघाउनसाथ लगाइदिए । त्यसपछि, प्रो. म्याकलिओड छुट्टी बिताउन यूरोपको भ्रमणमा निक्लिए ।

कठोर शर्तबीच नयाँ प्रयोग

आफ्नो थ्योरी र प्रयोगको सफलतामा अति विश्वस्त डा. बान्टिङ तुरून्तै प्रयोगमा जुटे । `आफ्नो सम्पूर्ण समय सीमित समयावधिभित्र जसरी पनि पूरा गर्नुपर्ने प्रयोगमा लगाउन उनले साथीभाइहरूको व्यापक मैत्रीपूर्ण विरोधका बावजूद टोरन्टो विश्वविद्यालयको नोकरी पनि छोडिदिए । प्रयोगका लागि आवश्यक पर्ने धनराशी जुटाउन उनले आफ्ना घरसमेत बेचिदिए । यसरी अब उनी पूर्णरूपमा तन, मन र धन दिएर प्रयोगमा जुटे । ज्यानमारा रोग मधुमेहलाई परास्त एवं नियन्त्रण गर्ने बाटोको खोजीको सिलसिलामा यसरी अब एउटा नयाँ प्रयोगको शुरूवात भयो ।

पहिलो प्रयोगमा निराशा हात लाग्यो !

फियोको पाचनरस उत्पादन गर्ने कोशिकालाई मारेर त्यसभित्रको इन्सुलिन उत्पादन गर्ने ल्याङ्गरहान्सका कोशिकाहरूबाट इन्सुलिन प्राप्त गर्न सकिने थ्योरीको प्रकाशमा उनले १६ मे, १९२१ का दिन २ वटा कुकुरको शल्यक्रिया गरेर त्यसको पाचन रस उत्पादन गर्ने फियो-नली क्याट-गटले बाँधिदिए ।

निर्धारित समयावधि ७ हप्तापछि अर्थात् ६ जुलाई, १९२१ का दिन उनले पहिले फियो-नली बाँधिएका दुईवटै कुकुरलाई क्लोरोफार्म सुँघाएर बेहोश पारी पुनः शल्यक्रिया गरे । आफ्नो प्रयोगमा अति विश्वस्त डा. बान्टिङले उत्सुकतापूर्वक कुकुरको फियोको जाँच गरे । तर अपसोच ! उनले जे देखे, त्यो उनले आशा
गरेको ठीक विपरीत थियो । अर्थात्, उनको आशा विपरीत दुबै कुकुरको फियो जस्ताको तस्तै थियो । त्यसमा कुनै परिवर्तन नै आएको थिएन । दुबै कुकुरको फियो-नली बाँधिएको क्याट-गट मक्किएर बाँधिएको नली खुलेको थियो ।
यसरी सीमित समयमा पूरा गर्नुपर्ने प्रयोगको महत्वपूर्ण समय वेफ्वाँकमा नष्ट भयो भने प्रयोगबाट पहिलो पटकमै सफलता हैन, निराशा
मात्र हात लाग्यो ।

प्रयोग जारी राख्न कार पनि बेचे !

आत्मविश्वास भएकाहरू तथा धूनका पक्का व्यक्तिहरू कुनै पनि प्रयोग असफल भयो भन्दैमा निराश भइहाल्दैनन् । आफ्नो थ्योरीमा पूर्ण विश्वस्त, आत्मविश्वासी एवं धूनका पक्का डा. बान्टिङ पनि आफ्नो पहिलो प्रयोगको असफलताबाट निराश भएनन् । बरू आफ्नो पहिलो प्रयोगको कमी कमजोरीहरूलाई खोज्ने र सच्याउनेतिर र बाँकी रहेको अति सीमित समयावधिभित्र कसरी आफ्नो प्रयोगलाई सफलतापूर्वक सम्पन्न गर्ने भन्नेतिर उनी लागे । डा. बान्टिङको समक्ष ठूलो चुनौती एवं समस्या भनेको, प्रो. म्याकलिओडले दिएको आठ हप्ताको सीमित समयमध्ये अब एक हप्ता मात्र बाँकी थियो । यसबेलासम्म वेस्ट नै उनका सहयोगीका रूपमा कार्यरत थिए किनभने, प्रो. म्याकलिओडले सहयोगीको रूपमा छुट्याइदिएका नोबेल नाम गरेका छात्र उनको प्रयोगमा सघाउन आउँदै आएनन् । त्यसो त वेस्टले  पनि पूर्ण लगनशीलताको साथ डा. बान्टिङलाई सहयोग गरिरहेका थिए ।

