बझाङमा लगालग गएको भूकम्पः के अझै छ ठूलो भूकम्पको खतरा ?

भूकम्पबारे वरिष्ठ भूकम्पविद् लाेक विजय अधिकारीका विचारहरु सहित

 नेपालको पश्चिम क्षेत्र बझाङलाई केन्द्रबिन्दू बनाएर असोज १६ गते लगालग ठूला खालका भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार बझाङलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो २ः४० बजे ५.३, ३.०६ बजे ६.३, ३.४५ बजे ४.१, ४.२८ बजे ४.१, ४.३१ बजे ४.३, ५.१९ बजे ५ र फेरि ५.३८ बजे ५ म्याग्निच्युड स्केलको भूकम्प गएको छ ।

सो भूकम्पको मापन हेर्दा ३.०६ मा गएको ६.३ म्याग्निच्युडको भूकम्प मूल भूकम्प रहेको र त्यसअघि २.४० आएको पूर्वकम्प तथा त्यसपछि लगालग ५ पटक सम्म आएका ४ भन्दा माथिका भूकम्पहरु चाहिँ पराकम्प रहेको देखिएको छ । ठूलो स्केलको भूकम्प गइसकेपछि आउने भूकम्पहरुले पहिले गएको भूकम्प भन्दा सानो स्कलेको गएमा पराकम्प भनिन्छ । तर त्योभन्दा ठूलो गयो भने पहिलेको ठूलो भनी मानिएको भूकम्प आफैं चाहिँ पूर्वकम्प मानिन्छ । तर अहिले नै यही हो भने भन्न सकिन्न ।

यसअघि पनि बझाङलाई नै केन्द्र बनाउँदै पटक पटक भूकम्पहरु गइसकेका छन् ।

तलबाट भारतीय र माथिबाट तिब्बतीयन प्लेटले ठेलिरहेको स्थानमा नेपाल रहेकोले यो समग्र क्षेत्र नै भूकम्पीय दृष्टिकोणले संवेदनशील मानिन्छ । त्यसमाथि थप, १५०५ मा लो मुस्ताङमा गएको ८.९ म्याग्निच्युड (स्रोत: विकिपेडिया) स्केलको भूकम्पपछि लामो समयदेखि नेपालको पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नगएकोले त्यस क्षेत्रमुनि भूकम्पीय उर्जा संग्रहित भएर रहेको तथा उक्त क्षेत्रमा कुनै पनि बेला ठूलो भूकम्प जान सक्ने चेतावनी वैज्ञानिक तथा विज्ञहरुले दिँदै आएका छन् । सम्भवतः आजको भूकम्प त्यसैको संकेत पनि हुन सक्छ । नेपालमा ठूलो विध्वंश मच्चाएको २०७२ को ७.८ म्याग्निच्युडको गोरखा भूकम्पपछि यो कुराबारे धेरै चर्चा भएको थियो ।

बझाङमा आज गएको ६.३ म्याग्निच्युडको भूकम्पबाट नै त्यस क्षेत्रमा ठूलो भूकम्प जाने सम्भावना खतरा टरिहाल्यो भनेर मान्नु मुर्खता हुन्छ । अझै पनि त्यहाँ ठूलो भूकम्पको खतरा टरेर गएको हो भनेर ढुक्क भइहाल्नु भने हुन्न । त्यसैले नेपालको पश्चिमी क्षेत्रमा जान सक्ने सम्भाव्य ठूलो भूकम्पको खतरा तथा त्यसका प्रतिरक्षामा गरिनु पर्ने कार्यहरुबारे तुरुन्तै सरकार लाग्नु जरुरी छ ।

