सुत्नु ! सुत्नु ! राम्ररी सुत्नु !

सावधान ! अनिद्राले रोग प्रतिरोधी क्षमता कमजोर तुल्याउन सक्छ !

तपाईंमध्ये कतिजनाले अनुभव गर्नुभएको छ– राति अबेरसम्म बस्दा वा सुत्न ढिलो गर्दा आमाबुबाले कराउनुभएको– ए अबेरसम्म नसुतिकन नबस् है, बिरामी पर्लास् नि फेरि ।

आमाबुबा वा अभिभावकहरुको त्यो भनाइ लामो समयको व्यवहारबाट हासिल गरेको अनुभवजन्य ज्ञानमा आधारित हुने गर्छ । तर अहिले विज्ञानले पनि प्रमाणित गरेको छ– सुताइ पूरा भएन भने हाम्रो रोग प्रतिरक्षा प्रणालीको क्षमता कमजोर हुन्छ भनेर । थाहा भएकै कुरा हो, रोग प्रतिरक्षा प्रणालीको क्षमता कमजोर भयो भने हामी विरामी पर्ने सम्भावना अत्यधिक बढेर जान्छ ।

बेलैमा सुतिएन, निद्रा पुगेन वा राम्ररी सुत्न सकिएन–पाइएन भने हाम्रो रोग प्रतिरोधी क्षमता कमजोर बनेर जान्छ ।

हामी मस्त निदाएको बेलामा हाम्रो शरीरको रोग प्रतिरोधी क्षमताले एउटा विशेष किसिमको तत्व उत्पादन गर्छ, त्यसलाई साइटोकान (Cytokine) भनिन्छ । साइटोकानले हाम्रो शरीरलाई संक्रमणहरु तथा इन्फ्लेमेसनहरुसँग लड्न सहयोग गर्छ । हामीले राम्ररी सुत्न नपाउँदा हाम्रो शरीरको रोग प्रतिरोधी क्षमताले पनि त्यसो  साइटोकानलाई राम्ररी उत्पादन गर्न सक्दैन । फलतः हाम्रो शरीरले एकातिर रोगहरुसँग लड्ने क्षमता गुमाउँदै जान्छ, त्यो कमजोर बनेर जान्छ ।अर्कोतिर हाम्रो शरीरमा इन्फ्लेमेसन पनि बढेर जान्छ । त्यसो क्रम लामो समयसम्म चलिरहँदा इन्फ्लेमेसनका कारण शरीरको इम्युन सिस्टमले राम्ररी काम गर्न सक्दैन र आफ्नै शरीरका अङगहरुलाई पनि क्षति पुर्याउन थाल्छ । यस्तो अवस्थालाई अटो इम्युन डिजिज भनिन्छ ।

हाम्रो शरीरलाई स्वस्थ र जीवन राख्ने क्रममा शरीरभित्र पुराना कोषहरु मर्ने र नयाँ कोषहरु बन्दै जाने प्रक्रिया निरन्तर चलिरहेको हुन्छ । राम्ररी सुत्दा हाम्रो शरीरमा रहेको पुराना कोषहरु हटाउने र नयाँ कोषहरु निर्माण हुने प्रक्रिया सही ढंगले सम्पन्न हुन पाउँछ । त्यसैगरी, राम्ररी सुत्न पाउँदा हाम्रो शरीरमा हुने इन्टरल्युकेन– ७ नाम गरेको तत्व पनि राम्ररी उत्पादन हुन पाउँछ । यो तत्वले हाम्रो शरीरमा टी कोषहरुको निर्माण र विकासमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ । टी कोषले हाम्रो शरीरमा घुसेको रोगका किटाणुहरुसँग लड्ने र तिनलाई मार्ने काम विशेष रुपले गर्ने गर्छ् । वास्तवमा भन्ने हो भने टी कोष हाम्रो शरीरको प्रतिरक्षाका लागि तैनाथ सिपाही हो, जो शरीरभित्र घुसेर नोक्सान गर्ने शत्रुका विरुद्ध लड्न निरन्तर तम्तयार भई बसेको हुन्छ ।

राम्ररी निद्रा नपुग्दा हाम्रो शरीरको रोगसँग लड्ने क्षमता निरन्तर कमजोर बन्दै जान्छ । फलतः त्यसले भाइरसहरुसँग लड्ने शरीरको क्षमता पनि कमजोर बनेर जान्छ । रगतमा कोर्टेसल (Cortisol)  को मात्रा बढेर जान्छ । त्यसले रोगसँग लड्ने क्षमता कमजोर बनाइदिन्छ र शरीरको रक्तसञ्चार प्रणालीमा भार थपिदिन्छ । यो क्रम निरन्तर चलिरह्यो भने मुटुसम्बन्धी समस्याहरु पनि पैदा गराइदिन सक्छ ।

लामो समयसम्म राम्ररी सुत्न नसक्ने वा नपाउने हो भने अल्जाइमर रोग देखापर्ने खतरा पनि बढेर जान्छ । अल्जाइमर प्रोटिन सफाइ प्रक्रियामा कमी आउँदा वा पोटिन बढी मात्रामा उत्पादन हुँदै जाँदा मस्तिकमा निर्माण हुन्छ ।

 संसारभरिका करिब २० प्रतिशत मानिसहरु राम्ररी सुत्न सक्ने समस्याबाट पीडित हुने गर्छ । सामान्यतः एउटा मानिसलाई स्वस्थ रहनका लागि औसत रुपमा ७–८ घण्टा बाधारहित ढंगले सुत्नु जरुरी हुन्छ भनेर भनिन्छ ।