Laboratory on the University of Toronto campus where Banting and Best carried out some of their research on insulin. (Image: Courtesy of Thomas Fisher Rare Book Library, University of Toronto). Photo soucre: https://penntoday.upenn.edu
पहिलो प्रयोगको असफलतापछि थप प्रयोग गर्न समय कम रहेकोले डा. बान्टिङले प्रो. म्याकलिओडका अनुपस्थितिमा विश्वविद्यालयका अन्य जिम्मेवार व्यक्तित्वहरूसँग थप केही हप्ताको समय माग गरे । विश्वविद्यालय खुल्न समय बाँकी नै रहेकोले बान्टिङले थप समय प्राप्त गरे । तर पनि प्रयोगको समय छोटिदै गइरहेको थियो । त्यसबाहेक, प्रयोगका लागि आवश्यक धनको पनि चर्को अभाव थियो । त्यसैले, आफ्नो प्रयोगलाई सीमित समयमा सकेसम्म चाँडो सम्पन्न गर्न र धनको अभावलाई पूरा गर्न उनले आफ्नो फोर्ड कार नै बेचिदिए । जुलाई ३०, १९२१ का दिन उनले फेरि पहिलेकै जस्तो कुकुरको शल्यक्रिया गरे र फियो-नली बाँधिदिए । तर यस पटक उनले कुकुरका फियो नली बाँध्नको लागि क्याटगटको सट्टामा नकुहिने रेशमको बलियो डोरी प्रयोग गरे ।

प्रयोग सफल भएरै छाड्यो !

पहिलेको असफल प्रयोगको अनुभवबाट पाठ सिक्दै यस पटक डा. बान्टिङले अप्रेशन गरिएको कुकुरको फियो जाँच्न पनि ७ हप्ताको अवधि कुरेनन् । उनले चार हप्ताको अवधिमा नै अर्थात् २७ जुलाई, १९२० को दिन कुकुरको पुनः शल्यक्रिया गरे । पहिलो प्रयोगको असफलताले केही आशंकित
डा. बान्टिङले केही डर र बढी उत्सुकतापूर्वक ती कुकुरहरूको फियो जाँचे । यसरी जाँच्दा उनले जे देखे- त्यो देखेर उनी खुसीले उफ्रिए । उनले सोचेजस्तै यस पटक कुकुरको फियो सुकेर दुई तिहाई सानो भएको थियो । उनका सहयोगी वेस्टले शल्यक्रिया गरिएका कुकुरहरूको रगतको परीक्षण गरेर हेरे । आशा गरेअनुसार, कुकुरको फियो दुई तिहाई सानो हुँदा पनि ती कुकुरहरूमा मधुमेहको लक्षण
देखिएन । अर्थात्, डा. बान्टिङ वेस्टको मेहनतले राम्रो परिणाम ल्यायो । उनीहरूको यस पटकको प्रयोग सफल भएरै छाड्यो ।

औषधीको पहिलो प्रयोगः मार्जोरी बाँच्यो !

यो प्रयोगकै सिलसिलामा उनीहरूले मार्जोरी नाम गरेको कुकुर्नीको चाहिँ पूरै फियो निकालिदिएका थिए । यसरी फियो निकालिएको कुकुर्नी मार्जोरीमा चाहिँ मधुमेहको लक्षण देखिएको थियो र त्यही रोगको कारण त्यो कुकुर्नी मरणासन्न अवस्थामा पुगिसकेको थियो । अब उनीहरूले ती कुकुरहरूको सुकेर दुई तिहाई भएका फियोको इन्जेक्सन बनाएर मधुमेह पीडित मार्जोरीको रगतमा पठाए । अनि निश्चित समयको अन्तरालमा उनीहरूले मार्जोरीको रगत झिक्दै त्यसमा ग्लुकोजको मात्राको परीक्षण गर्दै रहे । उनीहरूले मार्जोरीलाई अति सावधानीका साथ निरीक्षण गर्दै रहे । उनीहरू आफूभन्दा अघिका अनुसन्धानकर्ताहरूले गरेको यस्तै प्रकृतिका प्रयोगमा देखिएको मार्जोरीमा उक्त परीक्षणको विषालु प्रभाव (Toxic effects) देखिन सक्ने खतरातर्फ पनि सचेत थिए । केही समय त यस्तो भयो, मानौं त्यो सुईले कुनै काम नै गरेन । तर पछि विस्तारै मार्जोरीको स्वास्थ्यस्थितिमा सुधार आउन थाल्यो । उसको रगतमा रहेको चिनीको मात्रा दुई घण्टाको अन्तरालमा मात्रै पनि ०.२ बाट घटेर ०.११ मा झर्यो । औषधीको मात्रा थप्दै गएपछि विस्तारै मरणासन्न अवस्थामा पुगिसकेको कुकुर्नी विस्तारै चल्मलाउन थाल्यो । अन्ततः इन्जेक्सनको प्रभाव विस्तारै देखिन थाल्यो । मार्जोरीको रगतबाट ग्लुकोजको मात्रा घट्दै गएर अन्ततः सामान्य हुन पुग्यो । मधुमेहको कारण मरणासन्न मार्जोरीको मधुमेह रोग नियन्त्रणमा आयो । अब मार्जोरी बाँच्ने भयो । डा. बान्टिङको थ्योरीले मूर्त रूप लियो ।

