संसारको पहिलो कम्युनिष्ट व्यवस्था ‘पेरिस कम्युन’ : किन र कसरी असफल भयो ?

पेरिस कम्युन कम्युनिष्ट इतिहासको सबभन्दा महत्त्वपूर्ण र प्रेरणादायी घटनाहरूमध्ये एक हो । संसारको इतिहासमा सबभन्दा पहिले श्रमिक वर्गले पूँजीपति वर्गको शासनसत्तालाई चकनाचुर पारेर राज्यसत्ता आफ्नो हातमा लिएको ऐतिहासिक घटनाक्रमलाई पेरिस कम्युनको रूपमा चिनिन्छ। पेरिस कम्युन मात्र ७२ दिन अस्तित्वमा रहेको थियो। त्यसपछि पूँजीपति शासकहरूले घेरा हालेर यो कम्युनको नराम्रोसँग हत्या गरेका थिए।

७२ दिनको आफ्नो शासन व्यवस्थामा पेरिसका सर्वसाधारण श्रमिकहरूले समाजलाई अत्यन्तै नयाँ आधारमा बनाउने कोशिस गरेका थिए। वास्तवमा यो एक अन्तर्राष्ट्रिय आन्दोलन थियो। यसमा  शोषण, दमन, अन्याय, अत्याचार, उत्पीडन रहित र वास्तविक जनतान्त्रिक समाजको स्थापनाको प्रयास गरिंदै थियो। यो श्रमिक वर्गहरूको पहिलो विद्रोह थियो। यसमा कुनै परिपक्व नेता थिएनन्। कुनै परिपक्व पार्टी पनि थिएन र अन्तर्राष्ट्रिय अनुभवको पनि अभाव थियो। यस्तो जटिल अवस्थामा पनि पेरिस कम्युनले पूँजीवादी सत्ताको विकल्प बनाउने कोशिस गर्‍यो। तर यो धेरै दिन टिक्न सकेन। सबै जमिन्दार, राजाहरू र सबै पूँजीपति साझेदारहरू मिलेर पेरिस कम्युनका श्रमिकहरूको नृशंसतापूवक हत्या गरे र कलिलै अवस्थामा यसलाई रगतमा डुबाइदिए। पूँजीपति वर्गले हजारौं हजार मजदूरहरूको हत्या गरेर सर्वहारा वर्गको प्रथम क्रान्तिकारी अनुभवलाई ध्वस्त बनाएका थिए। पेरिस कम्युनमार्फत् श्रमिकहरूले पूँजीवादी राज्ययन्त्रलाई तहसनहस गर्नमा सक्षम छन् भन्ने देखाएका थिए र यसरी उनीहरूले समाजमा श्रमिक वर्ग नै एकमात्र क्रान्तिकारी वर्ग हो भन्ने कुरा प्रमाणित गरेका थिए। मार्क्सका अनुसार पेरिस कम्युन मानव जातिलाई वर्गीय शासनबाट हमेशाको लागि मुक्ति दिलाउने सामाजिक क्रान्तिको शुरूवात थियो। कम्युनिष्ट क्रान्तिकारी श्रमिकहरूको कैयौं पुस्तासम्म पेरिस कम्युनको घटनाक्रम प्रेरणाको स्रोत रहँदै आएको छ र रहिरहनेछ।

पेरिस कम्युनले दुई महिनाभन्दा केही बढी अवधिमा ऐतिहासिक र साहासिक इतिहासको रचना गर्‍यो। पेरिस कम्युनबाट प्राप्त शिक्षाले पछिका क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई ठूलो प्रेरणा दियो। विशेषगरी लेनिनको नेतृत्वमा भएको रूसको अक्टुवर क्रान्तिले यसबाट धेरै शिक्षा लिएको देखिन्छ। लेनिनका अनुसार बोल्शेभिक पार्टीले पेरिस कम्युनको काँधमाथि चढेर रूसमा सत्ता हासिल गरेका हुन्। लेनिनले उनको प्रसिद्ध कृति राज्य र क्रान्तिमा पेरिस कम्युनका अनुभवहरूलाई राम्रोसँग उल्लेख गरेका छन्। मार्क्स-एंगेल्सले फ्रान्समा भएका सम्पूर्ण घटनाहरूलाई आफैले राम्रोसँग नियालेका थिए। पेरिस कम्युनमाथि लेखिएको आफ्नो चर्चित पुस्तक फ्रान्समा गृहयुद्धमा मार्क्सले भनेका छन् – सर्वहाराले कहिल्यै पनि बनीबनाउ बुर्जुवा राज्य यन्त्रलाई आफ्नो लागि प्रयोग गर्न सक्दैन।

पेरिस कम्युनबाट प्राप्त शिक्षाले पछिका क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई ठूलो प्रेरणा दियो। विशेषगरी लेनिनको नेतृत्वमा भएको रूसको अक्टुवर क्रान्तिले यसबाट धेरै शिक्षा लिएको देखिन्छ।

यस्तो महान तथा गौरवपूर्ण इतिहास बोकेको पेरिस कम्युनलाई स्पष्ट रूपमा बुझ्न हामी त्यसभन्दा कम्तीमा २० वर्ष पहिलेका घटनाक्रममा जानुपदर्छ। १९औं शताब्दीको बीचमा यूरोपमा कलकारखानाहरूको तीव्र विकास भइरहेको थियो। पूँजीवादी औद्योगिक क्रान्ति तीव्र रूपमा अगाडि बढिहरेको थियो। यससँग संगठित औद्योगिक मजदूरहरूको शक्ति  र चेतना पनि बढ्दै गइरहेको थियो। ब्रिटेन, फ्रान्स र जर्मनीका मजदूर आफ्नो शोषणको विरुद्ध संघर्षलाई बढीभन्दा बढी संगठित रूपमा चलाउन लागेका थिए। श्रमिक वर्गको मुक्तिको लागि विभिन्न विचार पैदा हुँदै गएका थिए र सम्पूर्ण श्रमजीवीहरू त्यसको प्रभावमा परेका थिए। सबभन्दा महत्त्वपूर्ण कुरा सन् १८४८ मा मार्क्स र एंगेल्सले कम्युनिष्ट घोषणापत्र लेखेपछि मार्क्सवादको जन्मसँगै सबैतिरका श्रमिकहरू एकताबद्ध भएर आफ्नो हकहितको लागि लाग्नथालेका थिए।

 सन् १८४८ को जुन महिनामा फ्रान्समा भएको क्रान्तिमा पेरिसका श्रमिकहरूको भयंकर हत्या गरेर पूँजीपति वर्गले निर्ममतापूर्वक दबाइदिए। त्यसपछि १० डिसेम्बर १८४८ मा पूँजीपति वर्गले राष्ट्रपतिको चुनाव गरेको थियो। सम्पूर्ण बुर्जुवा वर्गले सबै हिसाबले सहयोग गरेकोले छलपूर्ण तरीकाले नेपोलियन तृतीयले चुनाव जित्यो र राष्ट्रपति बन्यो। १८५१ मा नेपोलियन तृतीयले राष्ट्रिय प्रतिनिधिसभा भंग गर्‍यो। त्यसपछि सन् १८५२ मा पूँजीपति वर्गले नेपोलियन तृतीयलाई सम्राट घोषणा गरे। फ्रान्सका मजदूर वर्गले यसको विरोध त गरे तर सम्राटलाई सेना लगायत राज्यका सबै संयन्त्रको समर्थन भएकोले मजदूरहरूको विरोधले केही अर्थ राखेन।  ठूलो परिणाममा भएको मजदूरहरूको हत्याले उनीहरू असंगठित भएर छरिएका थिए। मजदूर संगठनहरूमाथि प्रतिबन्ध लगाइएको थियो। त्यसपछि फ्रान्समा राज्य र पुलिस हरेक ठाउँमा परिचालन गरिएको थियो। यसलाई पुलिस राज्य पनि भनिन्थ्यो। सबै प्रकारका प्रतिक्रियावादी शक्तिहरू, ठूला जमिन्दार, भूमिपति, पूँजीपति, बैंकपति, चर्च, आदि यसका समर्थक थिए। नेपोलियन तृतीयको शासनको शुरुवातमा फ्रान्सको अर्थव्यवस्थामा व्यापक परिवर्तन भएको थियो । त्यसकारण पनि ऊ धेरै शक्तिशाली मानिन्थ्यो। त्यसपछि उसले आफ्नो साम्राज्य विस्तार गर्नको लागि सन् १८५४ मा ५६ मा रूसमाथि आक्रमण गर्‍यो। अफ्रिका र हिन्दचीनमा उपनिवेशवादी सरकार विस्तार गर्‍यो। नेपोलियनले आफ्नो शासनकालमा इटली, क्रिमिया, मेक्सिको र प्रशियाको विरुद्धमा युद्ध गरेको थियो। इटलीसँग भएको युद्धले नेपोलियन तृतीयलाई पोपको विरुद्धमा उभ्याएको थियो। त्यसपछि नेपोलियनले क्याथोलिक चर्चको समर्थन छोड्यो ।

सन् १८५२ मा पूँजीपति वर्गले नेपोलियन तृतीयलाई सम्राट घोषणा गरे। फ्रान्सका मजदूर वर्गले यसको विरोध त गरे तर सम्राटलाई सेना लगायत राज्यका सबै संयन्त्रको समर्थन भएकोले मजदूरहरूको विरोधले केही अर्थ राखेन।  ठूलो परिणाममा भएको मजदूरहरूको हत्याले उनीहरू असंगठित भएर छरिएका थिए।

सेप्टेम्बर १८६४ मा लण्डनमा भएको एक सभामा ब्रिटेन, फ्रान्स, जर्मनी, इटली र अन्य कैयौं देशका मजदूरहरूको सहभागितामा अन्तर्राष्ट्रिय मजदूर संघको स्थापना गरिएको थियो, जसलाई इतिहासमा कम्युनिष्ट इन्टरनेशनल भनिन्छ। मार्क्स र एंगेल्स यसका वैचारिक नेताहरू थिए। यूरोपका विभिन्न देशहरू र अमेरिककाका ट्रेडयूनियनहरू, मजदूर समाज, श्रमिक शिक्षण मण्डल तथा अन्य मजदूर संगठनहरू पनि पहिलो अन्तर्राष्ट्रियमा सहभागी भएका थिए। यी सबै देशहरूमा अन्तर्राष्ट्रिय मजदूर संघका राष्ट्रिय शाखाहरू स्थापित गरिएको थिए। थोरै समयमा नै इन्टरनेशनल एक व्यापक अन्तर्राष्ट्रिय संगठन बनेको थियो। यसको प्रभाव फ्रान्समा पनि व्यापक रूपले परेको थियो।

फ्रान्सका मजदूर वर्गलाई सन् १८६४ मा हड्तालको अधिकार दिएर प्रतिक्रियावादी शक्तिहरूको गुमेको अधिकार प्राप्त गर्ने प्रयास गरियो। तर यतिखेरसम्म फ्रान्सको अर्थव्यवस्थामालाई संकटले घेरा हालिसकेको थियो। अर्कोतिर मजदूर वर्ग आफ्नो ज्याला र कामको खराब स्थितिको विरूद्ध आन्दोलनरत थिए। सम्पूर्ण फ्रान्स तनावग्रस्थ अवस्थामा थियो। चारैतिर असन्तोष बढ्दै गइरहेको थियो। युद्धको कारणले गर्दा फ्रान्सको अर्थतन्त्र नराम्ररी बिग्रदै गएको थियो। त्यसकारण सम्राटले किसानहरूमाथि कर लगाउने नीति लियो। त्यसपछि किसान र मजदूर वर्ग शासकसँग चिढिदै जान थाले। किसानहरू ऋणमा डुबे, मजदूर बेरोजगार भए, गरीबी झन भनो झन बढ्दै गयो। मजदूरलाई पनि १८ घण्टासम्म काममा लगाइन्थ्यो। त्यसकारणले गर्दा सन् १८६७ मा लिरेनको कोइलाखानीमा मजदूरले हड्ताल गरे। त्यसैगरी अन्य धेरै ठाउँमा ज्याला वृद्धि र कामको घण्टा ८ बनाउने आन्दोलन र हड्तालहरू हुँदै गए। मजदूर आन्दोलन दबाउन सेनाको प्रयोग गरिएपछि संघर्षले झन उग्र रूप लिंदै गयो। अब हड्तालसँगै प्रदर्शन, जनसभा जस्ता विरोधका अन्य धेरै कार्यक्रमहरूलाई मजदूरहरुले अगाडि बढाउन थाले।  सन् १८७० को जनवरीसमम्म आउँदा विरोधले व्यापक रूप लिइसकेको थियो। अब मजदूर आन्दोलनलाई दबाउन  शासकले नयाँ छल गर्‍यो। यस्तो स्थितिको समाधानको लागि नेपोलियन तृतीयले युद्धको मार्ग अपनायो। उसले बिस्मार्कको प्रशियालाई निरंकुश र साम्राज्यवादी घोषणा गर्‍यो। त्यसपछि मानिसहरूलाई के बाचा गरिदियो भने यो युद्धले उनीहरूलाई नयाँ भौगोलिक इलाका, रोजागरी, कच्चा पदार्थ र समृद्धि ल्याउनेछ।  यो युद्धमा प्रसियाको बिस्मार्क फ्रान्सको फलाम खानीले समृद्ध र सैन्य रणनीतिक महत्त्वको स्थल एल्सास र लोरेन प्रदेशमा कब्जा जमाउन चाहन्थ्यो भने फ्रान्सको शासक नेपोलियन तृतीय अन्य देशसँग युद्ध जितेर आफ्नो देशभित्र भइरहेको राजनीतिक संकट समाधान गर्न चाहन्थ्यो। त्यतिबेला रूस, बेलायत, इटाली जस्ता देशहरू पनि  फ्रान्सको पक्षमा थिएनन्। बिस्मार्कले पूर्ण रूपमा लडाइँको तयारी गरेको थियो।  यस्तो स्थितिमा १७ जुलाई १८७० मा फ्रान्सले प्रशियाको विरुद्धमा युद्धको घोषणा गरेको थियो र १९ जुलाईबाट युद्ध शुरु भएको थियो। प्रशियासँग फ्रान्सका भन्दा दोब्बर सेना थिए र उनीहरूसँग पूरा युद्धको ज्ञान पनि थियो। त्यसकारण यो युद्ध नेपोलियन तृतीयको लागि विनाशकारी सिद्ध भयो। २ सेप्टेम्बर १८७० मा फ्रान्सका शासक नेपोलियन तृतीयलाई सेडान नामक स्थानमा ७५००० सेनासहित जर्मन सेनाले पक्रिए। त्यसपछि नेपोलियन तृतीय बिस्मार्कको कब्जामा पुग्यो। यो एक अचम्मको घटना थियो। तर यही घटनाले गर्दा क्रान्तिको पहिलो चरणको भूमिका शुरुवात भएको देखिन्छ।