जति बढी म्याग्निच्युड उति बढी विध्वंशक

Source: cbc.ca

सामान्यतः ४ म्याग्निच्युडस्केलभन्दा मुनिका भूकम्पहरु सामान्य मानिन्छन् र तिनले खासै क्षति गर्दैन । तर ४ म्याग्निच्युडदेखि माथिका भूकम्पहरु चाहिँ शक्तिशाली हुने गर्छन् र त्यस अर्थमा त्यो क्षति गर्ने खालका हुन्छन् । जति भूकम्पको स्केल बढ्दै जान्छ, उत्तिनै त्यसका शक्ति पनि बढ्दै जान्छ र त्यसले क्षति पनि बढी नै गर्दै जान्छ । उदाहरणको लागि, ४ म्याग्निच्युड स्केलको भूकम्प जाँदा जति शक्ति निस्कासन हुन्छ, ५ म्याग्निच्युड स्केलको भूकम्पले निश्कासन गर्ने शक्ति त्यो भन्दा ३१–३२ गुना बेसी हुन्छ । ४ म्याग्निच्युड स्केलको भूकम्पले निश्कासन गर्ने शक्ति ६ टनको टिएनटी (शक्तिशाली विस्फोटक पदार्थ trinitrotoluene)ले पैदा गर्ने शक्ति बराबर हुन्छ भने ५ म्याग्निच्युडको भूकम्पले २०० टन टिएनटी बराबरको शक्ति निकाल्छ । अझ ६ म्याग्निच्युड स्केलको भूकम्पले निश्कासन गर्ने शक्ति त ६२७० टनको टिएनटीले पैदा गर्ने शक्ति बराबरको विध्वंशक हुने गर्छ ।

७ म्याग्निच्युडको भूकम्पले १९९००० टन टिएनटी बराबरको शक्ति निश्कासन गर्छ भने ८ म्याग्निच्युडले ६,२७००० टन टिएनटी बराबरको शक्ति । अझ ९ म्याग्निच्युड स्केलको भूकम्पले त ९९,०००,००० टन टिएनटी बराबरको शक्ति निस्काशन गर्छ । यो भनेको करिब २५ हजार आणविक बम बराबरको शक्ति हो । (तथ्यस्रोतः द युनिभर्सिटी अफ मेम्फिस)

– हाम्रो देश भूकम्पको जोखिम क्षेत्रमा पर्छ । तलबाट इण्डियन प्लेट र माथिबाट तिब्बतीयन प्लेटले ठेलिरहेको स्थानबीचमा नेपाल छ । इण्डियन प्लेट नेपालको चुरेको मुनिबाट उत्तर पूर्वतिर सरिरहेको छ । यो प्रतिवर्ष सरदर चार सेन्टिमिटरको दरले तिब्बतीयन प्लेटको तलतिर छिरिरहेको छ । त्यसमध्ये नेपालको हिमालयभित्र त्यसको गती दुई सेन्टिमिटर हुन्छ । अरु तिब्बततिर पर्ने भयो । नेपालमा करिब करिब अहिले भुँइचालो गएको केन्द्रविन्दु भएको ठाउँबाट उच्च हिमालयदेखी दक्षिणतर्फ चुरेसम्मको भागमा करिब करिब २ सेन्टिमिटर खुम्चिन्छ, छिर्छ । त्यो २ सेन्टिमिटर छिर्दा हाम्रो हिमालयमा ठूलो तनाव र दवाब पर्दछ । तिब्बततिर सजिलै छिर्छ तर नेपालमा हाम्रो हिमालले इण्डियन प्लेटलाई सजिलै छिर्न दिदैन । फलतः त्यो भाग खुम्चिएर अग्लिदै जान्छ । त्यही प्रक्रियाबाट नै हिमालयहरु बनेका हुन् ।

तर निश्चित सीमामा अर्थात् ठेल्ने र ठेलिने प्रक्रिया चलिन्जेल त्यो खुम्चने प्रक्रिया चलिरहन्छ । त्यसपछि त्यो प्लेट इलाष्टिक तन्केपछिको अवस्थामा जस्तै आफ्नै ठाउँमा फर्कने हुन्छ । त्यही क्रममा प्लेट टुक्रने धाँजा फाट्ने जस्ता क्रियाहरु हुने गर्छन् ।

०००

सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने यसअघि गएका ठूला भुइँचालोहरु एउटै होइन, फरक फरक हुन् । ९० सालमा गएको भुइँचालो पूर्वतिर गएको भुइँचालो हो । अहिले ७२ सालमा गएको भुइँचालोलाई चाहिँ वि.सं. १८३३ मा यही क्षेत्रमा गएको यस्तै भुइँचालासँग जोडेर हेर्न मिल्छ । त्यो भुइँचालो ७२ सालको भुइँचालो गएको क्षेत्र वरिपरि नै गएको थियो । त्यसैले ९० सालको भुकम्प र अहिले गएको भूकम्प फरक फरक ठाउँमा गएको भुइँचालो हो भनेर बुझ्न् पर्छ ।