प्रयोगको सफलताले डा. बान्टिङ र वेस्ट उत्साहित त भए, तर उनीहरू थप प्रयोग गरेर यसको नतिजाप्रति विश्वस्त हुन चाहन्थे । त्यसैले उनीहरूले थप अन्य कुकुरहरूमा पनि सोही प्रयोग दोहो-याए । यस पटक पनि नतिजा उही निक्लयो । यसबाट डा. बान्टिङ आफूहरूले फियोस्थिति ल्याङ्गरहान्सबाट मधुमेहलाई नियन्त्रण गर्ने इन्सुलिन निकाल्न सकेको कुरामा पूर्ण विश्वस्त बने ।
फियोमा रहेको 'आइलेटस अफ ल्याङ्गरहान्स' बाट निर्माण गरिएको कारण डा. बान्टिङले आफ्नो यस नयाँ खोजलाई आइलेटिन नाम दिए ।
यसरी डा. बान्टिङ र वेस्टको प्रयोगको सफलताले ज्यानमारा रोगको रूपमा रहेको मधुमेहलाई नियन्त्रण गर्न सकिने बाटो खुल्यो ।

यो प्रविधिबाट थोरै मात्रामा मात्र इन्सुलिन प्राप्त गर्न सकिन्थ्यो । त्यसैले, धेरै मात्रामा इन्सुलिन रसायन तयार गर्नका लागि बान्टिङले अर्को उपाय पनि खोजे । पछि उनले धेरै मात्रामा इन्सुलिन रसायन तयार गर्नको लागि गाईको नजन्मेको बाछाको फियो निकाले । नजन्मेको बाछाको फियोमा पाचन रस नबनिने हुनाले त्यसबाट शुद्ध इन्सुलिन प्राप्त गर्न सकिन्छ ।

कर्ता भने हनुमान पगरी गुथ्ने ढेडु

नेपालीमा एउटा उखान छ-
कर्ता भने हनुमान, पगरी गुथ्ने ढेडु । डा. बान्टिङको खोजमा पनि यो उखान हुबहु लागू हुन पुग्यो ।

त्यसबेला अमेरिकी फिजियोलोजिकल सोसाइटी लगायत अन्य विभिन्न प्रतिष्ठित संस्थाहरुमा त्यसका सदस्यबाहेक अरुले कार्यपत्रहरु प्रस्तुत गर्न नपाउने नियम थियो । डा. बान्टिङ र वेस्ट ती संस्थाहरुको सदस्य बनिसकेका थिएनन् । यस अवस्थामा इन्सुलिनको महान खोजका बारेमा सर्वप्रथम प्रो. म्याकलिओडले चिकित्सा क्षेत्रमा त्यसबेलाका प्रतिष्ठित विभिन्न संस्थाहरुमा कार्यपत्रहरु प्रस्तुत गरेका थिए । उनले कार्यपत्र प्रस्तुत गरेकै आधारमा त्यसबेलाका अखबारहरुले इन्सुलिनको खोज डा. बान्टिङ र प्रो. म्याकलिओडले गरेको जस्ता समाचारहरु खुब महत्वका साथ प्रकाशित गरेका थिए ।