नेपोलियन कब्जामा पुगेको खबर पेरिस पुग्ने वित्तिकै त्यहाँ ठूलो जनसमूह सडकमा उत्रियो। फ्रान्स अन्य शहरहरूमा पनि ठूला-ठूला प्रदर्शनहरू हुनलागे। मानिसहरूको भीडले साम्राज्यवादी सरकारलाई फ्याँकेर जनवादी गणतन्त्रको स्थापना गर्न माग गर्नलागे।

नेपोलियन कब्जामा पुगेको खबर पेरिस पुग्ने वित्तिकै त्यहाँ ठूलो जनसमूह सडकमा उत्रियो। फ्रान्स अन्य शहरहरूमा पनि ठूला-ठूला प्रदर्शनहरू हुनलागे। मानिसहरूको भीडले साम्राज्यवादी सरकारलाई फ्याँकेर जनवादी गणतन्त्रको स्थापना गर्न माग गर्नलागे। त्यसको दुई दिनपछि अर्थात् ४ सेम्पेटेम्बर १८७० मा फ्रान्सेली साम्राज्यले जनताको माग स्वीकार गर्नको लागि विवश हुनुपर्‍यो र जनवादी गणतन्त्रको घोषणा गरियो। फ्रान्समा यसरी जनवादी गणतन्त्र घोषणा गरिए पनि सत्तामा भने बुर्जुवा वर्गकै अधिनस्थता कायम रह्यो। अर्कोतिर बिस्मार्कका जर्मनी सेनाहरू पेरिसको मुख्य नाकामा क्याम्प खडा गरेका बसेका थिए। यतिखेरै पेरिसका मजदूर वर्ग पनि सत्तामा आउनसक्ने ऐतिहासिक अवसर थियो तर उनीहरूको सांगाठानिक अस्तव्यस्तता र मानसिक तयारी नभएको कारणले यो मौका उम्कियो।

यसको एउटा अर्को कारण यतिबेला उनीहरूको कुनै योग्य नेता पनि थिएन। पेरिसका मजदूर र आम जनताको बीचमा प्रतिष्ठित नेता भनेको लुईं ब्लांकी थियो तर त्यसबेला ऊ पनि जेलमा थियो। यस्तैमा ४ सेप्टेम्बर १८७० को दिन एक निर्णायक दिन बन्यो। राजतन्त्रको अन्त्यबाट जनतामा उत्साह थियो। तर बुर्जुवा वर्गलाई पनि आफ्नो सत्ता जाने कुरामा चिन्ता थियो। फ्रान्सका बुर्जुवालाई नेपोलियनको पक्राउ, फ्रान्सको हार र विदेशी सेनाहरूको उपस्थितिबाट त्यति खतरा महसुस भएको थिएन, जति पेरिसका जनताको विद्रोहात्मक चेतनाबाट। यतिबेलासम्म बिस्मार्कका सेनाले पेरिसलाई कोही पनि नागरिक बाहिर जान नसक्नेगरी घेराबन्दी गरेका थिए। अब देशको रक्षाको लागि फ्रान्सेली सरकारले स्वयंलाई ‘नेशनल डिफेन्स’ (राष्ट्रिय सुरक्षागार्ड) सरकारको रूपमा घोषणा गरिदियो। भोकले पीडित मजदूरहरूको समूह राष्ट्रिय सुरक्षागार्डमा व्यापक रूपमा भर्ती हुन लागे र छिट्टै त्यसका टुकडीहरूका बहुभाग बने। तर केही दिनमै पेरिसको सुरक्षा संघर्षले समाजलाई सर्वहारा र पूँजीपति गरी दुई भागमा विभाजित गरिदियो । त्यसपछि त्यसले व्यापक रूपमा अन्तर्विरोधको रूप लियो।  त्यसपछि विस्तारै फ्रान्सको पूँजीवादी सरकारले गोप्य रूपमा जर्मनीसँग आत्मसमर्पणको कुरा सोच्नलाग्यो।

भोकले पीडित मजदूरहरूको समूह राष्ट्रिय सुरक्षागार्डमा व्यापक रूपमा भर्ती हुन लागे र छिट्टै त्यसका टुकडीहरूका बहुभाग बने। तर केही दिनमै पेरिसको सुरक्षा संघर्षले समाजलाई सर्वहारा र पूँजीपति गरी दुई भागमा विभाजित गरिदियो । त्यसपछि त्यसले व्यापक रूपमा अन्तर्विरोधको रूप लियो। 

यी सबै घटनाक्रमबाट के कुरा स्पष्ट हुन्थ्यो भने यिनीहरूले विस्तारै विस्तारै पुनः राजतन्त्र स्थापना गर्ने योजना बनाएका थिए। पेरिसका सेनाको कमाण्ड जनरल ट्रोशेको हातमा थियो। शुरुमा पेरिसका जनताले नेशनल डिफेन्स सरकारलाई समर्थन दिए। किनभने सबैको चिन्ता पेरिसको सीमासम्म आइपुगेको जर्मन सेनासँग युद्ध गर्नु थियो। शुरूमा सेनाको जनरल ट्रोशेले पेरिसको सुरक्षा गर्ने सम्बन्धमा घमण्ड गर्दै भन्थ्यो – बिस्मार्कको हातमा हामी आफ्नो इलाकाको एक इन्च र किल्लाको एउटा इँटा पनि छोड्नेछैनौं। तर वास्तविक रूपमा बिस्मार्कसँग भित्रभित्रै गुप्त सन्धि गरिंदै थियो। यसको कारण के थियो भने नेशनल डिफेन्सको सरकारलाई ठूला-ठूला सामन्तहरू, जागिरदारहरू, पूँजीपतिहरू, बैंकपतिहरू, आदिको समर्थन थियो। बिस्मार्कको शासनको आधार पनि यही थियो। त्यसैले नेशनल डिफेन्सको सरकारसँग दुइवटा विकल्प थिए – या त बिस्मार्कसँग सम्झौता गर्ने या आफ्ना देशका मजदूरहरूलाई साथ दिने। तर बुर्जुवा नेतृत्वले पेरिसको सुरक्षाको बदला विदेशी सेनासँग आत्मसमर्पण गर्नु श्रेयस्कर ठान्यो।

डिफेन्स सरकारले आफ्नो देश र जनतासँग विश्वासघात गरिरहेको थियो। यसकारण यसलाई फ्रान्समा ‘विश्वासघाती सरकार’ भनिन्छ। विदेशी सेनाको विरुद्धमा उनीहरूलाई पेरिसका सशस्त्र मजदूरहरूबाट धेरै खतरा महसुस भइरहेको थियो। यसरी मजदूरहरू समक्ष नेशनल डिफेन्स सरकारको वास्तविकता स्पष्ट भयो। चार-पाँच महिनाको लामो घेराबन्दीले गर्दा पेरिसका हजारौं मानिसहरू भोक र गरीबीले कारणले धेरै कष्टमा जीवन बिताउन विवश थिए। जर्मन सेनाहरूसँग लड्नमा अनिच्छाको कारण पेरिसका मजदूर क्रान्तिकारीको धैर्य गुमिरहेको थियो। ३१ अक्टोबर र २२ जनवरी गरी २ पटक विद्रोह पनि भइसकेको थियो। तर यससलाई दबाइएको थियो। यता जनरल ट्रोशेलाई हटाएर जनरल भिनोएलाई ल्याइयो।

 जनरल भिनोए पेरिसका मजदूरहरूमा धेरै बदनाम थियो। यही जनरलले नै सन् १८४८ को मजदूर क्रान्तिलाई नृशंसतापूर्वक दमन गरेको थियो र करिब ६ हजार मजदूरहरूलाई गोली हानिएको थियो। यसपछि २८ फेब्रुअरी १८७१ मा जर्मन सेनाहरूले घेराबन्दी गरेको करिब ६ महिनापछि बुर्जुवा सरकारले बिस्मार्कसँग सम्झौतामा हस्ताक्षर गर्‍यो। यसका शर्त अत्यन्तै कडा र प्रत्यक्ष रूपमा राष्ट्रिय सम्मानमा चोट पुग्ने खालका थिए।  यसपछि फ्रान्सका अल्सास र लोरेन जस्ता भूभाग जर्मनीलाई सुम्पिइयो। युद्धको व्ययस्वरूप लगभग ५ अरब फ्र्यांक जरिवाना दिनुपर्‍यो। यो सम्झौतामा अर्को आपत्तिजनक शर्त के थियो भने नेशनल एसेम्बलीको चुनाव गराएर यो सम्झौतामाथि वैधानिक बनाउनु। बिस्मार्क यो सम्झौतालाई वैध देखाउन चाहन्थ्यो। प्रशियाको सामु आत्मसमर्पण गरेपछि पनि नेशनल गार्ड्सले आफ्ना हतियार र तोपहरू सँगै राखेका थिए। त्यसकारणले गर्दा जर्मन सैनिकहरूले पेरिसभित्र पस्ने हिम्मत गरेका थिएनन् ।

यता शर्त अनुसार बुर्जुवा सरकारले विदेशी सेनाको घेराबन्दीमा केही दिनभित्रै चुनाव गरायो। यो चुनावमा पुराना विचार भएका किसान, पुराना जमिन्दार, जागरिदार र राजतन्त्रका समर्थक चुनिएर आए। चुनावपछि बनेको नेशनल एसेम्ब्लीको नेता एडोल्फ थियेर्स बन्यो। यो व्यक्तिलाई फ्रान्सेली बुर्जुवा वर्गको सबभन्दा विश्वस्त र मजदूर वर्गको इतिहासको सबभन्दा अवसरवादी र पतीत व्यक्ति मानिन्थ्यो।  थियेर्स छेपारो जस्तै रंग बदल्ने, वाक्पटु, धूर्त, अपराधी, षड्यन्त्रकारी, धोकेबाज, पूँजीवादी वकिल, झूटो इतिहासकार, गलत प्रवृत्तिको राजनीतिज्ञ र फ्रान्सका पूँजीपति वर्गको वास्तविक प्रतिनिधि थियो।

थियेर्स छेपारो जस्तै रंग बदल्ने, वाक्पटु, धूर्त, अपराधी, षड्यन्त्रकारी, धोकेबाज, पूँजीवादी वकिल, झूटो इतिहासकार, गलत प्रवृत्तिको राजनीतिज्ञ र फ्रान्सका पूँजीपति वर्गको वास्तविक प्रतिनिधि थियो।

अब एक नयाँ परिस्थितिको जन्म हुनगयो। एकातिर रूढीवादी विचारयुक्त प्रतिक्रियावादी प्रतिनिधि थिए भने अर्कोतिर पेरिसका क्रान्तिकारी मजदूर र नेशनल गार्ड थिए।  नेशनल गार्डको स्थापना फ्रान्सेली क्रान्तिको क्रममा एक प्रतिक्रान्तिकारी सेनाको रूपमा भएको थियो। यसको मुख्य उद्देश्य मजदूरहरू र आम जनताको संघर्षको दमन गर्नु थियो। सन् १८४८ को क्रान्तिकारी आन्दोलनलाई दबाउनमा नेशनल गार्डको प्रयोग गरिएको थियो। तर सेप्टेम्बर १८७० पछि नेशनल गार्डको पुरानो चरित्रमा परिवर्तन देखिन थाल्यो।