९० सालमा गएको जस्तै भूकम्प सोही क्षेत्रमा १२५५ मा गएको थियो । राजा अभय मल्ल मरेको भनेको त्यही ठूलो भुइँचालोमा हो ।  र १९९० मा गयो । अर्थात् एउटै क्षेत्रवरिपरि ठूलो भुइँचालो ठूलो समयको अन्तरालमा गएको देखिन्छ । त्यसकारण नेपालमा ठूलो भुइँचालो ८०/९० वर्षमा जान्छ भन्ने कुरा सही होइन । 

त्यसरी ८०–९० सालको अन्तरालमा नेपालमा ठूला भुइँचालो जान्छ भन्ने हो भने पश्चिम नेपालतिर भुइँचालो नगएको धेरै भइसकेको छ । सत्य के हो भने समयको अन्तरालमा नेपालका भिन्न भिन्न भागहरुलाई केन्द्र बनाएर ठूलो भुइँचालो गएको छ । 

नेपालको ठाउँ भनेको जमिनसँग जमिन जुधेको ठाउँ हो । इण्डोनेशिया, चिली, जापानमा जमिनसँग समुद्र जुधेको स्थिति हो । त्यो ठाउँमा ठूला ठूला भूकम्प जान्छन् । तर नेपालमा भौगोलिक बनावटको कारणले त्यति ठूला भूकम्पहरु छिटोछिटो गएको हामीले थाहा पाएका छैनन् । 

उदाहरणको लागि, २००४ मा सुमात्रामा गएको भूकम्पको धाँजा १२०० किमिसम्म रहेको थियो । यता हाम्रोमा ७२ सालको गोरखा भुइँचालोमा जम्मा १२० किमि मात्र धाँजा फाट्यो । ९० सालमा लगभग २०० किलोमिटरभन्दा कम मात्रै धाँजा फाट्यो । त्यसलै भौगोलिक अवस्थाअनुसार भूकम्पको स्केल पनि कम बेसी हुने हुन्छ । त्यसैले भूकम्प एउटा निश्चित समयमा जान्छ भनेर त्यसलाई वर्षको प्याटर्नमा बाँध्न मिल्दैन ।  

०००

नेपालमा हेर्ने हो भने पश्चिममा त ५०० वर्षसम्म पनि भूकम्प गएको छैन । यसको अर्थ त्यहाँ भुइँचालो जाँदै जाँदैन भन्ने पनि होइन । यही कारण पश्चिममा ठूलो भूकम्प जाने सम्भावना रहेको छ भन्ने कुरा सत्य हो । 

माथि मैले भनिसकेको छु । दुई प्लेटहरुले एक अर्कालाई धकेल्दा शक्ति जम्मा हुन्छ र त्यो शक्ति निष्काशित हुने क्रममा भुइँचालो जाने गर्छ । प्लेटले धेरै शक्ति थाम्छ भने धेरै शक्ति जम्मा हुन्छन । शक्ति जम्मा हुने तर भुइँचालो नजाने भयो भने जति धेरै समय रह्यो त्यति शक्ति जम्मा हुने भयो । जति शक्ति जम्मा हुन्छ, ठूलो भुँइचालो जाने सम्भावना बढ्छ । तर एकै पटक ठूलो भुइँचालो नजान पनि सक्छ । स–साना धेरै पनि जान सक्छ । ५०० वर्षदेखि त्यहाँ भूकम्प जाने शक्ति सञ्चित भइरहेको छ । भूकम्प कहिले जान्छ भनेर हामीले भविष्यवाणी गर्न सक्दैनौँ । किन ? जती ठूलो शक्ति जम्मा भयो, त्यति नै बढी समय ठूलो भुइँचालो जानलाई लाग्न सक्छ । तर त्यस्ता क्षेत्रमा साना भुईँचालो छिटो छिटो जान्छ । अहिले पनि दिनहुँ ३ का आसपासका भुइँचालोहरु गइरहेका छन् । त्यो भन्दा ठूला भुइँचालोहरु अलि ढिला गरी जान्छन् ।

०००

नेपालमा भूकम्प ल्याउने शक्ति एकै ठाउँमा एकत्रित नभएर खण्डित रुपमा छ । अर्थात् शक्तिका स्रोत धेरै भागमा छरिएका छन् । पश्चिममा गोरखादेखि देहरादुनसम्मको भागमा ठूलो भुइँचालो लामो समय गएको छैन, जसलाई हामी ‘सेस्मिक ग्याप’ भनेर बुझ्छौं । ठूला समयसम्म भुइँचालो नगएको तर जान सक्ने सम्भावना भएको यो निक्कै खतरनाक स्थिति हो । यसले त्यस क्षेत्रमा भूकम्प जाने धेरै शक्ति सञ्चित भएको छ भन्ने देखाउँछ । त्यसरी धेरै शक्ति सञ्चित हुनु भनेको ठूलो भूकम्प जान सक्ने सम्भावनाको संकेत हो ।