आफ्नो यो महान खोजका बारेमा डा. बान्टिङ र वेस्टले टोरान्टो एकेडेमी अफ मेडिसिनको बैठकमा पछि एक कार्यपत्र नै पेश गरेका थिए । त्यसै गरी, डिसेम्बर २८, १९२१ का दिन उनीहरुले न्यू हाभेन, कनेक्टीकटमा भएको अमेरिकन फिजियोलोजिकल सोसाइटीको बैठकमा दुई दिन प्रवचन नै पनि दिएका थिए । त्यसबेला उक्त सोसाइटीका अध्यक्ष तथा त्यस बैठकका चेयरम्यान पनि म्याकलिओड नै थिए । उनले डा. बान्टिङको खोजको बारेमा आफ्नो राय व्यक्त गर्ने क्रममा डा. बान्टिङ र वेस्ट आफ्ना सहयोगी रहेको कुरा विशेष रुपमा उल्लेख गरेका थिए । यस आधारमा पनि त्यसबेलाका पत्रपत्रिकाहरुले इन्सुलिनको खोजमा त्यसबेलाका चर्चित र प्रसिद्ध प्रो. म्याकलिओडको नाम विशेष महत्वका साथ उल्लेख गरेका थिए । यसो हुनु स्वभाविक पनि थियो । किनभने, त्यसबेला प्रो. म्याकलिओड विभागका प्रमुख थिए र त्यसबेलाको कुनै पनि तहअनुसार, अनुसन्धानहरुको प्रमुख विभागको अध्यक्षलाई नै मान्ने गरिन्थ्यो र अरुलाई उनका सहयोगी
जे होस्, इन्सुलिनको खोजकर्ताको रुपमा प्रो. जे. आर. म्याकलिओड र फ्रेडरिक बान्टिडको नामको व्यापक चर्चा भयो । तर मधुमेहजस्तो भयानक रोगलाई नियन्त्रण गर्ने रामवाण औषधीको यो खोजमा डा. बान्टिङसँग बराबरको हिस्सेदार रहेका चार्ल्स बेस्टको भने कतै पनि नामोनिशान थिएन । यसले डा. बान्टिङको मनमा ठूलो आघात पर्यो । उनले खुलेआम यस कार्यको विरोध गर्न शुरु गरे ।

उनले इन्सुलिनको खोजमा पो म्याकलिओडको हैन, चार्ल्स वेस्टको आफूसमान योगदान रहेको तथ्यलाई जोडदार रुपमा अगाडि राखे । उनले यस खोजमा प्रयोगशाला एवं केही भौतिक साधनहरु उपलब्ध गराउनुबाहेक, प्रो. म्याकलिओडको गोरु बेचेको पनि साइनो नरहेको यथार्थ खुलेआम राखे ।

विवादको यो क्रम चलिरहेकै बेलामा नाबेल पुरस्कार समितिले इन्सुलिनको महान खोजको लागि सन् १९२३ को चिकित्साविज्ञानतर्फको नोबेल पुरस्कार जे. आर. म्याकलिओड र फ्रेडरिक बान्टिङलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गर्यो । यसले विवादको आगोमा भन्नै घिउ थपिदियो । डा. बान्टिङले यसको ठाडो विरोध गरे र नोबेल पुरस्कार लिन नै अस्वीकार गरिदिए । आफ्ना सहयोगीहरुलाई समेत समान दर्जा प्रदान गर्ने महान हृदय भएका डा. बान्टिङले खुलेआम घोषणा गरे- 'इन्सुलिनको खोज अरु कोहीले हैन, मैले र चार्ल्स वेस्टले मिलेर गरेका हौं । त्यसैले यस खोजको आधा श्रेय अरु कसैलाई नभएर वेस्टलाई जान्छ ।'

डा. बान्टिङको यस घोषणाले नोबेल पुरस्कार समितिसामु ठूलो संकट खडा भयो । पुरस्कृत व्यक्तिको नाममा प्रो. म्याकलिओडको नाम घोषणा भइसकेको थियो, जसलाई फिर्ता लिन सकिँदैनथ्यो । त्यसैले उनीहरुले डा. बान्टिङलाई मनाउनतिर लागे । र, अन्ततः प्रो. म्याकलिओडको नामभन्दा अगाडि आफ्नो नाम राख्ने शर्तमा डा. बान्टिङ नोबेल पुरस्कार ग्रहण गर्न राजी भए । अर्थात्, पुरस्कारमा डा. बान्टिङको नाम पहिलो र प्रो. म्याकलिओडको नाम दोस्रो स्थानमा राखियो । नोबेल पुरस्कारबाट प्राप्त ४० हजार अमेरिकी डलर धनराशीमध्ये आधा धनराशी डा. बान्टिङले इमान्दारितापूर्वक त्यसको वास्तविक हकदार चार्ल्स वेस्टलाई बाँडिदिए ।