डेमोक्रेटिक रिपब्लिकको स्थापनापछि मजदूर वर्गका नयाँ र क्रान्तिकारी समूहहरू नेशनल गार्डमा प्रवेश हुन लागे। पहिले नेशनल गार्ड्सले आफ्नो बर्दी र हतियारको खर्च स्वयं बेहोर्नुपर्दथ्यो। त्यसकारण यी हतियारहरूलाई उनीहरू आफ्नो निजी सम्पत्ति ठान्थे। यसकारण नेशनल गार्ड्सले पेरिशका सर्वहाराहरूको स्वायत्त सेनाको रूपमा काम गर्न लागेका थिए। यसपछि नेशनल गार्डले नयाँ संविधान बनाएर पुनर्गठन गर्‍यो। यसमा अधिकारीहरूको चुनाव हुन्थ्यो र उनीहरू स्वयंलाई जवाफदेही ठान्थे। अब नेशनल गार्ड्सका २१५ बटालियन तयार भएका थिए। त्यसैगरी २ हजार तोप र साँढे चार लाख बन्दुक जम्मा भइसकेका थिए। यसरी नै  नेशनल गार्ड्सले पेरिसमा करिब दुइ लाख सेना बनाइरहेको थियो। यसले शासक वर्ग आतंकित हुँदै गइरहेको थियो।

विहान हुने बेलासम्म अचनाक गरिएको यो कार्वाहीमा कैयौं स्थानमा तोपहरूमा कब्जा गर्न सफल रहे तर जब उनीहरू मोन्तर्मार्ग नामको इलाकामा पुगे, त्यसपछि श्रमजीवी महिलाहरूको क्रूद्ध भीडले उनीहरूलाई घेरा हाले र आफ्नै जनतामाथि गोली चलाउने उनीहरुको कर्तुतलाई धिक्कार्न लागे। 

नेशनल एसेम्बलीको नेता थियेर्स बिस्मार्कसँग तय गरिएको शान्ति सन्धिलाई छिटोभन्दा छिटो लागू गराउन चाहन्थ्यो। त्यसको लागि उसको एउटा शर्त के थियो भने पेरिसका सशस्त्र मजदूरहरूको नेशनल गार्ड्सलाई शस्त्रविहीन गर्नु। थियर्सले के ठान्यो भने युद्धको समाप्तिसँगै पेरिसका सर्वहारालाई तुरुन्त निशस्त्र गरिदिनु पर्दछ। किनकि उनीहरू शासकका लागि खतरा थिए। उसले के ठान्यो भने सशस्त्र मजदूरहरूले जुनसुकै बेला मौका मिल्ने बित्तिकै आफ्नो पूँजीवादी व्यवस्थामा हमला गर्नेछन्। उसले के ठान्यो भने जबसम्म पेरिसका मजदूरसँग हतियार हुन्छन्, तबसम्म धनी, ठूला भूस्वामी, पूँजीपतिहरूको शासनसत्ता खतरामा परिरहनेछ। यता प्रशियाको शासक बिर्मार्कले पनि फ्रान्समा रहेका आफ्ना पाँच लाख सेनाहरुको खर्च फ्रान्स सरकारले नै गर्नुपर्ने माग गरिरहेको थियो। थियेर्सको सकारले भने उसको भ्रष्ट सहयोगी गणराज्यको सरकार स्थापित गरी प्रशियाको मागलाई पूरा गर्ने सम्पूर्ण बोझ श्रमजीवी जनतामाथि थोपर्ने योजना बनाइरहेको थियो। त्यसैले थिर्यसले धोकापूर्ण तरीकाले १८ मार्च १८७१ को विहान तीन बजे नै बीस हजार सेनालाई पेरिसका नेशनल गार्ड्सलाई निशस्त्र बनाउनको लागि पठायो। यो सेनाको कमाण्डर जनरल लुकोमेट थियो। यिनीहरूको विहानै गएर नेशनल गार्डका तोपहरूलाई आफ्नो कब्जामा लिने योजना थियो।

विहान हुने बेलासम्म अचनाक गरिएको यो कार्वाहीमा कैयौं स्थानमा तोपहरूमा कब्जा गर्न सफल रहे तर जब उनीहरू मोन्तर्मार्ग नामको इलाकामा पुगे, त्यसपछि श्रमजीवी महिलाहरूको क्रूद्ध भीडले उनीहरूलाई घेरा हाले र आफ्नै जनतामाथि गोली चलाउने उनीहरुको कर्तुतलाई धिक्कार्न लागे।  मजदूरहरूले उनीहरूका तोपहरू र हतियारहरूलाई जबर्जस्ती लैजाने कोशिस भइरहेको देखेपछि मानिसहरूको विशाल समूह जम्मा भएर त्यो ठाउँमा पुगेका सेनाहरूसँग बहस गर्न लागे। त्यो विशाल समूहमा वृद्ध, महिला, बच्चा पनि सहभागी थिए। उनीहरूले सेनासँग अपिल गर्दै भने – यी तोप र हतियारहरू हामीले आफ्नो बचतको पैसाबाट किनेकोले गर्दा लान मिल्दैन। उनीहरूले भने – एकातिर विदेशी जर्मनी सेनाले पेरिसमा घेरा हालेको छ र अर्कोतिर सरकारले हामीलाई धोका दिएको छ। त्यसकारण पूँजीपतिहरूको सेवा गर्ने आफ्ना शासकहरूको सट्टा तपाईंहरूले नेशनल गार्ड्सलाई साथ दिनुपर्दछ। यी सबै कुराले सैनिकहरूमाथि प्रभाव पर्नगयो। यद्यपि जनरल लुकोमेटले आफ्ना सैनिकहरूलाई गोली चलाउने आदेश दियो। तर सैनिकहरूले उसको आदेशलाई मानेनन्। लुकोमेटले बारम्बार सैनिकहरूलाई फायरिङ गर्ने आदेश दिइरहेकोले सैनिकहरूले उल्टो लुकोमेट र जनरल क्लीमेन्ट थोमसलाई गिरफ्तर गरी त्यही मृत्युदण्ड दिए। यसपछि सेना जनतासँग मिलिसकेका थिए। महिलाहरूले टुकडीका तोपहरूको सुरक्षाको गरे र चारैतिर यसको खबर फैल्याए। केही समयमै नेशनल गार्डका हजारौं सैनिकहरूको टुकडी सडकमा निक्लियो र नगरा बजाउँदै जनतालाई गोलबन्ध गर्न शुरु गर्‍यो। मध्यान्नको तीन बजेसम्म पेरिसमा सशस्त्र मजदूरहरूले कब्जा जमाइसकेका थिए। त्यसपछि तुरून्तै सेनाका अन्य टुकडीहरूले पनि विद्रोह गरे र यसको ज्वाला तीव्र रूपमा फैलियो।

एडोल्फ थियेर्स र उसका समर्थकहरूले यो सबै घटनाक्रम थाहा पाएपछि अत्यन्तै छटपटाएर  ज्यान जोगाउनको लागि शहर छोडेर भाग्ने निर्णय लियो । थियेर्सले आफ्ना सम्पूर्ण प्रशासनिक कारिन्दाहरू र बचेखुचेका सेनालाई शीघ्रातिशीघ्र शहर छोड्ने आदेश दियो। त्यसपछि यी सबैले भागेर पेरिसबाट दस किलोमिटर टाढा राजतन्त्रको पुरानो राजधानी भर्साइल्समा शरण लिए। ऊसँगै पेरिसका सम्पूर्ण सर्वसम्पन्न, कुलीन  र सरकारी अधिकारी पनि भागे। कम्युनार्डले उनीहरूलाई सहजै जान दिए। उनीहरूले सैनिकहरूलाई आफ्नो पक्षमा पार्नुपर्दथ्यो र बाँकीलाई बन्दी बनाउनुपर्दथ्यो। कम्युनार्ड्सको यो उदारताकै कारणले पनि उनीहरूले सर्वनाक हार बेहोर्नुपर्‍यो।  त्यहाँ गएपछि थियेर्सले राष्ट्रिय एसेम्बलीको बैठक बोलायो । उसले लगलत्तै बिस्मार्कसँग सहयोग माग्यो। विभिन्न राष्ट्रहित विपरीत सन्धि गर्ने शर्तमा उसले थियर्सलाई सैन्य सहायता दियो।  त्यसपछि पेरिस कम्युनलाई आक्रमण गर्नको लागि आफ्ना सेनाहरू जम्मा गर्न शुरु गर्‍यो। 

यता १८ मार्चमा पेरिसको सिटी हलमा नेशनल गार्ड्सले लाल झण्डा फहराए। त्यसपछि उनीहरूले नयाँ व्यवस्थाको शुरूवात गरे। उनीहरूले घोषणा गरे : ‘शासक वर्गहरूको असफलता, फुटपरस्त र गद्दारीको बीचमा पेरिसका सर्वहाराहरूले के कुरा बुझेका छन् भने अब त्यो समय आएको छ कि सार्वजनिक मामिलाहरूलाई आफ्नो हातमा लिएर स्थितिलाई नियन्त्रणमा लिनुपर्दछ। सर्वहारा वर्गले बुझेका छन् – यो उनीहरूको अनिवार्य कर्तव्य र आफ्नो भाग्यलाई आफ्नै हातमा लिने  बुलन्द अधिकारपूर्ण कर्तव्य हो र यो जितलाई सुनिश्चित गर्नको लागि सत्तामाथि कब्जा गर्नुपर्दछ। ‘ 

१८ मार्चमा पेरिस कम्युनको स्थापनासँगै पहिलोपटक सत्ता मजदूरहरूको हातमा आएको थियो। जुन दिन होटल डि भिला अर्थात् नगरपालिकाको अफिसमा लाल झण्डा फहराइयो, त्यही दिन केन्द्रीय  समितिको बैठक बस्यो। केन्द्रीय समितिमा विभिन्न विचार भएका मानिसहरू सामेल थिए। केन्द्रीय समिति त्यति व्यवस्थित राजनीतिक शक्ति थिएन तर पनि यो बुर्जुवा सरकारको विरुद्धमा उनीहरूलाई सन्तुलित गर्ने एक समानान्तर शक्ति थियो। यसप्रकार सीमित स्तरमा सत्ताका दुई केन्द्र भएका थिए। यद्यपि त्यो पेरिससम्म सीमित थियो। तर फ्रान्सेली बुर्जुवा अर्को केन्द्रलाई सहन गर्नलाई तयार थिएन। थियेर्स र उसका प्रशासनिक कर्मचारी पेरिस छोडेर भागेपछि क्रान्तिका केही प्रतिनिधिहरूले हामीले केवल पेरिससम्म सीमित रहनु हुँदैन थियेर्सको पीछा गर्नुपर्दछ भन्ने तर्क राखेका थिए। किनकि अहिले सैनिकहरूको स्वभाव क्रान्तिकारी भावनाले ओतप्रोत छ। थियेर्सले फेरि आफ्ना सेनालाई संगठित गर्न सक्छ। तर यी कुरालाई यदि हामीले थियेर्सको पिछा गर्यौं भने हामी आक्रमणकारी हुनेछौं भनेर किनारा लगाइयो। पेरिस कम्युनलाई आक्रमणकारीको रूपमा देखाउनु हुँदैन किनकि हामी त पीडित हौं। पेरिस कम्युनले आफ्नो उदाहरणबाट स्वयंलाई उनीहरूभन्दा राम्रो प्रमाणित गर्नुपर्दछ। त्यसपछि मानिसहरूलाई के लाग्नेछ भने यिनीहरूलाई धोका दिइएको हो।

केन्द्रीय समितिले सत्ता कुनै वैध एजेन्सीको हातमा सुम्पिनुपर्दछ भन्ने सोच्यो र १८ मार्चकै दिन कमिटीले सार्वभौम मताधिकारको आधारमा विभिन्न जिल्लाहरूबाट प्रतिनिधिहरूको लागि तुरुन्त निर्वाचनको घोषणा गर्‍यो। त्यसपछि नगर चुनावको तयारी गरियो। १९ मार्चमा सबै राजनीतिक बन्दीहरूलाई सजाय माफीको घोषणा गरिएको थियो, जसलाई शोषक वर्गका सरकारले गिरफ्तार गरेर सजाय दिएको थियो। २६ मार्चमा नगर चुनाव सम्पन्न भयो र यसको घोषणा २८ मार्चमा गरियो। भर्साइल्समा रहेको प्रतिक्रान्तिकारी सरकारले जनतासँग चुनाव बहिष्कार गर्ने अपिल गरेको थियो र बुर्जुवा तथा अभिजातहरूको मतसंख्या धेरै कम थियो। यसको अर्थ के थियो भने कम्युन मुख्यतः श्रमजीवीहरूद्वारा चुनिएको थियो। कम्युनका परिषदका ९२ सदस्यहरूमा ठूलो संख्यामा कुशल मजदूर, शिल्पकार, डाक्टर, पत्रकार, आदि थिए।  चुनावमा यस्तामा मानिसहरू चुनिएर आए, जो पेशेवर राजनीतिज्ञ भने थिएनन्। उनीहरू यस्ता थिए, जसलाई मजदूरको संसारभन्दा बाहिर कसैले चिन्दैनथे। मूर्तिकार, सिकर्मी, डकर्मी, छालाको काम गर्ने, सुन बनाउने, कम्पोजिटर, प्रेस मजदूर, मिस्त्री, फलामको काम गर्ने, लुगा धुने, जुत्ता सिउने, कपडा सिउने, आदि मजदूरहरू चुनिएर आए। यो कम्युनमा पोल्याण्ड र जर्मनीका मजदूरहरूले पनि भाग लिएका थिए र उनीहरू पनि चुनिएर महत्त्वपूर्ण पदमा आएका थिए। कम्युनमा अन्तर्राष्ट्रियतावादको भावनाको प्रत्यक्ष प्रमाण पाइन्थ्यो। धेरै राजनीतिक कार्यकर्ता पनि थिए, जसमा सुधारवादी गणतन्त्रवादी र विभिन्न प्रकारका समाजवादीहरू थिए। यस्ता मानिसहरूप्रति बुर्जुवा समाज स्वाभाविक रूपले घृणा गर्दथ्यो। कम्युनका सदस्य नगरका सबै वार्डहरूबाट जनताद्वारा आम मताधिकारको आधारमा चुनिएका थिए र उनीहरूलाई जुनसुकै बेला फिर्ता बोलाउन सकिन्थ्यो। शुरुमा यो आन्दोलन अनिश्चितताबाट अगाडि बढेको देखिन्थ्यो। यसमा धेरै देशभक्तहरू पनि थिए । उनीहरू के चाहान्थे भने कम्युनले जर्मनीसँग युद्ध गरी त्यसलाई सफलतामा पुर्‍याउनेछ। साना पशलेहरूले पनि उनीहरूको समर्थन गरेका थिए। यो आन्दोलनमा मुख्य भूमिका मजदूरहरूले नै निभाएका थिए। यसका सदस्यहरूमा धेरै कम्युनिष्ट इन्टरनेशनलमा पनि सामेल थिए। कम्युनले सर्वोच्च विधायिकाको रूपमा काम गर्दै कानून बनाउन शुरु गर्‍यो। साथै कम्युन कानून लागू हुने कुराको पनि निगरानी गर्दथ्यो। सर्वोच्च कार्यपालिका पनि यही थियो। विधायिका तथा कार्यपालिकाका शक्तिहरूलाई एकै निकायमा संयोजन गर्नु कम्युनको सबभन्दा महत्त्वपूर्ण लक्षणहरूमध्ये एक थियो।