०००

नेपालमा भूकम्पको शक्ति छरिएर जम्मा भइरहेको छ । त्यसैले हिमालयमा भुइँचालो जाने र नजाने कुरा ठूलो कुरा होइन । समग्र हिमालय बेल्ट नै भूकम्पीय जोखिम क्षेत्र हो । हिमालयको लम्बाई पाँचसय किमि छ त्यसको एक तिहाई ८०० किलोमिटर नेपालमै छ । २५०० किमि भित्रै भूकम्पको शक्ति जम्मा भएको छ र त्यो हाम्रोमा मात्र हैन, समग्र २५ सय किलोमिटरमै जान्छ ।

तर एक तिहाई अर्थात् ८०० किलोमिटर क्षेत्र नेपालमै परेको हुनाले भूकम्पको हिसाबले हामीकहाँ पटक पटक भूकम्प आइरहन्छ । हो, त्यस्तो ठूलो भूकम्प हाम्रै जीवनकालमा त नजाला, तर नेपालको कुनै पनि क्षेत्रमा ठूलो भुइँचालो जाने सम्भावना जीवितै छ भनेर बुझ्नु पर्छ । ९० सालको भुइँचालो, ७२ सालको ठूला भुइँचालोको पृष्ठभूमिमा पश्चिम क्षेत्रमा ७ पुस्तासम्म भुइँचालो नगएको स्थिति हो । यसरी पुस्ताको हिसाबले हेर्ने हो भने, ३, ४ पुस्तासम्म भुइँचालो नजाला भनिनु एउटा कुरा हो, तर ५०० वर्ष अगाडि त नेपालमै ठूलो भुइँचालो गएको इतिहास पनि छ । 

०००

२०७२ साल वैशाख १२ को भूकम्पलाई मुख्य भन्ने कि नभन्नेमा बडो द्विविधा थियो । संसारमा ७.८ वा त्योभन्दा ठूलो भुइँचालो आइसकेपछि लगत्तै झन ठूलो भूकम्प आएको उदाहरण छ । त्यो स्थितिमा प्राविधिक रुपमा भनिहाल्न गाह्रो थियो । तर आत्तिएका जनमानसलाई आश्वस्त पार्नको लागि जोखिमै मोलेर भए पनि, प्राविधिक रुपमा जोगिँदै मैले त्यसबेला भनेको थिएँ, ‘ढुक्क हुनुभए हुन्छ, यसको ‘रप्चर’ क्षेत्रभित्र योभन्दा ठूलो भूकम्प जान्नँ ।’ मैले त्यसबेला विशेष रुपमा जोड दिएर रप्चर क्षेत्रको कुरा उठाएका थिएँ । किनभने, अर्को क्षेत्रमा त्योभन्दा ठूलो भूकम्प जाने सम्भावना छँदैथियो । बुझ्नुपर्ने कुरा के हो भने, सबै भूकम्पमा पूर्वकम्प जाँदैन । ९० सालको भूकम्पमा पूर्वकम्प गएको थियो तर ७२ सालको भूकम्पमा त्यस्तो पूर्वकम्प गएन । 

पराकम्प जानुको अर्थ ठूलो भूकम्पले विभिन्न भागमा छरिदिएको शक्ति निस्काशित हुने प्रक्रिया हो । एउटा भुइँचालो गइसकेपछि छरिएको शक्तिको कारण अर्को ठाउँमा भूकम्प जान्छ, फेरि त्यसले छरेको शक्तिको कारण अर्को ठाउँमा भूकम्प जान्छ र त्यो शक्ति छरिने निरन्तर प्रक्रियाले एउटा निश्चित समयसम्म पराकम्प गइरहन्छ ।

प्रस्तुति: चन्द्र खाकी

(नोट: रातोपाटी डटकममा कार्यकारी सम्पादकको रुपमा कार्यरत छँदा मैंले २०७५ साल माघमा सहकर्मी फणिन्द्र नेपालका साथ भूकम्पविद् लोक विजय अधिकारीसँग लामो कुराकानी गरेको थिएँ । पाठकहरुका लागि जानकारीमूलक हुने सोही कुराकानीका सान्दर्भिक अंशहरु यहाँ पुन:प्रकाशन गरिएको हो ।)

 

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।