विश्वविद्यालयको छुट्टी समाप्त भएपछि प्रोफेसर म्याकलिओड यूरोपको भ्रमणबाट क्यानडा फर्के । उनले सोचेका थिए- कस्ता कस्ता 'वैज्ञानिकहरूले सम्पन्न गर्न नसकेको काम डा. बान्टिङले के गर्न सक्लान् र ? उनको सोचाइ थियो- प्रयोगमा असफल भएर डा. बान्टिङ फर्किसकेका छन् । तर जसै उनले डा. बान्टिङहरूलाई भेटे र उनको प्रयोगको सफलताको कथा सुने तथा प्रमाणहरू देखे, तब उनले यो महान खोज भएको विश्वासै गर्न सकेनन् । पहिले डा. बान्टिङलाई सहयोग गर्ने खासै चासो नदेखाएका तथा पछि पनि 'कठोर शर्तका साथ' 'मन नलागी नलागी' अनुमति दिने प्रोफेसर म्याकलिओड यो महान खोज सफल भएको देखेर तीनछक्क परे । डा. बान्टिङले आफ्नो प्रयोगको सफलताको जानकारी प्रो. म्याकलिओडलाई दिए । उनले प्रयोगको नतिजाप्रति विश्वस्त हुन आफ्नो प्रत्यक्ष निगरानीमा डा बान्टिङ र वेस्टलाई सो प्रयोग पुनः शुरूदेखि नै दोहोर्याउन लगाए । यस पटक पनि प्रयोगको नतिजा उही आएकोले उनी प्रयोगको सफलतामा पूर्ण सन्तुष्ट बने । त्यसबेलाका विभिन्न संस्थाहरूका सम्मानित पदमा आसीन तथा प्रसिद्धिको शिखरमा रहेका यिनै प्रो. म्याकलिओडले नै नोभेम्बर १४, १९२१ का दिन टोरन्टोको 'फिजियोलोजिकल जर्नल क्लब' र त्यसको केही समयपछि 'अमेरिकन फिजियोलोजिकल सोसाइटी' मा एक शोधपत्र प्रस्तुत गरी इन्सुलिनको सफल खोज भएको तथ्यलाई सार्वजनिक गरिदिएका थिए ।

सम्मानहरुको थुप्रो !

इन्सुलिन जस्तो महत्वपूर्ण जीवनरक्षक पदार्थको खोज गरे पछि डा. बान्टिङलाई सम्मानहरूको ओइरो लाग्न थाल्यो । यसक्रममा, डा. बान्टिङले संसारकै सबैभन्दा ठूलो र प्रसिद्ध पुरस्कार मानिने नोबेल पुरस्कार पनि प्राप्त गरे । उनलाई चिकित्सा विज्ञानतर्फको सन् १९२३ को नोबेल पुरस्कार प्रदान गरियो । तर यो पुरस्कार इन्सुलिनको मौलिक खोजमा प्रयोगशाला उपलब्ध गराउन बाहेक अन्य कुनै योगदान नगरेका प्रो. म्याकलिओडका साथ संयुक्त रूपमा प्रदान गरिएकोमा ठूलो विवाद नै खडा भएको थियो ।

सन् १९२२ मा आएर डा. फ्रेडरिकले स्वर्ण पदकका साथ एम.डी. (Doctor of Medicine) को डिग्री हासिल गरे । सन् १९२३ मा टोरन्टो विश्वविद्यालयले बान्टिङ-वेस्ट डिपार्टमेन्ट अफ मेडिकल रिसर्च (Banting-Best Department of Medical Research) नै खड़ा गर्‍यो । साथै, उक्त विभागको डाइरेक्टर पदमा पनि बान्टिङलाई नै नियुक्त गरियो । उनलाई उनले पहिले काम गरेको अस्पताल टोरन्टो जनरल हस्पिटल तथा अर्को टोरन्टो वेस्टर्न हस्पीटलको मानार्थ सल्लाहकार पनि बनाइयो ।

कस्तो थियो डा. बान्टिङको स्वभाव ?

सफलता, चर्चा र प्रसिद्धिको शिखरमा पुग्दा पनि डा. बान्टिङ कहिले मात्तिएनन्, कहिले पात्तिएनन् । उनी विनम्र र दयालु नै बनिरहे । चाहेमा उनले आफ्नो यस महान खोजको व्यावसायिक उपयोग गर्न र करोडौं इन्सुलिनको खोजलाई मानवहितको लागि सार्वजनिक गरिदिएका थिए । डलर कमाउन सक्थे तर उनले मानवहितको लागि यसो गर्न चाहेनन् । उनले चाहेमा उनले आफ्नो यस महान खोजको श्रेय आफू एक्लैले मात्रै लिन सक्थे । तर ग्रामीण परिवेशमा हुर्केका र एउटा सोझो ग्रामीण व्यक्तिको जस्तो निर्मल र पवित्र हृदय भएका डा. बान्टिङले खोजको श्रेय आफू एक्लैले मात्र लिन चाहेनन् । उनले आफ्नो यस खोजको श्रेय आफ्ना सहयोगी डा. चार्ल्स वेस्टलाई पनि बराबर । नै दिए ।