सत्तासीन भएको दुईदिन पछि नै कम्युनले पुरानो सरकारका सबै बदनाम कानूनहरूलाई रद्द गरिदियो। पुलिसलाई राजनीतिक हस्तक्षेपबाट अलग गरी जनताद्वारा चुनिने संस्थामा परिणत गरियो।

सत्तामा रहेको ७२ दिनको कार्यकालमा पेरिस कम्युनले दूरगामी महत्वका कदमहरू उठाएको थियो। कम्युनले सरकार चलाउने कामलाई प्रत्यक्ष रूपमा श्रमिकहरूको आम कर्तव्य र प्रत्यक्ष काममा बदलिदिएको थियो। सबभन्दा पहिले जनताबाट अलग सेनाको अस्तित्वलाई अवैध घोषणा गरी समाप्त गरियो। त्यसको ठाउँमा श्रमजीवी जनतालाई हतियारबद्ध गर्ने कुरा तय गरियो। कम्युनले स्थायी सेना र  पुलिसलाई भंग गरी मजदूरहरूको सशस्त्र दस्तालाई राष्ट्रिय गार्डको रूपमा संगठित गरिदियो। यसरी जनतामाथि शासन गर्ने औजारको रूपमा रहेको सेनाको अन्त गरियो । कम्युनले कार्यपालिका र विधायिका अर्थात् सरकार र संसद दुवैको काम गरेको थियो। सत्तासीन भएको दुईदिन पछि नै कम्युनले पुरानो सरकारका सबै बदनाम कानूनहरूलाई रद्द गरिदियो। पुलिसलाई राजनीतिक हस्तक्षेपबाट अलग गरी जनताद्वारा चुनिने संस्थामा परिणत गरियो। ३० मार्चमा अनिवार्य भर्ती जस्तो अलोकप्रिय कानूनलाई उन्मूलन गरियो। चर्चलाई राज्यबाट अलग गरियो र यसको सबै सम्पत्तिलाई राष्ट्रिय सम्पत्ति घोषणा गरियो। धर्म अब नागरिकहरूको व्यक्तिगत मामिला बन्नगयो। शिक्षालाई चर्चबाट अलग गरी सबै जनतालाई शिक्षा सर्वसुलभ गर्ने घोषणा गरियो। कम्युन शिक्षा आयोग बनाएर विद्यालयहरूमा सुधारका योजनाहरू बनाइयो। युद्धका कारण बन्द भएका सबै संग्रहालयलयहरू सर्वसाधारणको लागि खोलियो। स्त्री शिक्षाको लागि पनि आयोग गठन गरियो र उनीहरूलाई शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइयो।  स्वास्थ्य सेवा पूर्ण रूपमा निशुल्क बनाइयो। चर्चलाई महिलाहरूको क्लवमा परिणत गरियो। उनीहरू त्यहाँ आफ्ना समस्याहरूमाथि विचार-विमर्शका कुरा गर्थे। महिलाहरूले हरेक कदममा पेरिस कम्युनमा महत्त्वपूर्ण र निर्णायक भूमिका खेलेका थिए। महिलाहरूलाई भोट दिने अधिकार प्रदान गरियो। वालश्रम र बेकरीमा राति काम गर्ने कार्यलाई प्रतिबन्ध लगाइयो। खाद्यान्नको मूल्य निश्चित बनाइयो। १६ अप्रिलमा कम्युनले कारखाना मालिकहरूले बन्द गरेका कारखानाहरूको तालिकाको लागि र त्यही काम गर्ने मजदूरहरूद्वारा पुनः कारखाना संचालन गर्ने योजना बनाउनको लागि, उनीहरूलाई सहकारी संघमा संगठित गर्न र यी सहकारी संघलाई एउटा वृहत यूनियनमा संयुक्त गर्ने योजना बनाउनको लागि महत्त्वपूर्ण काम गर्‍यो। अब बन्द भएका कारखानाहरू र पेरिस छोडेर भागेका मालिकका कारखानाहरू मजदूरको नियन्त्रणमा लिइयो। १९ अप्रिलमा कम्युनले पेरिसमा ठूला-ठूला पोस्टरहरूको माध्यमबाट आफ्ना लक्ष्यहरूको घोषणा गरेको थियो, जसको लागि ऊ लडिरहेको थियो। जसमा गणराज्यलाई बलियो बनाउनेकम्युनका सम्पूर्ण स्वायत्तता फ्रान्सका सबै इलाकाहरूमा विस्तार गर्ने, व्यक्तिगत स्वतन्त्रता, अन्तर्आत्माको स्वतन्त्रता र श्रमको स्वतन्त्रताको सम्पूर्ण सुनिश्चितता, आदि कुरा समेटिएका थिए। यसको अन्तमा निम्न कुरा उल्लेख गरिएको थियो – ‘१८ मार्चको जन पहलकदमीद्वारा शुरु भएको कम्युनको क्रान्तिले एक नयाँ राजनीतिक युगको सूत्रपात गरेको छ। यो प्रयोगात्मक, सकारात्मक र वैज्ञानिक छ। यसको साथै पुरानो ढंगको शासकीय र धार्मिक संसारको, सैन्यवादको, एकाधिकारवादको र ती सबै विशेषाधिकारको अन्त्य हुनेछ, जुन सर्वहारा दासता र राष्ट्रका दुर्भाग्य र कष्टका कारण हुन्।’

 २० अप्रिलमा साम्राज्यको समयमा पुलिसद्वारा नियुक्त श्रमको प्रथम कोटीका शासक दलालहरूको एकाधिकारको रूपमा चलाइएका रोजगार कार्यालयहरूलाई बन्द गरियो। यिनीहरूलाई अब पेरिसका २० जिल्लाका नगरपालिका व्यवस्थामा सम्मिलित गरियो। ३० अप्रिलमा कम्युनले निजी लाभको लागि मजदूरहरूको शोषण गर्ने र श्रमिकहरूको ऋण प्राप्त गर्ने अधिकारको प्रतिकूल बन्धक दोकानहरू बन्द गर्ने  निर्णय गर्‍यो। ५ मईमा कम्युनले लुइ १६औं को प्रायश्चित गर्ने स्मारकको रूपमा बनाइएको प्राशश्चित-गिरजालाई ढाल्ने निर्णय गर्‍यो।  नेशनल गार्डलाई हरेक सक्षम व्यक्तिको लागि खोलियो। अप्रिल १ मा  राज्यका सबभन्दा उच्च कर्मचारी र मजदूरहरूको तलब ६ हजार फ्र्यांक भन्दा बढी नहुने कुरा तय गरियो। यो तलब त्यसबेलाको एक कुशल फ्रान्सेली मजदूरको वार्षिक ज्यालाको कुल रकम बराबर थियो। यसको साथै कम्युनले तलबमानमा अन्तर नहोस् भनेर  कम तलब भएकाहरूको तलब वृद्धि गर्ने काम पनि गरेको थियो। उदाहरणस्वरूप हुलाकमा काम गर्ने कर्मचारीको कर्मचारीको ८०० फ्र्यांक तलब बढाएर १२०० बनाइएको थियो भने १२००० फ्र्यांक तलब हुनेको घटाएर ६००० बनाइएको थियो। तलबबाट हुने कटौती र जरिवानालाई पनि हटाइयो।  यसरी तलबमानमा हुने अन्तर र  अधिकारीहरूका सबै विशेषाधिकारहरूलाई अन्त्य गरियो। यसमा कैयौं कम्युनका सदस्यहरूले भने सकेसम्म तलब घटाएर लिने गर्दथे। कम्युनका पदिधिकारी, अधिकारी, मेजिस्ट्रेड, न्यायाधीश, आदि सबै जनताद्वारा चुनिने व्यवस्था गरियो। अप्रिल ६ मा राष्ट्रिय गार्ड्सको १३७औं बटालियनले  मृत्युदण्डमा प्रयोग गरिने यन्त्र गिलेटिनलाई बाहिर निकालेर त्यसलाई सार्वजनिक रूपमा हर्षोल्लाससहित जलायो। र, मृत्युदण्डको कानून समाप्त गरियो।  अप्रिल १२ मा अन्धराष्ट्रवाद र अन्य राष्ट्रप्रति वैरभाव द्वैष भावनालाई भड्काउने प्रतीकको रूपमा रहेको प्लास वादाम स्तम्भलाई ढालियो। धनीका खाली घरहरू र सार्वजनिक भवनहरूमा घरबारविहीनहरूलाई बस्ने व्यवस्था गरियो। पेरिसबाट भागेका सबै बुर्जुवा मालिकहरूका फ्ल्याटहरूलाई कब्जा गरी त्यहाँ सबभन्दा पहिले घरबारविहीनलाई र बाँकी नगरका रक्षकहरूलाई बाँडियो।  कर्मचारीतन्त्र र विधायिका बीचको फरकलाई हटाइयो। अब जसले कानून बनाउँछ, उसैमाथि लागू गर्ने पनि जिम्मेवारी थियो। पूँजीपतिहरूको मुनाफाको लागि मजदूरहरूको बीचमा हुने घातक प्रतियोगितालाई रोक लाइयो । आर्ट ग्यालरी सर्वसाधारणको लागि खोलियो। भूस्वामी र व्यापरीहरूको अथाह ऋणबाट पिल्सिएका किसान, जनता र साना दोकानदारहरूका सबै ऋण मिनाहा गरियो। सुदखोरी प्रथामा रोक लगाइयो र धरौटी राखिएका मजदूरहरूका सबै सामान फिर्ता दिइयो। धरौटी राखिएका चीजको विक्रीमा पावन्दी लगाउनुको साथै १५ फ्र्यांकभन्दा कम मूल्यमा धरौटी राखिएका वस्तुहरू सम्बन्धित व्यक्तिलाई तुरुन्त फर्काउने निर्णय गरिएको थियो। भाडा तिर्न नसक्नेहरूलाई घरबाट निकाल्ने प्रथालाई पनि तुरून्त अन्त्य गरियो। कम्युनले बनाएका यी सबै नियमकानूनको उद्देश्य गरीब र श्रमिकहरूको हितको रक्षा गर्नु नै थियो।  पेरिस कम्युन सबै कामकाजी जनताको लागि सामूहिक स्थान थियो। त्यहाँ राष्ट्रिय सीमाहरूको कुनै रेखाङ्कन थिएन। यसरी कम्युनले पहिलो पटक समाजवादी समानता र सर्वहारा वर्गको अधिनायकत्वको अर्थ के हुन्छ भन्ने कुरा देखायो। कम्युनले श्रमिक वर्गको लक्ष्य केवल समाजवाद नै हुन सक्दछ र त्यसलाई हासिल गर्न सक्दछ भन्ने कुरा पहिलो पटक देखायो। यी सबै कार्य र उपाहरूबाट कम्युनले राम्रोसँग के कुरा प्रमाणित गर्‍यो भने श्रमजीवी वर्गको सरकारले जनताको कल्याणको लागि कति जबर्जस्त काम गर्न सक्दछ।

मजदूर, अफिसर र मन्त्रीहरूको तलवभत्तामा पूँजीवादी शासनमा जुन आकाश-पातालको फरक थियो, त्यसलाई अन्त गरियो। राज्यका नेता जुन तलब लिन्थे त्यो एक मजदूरको तलब बराबर नै हुन्थ्यो। बढी काम गर्नु उनीहरूको अनिवार्य कर्तव्य थियो तर उनीहरूलाई बढी तलब लिने वा कुनै पनि प्रकारको विशेष सुविधाको कुनै अधिकार थिएन।

कम्युनमा महत्वपूर्ण जिम्मेवारीमा भएका व्यक्तिलाई पनि कुनै विशेषाधिकार दिइएको थिइएन। मजदूर, अफिसर र मन्त्रीहरूको तलवभत्तामा पूँजीवादी शासनमा जुन आकाश-पातालको फरक थियो, त्यसलाई अन्त गरियो। राज्यका नेता जुन तलब लिन्थे त्यो एक मजदूरको तलब बराबर नै हुन्थ्यो। बढी काम गर्नु उनीहरूको अनिवार्य कर्तव्य थियो तर उनीहरूलाई बढी तलब लिने वा कुनै पनि प्रकारको विशेष सुविधाको कुनै अधिकार थिएन। यो एक अभूतपूर्ण प्रणाली थियो। यस प्रणलीले सरकारी कामकाजलाई सस्तो र सहज बनाइदिएको थियो। राजकीय मामिलालाई संचालन गर्नको लागि प्रत्यक्ष रूपमा एक श्रमिकको कर्तव्यमा बदलियो र राज्यका पदाधिकारीहरूलाई विशेष औजारबाट काम  लिने कामदारहरूमा रूपान्तरण गरियो। कम्युनका नेताहरूमाथि कमको धेरै ठूलो बोझ थियो। काउन्सिका सदस्यहरूलाई कानून बनाउनुको अतिरिक्त कैयौं कार्यकारी र सैनिक जिम्मेवारी पनि बहन गर्नुपर्ने हुन्थ्यो। कम्युनहरूले कृषि मजदूर र किसानहरूसँग पनि पेरिसका कम्युनलाई साथ दिनको लागि आव्हान गरेका थिए। यसको लागि गाउँमा ठूलो संख्यामा पर्चा बाँडियो, जसमा लेखिएको थियो – हामी सबैको उद्देश्य एउटै हो।

पेरिस कम्युन वास्तवमा जनसमुदायको सत्ता थियो। कम्युन अस्तित्वमा रहुन्जेलसम्म जनसमुदाय व्यापक रूपमा संगठित थिए र सबै महत्त्वपूर्ण राजकीय मामिलाहरूमा आ-आफ्ना संगठनहरूको तर्फबाट विचार-विमर्श गर्दथे। दैनिक मिटिङमा २० हजार भन्दा बढी ‘एक्टिभिस्ट’ हरूले भाग लिन्थे, जहाँ उनीहरू विभिन्न साना-ठूला सामाजिक र राजनीतिक समस्याहरूमा आफ्ना प्रस्ताव र आलोचनात्मक विचार राख्थे। उनीहरू क्रान्तिकारी समाचारपत्र र पत्रिकाहरूमा लेख र पत्र लेखेर पनि आफ्ना आकांक्षा एवम् मागहरूलाई अभिव्यक्त गर्दथे। जनसमुदायको यो क्रान्तिकारी उत्साह र पहलकदमी कम्युनको शक्तिको स्रोत थियो। कम्युनका सदस्यहरूले जनसमुदायका विचारहरूमा विशेष ध्यान दिन्थे। यसको लागि मानिसहरूका विभिन्न बैठकहरूमा भाग लिन्थे र उनीहरूका पत्रको अध्ययन गर्दथे। कम्युनले जनसमुदायका प्रस्तावहरूको गम्भीरतापूर्वक अध्ययन गर्दथ्यो र तिनीहरूलाई स्वीकार गर्दथ्यो। कम्युनका धेरै घोषणाहरू जनसमुदायका प्रस्तावहरूमाथि आधारित थिए। उदाहरणतः राज्यका पदाधिकारीहरूको उच्च तलब समाप्त गर्नु, अवशिष्ट भाडा रद्द गर्नु, धर्मनिरपेक्ष शिक्षाव्यवस्था लागू गर्नु, रोटी बनाउने कारखानामा राति काम गर्ने व्यवस्था समाप्त गर्नु, आदि-इत्यादि। जनसमुदायले पनि कम्युन र यसका सदस्यहरूका कार्यहरूलाई सावधानीपूर्ण जाँच गर्दथे।

पेरिस कम्युनमा न त पुलिस थिए र न सेना नै । यद्यपि मानिसहरूले आफ्नो सुरक्षाको लागि स्वयंलाई नै पुलिसमा बदलिदिएका थिए। त्यसैगरी कम्युनलाई बचाउनको लागि उनीहरूले स्वयंलाई सेनामा परिणत गरेका थिए।  अब पेरिसमा चोरी-डकैति बन्द भएको थियो। वेश्यावृत्ति बन्द भएको थियो। सन् १८४८ पछि पेरिसका सडकहरू पहिलो पटक सुरक्षित थिए। पेरिस कम्युनको सरकार वास्तविक अर्थमा एक अन्तर्राष्ट्रियतावादी सरकार थियो। यहाँ राष्ट्रियताको आधारमा कुनै भेदभाव गरिंदैनथ्यो। पेरिस कम्युनमा कैयौं देशका प्रतिनिधिहरू सरकारको उच्च स्थानमा थिए। संसारका क्रान्तिकारी देशका प्रतिनिधिहरू पेरिस कम्युन संचालनमा सामेल थिए। विदेशी मजदूरहरू र क्रान्तिकारीहरू (जसलाई पेरिस कम्युनले यूनिभर्सल रिपब्लिक भन्थ्यो) लाई स्थापनाको सहयोगीको रूपमा मानिन्थ्यो। त्यसबेला पेरिसमा रहने सबै मानिसहरूको ज्याला श्रमिकहरूदेखि लिएर राष्ट्रिय सभाका सदस्यहरूसम्म र सबैको कानूनी रूपले समान थियो। सबै श्रमजीवी जनताको सामूहिक चेतनाबाट पैदा हुन्थ्यो, जसले राज्य एवं पूँजीपतिद्वारा गरिएको भेदभाव र आर्थिक दासता रहित एक सुन्दर संसारको परिकल्पना गरेको थियो। पेरिस कम्युनमा मजदूर अथवा उनीहरूको प्रतिनिधहरू रहन्थे त्यसकारण उनीहरूको फैसलाको स्वरूप निश्चित रूपले सर्वहारा हित अनुकूल नै हुन्थ्यो। कम्युनका सम्पूर्ण कार्यले मजदूर वर्गका स्वतन्त्र क्रियाकलाहरूको लागि आवश्यक सुधार प्रस्तुत गर्दथे। कम्युनले यस्ता धेरै नियमहरू जारी गरे, जुन प्रत्यक्ष रूपमा मजदूर वर्गको हितमा थिए। र, कम्युनका यी कार्यहरुले  पुरानो सामाजिक व्यवस्थाको जगमा गहिरो चोट पुर्‍याउँथे। इतिहासमा पेरिस कम्युनभन्दा इमान्दार सरकार अहिलेसम्म अर्को पाइँदैन भनिन्छ। पेरिस कम्युनमा कुनै पुलिस थिएन, कुनै मूर्खता थिएन, कुनै पनि प्रकारको शुल्क लगाइएको थिएन। आफ्नो ७२ दिनको अवधिमा पेरिस कम्युनले जुन असाधारण काम गरेको थियो, त्यसको संसारमा सदैव प्रशंसा भइरहेको देखिन्छ। पेरिस कम्युनले नवयुगको सूत्रपात गरिदियो। संसारका कम्युनिष्टहरूलाई ठूलो शिक्षा प्रदान गर्‍यो।

कम्युनार्ड्सको सामु अब संसारको पहिलो क्रान्तिकारी राज्यको रचना र सुरक्षाको ठूलो चुनौती थियो।  पेरिस कम्युनले यी सम्पूर्ण उपलब्धीहरू अत्यन्तै जटिल अवस्थामा हासिल गरेका थिए। त्यसबेला पेरिसलाई बिस्मार्कका सेनाले घेरेका थिए, आर्थिक अवस्था अत्यन्तै खराब थियो। थियेर्सले पनि निरन्तर कम्युनको हत्या गर्ने योजना बनाइरहेको थियो। मईको शुरुवातदेखि नै कम्युनको सम्पूर्ण शक्ति थियर्सको बढिरहेको सेनासँग युद्ध गर्नमा लागेको थियो। एडोल्फ थियेर्स आफ्नो दलबलसहित भागेर भर्साइल्समा बसेको थियो। कम्युनको दमनको लागि उसले धेरै योजनाहरू बनाइरहेको थियो र यसको लागि उसले उचित मौका पनि पाएको थियो, जुन कम्युनार्डहरूले नै दिएका थिए। पेरिस कम्युनको घोषणा भएको तुरून्तै पछि उसले पेरिस फिर्ता ल्याउनको लागि मजदूर वर्गमाथि योजनाबद्ध आक्रमण शुरु गरिदियो। थियेर्ससँग भाडाका सैनिकहरू र विभिन्न प्रकारका प्रतिक्रियावादी तत्वहरूद्वारा बनाइएका सेना थिए। अप्रिल महिनाको शुरुदेखि नै थियेर्स र बिस्मार्कले कम्युनलाई दबाउनको लागि एक गठबन्धन बनाए। त्यसपछि पूँजीपति वर्गले सर्वहारा वर्गसँग लड्नको लागि आफ्नो राष्ट्रिय अन्तर्विरोधलाई पृष्ठभूमिमा राख्ने काम गर्‍यो। फ्रान्स र प्रशियाका सेनाहरूको बीचमा भएको यो घनिष्ठ गठजोडको कारण पेरिसलाई पूर्ण रूपले घेरा हाले। २७ मार्च १८७१ देखि नै थियर्सका सेनाको अग्रिम मोर्चा पेरिसका चारैतिरका किल्लामा बसेर बमबारी शुरु गरेका थिए। २ अप्रिलमा कम्यूनको एउटा सेनाको टुकडी कुर्बेवाई गइरहेको बेलामा उनीहरूमाथि आक्रमण भएको थियो। थियर्सका सेनाले जसलाई बन्दी बनाउँथे, उनीहरूलाई तुरुन्तै गोली हान्थे। त्यसको भोलिपल्ट नेशनल गार्डको दबावमा  कम्युनले आखिरीमा थियर्सको विरुद्ध तीनितरबाट आक्रम शुरु गर्‍यो। तर कम्युनका बटालियनहरूको जबजर्स्त उत्साहको बाबजुद गम्भीर राजनीतिक र सैन्य तयारीको अभावको कारण ढिलो भएको यो आक्रमणमा हारको सामना गर्नुपर्‍यो। यो हारबाट कम्युनले ठूलो संख्यामा हताहतीसँगै भारी नोक्सान बेहोर्नुपर्‍यो। कम्युनका दुई सक्षम कमाण्डर लोरेन्स र दूभाललाई दुश्मन सेनाले बन्दी बनाएपछि हत्या गरे।  ७ अप्रिलमा थियर्सका सेनाहरूले पेरिसको पश्चिमी किल्लामा सोन नदीको दुवैतिरको मार्गमा कब्जा गरेका थिए। शुरूमा कम्युनार्ड गार्डले उनीहरूलाई हराएका थिए। मई महिनाको शुरुवातदेखि नै थियेर्स सैनिकहरूले पेरिसमाथि यसरी भीषण आक्रमण शुरु गरेका थिए।  थिर्यसले विभिन्न स्वार्थबाट प्रभावित गरी बिस्मार्कलाई सेडानमा बन्दी बनाइएका फ्रान्सका ६० हजार सेनालाई रिहा गर्न राजी गराएको थियो। र, मई महिनापछि यिनै सैनिक थियर्सको लागि संख्यात्मक रूपमा शक्तिशाली बने। ३ मईमा प्रतिक्रियावादी सेनाले दक्षिणी मोर्चामा मूलें-साकेको किल्लामा कब्जा जमाए। ९ मईमा फोर्ट-इस्सीमा अधिकार जमाए। यो इलाका गोलाबारीको कारणले खण्डहर भइसकेको थियो। त्यसपछि १४ मईमा फोर्ट-वाम्बमाथि उनीहरूले कब्जा गरे। मई १५ सम्म दक्षिणी मोर्चा धराशायी  भयो। २१ मईमा जनरल ग्यालीफेटको कमाण्डमा थियर्सको सेनाले उत्तरी र पूर्वी पेरिसमा प्रवेश गर्‍यो। यसरी थियेर्सको सेनाले पेरिसको समृद्ध उत्तरी इलाकाबाट प्रवेश गर्‍यो। तर उनीहरू जति-जति शहर पस्दै गए, उती-उती प्रतिरोधको सामना गरिरहनुपर्‍यो। हरेक सडक, गल्लीमा कम्युनार्डहरूले ब्यारिकेड खडा गरेका थिए। ब्यारिकेड खडा गर्ने अनुभव पेरिसका मजदूरहरूलाई सन् १८४८ को रक्तपातपूर्ण क्रान्तिको बेलामा हासिल गरेका थिए। मजदूरहरूसँग थियेर्सका सेनाहरूसँग लड्नका लागि करिब ६०० देखि ९०० को संख्यामा ब्यारिकेडमा तैनाथ गरियो। हरेक गल्ली, मोड र सडक युद्धस्थलमा परिवर्तन भएको थियो। नगरको एउटा हिस्सामा रहेका प्रशियाका सेनाले थिर्यसका फौजलाई नगर पस्नको निमित्त सहयोग गरेका थिए। यो पूँजीपतिहरूको अपवित्र गठजोडको परिणाम थियो। पूँजीपति र सामन्त वर्गको यस्तो गठजोड थियो, जसले मजदूर वर्गको सत्तालाई दबाउने गर्दथ्यो। जति-जति थियर्सका फौज पेरिसका मजदूर इलाकामा पुग्दै गए, त्यति-त्यति उनीहरूको प्रतिरोध पनि कडा हुँदै गयो। एक-एक इन्च अगाडि बढ्नको लागि प्रतिक्रियावादी फौजले मजदूरहरूको चट्टानी पर्खालसँग जुध्नु परेको थियो। शहरका सडक, चौर र विशेषगरी मजदूर वस्तीहरूमा घमासान युद्ध भयो। कम्युनका अन्तिम रक्षकदल ब्यालेभिली र मेलिनमोन्टेन्टको लडाइँमा परास्त भए। यसरी आठ दिनसम्म मजदूर वर्गका जिल्लाहरूमा भयंकर लडाइँ जारी रह्यो र अन्तिममा ८ दिनको अद्वितीय सहासिक संघर्षपछि पेरिसका बहादुर सर्वहारा योद्धा पराजित भए। 

www.leftvoice.org

आफ्नो व्यवस्था जोगाउनको लागि पेरिसका सम्पूर्ण श्रमजीवीहरूले दिलोज्यानले लडे। कम्युनका हरेक कदममा डटेर सक्रिय रहे। महिलाहरूले ब्यारिकेडको लडाइँमा पनि महत्त्वपूर्ण रूपमा भाग लिए। कैयौं ठाउँमा पुरूषहरू हताश हुँदा पनि महिला अगाडि बढेर उनीहरूको हौसला बढाउँदै लडे। 