डा. बान्टिङ विनम्र थिए र कुनै पनि कुराको श्रेय आफ्ना सम्पूर्ण सहयोगीहरुलाई खुला मनका साथ दिने गर्थे । उनी सधै भन्ने गर्थे उनीहरुले मेरो लागि हैन, मसँग काम गरे । (One did not work for me, but with me.) स्मरणीय के छ भने, त्यसताका चिकित्सा–विज्ञानका छात्र मात्र रहेका वेस्टले डा. बान्टिङलाई अनुसन्धानको क्रममा कुकुरको रगत र पिसाब परीक्षण गर्ने कार्यमा विशेष सहयोग गरेका थिए । साथसाथै, उनले कुकुरको शल्यक्रिया गर्ने क्रममा पनि डा. बान्टिङलाई सहयोग गरेका थिए । तर अनुसन्धानको महत्वपूर्ण भाग- फियोको भित्री कोशिकाहरुबाट इन्सुलिन कसरी प्राप्त गर्न सकिन्छ भन्ने थ्योरी चाहिँ विशुद्ध रुपमा डा. बान्टिङको दिमागको मात्र उपज थियो । यस सम्पूर्ण प्रक्रियामा वेस्टले सहयोगीको भूमिकामात्र निर्वाह गरेका थिए ।

डा. बान्टिङका स्वभावबारे चर्चा गर्दै उनका छोरा विलियमले क्यानडाको डायबिजिट फाउन्डेसनलाई लेखेको एक पत्रमा उल्लेख गरेका छन्- “ग्रामीण परिवेशमा हुर्केका मेरा पितामा ग्रामीण परिवेश नशा नशामा भिजेको थियो । उहाँ मलाई सिटी बजाउन सिकाउनुहुन्थ्यो र नदेखिकन नै आवाज सुनेको भरमा कुन चरा हो भनी बताउन सक्नुहुन्थ्यो । मेरा पिता आफ्ना सहकर्मी, साथीभाइ तथा युद्धमा साथ लडेका साथीहरुप्रति अति नै दयालु एवं मिलनसार हुनुहुन्थ्यो । जनावरहरुप्रति अति मायालु मेरा पिता बच्चाहरुलाई पनि अति नै स्नेह गर्नुहुन्थ्यो । मधुमेह पीडित हज्जारौं बच्चाहरुबाट इन्सुलिनको खोज गरेवापत धन्यवादपत्रहरु आउँदा मेरा बुबा ती सबै पत्रहरु पढ्नु हुन्थ्यो । त्यसबेला उहाँको आँखा आँसुले भरिएको हुन्थ्यो । उहाँलाई थाहा थियो- इन्सुलिनले मधुमेहलाई नियन्त्रण मात्र गर्छ, यो नै यसको अन्तिम उपचार हैन ।' उहाँ भविष्यमा मधुमेहलाई पूरै निको पार्ने उपायको खोजी हुने कुरामा पूर्ण रुपमा आशावादी हुनुहुन्थ्यो ।”

 डा. बान्टिङसँगै बान्टिङ इन्स्टिच्यूट, टोरन्टोमा काम गरिसकेको डा. जी. डब्ल्यू मानिङ्गले एक ठाउँले लेखेका छन्- "सैनिक, वैज्ञानिक र अनुसन्धानकर्ता डा. बान्टिङ अत्यन्त गुणग्राही र मिलनसार थिए । उनी आफूसँग काम गर्ने। थिए । उनी आफूलाई सर फ्रेडरिक भन्ने सम्बोधनले भन्दा पनि डा. बान्टिङ्ग भन्ने सहयोगी एवं साथीहरुप्रति अति दयालु, मिलनसार एवं सहयोग गर्ने स्वभावका सम्बोधन गरिएको नै रुचाउँथे । यसबाट उनी कति विनम्र थिए भन्ने बुझ्न सकिन्छ ।”