रंक्तरंजित हप्ताको नामले प्रसिद्ध थियो यो आठ दिन। कम्युनार्ड्सका अन्तिम लडाकाले ब्यालेभिली र मेलिनमोन्टेन्टको पहाडमा वीरतापूर्ण लडाइँ लडे। आफ्नो व्यवस्था जोगाउनको लागि पेरिसका सम्पूर्ण श्रमजीवीहरूले दिलोज्यानले लडे। कम्युनका हरेक कदममा डटेर सक्रिय रहे। महिलाहरूले ब्यारिकेडको लडाइँमा पनि महत्त्वपूर्ण रूपमा भाग लिए। कैयौं ठाउँमा पुरूषहरू हताश हुँदा पनि महिला अगाडि बढेर उनीहरूको हौसला बढाउँदै लडे।  थियर्सेको सेनाले युद्ध अवधिका सबै नियमहरूलाई बेवास्ता गर्दै  सात दिन भित्रमा पेरिसभित्र विनाश मच्चायो। थियेर्सका सेनासँग कम्यूनार्डहरूले लड्ने भरपुर कोशिस गरे। कम्युनको पराजय भएपछि थियर्सका सेनाले सबैलाई हत्या गर्न असंभव भएपछि आम रूपमा गिरफ्तार गर्दै मनमानी ढंगले हत्या गरिरह्यो र बाँकीलाई ठूला-ठूला शिविरहरूमा पनि पठाइयो। पेरिसको उत्तरपूर्वी भागमा घेरा हालेर बसेका प्रशियाका सैनिकहरूलाई कोही पनि त्यताबाट भाग्न नदिनु भन्ने आदेश दिइएको थियो। तर त्यतिबेला केही सिपाहीहरूमा मानवीयता पनि भएकोले गर्दा उनीहरूले बेवास्तास्वरूप कैयौं कम्युनार्डहरू भागेर बाँच्न पनि सफल भएका थिए।  बन्दी बनाइएकाहरूलाई एकसाथ लाइनमा राखेर गोली ठोकियो। त्यसपछि कम्युनार्डहरूको भयंकर दमन गरियो। निहत्था मजदूरहरूलाई पर्खालमा राखेर, खाल्डो बनाएर गोली हानेर मारियो। महिलाहरूलाई जंजिरले बाँधेर ल्याइ गोली हानियो। बन्दीहरूलाई सय, दुईसय र तीनसयको संख्यामा ल्याएर एकसाथ गोली हानी मारियो। महिला, वृद्ध, बच्चा कसैलाई छोडिएन, सबका सबलाई हत्या गरियो। धेरै कम्युनार्डहरूलाई युद्धस्थलमै मारियो। हजारौं बच्चा, बिरामी, बुढा, महिलालाई बाँधेर खुला ठाउँमा ल्याएर हत्या गरियो। एक हप्ताभित्रमा करिब ४० हजार मजदूरहरुको हत्या गरियो। हजारौं संख्यामा कम्युनार्डहरुलाई ईरे पेरे लाशेज चिहानमा र अन्य धेरै स्थलमा लगेर गोलीले उठाइयो।  यसरी २८ मईसम्ममा युद्ध समाप्त भएको घोषणा गरियो। तर मजदूरहरूको हत्या भने निरन्तर जारी रह्यो। युद्ध समाप्त भएपछि पनि २० हजार बढी (यसको संख्या अहिलेसम्म निर्क्यौल गर्न सकिएको पाइँदैन) मानिसहरूलाई मारिएको थियो। कम्युनार्डहरूसँग सम्बन्ध भएको थोरै शंका हुने वित्तिकै जोकसैलाई तुरुन्तै हत्या गरियो। यदि कसैको अनुहार र भेषभुषा कम्युनार्डसँग मिल्यो भने पनि उसलाई हत्या गरिन्थ्यो। बन्दीहरूलाई पनि मारियो। विजयी भएका प्रतिक्रान्तिकारीहरूले सडकमा दमन र हत्याको जुन श्रृंखला रचे, त्यो इतिहासमा विरलै पाइन्छ। कामदारहरूलाई लाइन लाएर गोलीले उडाइन्थ्यो। गिरफ्तार भएका मानिसहरूको साथै चर्चमा शरण लिएका मानिसहरू, अस्पतालमा घाइते भएका सैनिकहरू सबैलाई मारियो। वृद्ध मजदूरहरूलाई पनि यिनीहरूले पटक-पटक विद्रोह गरेकाले यिनीहरू नै खास अपराधी हुन् भन्दै मारियो। महिलाहरूलाई अग्नि बम भनेर गोली ठोकियो।  पक्रिएर ल्याइएका सबैलाई विभिन्न बहानामा पछिसम्म हत्या गरियो। त्यसकारण यो नरसंहारमा कति मान्छे मारियो भन्ने कुरा पत्ता लगाउन गाह्रो छ। धेरै मानिसहरूलाई आगोमा जलाइएको थियो, कतिलाई दबाइयो भने कतिलाई बेपत्ता बनाइएको थियो। मजदूरहरूलाई हत्या गर्ने क्रम जुन महिनाभरी गरियो। पेरिस लाशै-लाशले भरिएको थियो। सैन नदी रगतले भरिएको थियो।  यसरी कम्युनलाई रगतको नदीमा डुबाइयो। केवल पेरिसको नगरले सत्र हजार शवहरूलाई दबाउनमा खर्च गरेको थियो।  मारिने र जेल जानेमा करिब एक लाख मजदूरहरू थिए। एक अध्ययन अनुसार २४ हजार जुत्ता बनाउनेमध्येमा आधाभन्दा बढी, तीस हजारभन्दा बढी कपडा सिलाउने मजदूर, बीसहजारमा ६ हजारभन्दा बढी सन्दुक र आलमारी बनाउने मजदूर, साँढे ६ हजार तामा बनाउने मजदूरमध्ये १५ सय मजदूर पेरिसमा थिएनन्। यी सबै मानिसहरूको हत्या गरियो। यस्तो हत्या गर्दा पनि फ्रान्सेली बुर्जुवा समाज खुशी प्रकट गर्दथे। पेरिसका मजदूरहरू रगतले लत्पत्तिएको देख्दा उनीहरू ताली बजाउँथे। यसरी रगतको खोलो बगाएर गद्दार थियेर्सले श्रमजीवी जनताको पहिलो सत्ता पेरिस कम्युनको सर्वनाश गर्‍यो।  पेरिस कम्युनको नृशंस ढंगले हत्या गरिएपछि संसारका पूँजीपतिहरूले खुशीको दियो जलाए।

पेरिश कम्युन किन असफल भयो भन्ने सन्दर्भमा कैयौं प्रश्नहरू उठेका पाइन्छन्। जर्मन सेनाहरूको घेराबन्दीको परिस्थितिमा कम्युनलाई बचाउन सकिन्थ्यो कि सकिंदैनथ्यो भन्ने सम्बन्धमा क्रान्तिकारीहरू, इतिहासकारहरू, जीवित कम्युनार्डहरू, आदिले धेरै विचारहरू प्रकट गरेका छन्। मार्क्स-एंगेल्सले पनि आफ्नो पुस्तक फ्रान्समा गृहयुद्धमा पेरिस कम्युन असफल हुनुका धेरै कारणहरू उल्लेख गरेका छन्।

सैद्धान्तिक रूपमा पेरिस कम्युनले साना व्यापारी र किसानहरूको ऋण मिनाहा गर्ने काम त गरे तर देशभरिका किसानहरूलाई संगठित गरी आफूतिर आकर्षित गर्ने काम गरेनन्।

पेरिस कम्युन असफल हुने एक महत्त्वपूर्ण कारण किसानहरूलाई साथ लिन नसक्नु हो। उनीहरूले किसानहरूलाई आफ्नो साथमा लिन सकेनन्। ग्रामीण इलाकाका किसान समुदायसँग आवश्यक गठजोड कायम गर्न सकेनन्। किसान समुदायसँग मोर्चा बनाउन र उनीहरूको समर्थन प्राप्त गर्ने स्थितिको उपयोग कम्युनार्डले गर्न सकेनन्। त्यसैगरी पेरिस कम्युनको सन्देशलाई फ्रान्सका अन्य प्रान्तहरूमा पनि फैल्याइएन। पेरिस कम्युन पछि पनि कैयौं प्रान्तहरू विद्रोह भए तर तिनीहरूलाई नराम्रोसँग दबाइयो। फ्रान्स त्यतिबेलासम्म पेरिस जस्ता केही केन्द्रहरूलाई छोडेर खासमा किसान र शिल्पकारहरूको प्रधानता भएको देश नै थियो। अर्कोतिर पेरिसका सशस्त्र मजदूरहरूसँग लड्नका लागि प्रतिक्रान्तिकारी सरकारका एडोल्फ थियेर्सले बिस्मार्कसँग आफ्ना बन्दी बनाइएका कैदी छोड्ने माँग गरेको थियो। धेरै धन लिएर बिस्मार्कले यो माँग पूरा गरिदिएको थियो। यसरी जर्मनीको सहयोगले प्रतिक्रान्तिकारी थियेर्सले मजदूरहरूमाथि विजय प्राप्त गर्‍यो। थियेर्सले बिस्मार्कको सहयोगबाट १ लाख ३० हजारको सशक्त सेना जम्मा गर्‍यो। पहिलेका सेना धेरैजसो कम्युनका क्रान्तिकारीप्रति सहानुभूति राख्थे तर थियेर्सले निर्माण गरेको पछिल्लो सेनामा फ्रान्सका सबभन्दा पिछडिएका इलाकाका किसान पृष्ठभूमिका सैनिकहरूलाई भर्ती गरिएको थियो। फ्रान्सेले प्रतिक्रान्तिकारी बुर्जुवाहरूले किसानहरूको मस्तिष्कमा पेरिस कम्युनका क्रान्तिकारीहरूले अहिले बुर्जुवा सम्पत्तिमाथि कब्जा गरिरहेका छन्, तिनीहरूले नै भोलि किसानहरूको सम्पत्ति पनि कब्जा गर्नेछन् भन्ने कुरा भरिदिएका थिए। फ्रान्सका किसानहरूलाई सन् १७८९ को क्रान्तिपछि भूमि प्राप्त भएको थियो। त्यसैगरी तत्कालीन राजतन्त्र सामन्तवादको विरुद्ध संघर्षमा बुर्जुवा तब्काका किसानहरूसँग थियो। त्यसकारण सन् १८७१ मा बुर्जुवा र किसानहरू मिलेर मजदूरहरूको विरुद्ध एकताबद्धता कायम गरेका थिए। सैद्धान्तिक रूपमा पेरिस कम्युनले साना व्यापारी र किसानहरूको ऋण मिनाहा गर्ने काम त गरे तर देशभरिका किसानहरूलाई संगठित गरी आफूतिर आकर्षित गर्ने काम गरेनन्। यद्यपि यसका केयौं अप्ठ्याराहरू पनि थिए। पेरिस कम्यूनको दृष्टिकोण किसानहरूको ऋण मिनाहा गरेपछि देभभरिका किसानहरू कम्युनितर आकर्षित हुन्छन् भन्ने थियो । तर यस्तो हुनसकेन। यसले गर्दा पनि पेरिस कम्युनले नराम्रोसँग पराजय भोग्नुपर्‍यो। थियेर्सले उल्टो किसानहरूलाई बहकाएर कम्युनार्ड्सहरूको विरुद्धमा आफूले उपयोग गर्‍यो।

पेरिस कम्युनको सबभन्दा ठूलो गल्ती प्रतिक्रियावादीहरूको गढमा हमला नगर्नु देखिन्छ। १८ मार्चको शानदार विजयपछि कम्युनार्डहरूले थियेर्स र उसका सेनाहरूलाई बेरोकटोक जान दिए।  थियर्स र ऊसँगै फ्रान्सका बुर्जुवा पेरिस छोडेर भागिरहेको बेलामा उनीहरूको पीछा गर्दै उनीहरूमाथि आक्रमण गर्नुपर्नेमा यसो भएन। नेशनल गार्ड र पेरिस कम्युनले शुरूका २ हप्ता त्यतिकै बिताए। यसमध्ये एउटा सबभन्दा ठूलो गल्ती के देखिन्छ भने पेरिस कम्युनले आफ्नो विजयलाई तर्कसंगत परिणतिमा लगेन। तुरुन्तै अगाडि बढेर भर्साइल्समा रहेको थियर्सको सेनालाई हतोत्साहित गरी आक्रमण गर्ने र देशैभरी क्रान्तिको विजय सुनिश्चित गर्नको लागि लडिरहनुको सट्टा राष्ट्रिय गार्ड्सको केन्द्रीय समिति निस्क्रिय बस्नपुग्यो। यो घातक बिलम्बले भर्साइल्समा रहेको प्रतिक्रान्तिकारी सरकारलाई आफ्नो शुरुको पराजय सम्हाल्न, क्रान्तिलाई पेरिससम्म मात्र सीमित राख्न तथा शहरमा जवाफी हमलाको तयारी गर्नको लागि संभव बनाइदियो। त्यसबेला स्वयं थियेर्सका सेना क्रान्तिकारी भावनाले ओतप्रोत  थिए। यस्तो बेलामा यदि पेरिस कम्युनले आक्रमण गरेको भए आम सैनिक पनि सजिलैसँग पेरिसका मजदूरसँग आउनेथिए। यी सबै अवसरहरूलाई पेरिस कम्युनका सदस्यहरूले गुमाए, जसको परिणामस्वरूप नराम्रोसँग पराजय भोग्नुपर्‍यो। १८ मार्चको तुरुन्तै पछि पनि लियोन्सतुलुज, पपीन्याँ, क्रेजो, साँ-एत्सेनमार्सेइ, आदि जस्ता धेरै ठाउँहरूमा कम्युनको स्थापना भएको थियो। यो पेरिसमा जनविद्रोहको संकेत थियो र यो फैलिएर सम्पूर्ण देशलाई आफ्नो घेरामा लिन सक्दथ्यो। तर कम्युनका नेताले आक्रामक कार्वाहीलाई आवश्यक ठानेनन्। यसले गर्दा पूँजीपति वर्गलाई देशका विभिन्न भागहरूमा क्रान्तिलाई अलग-अलग रूपमा दबाउन सम्भव बनाइदियो। त्यसकारणले गर्दा नै अप्रिलको शुरूमै  विभिन्न प्रान्तहरूमा भएका सबै विद्रोहरूलाई दबाइसकिएको थियो र बुर्जुवा प्रतिक्रान्तिकारी शक्तिको लागि आफ्ना सबै प्रयासहरूलाई पेरिसको विरूद्धमा केन्द्रित गर्न संभव भएको थियो। 

पेरिस कम्युनका बहादुर कम्युनार्डहरूले पेरिसमा त श्रमिक वर्गको सत्ता कामय गरे। तर उनीहरूले के कुराको ख्याल गरेनन् भने पेरिस बाहिर थियेर्सको पछाडि केवल फ्रान्सका मात्र होइनन्बरु सम्पूर्ण यूरोपका प्रतिक्रियावादीहरू एकजुट भइरहेका छन्। कम्युनार्ड्सले भर्साइल्समा जम्मा भएको प्रतिक्रान्तिकारी खतरालाई कम आँक्ने गम्भीर भूल गरे। उनीहरूले प्रतिक्रान्तिकारीलाई आक्रमण पनि गरेनन् र आफ्नो प्रतिरक्षा गर्नको लागि पनि गम्भीरतापूर्वक तयारी गरेनन्।

पेरिस कम्युनका सदस्यहरूले वैधतामाथि अत्याधिक भरोसा गरे। उनीहरू कानूनसम्बत व्यवहार गर्नमा अगाडि बढे। उनीहरूको सोच अनुसार यदि हामीले कानूनसम्बत व्यहार गर्यौं भने थियेर्स पेरिसको सीमामा आएर सम्मानपूर्वक रहनेछ। तर यो उनीहरूको गम्भीर भूल थियो। पेरिस कम्युनमा केन्द्रीकृत संगठन थिएन। यसको सट्टा स्थानीयता र स्वायत्तता अत्याधिक थियो। पेरिस कम्युनको केन्द्रीय समितिको नेतृत्वलाई के भ्रम भइरह्यो भने थियर्ससँग सम्झौता हुन्छ र हामी पेरिसमा स्वायत्त रूपले आफ्नो अनुसार नीति लागू गर्न अनुमति दिन्छौं। पेरिस कम्युनको केन्द्रीय समितिका अधिकांश सदस्य क्रान्तिकारी थिए तर उनीहरूमा निम्नपूँजीवादी, बुर्जुवावादी, संशोधनवादी र अराजकतावादीहरूको दबदबा थियो।

संसारका पूँजीपतिहरू जसरी भए पनि पेरिस कम्युनको हत्या गर्नुपर्दछ भनेर लागेका थिए। यस्तो जटिल स्थितिमा पनि मजदूरहरूद्वारा उठाइएका सबै महत्त्वपूर्ण कदमहरूको सम्पूर्ण श्रमिक वर्गको सामाजिक र आर्थिक मुक्तितिर संकेत गर्दथ्यो।

पेरिस कम्युनका मजदूरहरूको बीचमा अगस्ट ब्लाँकी सर्वमान्य नेताको रूपमा प्रतिष्ठित थियो। ब्लाँकी र उसका समर्थक एउटा सानो समूहद्वारा गोप्य तरीकाले कार्वाही गरी सत्ता कब्जा गर्ने कुराको वकालत गर्दथे। पेरिसका मजदूरहरूमा ब्लाँकीको यस्तो प्रभाव थियो, उसको विरुद्धमा कोही आउन सक्दैनथ्यो। मजदूरहरूले पेरिसमा आन्दोलन गरेको बेलामा प्रायः ब्लाकी परिदृश्यभन्दा बाहिर हुन्थ्यो। यो पनि पेरिस कम्युनको हारको एउटा कारण बनेर देखा पर्‍यो। कम्युनको नेतृत्वमा भएको समाजको राजनीतिक र सामाजिक परिवर्तन अवश्य नै समाजवादी थियो। तर यस्तो समाजको पहिले कुनै उदाहरणसम्म थिएन। उनीहरूसँग कुनै स्पष्ट र तयारी कार्यक्रम पनि थिएन। उनीहरू चारैतिरबाट रक्तपिपासु दुश्मनहरूले घेरिएका थिए। घेराबन्दी  तथा युद्धले ठूलो सामाजिक र आर्थिक अव्यवस्था पैदा गरिदिएको थियो। यस्तो जटिल अवस्थामा मजदूरहरूले आफ्नो हित अनुरूप समाजलाई संगठित गर्ने ठोस आवश्यकता अनुसार तीव्र रूपमा नयाँ-नयाँ निर्णय लिनुपर्दथ्यो। तर त्यसो हुन सकेन। यद्यपि त्यतिबेलाको परिस्थिति उनीहरूको लागि सबैतिरबाट अत्यन्तै जटिल बनेको थियो। उनीहरूसँग अगाडि बढ्ने समय एकदमै कम थियो। अन्तर्राष्ट्रिय रूपमा कति पनि सहयोग प्राप्त भएको थिएन। संसारका पूँजीपतिहरू जसरी भए पनि पेरिस कम्युनको हत्या गर्नुपर्दछ भनेर लागेका थिए। यस्तो जटिल स्थितिमा पनि मजदूरहरूद्वारा उठाइएका सबै महत्त्वपूर्ण कदमहरूको सम्पूर्ण श्रमिक वर्गको सामाजिक र आर्थिक मुक्तितिर संकेत गर्दथ्यो।

पेरिस कम्युनको हारको एउटा अर्को ठूलो गल्ती फ्रान्सको बैंकमाथि कब्जा नगर्नु थियो।  यो कम्युनार्डको उदारवादी नीतिको एक परिणाम थियो। कम्युनार्डहरू सोच्थे – यदि हामीले बैंकमाथि कब्जा जमायौं भने मानिसहरूले क्रान्तिकारीहरूका हात पैसाले रंगिए भन्नेछन्। त्यसपछि लुटेरा र हामीमा के फरक भयो र ? अर्कोतिर थियर्सले भने यही बैंकबाट निकालिएको पैसाले नोकरशाहरू, जनरलहरू र मन्त्रीहरूलाई तलब दिइरह्यो। यिनै पैसाको माध्यमबाट थियर्सले आफ्ना सेना बनायो र फिर्ता आएर पेरिसका मजदूरहरूको निर्ममर्तापूर्वक संहार गर्‍यो। बैंक कब्जा गर्नुको साटो कम्युनार्डहरूले पेरिसमा रहेका थियर्सका समर्थकहरूलाई बन्धक बनाए। यद्यपि कम्युनार्डले पेरिसमा रहेको बुर्जुवा सम्पत्तिका स्रोतहरूमाथि पनि कब्जा गरेनन्। यो उनीहरूको गम्भीर गल्ती थियो।

 

पेरिस कम्युनका सदस्यहरूले अत्यधिक भद्रता र सोझोपनको परिचय दिए। शत्रुहरूमाथि आक्रमण गर्नुको साटो उनीहरूमाथि नैतिक प्रभावको माध्यमबाट जित्ने प्रयास गरे। गृहयुद्धमा प्रत्यक्ष रूपमा सैन्य कार्वाहीको महत्त्वलाई यिनीहरूले कम आँके। यदि उनीहरूले दुश्मनहरूप्रति कठोरता देखाएका हुन्थे भने उनीहरूले पेरिसमा विजयको झण्डा फहराउँथे। तर उनीहरू यो काममा हिचकिचाइरहे। यसको कारणले गर्दा भर्साइल्स्मा रहेको प्रतिक्रान्तिकारी थियर्सलाई शक्ति केन्द्रित गर्न अधिक समय प्राप्त भयो। जसको कारणले थियर्सले मई महिनाको एक हप्तामा सम्पूर्ण मजदूरहरूलाई रगतको नदीमा डुबाइदियो। पेरिस कम्युनका केन्द्रीय समितिका केही सदस्यहरूले थियर्सलाई पिछा गरेर आक्रमण गर्ने, शत्रुहरूमाथि आक्रमण गर्ने, बैंक र दुश्मनका सम्पत्ति कब्जा गर्ने जस्ता सुझाब त दिएका थिए तर उनीहरूको कुरा सुनिएन। कम्युनका उदार र असल मानिसहरूको कारण बुर्जुवाको तुलनामा असल हुनुको कारण पेरिसका मजदूरहरू मारिए।

दुश्मनलाई पूर्ण रूपले सफाइ नगर्नुभर्साइल्समाथि हमला नगर्नु र क्रान्तिलाई सम्पूर्ण देशभरि नफैल्याउनु पेरिस कम्युनको सबैभन्दा ठूलो भूल थियो।

पेरिस कम्युनको अर्को आन्तरिक कमजोरी नेशनल गार्डको कुनै केन्द्रीय कमाण्ड नहुनु थियो। प्रतिक्रान्तिकारी सेनाले ठूलो दलबलसहित पेरिसमा प्रवेश गर्दा यसको विरुद्धमा कम्युनार्डहरूमा कुने केन्द्रीय रणनीति थिएन। यसको साटो सबैलाई आ-आफ्ना छिमेकी परिवारको रक्षा गर्न भनियो। एउटा केन्द्रीकृत शक्तिशाली फौजको विरुद्धमा स्थानीय स्तरका कम्युनार्डले कसरी प्रतिरोध गर्न सक्थे र जसको कारण प्रतिरोध अस्तव्यस्ततामा पुग्यो। यद्यपि पेरिसका मजदूरहरूले ठूलो सहास, वीरता र असाधारण त्यागको परिचय दिए र अन्तिम सास रहुन्जेलसम्म लडिरहे।

कम्युनार्डहरूको एउटा ठूलो गल्ती के देखिन्छ भने उनीहरू दुश्मनको शान्तिवार्ताको धोकापूर्ण षड्यन्त्रको शिकार भए। प्रतिक्रान्तिकारी दुश्मनहरूले यही मौकाको फाइदा उठाउँदै कम्युनको सर्वनाश गर्ने युद्धको तयारी गर्‍यो। मार्क्सका अनुसार ‘थियर्सले भर्साइल्समा आफ्नो हतियार उद्याइरहेको बेलामा पेरिस कम्युन चुनावमा लागेको थियो। थियर्सले युद्धको तयारी गरिरहेको बेलामा पेरिस कम्युन वार्ता गरिरहेको थियो।’ यसरी स्पष्ट रूपमा के भन्न सकिन्छ भने दुश्मनलाई पूर्ण रूपले सफाइ नगर्नुभर्साइल्समाथि हमला नगर्नु र क्रान्तिलाई सम्पूर्ण देशभरि नफैल्याउनु पेरिस कम्युनको सबैभन्दा ठूलो भूल थियो। वास्तवमा नेतृत्वमा मार्क्सवादी विचारधाराको अभावको धारणले नै यो गल्ती भएको थियो। वैज्ञानिक समाजवादी सिद्धान्तहरूको आधरमा गठन गरिएको एक संगठित श्रमिक वर्गको पार्टी नभएको कारणले पनि पेरिस कम्युन असफलतामा गएर टुंगियो। 