सन् १९२३ मा उनले मेडिकल डिग्री बाहेक, L.L.D. डिग्री, र. D. Sc. डिग्री (टोरन्टो) पनि हासिल गरे । नोबेल पुरस्कार पाउनुअघि नै उनलाई टोरन्टो विश्वविद्यालयले Reeve पुरस्कारले सम्मानित गर्यो । सन् १९२३ मा क्यानडाको संसदले उनलाई जीवनभरि वार्षिक ७,५०० डलरको दरले भत्ता समेत दिने निर्णय गर्यो । यसबाहेक, ब्रिटिश तथा अमेरिकी फिजियोलोजिकल सोसाइटी तथा अमेरिकन फार्मोकोलोजिकल सोसाइटी लगायत देश विदेशका विभिन्न संस्थाहरूले पनि डा. बान्टिङलाई सम्मान गरेर मानार्थ सदस्यताहरू प्रदान गरेको थियो ।

सन् १९३४ मा उनलाई KBE (Knight of The British Empire) को सम्मान प्रदान गरिएको थियो ।

विवाह, पारपाचुके र पुनः विवाह

यसरी प्रसिद्धि र सफलताको चुलीमा पुगेपछि डा. बान्टिङको विवाह मारियन रोबर्टसनका साथ सन् १९२४ मा भयो । रोबर्टसनले सन् १९२८ मा एउटा बच्चालाई जन्म दिइन् । बान्टिङ दम्पत्तिले आफनो यो पहिलो बच्चाको नाम विलियम राखिदिए । तर दुःखको कुरा । उनीहरूको यो वैवाहिक वर्षसम्म मात्र कायम जीवन रह्यो । सन् १९३२ मा रोबर्टसन बान्टिङले पारपाचुके गरे । पारपाचुकेको ५ वर्षपछि सन् १९३७ मा १९३७ मा बान्टिङले हेनरिटा बालसँग पुनः विवाह गरे ।

के हो मधुमेह ? कसरी लाग्छ यो रोग ?

जसरी गाडीहरु चल्नको लागि इन्धनको आवश्यकता पर्दछ, त्यसरी नै हाम्रो शरीर चल्नको लागि पनि इन्धनको आवश्यकता पर्दछ । तर यो इन्धन गाडीहरुमा हालिने पेट्रोल, डिजेलजस्तो पेट्रोलियम पदार्थको रुपमा नभएर ग्लुकोज (चिनी) को रुपमा रहेको हुन्छ । यो ग्लुकोज हामीले खाएका खानेकुराहरुबाट शरीरले रासायनिक परिवर्नत गरी निर्माण गर्छ । र, फियोस्थित आइसलेट अफ ल्याङ्गरहान्समा निर्माण हुने विशेष हर्मोन इन्सुलिनको मद्दतले हाम्रो शरीरका कोषहरुले यसलाई ग्रहण गर्छन् ।

तर जब कुनै कारणले गर्दा हाम्रो शरीरमा इन्सुलिनको उत्पादन रोकिन्छ वा त्यसमा कमी आउँछ, तब हाम्रो शरीरको कोषहरुले ग्लुकोजलाई ग्रहण गर्न एवं उपयोग गर्न सक्दैनन् । फलतः त्यसको मात्रा हाम्रो रगतमा बढ्न थाल्छ । रगतमा बढी भएको ग्लुकोज पिसाबबाट बाहिर निस्कन थाल्छ । रगतमा ग्लुकोजको मात्रा बढ्न थालेपछि शुरु हुन्छ- हाम्रो शरीरमा भयानक बर्बादी र विनाशको कथा । शरीरले ग्लुकोज ग्रहण गर्न नसक्ने यो अवस्थाको नाम हो- मधुमेह । यसको बेलैमा उपचार नगर्ने हो भने, त्यसले एउटै परिणति ल्याउँछ, त्यो हो- अनिवार्य मृत्यु ।

जब शरीरका कोषहरुले ग्लूकोजलाई राम्ररी ग्रहण गर्न सक्दैन, तब हाम्रा कोषहरु मर्न थाल्छन् । हाम्रो शारीरिक शक्ति घट्न थाल्छ । अति चर्को तीर्खा लाग्न थाल्छ । मुटुका कोषहरु नष्ट हुन थाल्छन् । मृगौलामा खराबी देखिन थाल्छ । आँखाका कोषहरु नष्ट भएर हाम्रो हेर्ने शक्ति हराउँदै जान थाल्छु र अन्ततः स्नायुप्रणालीमै असर पुगेर हाम्रो शारीरिक दुर्दशा हुन थाल्छ ।