पेरिस कम्युनले फ्रान्सका सबै ठूला औद्योगिक केन्द्रहरूमा उदाहरण बन्ने योजना बनाएको थियो। कम्युनले पेरिस तथा माध्यमिक केन्द्रहरूमा सामुदायिक शासन-व्यवस्था एकपटक स्थापना भएपछि प्रान्तहरूमा पनि पुरानो केन्द्रीकृत सत्तालाई हटाएर त्यहाँ उत्पादकहरूको स्वशासन स्थापना गर्नु थियो। राष्ट्रिय संगठनलाई प्राथमिक बनाउने कुरामा कम्युनले समय प्राप्त गर्न सकेन। कम्युनले भनेको थियो – साना-साना क्षेत्रको पनि राजनीतिक ढाँचा कम्युन हुनेछ र ग्रामीण इलाकाहरूमा स्थानीय सेनाको स्थान राष्ट्रिय मिलिसियाले लिनेछ, जसको सेवाअवधि अल्पकालीन हुनेछ। प्रत्येक जिल्लाका ग्रामीण कम्युनले आफ्नो केन्द्रीय नगरमा प्रतिनिधिहरूको एक सभाद्वारा आफ्ना मामिलाहरूको प्रबन्ध गर्नेछन्। यी जिल्ला सभाहरूले पेरिसस्थित राष्ट्रिय प्रतिनिधि सभामा आफ्ना प्रतिनिधि पठाउनेछन्। प्रत्येक प्रतिनिधिलाई कुनै पनि समय फिर्ता बोलाउन सकिनेछ र ऊ आफ्ना निर्वाचकहरूका औपचारिक निर्देशनहरूद्वारा बाँधिएको हुनेछ। कम्युनको शासनमा राष्ट्रको एकता भंग हुँदैन, बरू यसको विपरीत कम्युनको संविधानद्वारा त्यसलाई संगठित गरिन्छ र पूँजीवादी राज्यसत्ताको विनाशद्वारा वास्तविक राष्ट्रिय एकता कायम हुन्छ। पुराना शासनसत्ताका दमनकारी अंग काटेर अलग गरिन्छ र त्यसलाई निष्पक्ष रूपमा समाजप्रति जवाफदेही अभिकर्ताहरूको हातमा सुम्पिनेछ। पेरिस कम्युनले यस्ता धेरै सर्वहारावादी साम्यवादी नीतिनियमहरू बनाएको थियो । तर यी कामहरूलाई अगाडि बढाउनको लागि कम्युनले समय नै पाएन।

पेरिस कम्युन सदैव नै विश्व सर्वहारा वर्गको आफ्नो मुक्ति युद्धमा एक महत्त्वपूर्ण प्रथम चरणको रूपमा इतिहासिद्ध छ। इतिहसमा यो पहिलो अवसर थियो, जसले  पूँजीपति वर्गको आधिकारिक सत्तालाई उनीहरूको राजधानीबाट उखेलेर फ्याँकेका थिए। यो विशाल संघर्ष सर्वहारा वर्गकै कार्य थियो। पेरिस कम्युन असफल भए पनि यसले भावी सर्वहारा संघर्षको दिशा दिनको लागि धेरै महत्त्वपूर्ण भूमिका खेल्यो। कम्युनले समानता, स्वतन्त्रता र बन्धुत्वको नाराबाट श्रम दासता, मानिसद्वारा मानिसको शोषण र समाजमा वर्गविभाजनको अन्तको जग खडा गरिदियो। कम्युनद्वारा घोषणा गरिएको अर्को संसारको यो विचार श्रमिकहरूद्वारा कम्युनको दुई महिनाको अस्तित्वको क्रममा सामाजिक जीवनलाई संगठित गर्ने तरीकामा प्रतिबिम्बित भयो। कम्युनको वास्तविक वर्गीय स्वभाव त्यसको आर्थिक र राजनीतिक कदमहरूमा निहित थियो। आफ्नो घोषणाको दुई दिनपछि कम्युनले आफ्नो शक्तिको पुष्टि गर्दै राजकीय ढाँचामा आक्रमणसहित अनेकौं कदमहरू उठायो। सामाजिक उत्पीडनमा समर्पित पुलिस शक्ति, स्थायी सेनाको समाप्ति, सम्पूर्ण पुरानो राजकीय प्रशासनको विनाश, चर्चको सम्पत्ति कब्जा, फाँसीको सजायको अन्त, निशुल्क रूपमा सबैलाई शिक्षा, आदि कम्युनले गरेका दूरगामी महत्त्वपूर्ण निर्णयहरू थिए। त्यसैगरी स्थायी सेनाको स्थानमा आम श्रमजीवीहरूलाई सशस्त्र बनाउने काममानिसहरूले आफ्ना अधिकारी आफै चुन्ने अधिकारसबै समान तलबको व्यवस्थाजनता स्वयंले प्रशासनको काम गर्ने अधिकार र न्यायाधीशसमेम जनताले चुन्ने व्यवस्था जस्ता सर्वहारावादी निर्णयले कम्युनको महत्त्वलाई दर्शाउँदथ्यो। कम्युनले ‘कम्युनको झण्डा सार्वभौमिक गणतन्त्रकै झण्डा हो’ भन्ने घोषणा गरेर आफ्नो सर्वहारा चरित्रलाई पुष्टि गरिदिएको थियो। कम्युनका राजनीतिक कदमहरूले स्पष्ट रूपमा सर्वहारा चरित्रलाई अभिव्यक्त गर्दथे। कम्युनका आर्थिक क्रियाकलाप जतिसुकै सीमित भए पनि  अत्यन्तै महत्त्वपूर्ण थिए, जसानुसार श्रमिक वर्गीय हितलाई रक्षा गर्ने, करको उन्मूलन, रात्रीकालीन कामको उन्मूलन, श्रमिकहरूको तलबबाट जरिवानाको कटौतीको अन्त्य, बन्द भएका कारखाना मजदूरहरूले जिम्मा लिएर चलाउनु, कम्युनका प्रतिनिधिहरूलाई पनि तलब मजदूरको तलबको बराबर सीमित गर्नुआदि थिए। सरल, सस्तो र प्रभावकारी सरकार भन्ने कम्युनको नारा थियो। 

कार्ल मार्क्सका अनुसार ‘कम्युनका सिद्धान्त शाश्वत र अनश्वर छन्, जबसम्म मजदूर वर्गको मुक्ति हुँदैन, तबसम्म यी सिद्धान्त पटक-पटक प्रकट भइरहन्छन्।’

यसरी पेरिस कम्युनको नराम्रोसँग पराजय भयो। आफ्नो जन्मदेखि नै कम्युन विभिन्न दुश्मनहरूले घेरिएका थिए। पछि त्यसमा अन्य विभिन्न कारणहरूले काम गरे। पेरिस कम्युनको पराजय भए पनि यसले संसारमा अन्तर्राष्ट्रियवादको झण्डा फरफरायो। पेरिस कम्युनका शहीदहरूले आफ्नो रगतले एक अमिट इतिहासको रचना गरे र विश्व सर्वहारा क्रान्तिलाई मार्गदर्शनको लागि उनीहरूले बहुमूल्य शिक्षा दिए। कार्ल मार्क्सका अनुसार ‘कम्युनका सिद्धान्त शाश्वत र अनश्वर छन्, जबसम्म मजदूर वर्गको मुक्ति हुँदैन, तबसम्म यी सिद्धान्त पटक-पटक प्रकट भइरहन्छन्।’ कम्युन वास्तवमा एक लोकतान्त्रिक शासन थियो, जसको उद्देश्य सर्वसाधारणको कल्याण गर्नु थियो।  पेरिस कम्युन आजसम्म पनि संसारका कम्युनिष्ट क्रान्तिकारी र श्रमिकहरूमा ठूलो प्रेरणाको स्रोत बनेर रहेको देखिन्छ।  मार्क्सले भनेका छन् – ‘श्रमिकहरूको पेरिस र उनीहरूको कम्युनलाई नयाँ समाजको गौरवपूर्ण अग्रदूतको रूपमा सदैव स्मरण गरिनेछ। यसका शहीहरूले श्रमिक वर्गको महान हृदयमा आफ्ना स्थान बनाएका छन्।’ संसारको यो पहिलो श्रमिक राज्य केवल ७२ दिन मात्र अस्तित्वमा रहे पनि विश्व इतिहासको भावी मार्गमा यसले अमिट छाप छोड्यो। पेरिस कम्युनले आफ्नो छोटो सयमक्रममा समाजवादी राज्यको ‘मोडेल’ पेश गर्‍यो। कसरी शोषण, उत्पीडन, दमनभेदभाव, असमानता, आदिबाट मुक्त समाज निर्माण गर्न सकिन्छ भनेर एउटा व्यवस्थाको सृजना गर्‍यो।  संसारका सबै श्रमजीवी र उत्पीडित जनताले पेरिस कम्युनलाई सम्मान गरिरहनेछन्।  यसले श्रमजीवी वर्गको लागि अगाडि बढ्ने मार्गप्रशस्त गरेको थियो । पेरिस कम्युनले  शोषण, दमन, अन्याय र अत्याचारमा टिकेको राजनीतिक सत्ता कब्जा गर्ने र पुरानो समाजको जगलाई उखेलेर फ्याँक्ने मार्ग प्रशस्त गरेको थियो। पेरिस कम्युनले श्रवजीवीको लोकतन्त्रको श्रेष्ठतालाई देखायो।  त्यसकारण  यसको कीर्ति सर्वत्र र सदाबहार रहिरहनेछ। संसारका श्रमजीवी वर्गको मस्तिस्कमा पेरिस कम्युन सदैव जीवितै रहनेछ।

सन्दर्भ सामग्रीहरू

1871 The Paris Commune By Max Shachtman, Daily worker publishing company, Chicago, III.

https://www.marxists.org/history/france/paris-commune/index.htm

https://hi.wiki5.ru/wiki/Paris_Commune

Paris Commune -Karl Marx , V.I. Lenin , Bertolt Brecht, Tings Chak, Introduction by Vijay Prashad, published in India by left word books, New Delhi

THE PARIS COMMUNE By Karl Marx With an Introduction by Frederick Engels, Published by Socialist Labor Party of America http://www.slp.org 2005

Writings on the Paris Commune, Karl Marx, Mikhail Bakunin, Peter Kropotkin, Red and Black Publishers, St Petersburg, Florida

A SHORT HISTORY OF THE PARIS COMMUNE.BY E. BELFORT BAX, THE TWENTIETH CENTURY PRESS, LIMITED, 37A, CLERKENWELL GREEN, EX. 1895.

French Revolutionary Thought after the Paris Commune, 1871-1885, Julia Catherine Nicholls Queen Mary University of London Submitted in partial fulfilment of the requirements of the Degree of Doctor of Philosophy

THE POSTAL HISTORY OF THE COMMUNE REVOLUTION, PARIS 1871 BY GARDNER L. BROWN, The France & Colonies Philatelic Society, Inc. New York, N.Y. 1992

On the Paris Commune by Karl Marx, Publication date 1971-01-01, Publisher Progress Publishers Moscow.

The Paris Commune of 1871 by Frank Jellinek, London, Victor Gollancz Ltd, 1937

पेरिस कम्युन – मार्क्स-एंगेल्स, नेपाली संस्करण, अनुवाद – राजेन्द्र मास्केप्रगति प्रकाशन मस्को, १९८७

पेरिस कम्युन – लेनिन, नेपाली संस्करण, अनुवाद – राजेन्द्र मास्के, प्रगति प्रकाशन मस्को, १९८९

पेरिस कम्युन के सबक – वी. आई. लेनिन, हिन्दी संस्करण, अन्तर्राष्ट्रिय प्रकाशन

विश्व कम्युनिष्ट आन्दोलनको इतिहास- खण्ड – १, शशिधर भण्डारी, प्रकाशक-मनोज जिसी, २०७४

विश्व कम्युनिष्ट आन्दोलन – सीताराम तामाङ, मूल्याङ्कन प्रकाशन गृह, २०६९

मेहनतकशों के खून से लिखी पेरिस कम्यून की अमर कहानी – हिन्दी  संस्करण, राहुल फाउण्डेसन, लखनऊ

पेरिस कम्युन : पहले मजदूर राज की सचित्र कथा – मजदूर विगुल, २०१२हिन्दी संस्करण

कम्युनिष्ट अन्तर्राष्ट्रिय गीतका रचनाकार यूजें पोतर, लेनिन संकलित रचनाहरू, खण्ड ३६, नेपाली संस्करण, अनु. – नारायण  गिरी, http://www.narayangiri.wordpress.com

विश्वका प्रसिद्ध मजदूर आन्दोलनहरू- का. रोहित, नेपाल मजदूर किसान पार्टी केन्द्री प्रकाशन समिति, २०५८

फ्रान्स में वर्ग-संघर्ष – कार्ल मार्क्स, हिन्दी संस्करण, अनुवाद – सुरेन्द्र कुमार, प्रगति प्रकाशन मस्को, १९८२

पेरिस कम्युन, कृष्णदास श्रेष्ठ, प्रगति पुस्तक सदन, काठमाण्डौ, २०६३