यस रोगको चरम परिणतिमा शरीरका कोषहरुले ग्लुकोज ग्रहण गर्न नसकेपछि हाम्रो शरीरको बोसोलाई नै ऊर्जाको वैकल्पिक स्रोतको रुपमा टुक्रयाउन र उपयोग गर्न थाल्छन् । यो स्थिति चर्को रुपमा बढ्न थालेपछि हाम्रो शरीरमा केटोन (Ketones) नाम गरेको विषालु पदार्थ पैदा हुन थाल्छ अन्ततः यसले रोगीलाई 'कोमा' मा पुर्याइदिन्छ त्यही अवस्थामा बिरामीको मृत्यु हुन जान्छ । एक तथ्यांकअनुसार, वर्षेनी १५ वर्षमुनिका १ लाख बच्चाहरुमा १४.२ जनामा यस किसिमको समस्या देखिने गरेको छ ।

यो रोगलाई खानपीनमा विशेष ध्यान पुरयाएर तथा इन्सुलिनको सुई लिएर नियन्त्रण गर्न सकिन्छ । विचारयोग्य कुरा के छ भने, यो रोग पूरै निको पार्ने विधि एवं औषधी आजसम्म पत्ता लागेको छैन । उचित औषधी, सन्तुलित खानपीन तथा इन्सुलिनको प्रयोग गरेर यसलाई नियन्त्रण मात्र गर्न सकिन्छ । यो रोग लागेको व्यक्तिले आफ्नो जीवन सामान्य रुपमा नै बिताउन सक्छ । तर यस रोगकै कारणले अन्य विभिन्न ज्यानमारा रोगहरु (Fatal Diseases) समेत पनि लाग्ने भएकोले यसको कारणबाट मर्नेहरुको संख्या विश्वमा बढ्दो छ

मधुमेह रोग पनि दुई प्रकारको हुन्छ । पहिलो प्रकारमा शरीरभित्र कुनै कारणवश इन्सुलिनको उत्पादन बन्द वा कम भएर बच्चा एवं युवाहरुमा देखापर्ने मधुमेह पर्दछ । अर्को चाहिँ ४० वर्षको उमेर लागेपछि वा पार गरेपछि इन्सुलिनको उत्पादनमा कमी आएर देखापर्ने मधुमेह पर्दछ । यस दोस्रो प्रकारको मधुमेहमा चाहिँ रोगीको शरीरमा इन्सुलिनको उत्पादन पूरै रोकिएको हुँदैन । 

दुःखद मृत्यु

दोस्रो वैवाहिक जीवनको आनन्द पनि डा. बान्टिङले पाँचवर्षभन्दा बढी भोग्न सकेनन् । यसबीचमा शुरू भएको दोस्रो विश्वयुद्धमा उनी पुनः सैनिक सेवामा भर्ना भए । अनि बेलायत एवं उत्तरी अमेरिकी चिकित्सा सेवाहरूका बीच समन्वय गर्ने अफिसरका रूपमा उनी युद्धमा पुनः सक्रिय रूपमा सहभागी बने । यसैक्रममा, आफ्नो कर्तव्य निर्वाह गर्ने सिलसिलामा फेब्रुअरी २० १९४१ का दिन उनी बमवर्षक विमानमा बसी आफ्नो गन्तव्यतर्फ जाँदैथिए । प्रशान्त महासागरमाथि उडिरहेको उनको विमानमा उडेको करीब २५ मिनेटको छोटो समयमा नै अचानक प्राविधिक खराबी पैदा भयो । आपतकालीन अवतरणका लागि त्यसका चालक क्याप्टेन जोसेफ म्याकीले न्यू फाउल्याण्डतिर फर्काए । उनले त्यसलाई सुरक्षित अवतरण गराउनका लागि भरमग्दूर प्रयत्न गरेका थिए, तर प्राविधक खराबीको कारण डा. बान्टिङ चढेको सो विमानको बायाँ पंखा एउटा रूखमा ठोक्किन पुग्यो र विमान नियन्त्रणभन्दा पूरै बाहिर गयो । विमानमा सवार विलियम स्नेलहाम नाम गरेका व्यक्तिको तत्कालै मृत्यु भयो भने डा. बान्टिङ र प्लेनका क्याप्टेन म्याकी प्लेनबाट बाहिर उछिट्टिएर बेहोश हुन पुगे । उनीहरूको टाउकोमा गम्भीर चोट लागेको थियो । अन्ततः सोही चोटको कारण डा. बान्टिङको दुःखद मृत्यु भयो ।

स्रोत: Encyclopedia Grollier, Encyclopedia Britannica, Ms Encarta - 2000, Nobel Lectures- Physiology or Medicine 1922- 1941, The Canadian Medial Hall of Fame, विज्ञान प्रगति